१८ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

एआईको सदुपयोग र मिडियाको भविष्य

इन्टरनेट र सामाजिक सञ्जालको विकास तथा विस्तारले अहिले विश्वभरि नै परम्परागत सञ्चारमाध्यम संकटमा छन्। प्रविधिको तीव्र रूपमा भइरहेको विकासले पक्कै पनि सञ्चारमाध्यमलाई सबैभन्दा बढी प्रभावित गरेको छ। सञ्चारकर्मीका लागि अहिले संसारभरि टाउको दुखाइको विषय बनेको छ– आर्टिफिसिअल इन्टलिजेन्स अर्थात् एआई।

आफैं टेलिभिजनकर्मी पनि भएकाले होला, मलाई पनि एआई सञ्चारकर्मीका लागि साँच्चै अभिशाप नै हो कि जस्तो लाग्थ्यो। हामीले पढिरहेका समाचारमा प्रायः एआईका कारण रोजगारी गुम्नेलगायतका कुरा मात्र हुन्थे। एआईबारे ममा यस्तै पूर्वधारणा रहेकै बेला हालै मैले संयुक्त अरब इमिरेट्सको राजधानी अबुधावीमा भएको ग्लोबल मिडिया कंग्रेसमा सहभागी हुन पाएँ।

नोभेम्बर १४ देखि १६ सम्म चलेको कार्यक्रममा अनेकौं सत्र थिए र विश्वभरिका चर्चित मिडियाका अनेक खाले प्रदर्शनहरू भएका थिए। तर मलाई एआईसम्बन्धी सत्रहरू र त्यसबारेका प्रदर्शनीले सबैभन्दा धेरै प्रभावित गर्‍यो।

अहिले ‘डिप फेक’ को जमाना छ। हालै मात्र भारतकी चर्चित अभिनेत्री रश्मिका मण्डनाको एउटा ‘डिप फेक’ गरिएको भिडियोको धेरै चर्चा भयो। पहिले उनलाई त्यो भिडियो हेरेर मानिसहरूले गाली गरे भने पछि वास्तविकता बाहिर आएपछि सहानुभूति राखे। अर्कैको भिडियोलाई रश्मिकाको बनाउन सम्भव भएको पनि एआई प्रयोग गरेर नै हो।

पछिल्ला केही साताहरूमा नेपालमै पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले एआई प्रयोग गरेर बनाएका अनेक खाले तस्बिरहरू भाइरल भइरहेका छन्। केही अनलाइनले आफ्ना समाचारमा पनि एआई जेनेरेटेड तस्बिर पोस्ट्याएका छन्। तर ती कृत्रिम तस्बिर हुन् र वास्तविकजस्तो लाग्दैनन् पनि। एआईका यस्ता गतिविधि देखिरहेको मैले अबुधावीमा भने भिन्न रूप देखें। त्यसले मलाई एआईप्रतिको भ्रम तोड्न पनि मद्दत गर्‍यो।

वास्तवमा एआई खराब मात्र रहेनछ। ग्लोबल मिडिया कंग्रेसको प्रदर्शनीमा राखिएका कुराले पनि एआईको कतिपय सकारात्मक कुरालाई उजागर गरेको देखियो। अनि त्यहाँका सत्रहरूमा विज्ञहरूको कुरा सुनेपछि वास्तवमा एआईलाई तपाईंले कसरी प्रयोग गर्नुहुन्छ भन्नेमा त्यो खराब वा सही भन्ने हुने रहेछ।

रोचक कुरा त के भने तपाईंले एआई प्रयोग गरेर बनाएको ‘डिप फेक’ सामग्रीलाई एआईकै माध्यमले पत्ता लगाउन र त्यसको वास्तविक अवस्था थाहा पाउन सकिने रहेछ। त्यो भनेको सञ्चारमाध्यमका लागि पनि फ्याक्ट चेकिङ गर्न सहज हुने कुरा भयो।

ग्लोबल मिडिया कंग्रेसमा राखिएका कुरा र भएका छलफल हेर्दा नेपालको मिडिया उद्योग धेरै नै पछाडि रहेको आभास भयो। तर जसरी अहिले मिडियामा भविष्य छैन भन्ने बहस चलिहरेको छ, त्यस्तो पनि होइन भन्ने पनि त्यहाँ देख्न पाइयो। एआईलाई नै प्रयोग गरेर हामीले सञ्चारमाध्यमलाई अझ मजबुत बनाउन सकिने रहेछ।

एआईका नकारात्मक पाटाको मात्र चर्चा भइरहेकोमा विज्ञहरूले केसम्म तर्क गरेको सुनियो भने जलवायु परिवर्तनका असरहरूलाई समेत एआई प्रयोग गरेर न्यून गर्न सकिने रहेछ। उदाहणका लागि हामीले अहिले कुनै पनि ऊर्जा चाहे त्यो क्लिन होस् वा प्रदूषणयुक्त, त्यसको सही मात्रा अड्कल्न सक्दैनौं। कतिपय अवस्थामा विद्युत्कै कुरा गर्दा पनि हामी अनावश्यक रूपमा त्यसको खपत गरिरहेका हुन्छौं। तर एआईको प्रयोग गरेर ऊर्जा किफायती हुन सकिने रहेछ। नचाहिएको बेलामा स्वतः एआईले त्यसलाई बन्द गरिदिन सक्ने रहेछ।

