२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

१५ वर्षअघि नै अल्जाइमर्स आकलन !

यस्तो पनि!

रगतका प्रोटिनको परीक्षणले अल्जाइमर्स, डिमेन्सियालगायतका रोगहरूको आकलन चिकित्सकहरूले थाहा पाउनुअघि नै तपाईंले जानकारी पाउने नयाँ विधि पत्ता लागेको फाइनान्सियल टाइम्सले लेखेको छ।

चीनको फुदान विश्वविद्यालय र बेलायतको वारविक विश्वविद्यालयले संयुक्त रूपमा गरेको अध्ययन र त्यस अध्ययनलाई गरिएको विश्लेषणले के देखाएको छ भने, अल्जाइमर्स तथा अन्य न्युरोविकृत रोगहरूको कारकका रूपमा केही प्रोटिनले भूमिका खेलेका हुन्छन्। ती प्रोटिनले केही यस्तो जैविक चिनो छाडेका हुन्छन्, तिनलाई पत्ता लगाउन सक्दा कालान्तरमा ती व्यक्तिमा न्युरोविकृतिको शिकार हुनसक्ने सम्भावना देख्न सकिन्छ।

समयअगावै मानिसमा विस्मृतिका रोगका लक्षण देखिए, त्यसलाई प्रभावशाली परीक्षण गर्ने विधि पत्ता लगाउन सकिए विस्मृतिका सबैजसो रोगको औषधी प्रयोग गरी ती रोगको गति या त सुस्त बनाउने या तिनलाई निर्मूल नै गर्न सकिने सम्भावना यसबाट देखिने वैज्ञानिकहरूले बताएका छन्। 

अध्ययनका प्रमुख वैज्ञानिक तथा वारविक विश्वविद्यालयका कम्प्युटर साइन्सका प्राध्यापक जियानफेङ फेङ भन्छन् ‘१५ वर्षअघि नै यस्ता रोग पत्ता लगाउँदा हामीले रोग निदानका लागि पर्याप्त गृहकार्य गर्न पाउने छौँ र रोग सुस्त बनाउन सक्छौँ भन्ने देखिन्छ।’

नेचर एजिङमा प्रकाशित यो अध्ययनमा करिब ५२ हजार मानिसको रगत परीक्षण गरिएको बताइएको छ। ती रगत सन् २००६ देखि २०१० को अवधिमा लिइएको थियो। ती नमुना रगतको परीक्षण गर्दा १४०० मा केही असामान्य रक्तप्रोटिन थिए र तीमध्ये ११ वटा नमुनाले भने ती व्यक्तिमा विस्मृतिको रोग लाग्ने भविष्यवाणी गरेको थियो। पछि ती रगत समूहका मानिसमा विस्मृतिका लक्षण देखिएको वैज्ञानिकहरूले बताएका छन्।

त्यसो त यसअघि अर्को समूहले पनि यस्तै अध्ययन गरेर विस्मृतिका रोगहरूका लागि एउटा परिक्षण विधि सुझाएको थियो। सोही विधिबाट गएको अक्टोबरदेखि केही औषधी कम्पनीहरूले अल्जाइमर्सको औषधीसमेत बनाइरहेका छन्। ती औषधीले विस्मृतिको शुरूवाती लक्षण देख्नेबित्तिकै ती औषधी प्रयोग गरिए, विस्मृतिको गति निकै सुस्त हुने बताइएको छ।

प्रकाशित: २ फाल्गुन २०८० ०६:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App