७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

कसरी थाहा पाउने बालबालिका र किशोरकिशोरीको डिप्रेसन ?

मानसिक रोगका लक्षण शरीरिक रोगका लक्षण भन्दा निकै फरक किसिमका हुन्छन्। यसलाई बुझ्न र बुझाउन पनि कठिक छ। भावनात्मक रूपमा एकदमै गाह्रो अवस्था वा केही कुराले तनाव दिइरहेको अवस्था यसको सामान्य लक्षणको रुपमा मान्न सकिन्छ। त्यो बिग्रदै गएको खण्डमा त्यसलाई मानसिक रोग भनिन्छ।

शारीरिक रोग भनेको घाउ जस्तो हुन्छ। घाउ देखाउन पनि सजिलो छ र उपचार गर्न पनि सजिलो छ। शारीरिक रोग, रोगअनुसारका समान लक्षण हुन्छन्। समान किसिमको उपचार पद्धति हुन्छ। मानसिक रोगका विभिन्न कारण हुनसक्छन्। उपचार पनि व्यक्ति र व्यक्तिको समस्या अनुसार फरकफरक किसिमले गर्नुपर्ने हुन्छ। त्यसकारण यस बारे बुझ्न र बुझाउन पनि गाह्रो हुन्छ।

सामाजिक, पारिवारिक वा वातावरणीय कारणले मानसिक रोगमा मलजल थप्ने काम गरेको हुनसक्छ। फरक फरक मानिसमा मानसिक रोगका लक्षण पनि फरक किसिमका हुन्छन्। मानसिक रोगका कारण शारीरिक रोग लाग्न सक्छ र शारीरिक रोगका कारण पनि मानसिक रोग हुन सक्छ। कुनै शारीरिक रोगका कारण लामो समयसम्मको दुखाइले तनाव सृजना गर्छ। तनाव मानसिक रोगको कारण मध्येको एक हो। त्यस्तै, एन्जाइटी भएको मान्छेलाई खान मन नलाग्ने, खाना नपच्ने इत्यादी कारणले अन्य शारीरिक रोग लाग्न सक्छ।  

मानसिक रोगका चरण र प्रकार

मानसिक रोगका विभिन्न चरण र प्रकार हुन्छन्। निराशापन, डिप्रेसन, एन्जाइटिक डिसअडर लगायतका प्रकार हुन्छ। हरेक शारीरिक रोग जस्तै यसमा पनि विभिन्न प्रकार हुन्छन्। एन्जाइटी भए अलि डराउने, स्वास फुल्ने हुन्छ। डिप्रेसनमा खाना छोड्ने, घर बाहिर जानै नमान्ने, केही गर्न मन नलाग्ने हुन्छ। यो त साधारणतया छुट्याउने कुरा भयो।  

समाजमा मानसिक रोगका बिरामीलाई हेयका दृष्टिले हेर्ने गरेको पाइन्छ। मानसिक रोगीलाई समाजमा ‘पागल’, ‘मेन्टल’ वा ‘बौलायो’ लगायतका शब्द प्रयोग गर्ने गरेको पाइन्छ। अन्य रोगहरु जस्तै सामान्य रुपमा लिने र उपचारमा सहयोग समेत कम मात्रामा पाउछन्। फरक दृष्टिले हेर्ने गरेकै कारण बिरामीले समेत आफ्नो रोग लुकाएर राख्छन्।

के बच्चा लाई पनि मानसिक रोग हुन्छ?

हाम्रो समाजमा बच्चालाई मानसिक रोग हुँदैन भन्ने मानसिकता रहेको छ। हाम्रो सबैभन्दा ठूलो मिथ भनेको बच्चाहरुमा मानसिक समस्या हुँदैन भन्ने सोचाइ नै हो। ठूलालाई मात्रै हुन्छ। ठूलो भइसकेपछि मात्रै हुन्छ भन्ने मिथ पाइन्छ। कुरा बुझ्ने भएपछि मात्रै हुन्छ भन्ने सोचाइ छ। यो कुरा गलत हो। छ सात वर्षको बच्चाले हत्तपत्त भन्न सक्ने अवस्था हुँदैन। किनभने उनीहरू आफैलाई पनि थाहा हुने अवस्था हुँदैन।

