१९ असार २०८१ बुधबार
image/svg+xml
विचार

पृथ्वी सुरक्षित गर्ने सरल उपाय

भर्खरै दुबईमा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलन (कोप–२८) मा विश्व नेताहरूले महत्वपूर्ण सम्झौता र वार्ता गरेर आ–आफ्नामुलुक फर्किसक्दा के तपाईं यो सुन्दर ग्रहको रक्षा गर्ने महान् अभियानमा अर्थपूर्ण भूमिका निर्वाह गर्न चाहनुहुन्छ? तपाई कोपको सम्मेलनमा सहभागी हुनुभएको होस् या नभएको, त्यसले केही फरक पार्दैन।

साँच्चिकै यो ग्रहलाई माया गर्नुहुन्छ भने तपाईँ पृथ्वी जोगाउने अभियानको ‘सुपर हिरो’ बन्न सक्नुहुन्छ। सिनेमाको हिरो बन्नलाई ‘स्टन्ट’ गर्नुपर्ला तर पृथ्वीको साँचो हिरो बन्न कुनै ‘स्टन्ट’ जरुरी छैन। बस्, तपाईँ पृथ्वीलाई माया गर्नुहोस्। कसैलाई देखाउन र कसैको अगाडि ठूलो बन्नका लागि हैन। पृथ्वी तपाईँको पनि हो। त्यसैले यहाँ पृथ्वीलाई जोगाउने केही सरल उपाय उल्लेख गरेका छौँ।

कम खपत

महात्मा गान्धीले भनेका छन्– पृथ्वी मानिसको जरुरत पूरा गर्न सक्षम छ तर लालच पूरा गर्न सक्षम छैन। त्यसैले कम उपभोग गर्नुहोस्। अनावश्यक सामानहरू खरिद गर्न बन्द गर्नूस्। उपभोगको इच्छालाई भित्रबाट नियन्त्रण गर्न सके यो सम्भव छ। चाहिनेभन्दा बढी सामान खरीदले तपाईंको सम्पत्ति मात्र सत्यानाश गर्दैन, कोठा र दराजलाई पनि साँघुरो बनाइदिन्छ। दुःख दिन्छ र कीराको आगमन निम्त्याउँछ। आखिर आवश्यकताभन्दा बढी किनेर थुपार्नुको अर्थ पनि के नै हुन्छ र? यो गरे तपाईंको कोठाले मात्र हैन, सिङ्गो पृथ्वीले तपाईँलाई धन्यवाद दिन्छ ।

ऊर्जामा ध्यान

तपाई ऊर्जा खपत गरेर हैन, ऊर्जा खपत न्यून गरेर बहादुर बन्न सक्नुहुन्छ। यसमा कुनै अप्ठेरो छैन। तपाई यसलाई सरलरूपमा गर्न सक्नुहुन्छ। तपाईंले प्रयोग नगरेको बेला बत्ती र ग्याजेटहरू बन्द गर्नुहोस्। कोठाका लिड बल्बहरूमा स्विच अफ गर्नुहोस्,। एसीको प्रयोग कम गर्नुहोस्। घरबाहिर रहँदा भित्र बलिरहने बत्तीले न तपाईंलाई सभ्य भनाउँछ न त विद्युत् प्राधिकरणले नै धेरै शुल्क तिरेबापत सम्मान गर्छ। र, तपाईँ सक्नुहुन्छ भने सौर्य ऊर्जाबाट आफ्नो घरलाई उज्यालो बनाउनूस्। यसले तपाईँको मुहारसँगै पृथ्वी पनि उज्यालो रहन्छ।

हरियाली

व्यावसायिक साइकल चालक बन्न जरुरी छैन तर यात्रा सहज बनाउन र ऊर्जा बचाउन सकेसम्म साइकल प्रयोग गर्नूस्। सार्वजनिक यातायात प्रयोग गर्नुहोस्। तपाईंसँग गाडी छ भने अर्को मान्छेलाई लिफ्ट दिएर तपाईंले उसको ऊर्जा खपतलाई बचत गरिदिन सक्नुहुन्छ। उसले खुसी भएर दिने धन्यवाद त छँदैछ। पृथ्वी सबैको साझा हो। यसको लाभ तपाईंले पनि पाउनुहुन्छ। यसबाहेक तपाईं विद्युतीय गाडी प्रयोग गर्न सक्नुहुन्छ। जसले तपाईँलाई वातावरणमा कुनै प्रदूषण नपुर्‍याइकन गन्तव्यमा पुर्‍याउँछ।

