१० असार २०८१ सोमबार
image/svg+xml
विचार

आडवाणीलाई पशुपति दर्शनको निम्तो !

भारतीय जनता पार्टी (बिजेपी) का संस्थापक सदस्य, वरिष्ठ नेता, पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री ९७ वर्षीय लालकृष्ण आडवाणीलाई उनको जीवनको अन्तिम कालमा भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ले सम्मानित गर्ने घोषणा प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन्। भारतको आमचुनाव यसै वर्ष (२०२४) को अप्रिल/मेमा हुँदैछ। छायाँमा पारिएका आडवाणीलाई भारतीय संसद्को आमचुनावको मुखैमा भारत–रत्नले सम्मानित गर्ने मोदीको यो घोषणा अर्थपूर्ण छ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्– आडवाणीजीलाई भारत रत्नले सम्मानित गर्ने कुरा भन्न पाउँदा मलाई खुसी लागेको छ। हाम्रो समयको सबैभन्दा सम्मानित नेतामध्ये एक आडवाणीजीको भारतको विकासमा महत्त्वपूर्ण योगदान छ। प्रतिउत्तरमा आडवाणीले भने– म पूरा विनम्रता र कृतज्ञताका साथ भारत रत्न स्वीकार गर्दछु। मेरा लागि यो एउटा व्यक्तिको मात्र सम्मान नभएर मेरा ती आदर्श र सिद्धान्तको पनि सम्मान हो, जसलाई मैले आफ्नो सम्पूर्ण जीवनपर्यन्त पूर्ण क्षमताका साथ सेवा गर्नाका लागि प्रेरित रहेको छु।

आडवाणीको जन्म ८ नोभेम्बर १९२७ मा अविभाजित भारतको कराँची शहर (हालको पाकिस्तान) को सम्भ्रान्त पारसी परिवारमा भएको थियो। उनले प्रारम्भिक शिक्षा त्यहाँको प्रसिद्ध सेन्ट प्याट्रिक स्कुलबाट प्राप्त गरेका थिए। १९४७ मा भारत विभाजन भएको एक महिनापछि उनी ब्रिटिस ओभरसिज कर्पोरेसनको हवाईजहाजबाट दिल्ली आएका थिए।  

आडवाणीको राजनीतिक आरम्भ

आडवाणीलाई भारतीय राजनीतिमा पं. दीनदयाल उपाध्यायले ल्याएका हुन्। जतिबेला उनी भारतीय जनसंघको अध्यक्ष थिए। भारतिय जनसंघ नै पछि बिजेपीका रूपमा अघि आएको हो। केही समय उनले आरएसएसको अंग्रेजी मुखपत्र अर्गनाइजरमा फिल्म समीक्षक भएर पनि काम गरे। १९७० मा उनी भारतीय लोक सभाको माथिल्लो सदन राज्यसभाको सदस्य बने भने सन् १९८९ मा राजधानी दिल्लीबाट लोकसभामा पहिलोपटक निर्वाचित भएर आए।

आडवाणीको राजनीतिको टर्निङ पोइन्ट भने १९९० मा अयोध्यामा राम मन्दिर निर्माणका लागि उनको नेतृत्वमा सञ्चालन भएको सोमनाथदेखि अयोध्यासम्मको रथयात्रा थियो। यस रथयात्राले राम मन्दिरको मुद्दालाई भारतीय राजनीतिको केन्द्रविन्दुमा पुर्‍यायो र यसै रथयात्राको जगमा ६ डिसेम्बर १९९२ मा अयोध्यामा रहेको बाबरी मस्जिदलाई मटियामेट पारिएको थियो र त्यस समयमा आडवाणी अयोध्यामै थिए। अहिले त्यसै स्थानमा बनेको विशाल राम मन्दिरमा प्रधानमन्त्री मोदीले गत २२ जनवरीमा भगवान रामको मूर्तिको प्राण प्रतिष्ठा गरेर आडवाणीले प्रारम्भ गरेक रथयात्रालाई एउटा टुंगोमा पुर्याएका छन्। अयोध्यामा भएको यस प्राण प्रतिष्ठा समारोहमा आडवाणीलाई एकातिर निम्तो गरियो भने अर्कोतिर नआउ भन्ने सन्देश पनि साथसाथै दिइयो। यस समारोहमा आडवाणी उपस्थित हुन सकेनन्।

