१६ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

बोक्सी कुप्रथाको कलंक

विज्ञानले यति धेरै फड्को मारिसक्दा पनि हाम्रो मस्तिष्कमा भने भूतप्रेत, धामी/झाँक्री, बोक्सी बोक्सा जस्ता अन्धविश्वास हटिसकेको छैन। समाज आज पनि बोक्सी, बोक्साकै आरोपमा मलमूत्र, खुवाउनेदेखि लिएर मारपिट र हत्यासम्म हुने घटना प्रशस्त भइरहेका छन्।

वास्तवमा बोक्सी, बोक्साको आरोप हामी कुन र कस्ता मानिसलाई लगाउँछौँ त ? जो समाजदेखि तिरस्कृत, गरिब, असहाय, एकल, सजिलैसँग दबाउन सकिने, जसको समाजमा खासै महत्त्व हुँदैन। आजसम्म कोही पनि प्रतिष्ठित, ठूलाबडा व्यक्तिलाई किन लाग्दैन बोक्सीको आरोप ?

यस्तै एउटा घटना मोरङको बूढीगंगा–७ की ५७ वर्षीया महिलामाथि घरमा लगाइएको पूजाको दियो हराएकोमा धामीलाई जोखाना देखाउँदा आरोपित महिलाले लगेको भनेर सोही गाउँकी पारो माझी महिलाले बोक्सीकै आरोपमा मलमूत्र खुवाएर अमानवीय व्यवहार गरेकी छन्। हाल दोषी महिलालाई उजुरीकै आधारमा पक्राउ गरिएको छ।

यसरी गाउँमा बोक्सीको आरोपमा अमानवीय व्यवहार गर्दा त्यहाँका स्थानीयवासी स्थानीय निकाय किन मौन थियो ? कहीँ यो भोट, नोटका लागि गरिएको राजनीति त थिएन ? ती पीडित महिलाले अवश्य गुहार त मागिन् नै तर उनलाई मलमूत्र खुवाउनबाट किन बचाइएन, मुकदर्शक भएर स्थानीयहरू हेरिरहे। माथि उल्लेख गरेझैँ ती महिला गरिब, निसहाय थिइन्। जहिले पनि ठूलो माछालाई सानो माछाले खान्छ भनेझैँ समाजका ठूला माछाले सानोलाई खाएझैँ हो भन्दा गलत नहोला।

धामीको बोक्सी आरोप लगाउने मापदण्ड के थियो ? जोखानाकै आधारमा दोषी मानी दुव्र्यवहार गर्नु कहाँसम्मको नालायकीपन हो। बोक्सी विद्या हो भने यस विद्यालाई किन स्कुल/कलेजमा पठनपाठन गराउने गरिँदैन ? विद्यालयमा ज्ञान त सबैले लिने अधिकार छ, यसको जवाफ ती धामी, झाँक्रीसँग होला या मलमूत्र खुवाउने या जसले यस्ता कुप्रथामाथि विश्वास राख्छ ? यतिसम्म घटना हुँदा स्थानीय तहको मौनता किन ? यस्ता अमानवीय दुव्र्यवहारप्रति हाम्रो नागरिक समाजको भूमिका भने न्यून देखिन्छ। घटना हेर्न त आउँछन् तर मुकदर्शक भएर मौनता बाँधेर कुरा सुन्नेबाहेक अन्य केही देखिँदैन।

के बोक्सी साँच्चै हुन्छन् त ? युवा जमातले त्यति धेरै विश्वास नगरे पनि अन्य महिला, वृद्धवृद्धाले बोक्सी हुन्छन् भन्ने कुरा व्यक्त गर्छन्। गाउँघरमा यस्ता घटना हुने गर्छन् तर कतिसम्म विश्वास गर्ने भने कुरा आउँछ। पछाडि फर्केर हेर्दा विश्वभरकै सामाजिक व्यवस्थाहरूमा बोक्सा/बोक्सीमाथि विश्वास गर्ने जमातको कमी छैन।