कडा परिश्रम, स्मार्ट किनमेल

तपाईले किनमेल गर्दा पृथ्वीलाई ख्याल गर्नूस्। छोटो अवधिको अर्थात् फेसन नरोज्नूस्। आफूले लगाएका फेसनका टुक्राले पृथ्वीलाई चोट नपुर्‍याओस् भन्नेमा ख्याल राख्नूस्। वातावरणमैत्री सामानहरू किन्नुहोस्। झोला लगायतका वस्तुहरू प्रयोगमा यस्तो ख्याल गर्नूस् किनकि फेसन उद्योग विश्वव्यापी कार्बन उत्सर्जनको १० प्रतिशत जिम्मेवार रहेको तथ्यांकले देखाएको छ। त्यसैले वातावरणमैत्री उत्पादनमा ध्यान दिनूस्। यही सानो सजगताले पृथ्वी सफा राख्न ठूलो भूमिका खेल्नेछ। आखिर फेसनको उत्पादन भलाद्मीका लागि भएको पनि त हैन।

प्रकृतिको पालनपोषण

हामी आमाबुबाको पालनपोषणमा खुब ध्यान दिन्छौँ। पृथ्वीलाई पनि आमा भन्छौँ तर यसको हेरचार गर्न भने भुलिरहेका छौँ। आफ्नी आमाको हेरविचार नगर्ने र उनको स्वास्थ्य ख्याल नगर्ने मानिस कसरी असल छोराछोरी बन्न सक्छ? के हामीले दुनियाँलाई सबै कुराको आपूर्ति गर्ने पृथ्वी माताको गुन तिर्नुपर्दैन? हामी करेसामा गएर पसिना बगाउनुको साटो जिम जान थालेका छौँ। तपाईंले यो आदतलाई बदलेर पृथ्वीलाई सिँगार्न सक्नुहुन्छ। फूल रोप्न करेसाबारी खन्दै गर्दा तपाईँको शरीरबाट निस्कने पसिनाले तपाईँको अनुहारसँगै आँगनमा पनि फूल फुल्नेछ। त्यस्तै जैविक विविधतालाई फाइदा पुग्ने बिरुवाहरू रोप्नुहोस्। रुखहरू पृथ्वीको वायु शुद्धीकरणका प्रमुख कारण हुन् भन्ने त कसलाई पो सिकाउनुपर्ला र?

पुनः प्रयोगमा जोड

आफ्नो घरको फोहोरलाई अलग गर्नुहोस्। पुनः प्रयोग गर्नुहोस् र पुनः पुनः प्रयोग गर्नुहोस्। नेपालका केही सय घरपरिवारमा भएको एक अध्ययनले सामान्य निम्न मध्यम वर्गीय घरबाट निस्कने फोहोरको ८० प्रतिशतभन्दा बढी पुनः प्रयोग गर्न सकिने देखाउँछ। जबकि २० प्रतिशत पनि प्लास्टिक, धातु आदि पाइएका छन्।

तपाईको बगैँचाका लागि आवश्यक कम्पोस्ट उत्पादन गर्न तपाईँको दैनिक भान्साको फोहोर जम्मा गर्न बजारबाट कम्पोस्ट बिन लिनुहोस् वा भर्मी मल बनाउन सिक्नुहोस्। फोहोरलाई कम्पोस्ट मलमा परिणत गर्न र प्रयोग गर्ने जैविक तरिका सिक्नुहोस्।

एकातिर फोहोर प्रयोग भइ मलमा परिणत हुनाले मल किन्ने पैसा बचत अर्कोतर्फ करेसाबारीमा आफैँ फलाइएका अर्गानिक तरकारीले भान्सा र स्वास्थ्य दुवै प्रफुल्ल।

यस्तो अवसर गुमाउनेलाई कसले पनि राम्रो मान्ला र ? त्यसैगरी प्लास्टिक र धातुजन्य पदार्थ पुनः प्रयोग गर्नेहरूलाई दान गर्नुहोस् वा बेच्नुहोस्। यसले पृथ्वीको बोझ हल्का हुनेछ। योसँगै तपाईँको मन पनि हलुको हुनेछ।

तपाईंका साथी र सहकर्मीहरूबीचको वातावरणीय हिरो बन्नुहोस्। पृथ्वी किन महत्वपूर्ण छ भन्नेबारे केही ज्ञान छर्नुहोस्। यसका लागि हरित आन्दोलन नै सुरु गर्न सक्नुहुन्छ। सानो सुझाव र विचारले ठूलो परिवर्तन ल्याउन सक्छ, चिनियाँ दार्शनिक लाओ जुले भनेझैँ–हजार माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ।

यी काम आजैबाट सुरु गर्नुहोस् र साक्षीका रूपमा परिवर्तनहरू सबैसामु बाँड्नुहोस्। आज नगरे कहिले गर्ने? बुझ्नुहोस्, यस्तो महत्वपूर्ण काम सुरु गर्ने शुभसाइत आजै हो। अहिल्यै हो। यति गर्नुभयो भने पृथ्वीले त दिन्छ, दिन्छ, भावी पुस्ताले पनि तपाईँलाई धन्यवाद नदिइ सुखै छैन।

प्रकाशित: २५ मंसिर २०८० ००:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App