८ वैशाख २०८१ शनिबार
विचार

दलित मुक्तिको वैचारिकी

अहिले पनि नेपाली समाजमा उच्च वर्ग र तथाकथित उच्च जातको हातमा शासनसत्ता कायम छ। दश वर्षको माओवादी सशस्त्र युद्ध र १९ दिने जनविद्रोहले सामन्ती निरंकुश राजतन्त्रको कालो युग अन्त्य गरेको थियो। यो निरंकुश सत्ता अन्त्यका लागि एक हजार ७०३ जना दलितले बलिदान गरेका थिए। दलितको अरू अग्रगामी वर्गसरह देशको मुक्तिका लागि त्याग, तपस्या, बलिदानको कीर्तिमान कायम भएको थियो।

जनताको महान् त्यागले पुरानो सत्ता बदलिएपछि जब देशमा राज्यको नयाँ संरचनाको सवाल आयो त्यतिबेला दलितलाई हिन्दु जातीय अहंकारवादले दलितलाई अछूत, अशुद्ध, अक्षमको गलत संबोधन गरेर शासक वर्ग र शासक जातिले सत्ता, शक्ति र स्रोतबाट वञ्चितीकरणमा पारिएको यथार्थ हो। व्यवस्था परिवर्तन भयो, सरकार फेरियो तर दलित मुक्ति भएन। जातीय छुवाछूतको सामाजिक सत्ता कायम भइरह्यो। अहिले दलित जनताप्रति शासक वर्ग र शासक जातिले दलितको त्याग र सर्मपणमाथि गरेको धोका दलित र सत्ताबीचको अन्तरविरोधको मुख्य सवाल हो।

सामन्ती ब्राह्मणवादी उच्चजातीय अहंकारवादले प्रशिक्षित वर्तमान शासक वर्गले देशका लागि निरंकुश सत्ताका विरुद्ध लड्ने, बलिदान हुने दलितलाई देशको संविधानको धारा २४ धारा ४० को उपधारा १ देखि ६ सम्म भएको व्यवस्था लागु गर्न कानुनसमेत नबनाइ संविधानलाई निस्तेज बनाएको छ। शासक वर्ग शासक जाति चालु राज्यसत्तामा शासन सत्ताको उपरी संरचना कब्जा गरेर बसेका छन्। यही सिंगो सत्तामा ठालु शासक वर्गको वर्चश्व चलिरहेको छ। सोहीअनुरूप शासक वर्गले आफ्नो वर्ग र आफ्नो जातीय हितमा यो राज्य व्यवस्था टिकाइराखेको अवस्था छ। किनकि राज्य भनेको शासक वर्गका लागि शासनसत्ता चलाउने कार्यकारी समिति हो।

सिद्धान्ततः क्रान्ति, आन्दोलनले पुरानो सत्ताको राजनीतिक, आर्थिक आधार मात्र होइन, पूरा सत्ताको अधिरचना (उपरी संरचना) पनि फेर्नुपर्छ, बदल्नुपर्छ भन्छौँ हामी । नेपाली क्रान्तिले राजनीतिक, आर्थिक, परिवर्तन भए तापनि अधिरचनामा आवश्यक परिवर्तन गरेन भने अब क्रान्तिको पूर्ण परिवर्तनको लक्ष्य लिएको त्यो नयाँ राज्य व्यवस्था लामो समयसम्म टिकिरहन सक्दैन। त्यहाँ फेरी पुरानै शासक वर्गको अधिरचनाको बलले नयाँ शासन सत्ताका आधारलाई पनि भत्काउन कोसिस गरिरहेको हुन्छ। त्यो अधिरचनाले नयाँ सत्ताको संरचनालाई भत्काउन प्रभाव पारिरहेको हुन्छ। नयाँ सत्तामा शासक वर्गले क्रान्तिका प्रेरक तत्त्व, दलित, गरिब सर्वहारा वर्ग राज्यको उपरी संरचनामा स्थापित नगर्दा त्यसले प्रतिक्रान्तिका स्वरूपहरूलाई जन्म दिन्छ र यसले संशोधनवादी धार विकास गर्छ। यसबाट संसारमा ठुल्ठूला प्रतिक्रान्ति भएका छन्।