मानिसहरूले एआईको दुरुपयोगको मात्र कुरा गरिरहेको सुनेको मेरा लागि त्यसको सदुपयोग कसरी गर्न सकिन्छ भन्ने कुरा निकै नौलो लाग्यो। नेपालमा पनि हामीले एआईको प्रयोगले सकारात्मक परिवर्तन गर्न सकिन्छ कि भन्ने भयो।

तीन दिने त्यो कार्यक्रममा विश्वका विभिन्न देशका शिक्षाविद्, युवा तथा विश्वविद्यालयका विद्यार्थीसहित केही शीर्ष उद्योगपति, विशेषज्ञ र विशिष्ट व्यक्तित्व सहभागी थिए। ‘सेपिङ द फ्युचर अफ द मिडिया इन्डस्ट्री’ भन्ने नाराका साथ भएकाले पनि होला, अब भविष्यमा मिडिया उद्योग कस्तो हुन्छ भन्ने झलक पनि त्यसमा देखाइएको थियो।

अहिले धेरैले आफूलाई कन्टेन्ट क्रिएटर भन्न रुचाउँछन्। कन्टेन्ट क्रिएसनमा अब कस्तो प्रविधिले कसरी गर्नुपर्छ भन्ने कुरा पनि निकै नौला र आधुनिक छन्। 

अब सञ्चारमाध्यमले बाँच्नका लागि पहिले जस्तो सूचना मात्र दिएर हुँदैन र त्यसलाई रोचक बनाउन प्रविधिको प्रयोग कसरी गर्ने भन्ने पनि बुझ्नुपर्ने हुन्छ।

विभिन्न क्षेत्रका १३ हजारभन्दा बढी प्रतिनिधि र २३ हजारभन्दा बढी सहभागी भएको ग्लोबल मिडिया कंग्रेसमा २५७ ब्रान्डको प्रदर्शनी गरिएको थियो। १७२ देशबाट सहभागी आएका थिए। त्यहाँ मिडिया उद्योगलाई कसरी दिगो रूपमा लाने भन्नेबारे व्यापक छलफल मात्र भएन, त्यसबारे प्रदर्शनीहरू पनि गरिए।

भविष्यको मिडिया उद्योगका लागि कसरी नवप्रवर्तन गर्दै लाने भन्नेबारे पनि त्यहाँ छलफल भयो। विश्वका नाम चलेका सञ्चारमाध्यमहरूले सहभागिता जनाएको कार्यक्रममा त्यस्ता चर्चित सञ्चारमाध्यमहरूले सामग्री आदानप्रदानको सम्झौता पनि गरेका छन्। मिडिया उद्योगमा देखिएको संकट कम गर्न सामूहिक प्रतिबद्धता र पहल जरुरी रहेकोमा दुई मत छैन।

विश्वका विभिन्न देशले आफ्नो भूमिकालाई अझ बढाउन पनि यस्ता कार्यक्रमलाई प्रयोग गर्ने रहेछन्। मिडियासम्बन्धी कार्यक्रम भए पनि पश्चिमी मिडिया र चिनियाँ मिडियाहरूले अरब र अफ्रिका क्षेत्रमा सहकार्यका लागि पहल गरेको र उनीहरूबिचको रोचक प्रतिस्पर्धाको पनि साक्षी बस्न पाइयो।

नेपालको सञ्चार उद्योगले पनि विश्वव्यापी यो चुनौतीको सामना गरिरहेको छ। कोभिड महामारीपछि त हाम्रो सञ्चार उद्योगमा पनि व्यापक संकट आएको देखिन्छ। तर नेपालको सञ्चार उद्योगको भविष्य के हुने र त्यसका लागि हामीले कस्ता नवप्रवर्तनका काम गर्नुपर्छ भन्ने खासै चर्चा भएको पाइँदैन। यस्ता विश्वव्यापी मञ्चमा नेपाली सञ्चार उद्यम क्षेत्रका व्यक्तित्वहरूको सहभागिता पनि भएको देखिँदैन।

वास्तवमा यस्ता फोरमहरू सिक्नका लागि उपयुक्त स्थान हुने रहेछन्। एआईबारेको मेरो अर्धज्ञानलाई पनि यो कार्यक्रमले टुटायो भने हाम्रा नेपाली सञ्चार उद्यमीहरूले पनि यस्ता कार्यक्रममा सहभागी भएर धेरै कुरा सिक्न सक्नुहुन्छ जस्तो लाग्छ। तर नेपालमा न यस्ता कार्यक्रम हुन्छन्, न अन्यत्र गएर सिक्न नै हामी तत्पर हुन्छौं। 

मिडियाको भविष्य वास्तममै चुनौतीपूर्ण छ तर भविष्यको मिडिया कस्तो हुन्छ भन्ने प्रदर्शनी देखेपछि मलाई लाग्छ– मिडिया उद्योगमा जति चुनौती छन्, त्योभन्दा धेरै अवसर पनि छन्। मात्र ती अवसरलाई टिप्ने उपाय हुनुपर्‍यो अनि त्यसका लागि अहिलेदेखि नै लगानी गर्नुपर्‍यो। नत्र कुनै पनि नयाँ प्रविधि हाम्रो बजारमा आइपुग्दा नपुग्दै पुरानो भइसक्ने खतरा सधैं रहन्छ।

प्रकाशित: १५ पुस २०८० १४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App