१९८४ मा दुई सिट मात्र प्राप्त गरेर निरन्तर ओरालोतर्फ लागिरहेको बिजेपीलाई आडवाणी बाजपेयीको नेतृत्वमा लडिएको १९९९ को आमचुनावमा राष्ट्रिय जनतान्त्रिक गठबन्धनलाई ३०६ स्थान प्राप्त भयो र अटल बिहारी बाजपेयी नेतृत्वमा नयाँ मन्त्रिमण्डल गठन भयो। जसमा आडवाणी उपप्रधानमन्त्री तथा गृहमन्त्री भए। बिजेपीलाई भारतीय संसद् लोकसभाको सबभन्दा ठूलो दल बनाउने श्रेय आडवाणीलाई नै जान्छ।

राजनीतिक विराम

आडवाणी विपक्षी दलको नेता र बिजेपीको अध्यक्ष हुँदा उनले २००५ मा आफ्नो जन्मस्थान पाकिस्ताको यात्रा गरे र पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाको समाधिस्थल पुगेर सम्मान प्रकट गर्दै भने–भारतको विभाजन इतिहासको टार्नै नसकिने वास्तविकता हो। जिन्ना धर्मनिरपेक्ष थिए र उनी हिन्दु–मुसलमान एकताका दूत थिए। यो विचार आरएसएसको विचारधारा विपरित थियो। उनको यस भनाईले भारतमा तरंग फैलियो। विशेषगरी आरएसएसको खेमामा र यसै कारण उनलाई बिजेपीको अध्यक्षबाट राजीनामा दिन बाध्य पारियो। पछिका दिनहरूमा यतिसम्म गरियो कि उनलाई राष्ट्रपतिको उम्मेदवार बन्नबाटै वञ्चित गरियो।

अहिलेका प्रधानमन्त्री मोदीलगायत बिजेपीका प्रायः सबै ठूला नेतालाई आडवाणीले नै दीक्षित गरेका हुन् तर उनी कहिल्यै पनि मोदीलाई प्रधानमन्त्री बनाउने पक्षमा उभिएनन्। त्यसकारण उनी मोदीको विश्वास प्राप्त हुन सकेनन्। र, उनी भिष्म पितामह जस्तै राजनीतिबाट टाढिएर बसे। बिजेपी र आरएसएसमा आडवाणीलाई उचित स्थान दिइएन भन्नेहरूको ठूलो संख्या छ। शायद उनीहरूलाई चित्त बुझाउनका लागि र चुनावमा प्रतिकूल प्रभाव नपरोस् भनी चुनावको मुखमा भारत रत्नको यो घोषणा गरिएको हुन सक्छ।

सन् १९९८  नोभेम्बरको चौथो साता आरएसएसको साप्ताहिक मुखपत्र ‘पाञ्चजन्य’को स्वर्ण जयन्ती समारोह दिल्लीमा मनाइँदै थियो। नेपाल सम्वाददाताको नाताले मलाई पनि आमन्त्रित गरिएको थियो। त्यसै सन्दर्भमा त्यतिबेलाका उपप्रधामन्त्री तथा गृहमन्त्री लालकृष्ण आडवाणीले नयाँ दिल्लीको पण्डारा रोडस्थित आफ्नो निवासमा रात्रिभोज आयोजना गरेका थिए। त्यहाँ आडवाणीसँग मैले सोधेको थिएँ–‘आडवाणीजी! तपाईँ अहिलेसम्म नेपाल जानुभएको छ कि छैन?’ उनले भने–नेपाल सरकारले बोलाएको छैन। नबोलाइकन कसरी जानु ? एकचोटि पशुपतिनाथको दर्शन गर्ने इच्छा त छ।’

अब जब प्रधानमन्त्री मोदीले आडवाणीलाई भारतको सर्वोच्च नागरिक सम्मान भारत–रत्नले सम्मानित गर्ने घोषणा गरेका छन्। नेपाल सरकारले नेपाल–भारतबीच रहिआएको गहिरो सांस्कृतिक सम्बन्ध सुदृढ पार्न आडवाणीको इच्छा पूरा गर्न ढिलो गर्नुहुँदैन। जीवनको उत्तरार्धमै सही, आडवाणीको पशुपति दर्शनको अभिलाषा पूरा गराउन सरकारले पहल गर्नुपर्छ।

प्रकाशित: २३ माघ २०८० ०६:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App