कुरा बुझ्न थाले देखि नै मानसिक समस्या हुने गर्दछ। वंशाणुले पनि तनाव हुने वा नहुने कुरामा फरक पार्ने हुन्छ। चार पाँच वर्षको बच्चामा यस किसिमको लक्षण देखिए आमाको अवस्था समेत जाँच्नु पर्ने हुन्छ। बुवा आमाको सम्बन्ध, पारिवारिक वातावरण, हुर्केको ठाउँ आदी मानसिक रोगका कारक हुनसक्छन्।  

मानसिक रोगका पछाडि उमेर पनि विषेश कारक हुन्छ। किशोरावस्थाको कुरा गर्ने हो भने फोन अडिक्सन, सोसल मिडिया, विदेश मोह, विदेश गएन भने त जीवन सफल नै भइन, यसमै अतिरिक्त तनाब हुन्छ। परिवार वा कम उमेरको प्रेम सम्बन्धको कुराले पनि हुनसक्छ।  

पछिल्लो समयका युवालाई फरक किसिमको मानसिक तनाब हुने गरेको छ। साथीभाइ विदेश जाँदा आफू नेपालमै बस्दा, विदेश नै जानु पर्ने भन्ने किसिमको एक किसिमको तनाब लिने गर्छन्। घर परिवारले समेत निकै जोडबल गरिरहेका हुन्छन्, विदेश जानुपर्छ विदेश गएरै कमाइ गर्नुपर्छ भनेर। पछिल्लो समय त झन् अष्ट्रेलिया, अमेरिका जान नपाए ठूलो प्राप्ति बाट बञ्चित भए जस्तै हुने। यस किसिमका कारणले पनि उनीहरुमा मानसिक समस्या हुन सक्छ।  

बच्चाहरूको मानसिक समस्या कसरी थाहा पाउने?

आफूलाई गाह्रो भयो भनेर बच्चाले हत्तपत्त भन्दैनन्। बच्चाहरुको शारीरिक क्रियाकला हेर्नुपर्ने हुन्छ। टाउको दुख्यो, जिउ दुख्यो, पेट दुख्यो यस्तो भनिरहेका हुन्छन्। उमेरको वृद्धिसँगै बच्चाहरुमा सामान्य परिवर्तन हुुनु स्वभाविक नै हो। तर बच्चाले अस्वभाविक परिवर्तन देखाए वा देखिए परिवारले ख्याल गर्नुपर्ने हुन्छ। जस्तो कि, धेरैनै तौल घटेको छ। खान मानिरहेको छैन। वा सुत्न छोडेको छ।  

बच्चाहरु विद्यालय जान मानिरहेका छन् कि छैनन्। यदी छैनन् भने के कारणले मानिरहेका छैनन्। विद्यालयको वातावरण कस्तो छ? विद्यालयमा साथीहरुसँगको संगत, पढाइ कस्तो छ? यी कुराहरुबाट पनि थाहा पाउँन सकिन्छ बच्चाहरुको मानसिक समस्या बारे।

मानसिक रोगको उपचार पद्धति के हो?

मानसिक रोग पनि शारीरिक समस्या जस्तै लिनुपर्छ। औषधी, परामर्श वा थेरापी यसको उपचार पद्धति हो। जटिल अवस्थाका कुनै कुनै बिरामीलाई यी तीनै उपचार पद्धतीको आवश्यक पर्नसक्छ। मानसिक रोगका चरण अनुसार उपचार पद्धति आवश्यक हुन्छ। मनोविद्सँग सम्पर्क राख्ने। जटिल अवस्थामा औषधी खानुपर्ने र थेरापी गर्नुपर्ने हुन्छ। जटिल अवस्थाका बिरामीले लामो समयसम्म पनि उपचार गराउँनु पर्ने पनि हुनसक्छ। परामर्शको काम एकदुई सेसनको मात्रै हुँदैन।  

नेपालमा सबै किसिमको उचार पद्धति सम्भव छ। सहर केन्द्रित नै भए पनि मनोविद् पनि अहिले धेरै नै छन्। थेरापी लिने ठाउँहरुमा पनि कमि छैन। मनोविद् वा परामर्शको काम तुलनात्मक रुपमा अलि महंगो छ। हरेक हप्ता उपचारका लागि भेट्नु पर्ने भएकाले औषधी भन्दा तुलनात्मक रुपमा महंगो भएको हो।  

( नागरिकन्यूजडटकमका संवाददाता पुष्प भट्टले मनोविद् ठकुरीसँग गरेको कुराकानीमा आधारित)

प्रकाशित: २३ आश्विन २०८० ११:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App