८ वैशाख २०८१ शनिबार
विचार

त्रिभुवन, नेहरू र एरिका

फागुन ७ अर्थात् प्रजातन्त्र दिवस। राणाशासन अन्त्य भएको दिनको जब कुरा आउँछ मलाई भने जर्मन नागरिक एरिका ल्युकट्यागको सम्झना हुने गर्छ। २००७ सालको परिवर्तनमा प्रत्यक्ष उनको केन्द्रीय भूमिका त थिएन तर पेसागतरूपमा फिजोयोथेरापिस्ट उनको भूमिका नेपथ्यमा रहेर गरेको भए पनि केन्द्रीय पात्रको भन्दा कम थिएन। यसलाई इतिहासले कसरी ग्रहण गर्ने र बुझ्ने भन्ने फरक पाटो त छँदैछ।

राजा त्रिभुवनकी जेठी महारानीको उपचारार्थ तत्कालीन प्रधानमन्त्री मोहन शमशेरका छोरा विजय शमशेरले उनलाई नेपाल ल्याएका थिए। भारतको स्वाधीनताको आन्दोलनमा प्रत्यक्ष वा परोक्षरूपमा मद्दत पुर्‍याउने विदेशी महिला यनी विसेन्ट, गितावेन (मैडालिन स्लैड), सिस्टर निवेदिता (मार्गरेट एलिजावेथ नोवल) जो क्रमशः पूर्वीय अध्यात्मवाद, महात्मा गान्धी र स्वामी विवेकानन्दबाट प्रभावित तथा प्रेरित थिए, उनीहरूले आफ्नो कार्य क्षेत्र भारतलाई माने, जीवनपर्यन्त भारतमै रहेर त्यहीँको भूमिमा आफ्नो जीवन पनि विसर्जन गरे। तर एरिकाको हकमा भने यस्तो भएको छैन। उनी लामो समय नेपालमा बसिनन्। त्यसै अवधिमा राजा त्रिभुवन र भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूबीच सम्बन्ध कायम गर्ने सेतु बनिन् भनिन्छ।

भारतको सिमलाको पटियाला दरबारबाट ट्रेन, गाडी तथा पालकीबाट नेपाल भित्रिएकी एरिका राजा त्रिभुवनका लागि सहृदयी र सहायक बनिन् भने उनलाई नेपाल भित्राउनेका लागि हितकर भइनन्। उनी फिजियोथेरापिस्ट थिइन्। त्यसको साथै नाच्ने कलामा उनी पोख्त थिइन, भनिन्छ।

विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त उनको जीवनकथा मात्र नभएर मृत्युकालीन घोषणापत्र पनि हो। डाक्टरबाट आफ्नो जीवन धेरै बाँकी छैन भन्ने थाहा भएपछि वरिष्ठ अधिवक्ता गणेशराज शर्मा र शैलजा आचार्यको उपस्थितिमा कोइरालाले टेपमा बोलेका कुरालाई लिपिबद्ध गरेर सार्वजनिकरूपमा ल्याउने कार्य जगदम्बा प्रकाशनले गर्‍यो।

त्यस्तो अवस्थाको मानिसले असत्य, भ्रामक, काल्पनिक तथा तथ्यहीन कुरा गर्छ भन्ने हुँदैन। त्यसैले प्रमाण कानुनले पनि ‘मृत्युकालीन घोषणा’ लाई प्रमाणका रूपमा ग्रहण गर्छ। यस पुस्तकमा राजा त्रिभुवनको रंगीला स्वभाव, नाचगान तथा थिएटरमा रुचिसम्बन्धी प्रशस्त कुरा पाइन्छन्। त्यसैले होला, त्यस्ता स्वभावका राजालाई एरिकाले पहिला नाच सिकाउने त्यसपछि मात्र रानीको उपचार गर्ने गर्थिन भनेर जानकारहरूले बताउने गरेका छन्। राजासँग निकटता बढ्छ उनको।