घरभित्र होस् या घरबाहिर, महिला कहीँ पनि सुरक्षित छैनन्। महिला भएर जन्मनु अभिशाप त अवश्य होइन। भएको यस्ता घटनाले महिला वर्गमा कति पीडा दिने काम गर्छ ? घटना सानो होस् या ठूलो, यस्ता घटना हुनु नै गलत कुरा हो। यो अन्धविश्वासलाई हामी र हाम्रो समाजले कहिलेसम्म प्रश्रय दिने? पीडितमाथि हुने यस्ता घटनाले मृत्युपर्यन्त असर पारिरहेको हुन्छ।

हाम्रो समाजमा बोक्सी प्रथाले जरो गाडेको प्राचीनकालदेखि नै हो। यो शक्तिशाली व्यक्तिहरूले आफूले भनेको मानेनन् भने त्यसलाई दबाउन वा तह लगाउन कसरी भन्ने कुराले कमजोर निसहायमाथि आफ्नोे प्रभुत्व जमाउन चालेको चाल हो। जहिले पनि महिलामाथि नै अमानवीय घटना हुने गर्छ। बोक्सी होस् या दहेज, बालविवाह, बलात्कार, यौन हिंसाका शिकार सधैँ महिलाले नै सहनुपर्ने यो कस्तो विडम्बना हो?

सन् १९९८ मा अफ्रिकी मुलुकको घानाका चार सय महिलालाई बोक्सीको आरोपमा गाउँबाट निकाला गरिएको र मारिएको दुःखद घटना केही संघ/संस्थाले प्रस्तुत गरेका प्रतिवेदनमा उल्लेख छन्। बोक्सीबारे २०६१ साउन २६ गते सरकारको नाममा सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको थियो। महिलामाथि बोक्सीको दोष लगाई अमानवीय व्यवहार गरी उनको अस्मिता, मानमर्यादामा आघात पु¥याउने कार्यलाई अपराधको श्रेणीमा राखियो भने २०६३ सालमा मुलुकी ऐन २०२० को महल १० (ख) मा थप गरी जो कसैले बोक्सीको दोष लगाउँछ यो अपराध मानिन्छ भन्दै २०७२ ले बोक्सीको आरोप लगाउनु गैरकानुनी हो भन्ने उल्लेख गरेको छ।

मुलुकी ऐन २०७२ को दफा ११ मा थुन्न सक्ने र कार्बाही गर्ने वा आरोप लगाउनेलाई पाँच महिनादेखि दुई वर्षसम्म कैद, पाँच देखि २० हजारसम्म जरिवानाको व्यवस्था गरिएको छ भने खण्ड (ख) र (ग) मा एक देखि ३ तीन वर्ष कैद, १० देखि ३० हजारसम्म जरिवानाको व्यवस्था गरिएको छ। ऐन/कानुनमा जे व्यवस्था भए पनि घटना हुने क्रम जारी छ। मानव अधिकारसम्बन्धी विभिन्न महासन्धिले पनि महिलाले आत्मसम्मानका साथ बाँच्न पाउने अधिकार दिएको छ। बोक्सीको आरोपमा गरिने क्रूरता, यातना, हिंसाले महिलाको हक अधिकारको ठाडो उल्लंघन गरेको छ।

पुरातनवादी सोचबाट मौलाएको हाम्रो समाजमा यस्ता विकृति, कुरीति अनगिन्ती छन्। २१औँ शताब्दीमा पनि हामीले आफ्नोे सोचमा परिवर्तन नल्याए कहिले ल्याउने हो ? समाजबाट यस्ता कुरा निर्मूल पार्ने सोचमा परिवर्तन ल्याउन मानवीय चेतना जगाउनु आवश्यक छ। साथै ऐन/कानुनलाई बलियो पार्न व्यक्ति भनेर हेर्नुभन्दा गलत गर्नेले सजाय पाउनुपर्छ भने सोच विकास हुनु जरुरी छ। स्थानीयतहले पनि समाजबाट यस्ता कुप्रथाप्रति सचेतना कार्यक्रम गराउनु आवश्यक देखिन्छ। दियो हराएकै आरोपमा यति ठूलो कुकर्म गर्नु न्यायसंगत हो त ?

– पोखरेल अम्बे मुरारी सेवा केन्द्रकी अध्यक्ष हुन्।

प्रकाशित: १ चैत्र २०८० ०६:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App