७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

युवालाई स्वदेशमै अवसर

नेपाल आर्थिकरूपमा विकास हुन नसक्नुका धेरै बलिया कारण छन् जसमध्ये एउटा प्रमुख कारण युवाका लागि स्वदेशमा रोजगारी अभाव हो। देशमा थोरै उद्योग र कलकारखाना मात्र छन् र अहिले नयाँ खुलेका पनि छैनन्। शिक्षित वा अशिक्षित युवाले रोजगारी पाउँदैनन्। 

उनीहरूसँग पर्याप्त स्रोतसाधन, पहुँच र सिप हुँदैन। त्यसैले उनीहरू आफ्नो श्रम र शिक्षा बेच्न देशबाहिर जान्छन्। स्कुल र कलेजमा धेरै वर्षको आर्थिक लगानी, समय र मेहनत हुन्छ तर शिक्षा सकेको डिग्री लिएपछि देशमा अबसर र रोजगारी पाउँदैनन्। धेरै युवासँग कामका लागि आवश्यक प्राविधिक र व्यावसायिक सिप पनि छैन। उनीहरू सबै प्रकारका काम विदेशी भूमिमा गर्छन् तर देशमा होइन। किनभने साना काम र पारिश्रमिकमा भेदभाव गर्ने प्रवृत्ति छ। त्यसैले आफ्नै इलाका, समुदाय र देशमा काम गर्न हीनताबोध र लाजको भावना छ।

अधिकांश मधेसी मूलका व्यक्तिहरू कम आयस्रोतका कारण परिवार आर्थिक विपन्नतामा रहेकाले भारत र अरब देशमा काम गर्न जान बाध्य छन्। अधिक गर्मी मौसम, भाषाको कठिनाइ, खानपिन, संस्कृति, भूगोलको जटिलता जस्ता कारण काम गर्न भने सहज छैन। प्राविधिक डिग्री र ज्ञान लिएका दक्ष र सिप भएका डाक्टर, इन्जिनियर, वैज्ञानिक आदि पनि रोजगारी र त्यसमा पनि बढी कमाउने आशमा विदेशिने गरेका छन्। यो अवस्था पनि देशका लागि गम्भीर चुनौती बनेको छ। देशमा व्यापार र व्यवसाय खोल्ने कसका लागि ? काम कसले गर्ने ? उपभोक्ता खोइ ? यी यावत सवाल उब्जेका छन् युवाको विदेश पलायनले।

रोजगारी र स्थिर आम्दानी प्रत्यक्ष जोडिएका विषय हुन्। सरकारी सेवामा सम्भावना न्यून छ र राम्रो स्रोत र सम्बन्ध भएकाले मात्र शिक्षा र स्वास्थ्य क्षेत्रलाई दिगो बनाउन सक्छन्। सार्वजनिक÷निजी स्वामित्व र व्यवसायको ठोस नीति छैन। केही व्यापारी समुदायले निजी कम्पनी र व्यवसाय सञ्चालन गरिरहेका छन्। तिनमा सर्वसाधारणले रोजगारी पाउने पहुँच छैन। नेपालमा केही हुनेवाला छैन, पढाइ सके पनि काम पाइन्न र काम पाए पनि कमाउन सकिन्न भन्ने आमबुझाइ छ। अभिभावकको आश्वासन, नेताहरूक्रो राजनीति र खोक्रो भाषण मात्रै सुन्ने अवस्थामा छैनन् अबका युवा। सबैजना पैसा कमाउन चाहन्छन्। आफ्नो परिवारको जीवन निर्वाह राम्रोसँग गर्न चाहन्छन्।

तर नेपालमा काम र दाम दुवै सीमित छ। थोरै मात्र व्यवसाय चलिरहेका छन्। लामो समयको आर्थिक लगानी र लगनशीलताले कुनै फलदायी नतिजाविना नै उपाधि र ज्ञान दिने हाम्रो शिक्षा नीति आंशिकरूपमा असफल भएको छ। नेपालमा शैक्षिक प्रणाली प्रायः बेरोजगारी केन्द्रहरू मात्र उत्पादन गर्न सक्षम छ जुन ठूलो स्तरमा अनुत्पादक छन्। यीखाले शिक्षा र प्रमाणपत्रहरू सैद्धान्तिक प्रयोगका लागि मात्र हुन र नेपाली बजारमा बिक्रीयोग्य छैनन्। त्यसैले विदेश एक मात्र गन्तव्य बन्नु स्वाभाविक हुन जान्छ।