एउटा राजा कस्तो अवस्थामा रहेको हुन्छ होला भनेर जे÷जस्तो सामान्यतया अनुमान गरिएको हुन्छ, त्योभन्दा उनको अवस्था एरिकाले भिन्न पाउँछिन्। राजा स्वतन्त्र नभएर बन्धक जस्तो देख्दा निश्चय पनि राजाप्रति उनको सहानुभूति भयो होला। त्यसमा पनि महिलामा अपवादबाहेक बढी भावुकता, संवेदनशीलता, कारुणिकता आदि जस्ता गुण हुन्छन्। त्यसैले राजासँग निकटता बढ्नु स्वाभाविक थियो।

राजाले आफ्नो निरीह र बन्धकयुक्त जीवनको कुरा बताउँछन्। त्यसपछि एरिकाले भारतीय दूतावाससँग सम्पर्क गर्छिन्। महारानीको उपचार गरेर पाँच महिनापछि उनी भारत फर्किन्छन्। त्यसबेला उनलाई दरबारले थुप्रै उपहार दिएको थियो भनिन्छ।

उनैका माध्यमबाट त्रिभुवन र नेहरूको बीचमा पत्र आदान–प्रदानसम्म पनि भइसक्छ। एरिका सिमला फर्कने बेलामा राजा त्रिभुवन र उनका बीचमा कुरा गर्नका लागि सांकेतिक भाषा तय गरिएको हुन्छ। उनीहरूले त्यसरी प्रयोग गर्ने भाषामा नेहरूलाई डाक्टर, राणालाई सर्प, चिठीलाई फूल र राजदूतलाई चरा भनिन्थ्यो। एरिका फर्केको लगभग १५ महिनापछि राजदरबारमा अप्रत्याशित घटना हुन्छ।

राजा त्रिभुवन परिवारसहित काठमाडौँस्थित भारतीय दूतावासमा शरण लिन पुग्छन्। त्यसबेलाको अवस्थालाई प्रमोद शमशेर राणाले ‘राणा शासनको वृतान्त’ भन्ने आफ्नो कृतिमा यसरी लेख्छन्– ‘६ नोभेम्बर १९५० का दिन राजदरबारमा एउटा अद्भूत घटना घट्यो। राजा त्रिभुवन, बडामहारानीहरू, राजकुमारहरू र नातिनातिनाहरूसमेत सबैजना मोटर चढी बनभोज खान जाने बहानामा बिहान राजदरबारको पश्चिम ढोकाबाट निस्किए।

त्यो दिन सबेरै बडामहारानीहरूले चारपाँचवटा स्टिलका बाकसमा बहुमूल्य सामानहरू र अत्यावश्यक लुगाफाटा समेत प्याक गरी सबै सामान मोटरहरूमा राख्न लगाएर ठिकठाक गरी निश्चित समयमा सबैजना दरबारबाट बाहिर निस्किए। राजदबारमा चार वर्षका माहिला नाति ज्ञानेन्द्रवीरविक्रमलाई छाडेका थिए। सवारीका मोटरका ताँती पिकनिकस्थलतर्फ नगएर सोझै भारतीय राजदूतको निवासस्थान महाराजगन्ज पुग्यो। दूतावासको मूल ढोकामा भारतका सैनिक एटयाची कर्णेल तयार भएर बसेका थिए, उनले ढोका खोलेर ‘शाही शरणार्थी’लाई त्यहाँ स्वागत गरे।

त्यसपछि नोभेम्बर ११ तारिखका दिन भारतीय वायुसेनाका डिसी तीन हवाईजहाज काठमाडौँ उत्रिए र त्रिभुवन सपरिवार भारतीय दूतावासबाट निस्केर विमान चढेर दिल्लीतर्फ प्रस्थान गर्छन्। यसरी परिवारसहित भारतीय राजदूतावासमा राजा त्रिभुवनले शरण लिएपछि राजनीति नयाँ चरणमा प्रवेश गर्छ।

