१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

सरकार, तिमी माफिया भयौं !

गत वर्ष माध्यामिक तह परीक्षाको अन्तिम दिन विद्यार्थीहरूले ‘फेरि खाडीमा भेटौँला’ भनेर मसीले सर्ट रङ्ग्याए। केही निजी कलेजका विद्यार्थीले जापान, अस्ट्रेलिया, युके, क्यानडा र अमेरिका भेट्ने वाचा गरी बिदा भए।

परीक्षाफल आउनेबित्तिकै मोबाइलमा घण्टी बज्यो। तपाईंको छोरा विदेश पढ्नका लागि तयारी गर्ने सोचमा हुनुहुन्छ? छ भने हाम्रोमा आउनु भन्दै एक कन्सल्टेन्सी कम्पनीको फोन थियो त्यो। यस्तो फोन र मेसेज गर्दै उनीहरूले लामो समय फलोअप गरिरहे।

सर्टमा कोरेको मसी सुक्न नपाउँदै केही युवा पासपोर्ट बनाउँदै मेनपावर धाउन थाले। केही वैदेशिक अध्ययनको तयारीमा जुटे। परीक्षाफल प्रकाशन भएपछि ‘अब के गर्ने बाबा?’ छोराको चिन्ताप्रति प्रश्न तेर्सियो। मैले सोधेँ– तिम्रा साथीहरू के गर्छन् रे ? उसले भन्यो–अमेरिका, अस्ट्रेलिया र क्यानडा जाने तयारी गर्दैछन्! ‘अनि तिमी ?’ उसले भन्यो– बाबा, म नेपालमै पढ्छु, त्यो पनि सरकारी कलेज। नेपालमा त भविष्य छैन भन्छन्, उसको मन चोरेँ। किन छैन ? प्रतिप्रश्न गर्‍यो।

मैले सप्तरी, धनुषा, सर्लाही, रौतहट, कपिलवस्तु, दाङ, रोल्पा र बाँके जिल्लामा गरिएको संवादमध्ये केही युवाको यथार्थ घटना सुनाएँ। उसको कौतुहलता र जिज्ञासा दुवै बढ्यो। द्वन्द्वको घाउमा रुमल्लिएर पढ्न नपाएका र विदेशिएका रोल्पाका युवाको व्यथा सुनाएँ। दाङ, तुलसीपुरका युवाको दुःखका कथा सुनाएँ। राज्यबाट युवाले पाउनुपर्ने सेवा र सुविधा नपाएका कथा। जसले दलको झण्डा बोक्छ। जसले जित्छ। त्यसको पछि लाग्नेले मात्र अवसर पाउँछ। चाहे रोजगारी होस् या अनुदान। यस्ता पक्षपाती व्यवहारले क्षमता भएका धेरै युवा बाध्यताले विदेशिनुपरेको यथार्थता।

खाडीको तातो घाममा तप–तप चुहाएर जम्मा पारेको थोपा थोपा पसिना नेपाली भूमिमा पोखेर उमार्न स्वदेश फर्केका युवाको छुट्टै कथा। राज्यबाट कुनै पनि सहयोग र सुरक्षा नपाएर विरक्तिएका युवाहरू फेरि दुःखको पोको बोकेर विदेशिनुपरेको वास्तविक कथा। त्यति मात्र हैन। तुलसीपुरका श्याम वलीको सरकारी कलेजमा पढ्नका लागि गर्नुपरेको सङ्घर्षको कथा। यी काल्पनिक कथा हैनन्, सीमान्तकृत युवाहरूले लोकतन्त्रमा सरकारका ठेकेदार र सत्ताका शासकहरूका कारण भोग्नुपरेका वास्तविकता हुन्।

छोरो नतमस्तक छ। आफुजस्तै युवाले भोगेको पीडा सुनेर। अनि लामो सुस्केरा हालेर फेरि प्रश्न गर्‍यो–बाबा, अब कहाँ पढ्ने त ? मेरो पनि उही जवाफ। युवा छस्। जोस् छ। जाँगर छ। अब आफूले आँट गर्ने। कहाँ पढ्दा आफुलाई उचित लाग्छ। उसले अन्तिम निर्णय सुनायो– म सरकारी कलेज नै पढ्छु। नेपालमै बस्छु।

छोराको सूचना प्रविधि विषयमा स्नातक गर्ने चाहना थियो। त्यो पनि सरकारी कलेजबाट। अनि त्यसपछि बिहानको पाँच बजेको चिसो सिरेटो खाँदै पुतलीसडक धाउन थाल्यो, तयारी गर्न। एक हजार ७९९ विद्यार्थी सरकारी कलेजमा भर्ना हुन परीक्षा दिए। एक हजार ६५२ उत्तीर्ण भए। उत्तीर्ण हुनेमा मेरो छोरो पनि पर्‍यो तर ६७४ नम्बरमा।

४३२ जनाले मात्र सरकारी कलेजमा पढ्न पाउने रहेछन्। त्यसपछि सरकारी कलेज पढ्ने रहर बोकेर छोरा अमृत साइन्स, भक्तपुर र पाटन क्याम्पस धायो। कतै पनि उसको नाम निस्केन। मेरिट लिस्टको ६७४ नम्बरकाले कसरी स्थान पाउला र? 