यसर्थ नेपालमा युवाहरूले आफ्नो भविष्य निकै अन्धकारमय देखेका छन्। राजनीतिक अस्थिरता, भ्रष्टाचार, दलीय स्वार्थ र दलका नेताहरूको प्रभाव केन्द्रीकृत सरकार र नीतिहरू, ढिलो सरकारी कार्यालय र झन्झटिला प्रक्रिया, परिवारको स्वामित्वमा रहेका ठूला व्यवसाय, एकाधिकार, नातावाद, आफन्तबाद, कृपावाद, अभाव र सिप, अव्यवस्थित स्रोत÷साधन अभाव व्यवसायमा युवाहरूलाई निरुत्साहित गर्ने, प्रभावहीन शिक्षा र सिप आदि पनि रोजगारी अभावका प्रमुख कारण हुन।

नेपालमा बेरोजगारीको समस्या निकै गम्भीर छ। प्रतिवेदनले हरेक वर्ष करिब पाँच लाख मानिस आन्तरिक तथा अन्तर्राष्ट्रिय श्रम बजारमा प्रवेश गर्ने गरेका देखाएको छ। फलस्वरूप, नेपालले बेरोजगारी दर घटाउनुका साथै देशमा अर्थपूर्ण र सुरक्षित रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्ने अवस्थाको सामना गर्नुपरेको छ। देशभित्र राम्रो तलब पाइने रोजगारीको अभावले पनि धेरैलाई अन्तर्राष्ट्रिय श्रम बजार हेर्न बाध्य बनाएको छ। धेरै नेपाली युवाले खाडी देश, दक्षिण कोरिया र मलेसियाको उच्च तापक्रम र प्रतिकूल अवस्थामा काम गर्न आफ्नो ज्यान जोखिममा पारेका छन्। लामो समयका लागि आफ्नो परिवार र देश छाडी टाढा र कठिन कार्य गर्नुपर्ने बाध्यता छ।

म्यानपावर कम्पनीहरूले अत्यधिक शुल्क लिन्छन् र विदेशमा अवसर खोज्ने कामदारहरूको शोषण गर्छन्। कुल गार्हस्थ्य उत्पादनको करिब ३२ प्रतिशत कामदारले पठाउने रेमिट्यान्सबाट आउँछ। रेमिट्यान्सको यो प्रभावका कारण सरकारको नीति र प्राथमिकता स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने, कलकारखाना खोल्ने र लगानीका लागि अनुकूल वातावरण सिर्जना गर्नुको सट्टा विदेशमा थप रोजगारी दिनेतर्फ मोडिएको छ।

अर्थतन्त्रलाई फाइदा पुर्‍याउन युवाहरूलाई विदेश पठाउनु जोखिमपूर्ण र अस्थायी उद्यम हो। स्वदेश फर्केकाहरूको सिपलाई उपयोग गर्न सरकारले ठोस योजना बनाउनुपर्छ। तसर्थ नेताहरू अन्य पार्टीको विरोधमा लाग्नुभन्दा उत्पादनमूलक, रचनात्मक, आय आर्जन हुने र आर्थिक लाभका गतिविधिमा लाग्नुपर्छ। साना ठूला काम सबैका लागि समान हुनुपर्छ। सरकारले देश र जनताको हितका लागि उद्योग, कलकारखाना र कम्पनी खोल्न छिटो, प्रभावकारी र सहज नीति ल्याउनुपर्छ। बन्द भएका उद्योग सञ्चालन गर्नुपर्छ। तसर्थ सरकारले दिगो ठोस नीति ल्याउन अत्यन्त जरुरी छ ताकि युवा विदेश पलायन नहोउन् र देशमै सिपयुक्त, पढाइअनुसारको कमाइ हुने रोजगारी पाउन सकून्। जसबाट उनीहरूको जीविका चलोस्।

यसो भएमा मात्र एकातर्फ उर्वर उमेरका युवा स्वदेशमै रमाउँछन् भने अर्कोतर्फ स्वदेशको जनशक्ति स्वदेशमै खपत हुन्छ। विदेशका मरुभूमिमा बगाउने पसिना आफ्नै देशमा बग्छ। विदेश बनाउने कला र सिप यहीँ उपयोग हुन्छ। यस्तो अवस्थामा मुलुकले रेमिट्यान्स कुर्नै पर्दैन, यहीँ बसेका युवाले चमत्कार गरिदिन सक्छन्। मात्र यसका लागि सरकारले वातावरण बनाइदिए पुग्छ। समग्रमा, युवामैत्री नीति र कानुन बनाउन ढिलो भइसकेको छ। –ढुंगाना अधिवक्ता हुन्।

प्रकाशित: २७ मंसिर २०८० ००:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App