भारतीय राजदूत सुरजित सिंह, चन्द्रशेखर र त्रिभुवनबीच सन्देशबाहक बनेकी थिइन् एरिका। तर विपक्षीहरूको योजना फरक थियो। सशस्त्र आन्दोलन गरिरहेका विधिहरूको आफ्नै योजना थियो।

उनको भनाइ छ-‘हामीहरूले सशस्त्र क्रान्ति गर्दाखेरि राजाको के स्थिति हुने? राजाको नाउँबाट हामीले क्रान्ति गर्दा राजालाई त उनीहरूले समातिहाल्लान्। त्यसो हुनाले राजालाई त्यहाँबाट भगाउनुपर्छ। भगाउनुपर्दा सबभन्दा सजिलो त के हुन्छ भने एयरपोर्टसम्म हामीले लग्न सक्यौँ भने त्यहीँ हेलिकोप्टरबाट उनलाई उडाएर लिएर जाने। उडाएर उनलाई पाल्पामा लग्न सकियो भने पाल्पामा नयाँ सरकार बनाउने। अनि त्यस सरकारलाई हिन्दुस्थानको अन्तर्राष्ट्रिय मान्यता दिलाउने र क्रान्ति बढाएर लिएर जाने भनेर हामीले प्लान गरेका थियौँभन्ने जस्ताआत्मवृत्तान्तमा आद्योपान्त चर्चा पाइन्छ।

त्यसबेला राणा प्रधानमन्त्री मोहनशमशेरले आफ्नो शासनसत्ता जोगाउन प्रयास गर्नु स्वाभाविक थियो। राजा त्रिभुवन दरबार छाडेको भोलिपल्ट गरिएको प्रयासका सम्बन्धमा पुरुषोत्तम राणाले यसरी लेखेका छन्–‘भोलिपल्ट बिहान सात बजे सारा–भाइ भारदार उच्चपदस्थ कर्मचारीहरू तथा त्यसबखत स्थगित गरिएका दुवै संसद्का सदस्यहरूको घरघरानामा सिंहदरबाट खटाइएका आठ पहरियाहरू बिहान उज्यालो नहुँदै पुगी उनीहरूलाई सिंहदरवारको पश्चिम चोकमा उपस्थित गराए।

सबैजना चोकमा जम्मा भइसकेपछि संसद्का सदस्यहरूलाई त्यहीँ लामबन्द गरी राखे। एकैछिनपछि महाराजले पश्चिम चोकको पूर्वी मोहडापट्टिको तीन तलामाथिको झ्यालबाट हेरी संसद्को अध्यक्षता गरे।

सपरिवार भारतीय राजदूतावासमा गएर राजाले शरण लिएकाले देशमा आपतकालीन स्थिति आयो। त्यसैकारण प्रचलित ऐन, कानुन र रीतिअनुसार राजा त्रिभुवनलाई पदच्युत गरी राजगद्दीका सबैभन्दा नजिकका हकदार देखिएका चार वर्षका नाति ज्ञानेन्द्रविक्रम शाहलाई राजगद्दीमा राख्नुपर्ने अवस्था पर्न आयो भन्ने लेखिएको कागज पढेर सुनाउन लगाई सबै जनालाई त्यसमा सही गर्न आदेश दिए। त्यहाँ उपस्थित संसद् सदस्य (खाद्य विभागका अध्यक्ष) गयाप्रसाद शाहले कराउँदै यसरी हडबड गरेर राजालाई पदच्युत गर्नुभन्दा अघि एकपटक एउटा प्रतिनिधिमण्डल त्यहाँ गएर सम्झाउनु राम्रो होला भनी जाहेर गरे। उनलाई तिप्पा दिँदै एकजना वरिष्ठ जर्नेलले टेक्ने लठ्ठी हातमा हल्लाउँदै नसम्झनेलाई के सम्झाउने? भनी हप्काए। यसपछि त्यहाँ उपस्थित सबैजनाले भय र त्रासको वातावरणमा ठीक गरिएको कागजमा हस्ताक्षर गरे।