यही राज्यको उपरी संरचनामा सर्वहारा वर्गलाई स्थापित नगर्ने वैचारिक संशोधनवादी खुश्चेभी धारले सोभियत रुस ७० वर्षभन्दा माथिको वैज्ञानिक समाजवादको गरिमालाई टिकाउन सकेन। चीनले माओको मृत्युपछि माक्र्सवाद, लेनिनवाद र माओ विचारलाई सुरक्षा गर्न सकेन। देङको खुला अर्थनीतिले भौतिक विकास त गर्‍यो तर त्यहाँ आर्थिक वर्ग छन, त्यहाँ वर्गीय असमानता छ। नयाँ सत्ताले राज्यको उपरी संरचनामा गरिब, सर्वहारा, सीमान्तकृत जनतालाई स्थान दिएन। प्रतिक्रियावादी नयाँ सत्ताले सर्वहारा वर्गलाई राज्यको राजनीतिक, सामाजिक सांस्कृतिक उच्च स्थानमा राखेन। बरु पछाडि धकेलिदियो।

अहिले नेपाली क्रान्तिका नयाँ शासक वर्गले पनि दलित, उत्पीडित वर्ग, मिटरब्याज पीडित, सहकारीबाट शोषित, साहू/महाजनबाट दमनमा परेका गरिब सीमान्तकृत वर्गप्रति भीषण शोषण छ। हिजो निरंकुशताविरुद्ध लड्ने क्रान्तिकारी तप्का दलित, उत्पीडित वर्ग राज्यको उपरी संरचनाबाट बहिष्करणमा परेको छ। यसले नेपाली क्रान्तिका महान् सपना बोकेको क्रान्तिकारी वर्गलाई खिल्ली उडाएको महसुस हुन्छ।

शासक वर्ग शासक जातिले सत्ताको अधिरचना, उपरी संरचनामा आफ्नो प्रभुत्व स्थापित गरिरहेको हुन्छ। सत्ताको विभिन्न अंगमाथि आफ्नो पहुँच टिकाइराख्न उपरी संरचनामा आफ्नो प्रभुत्व जमाएर बसेको हुन्छ।  सत्ताको समग्र उत्पादन प्रणाली, राजनीतिक संरचना, सांस्कृतिक संरचना, धार्मिक संरचना, सांस्कृतिक संरचना तथा शैक्षिक संरचनामा आफ्नै वर्चश्व स्थापित गरिराखेको हुन्छ। यो साँचो हो, सत्ताको संरचनाको आर्थिक आधारहरू परिवर्तन भएपछि समाजमा सम्पूर्ण वस्तु पनि परिवर्तन हुँदै जान्छन्। आदिम साम्यवादी युग, दासयुग, सामन्तवादी युग, पुँजीवादी युगदेखि अहिलेको समाजवादी युगसम्म उत्पादन प्रणाली पनि परिवर्तन हुँदै गएका छन्।

नेपाली समाजमा छुवाछूतलाई स्थिर र जीवित राख्न कट्टर हिन्दु धर्मको वैचारिक धारले प्रभाव पारिराखेको छ। दलितलाई ज्ञान, शिक्षा, चेतना, सत्ता र सम्पत्तिबाट युगौँदेखि बष्किरणमा पारिरहेको छ। शासक वर्गले दलितहरूले शासनसत्ता चलाउने होइन, शासित भइरहने हो भन्ने राजनीतिक मनोविज्ञानको सोचबाट उनीहरूलाई शासनसत्ता सञ्चालन गर्नबाट वञ्चितीकरणमा परिरहेका छन्। दलितले शासक वर्ग र शासक जातिको अपमानपूर्ण, कठिन र सेवामूलक काम मात्र गर्ने हो, शासनसत्ता सञ्चालन गर्ने होइन भन्ने शासक वर्गको चिन्तनबाट दलितलाई दमन गर्र्दै शासनसत्ता चलेको छ। यही सोचमा शासक वर्गले दलितलाई वर्ण र वर्ग उत्पीडनले थिचेर शोषणगरिरहेको छ।  

प्रकाशित: ११ फाल्गुन २०८० ०९:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App