झिनो आशा राख्दै त्रिभुवन विश्वविद्यालयका एक प्रोफेसरलाई फोन गरेँ। छोराको रोजाइको विषय जानकारी गराएँ। उहाँले विद्यार्थी सङ्गठनलाई समाउनुपर्ने एकमात्र विकल्प दिनुभयो। खोज्न थालेँ कुन कलेजमा कुन दलका विद्यार्थी सङ्गठन बलियो छ? कांग्रेस, माओवादी र एमाले तीनै दलका विद्यार्थी नेतासँग कुरा राखे। कसैले हुन्न भनेनन्। पछि थाहा पाएँ। केही कोटा विद्यार्थी सङ्गठनका लागि छुट्याँइदो रहेछ। तर सँगै चलखेल पनि।

रहर हुँदाहुँदै पनि छोराको सरकारी कलेज पढ्ने ढोका बन्द भयो। म छोराको सुन्दर भविष्यको कामना गर्न एयरपोर्ट जानुभन्दा निजी कलेज चाहार्न थालेँ। ११ वटा कलेज घुमँ। सधैँ कलेज डुलेर मात्र भएन। एउटा निजी कलेजमा पढ्ने निधो भयो । शैक्षिक व्यापारीको कुरा सुन्दा मुख अमिलो भयो। मन भत्भती पोल्यो। मनलाई थम्थमाउँदै सरकारी कलेजले बन्द गरे पनि निजी कलेजको ढोकाबाट प्रवेश गराउँदै भनेँ– तिम्रो भविष्य यहीँ खोज छोरा।

मैतीदेवी चोकमा टेम्पो कुरिरहँदा सटरमा झुण्डिएको पत्रिकामा आँखा पुग्यो। दोबाटो कुर्दै पत्रिका नियालेँ। साउनदेखि कात्तिकसम्मको तथ्याङ्क हेर्दा वैदेशिक अध्ययनका लागि साढे ३८ अर्बभन्दा बढी पैसा बाहिरिएछ। सरकारी कलेजका चालामालाले आफू र आफ्नै देशलाई धिक्कारेँ। कस्तो देशको नागरिक हुन पुगेछु ? भर्खरै मात्र छोरालाई भर्ना गर्दा बुझाउनुपर्ने रकममध्ये एक हजार ८० डलर अन्तर्राष्ट्रिय कलेजबाट मान्यता लिएकाले वैदेशिक कलेजलाई बुझाउनुपर्ने कुराले रन्थनिएको मन। त्यो समाचारले झन् बिथोल्यो। यसरी नेपालका अन्तर्राष्ट्रिय कलेजबाट मान्यता लिने प्रत्येक निजी कलेजहरूले प्रतिविद्यार्थी डेढ लाखदेखि तीन लाखसम्म विभिन्न देशका कलेजलाई शुल्क बुझाउँदा रहेछन्।

चोकमा उभिएर ठूलो स्वरले भन्न मन थियो। सरकारी कलेज, विद्यार्थी सङ्गठन, राजनीतिक दलका ठेकेदार र शासकहरू–तिमी भ्रष्ट भयौ। शैक्षिक माफिया भयौ। शिक्षाका दलाल र व्यापारी भयौ। तिमी निरीह छौ। निकम्मा हौ। सरकारी कजेलमा पढ्न चाहन्छु भन्दा पनि विभिन्न तवरले मेरो छोरा जस्तै धेरै कलिला युवालाई विदेशिन बाध्य पार्‍यौ। युवा र आर्थिक स्रोत बाहिर पठाएर देशलाई कङ्गाल बनायौ।

परिवारले आफ्ना सन्तानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तप्प आँसु खसाल्दै बिदाइको हात हल्लाउँदै सुन्दर भविष्यको कामना गर्नु कसैको रहर थिएन। बाध्यता थियो। यो बाध्यता सिर्जना गर्ने राज्य हो। शासक हो। शैक्षिक माफिया हो। जबसम्म शिक्षामा राजनीति हुन्छ। शिक्षामा व्यापार हुन्छ। तबसम्म यो कार्य रोकिँदैन।  

प्रकाशित: ७ माघ २०८० ००:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App