यसरी दरबारमा भुल वा नियतवश छाडेका राजकुमार ज्ञानेन्द्रलाई राजा घोषणा गरिन्छ। त्यसपछि राजा ज्ञानेन्द्रलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन प्रशस्त प्रयत्न हुन्छ तर त्यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल हुँदै भएन। बेलायत, पाकिस्तानबाट मान्यता पाउन प्रयास गरेपनि सफलता प्राप्त हुँदैन भनौँ सारा प्रयत्न असफल हुन्छन्। यस विषयमा प्रशस्त मात्रामा इतिहासमा लेखिएका छन्।

अन्ततः दिल्लीबाट मध्यस्थताका लागि अगाडि सारिएका सर्तहरूलाई मान्न लाचार भएका मोहन शमशेरले त्यसलाई सम्बोधन हुनेगरी ‘८ जनवरी १९५१ इ.सं. का दिन एउटा विशेष घोषणा गरी महाराज मोहन शमशेरले सबै राजबन्दी मुक्त गर्ने, ७ नोभेम्बर १९५० का दिन संसद्समेतले अनुमोदन गरी राजा त्रिभुवनलाई पदच्युत गर्ने निर्णय बदर गर्ने, सन् १९५२ सम्ममा आमनिर्वाचन सम्पन्न गराउने र अहिले राणाहरू र जनप्रतिनिधिहरू बराबर संख्यामा रहने गरी मन्त्रिमण्डल गठन गर्ने जानकारी गराए।

दिल्लीबाट त्रिभुवनले नेपाल सरकारको यो घोषणाको स्वागत गरे। नेपाली कांग्रेसका सभापति मातृकाप्रसाद कोइरालाले पनि भारतीय नेताहरूसँग परामर्श गरेपछि १६ जनवरीमा एउटा प्रेस वक्तव्य जारी गर्दै नेपालमा सशस्त्र आन्दोलन समाप्त गरी शान्ति स्थापना गर्न सबैसँग आग्रह गरे।’ जुन कुरा प्रमोद शमशेरको राणा शासनको वृत्तान्तमा उल्लेख छ।

भारतमा रहेका राजा त्रिभुवन एक सय ६ दिनपछि १६ फेब्र्रुअरीमा स्वदेश फर्के। ‘२००७ साल फागुन ७ गतेका दिन त्रिभुवनले नारायणहिटी राजदरबारबाट शाही घोषणा गरी अघि राजा सुरेन्द्रवीर विक्रम शाहबाट लालमोहर गरी राणा प्रधानमन्त्रीलाई दिएको सम्पूर्ण अधिकार खारेज गरेर त्यो लालमोहरलाई बदर गरे।’ यसरी राणा शासन अन्त्य भएको थियो।

राजा त्रिभुवन र नेहरूबीच सेतु बनेकी एरिका पछि सन् १९५१ मा नेपाल आई कलकत्तामा नेपाली राजकुमारीको विवाहमा सामेल भइन्। १३ मार्च १९५४ मा स्विट्जरल्यान्डको जुरिचमा त्रिभुवनको मृत्यु हुन्छ। त्यसबेला एरिका लन्डनमा बस्थिन्। राजा त्रिभुवनको निधन भएको खबर रेडियोबाट सुनिन्। राजाको मृत्यु भएको चार वर्षपछि उनले ‘एरिका एन्ड द किङ’ नामक पुस्तक लेखिन्। २००७ सालको राजनीतिक परिवर्तनमा गहिरो सम्बन्ध राख्ने एरिकाको इतिहास त्यति चर्चामा रहेको पाइँदैन। त्यसकालखण्डको सूक्ष्म विश्लेषण र अध्ययन गर्ने हो भने यिनको इतिहास छुटाउनु हुँदैन। 

प्रकाशित: ७ फाल्गुन २०८० ०५:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App