यही भदौ २४ गते बिहान ५ बजे त्रिभुवन विमानस्थल पुगेको थिएँ, किर्गिस्तानको यात्राका लागि । टर्किस एयरको लाइनमा बसेँ । एक विदेशी जोडीले वरिपरि नै कालो धुवाँ हुने गरी चुरोट उडाइरहेका थिए । सोचेँ, उनीहरू आफ्नो देशमा सार्वजनिक स्थानमा यसरी चुरोट पिउँछन् होला त ? के गर्नु, अलि पर नेपाली पनि यसरी नै धुवाँ उडाइरहेका थिए । मेरो खुट्टा लामो भएकाले एक्जिट रोको सिटका लागि अनुरोध गरेँ । तर, सिट किन्नुपर्छ भनियो । एकचोटि टिकट किनिसकेपछि फेरि किन्नुपर्ने कस्तो नियम होला, एयरलाइन्सहरूको ?
एकजना सिनिएर टर्किस लेडी मेरो सिटसँगै परिन् । उनले बस्नासाथ केही लेख्न थालिन् । उमेर धेरै भएकाले सम्झना नहुने भएकाले आफ्ना दुई छोरीलाई सुनाउन भनेर उनी टिप्दै रहिछन् । सोधेँ— छोरीहरूका लागि के मेसेज दिँदै हुनुहुन्छ ? भनिन्— काठमाडौँ अलि फोहोर रहेछ । स्वच्छ र सफा होला भन्ने लागेको थियो । निर्माणको काम भइरहेको रहेछ, त्यसैले यो वर्ष होइन, अर्को वर्ष मात्रै नेपाल जान सिफारिस गर्छु।
स्तानबुलको ९ घन्टे ट्रान्जिट । एयरपोर्टका फुड पसलहरूमा भिड थियो । इन्टरनेट फ्रि भनिएको थियो, तर टर्किस युरोपियनहरूको मात्रै कनेक्सन हुन्थ्यो । नेपालीहरूलाई उपलब्ध छैन, फुड कर्टमा जान भनियो । सोचेँ, पुँजीवाद भनेको यही होला । यज्ञशजीको भर्खरै प्रकाशित पुस्तक ‘भुइयाँ’ पढे । १० जना ग्रामीण महिलाको केससहित १२ च्याप्टर नै पढेँ । गरिबका लागि जिन्दगी सुख होइन, सन्तुष्टिको खोजी मात्र रहेछ । किनभने, कुनै मानिस जन्मँदै अर्काको जमिनमा जन्मन्छ र अरूका लागि जन्मन्छ । उसको जीवन डरैडरमा बितेको छ । निकुञ्जको डरमा बितेको छ । खोलाको डरमा बितेको छ । जमिनदारको डरमा बितेको छ । वनअधिकृतको डरमा बितेको छ । सामुदायिक वनको डरमा बितेको छ । पुलिस प्रशासनको डरमा बितेको छ । किताब पढेपछि नेपाल एउटा यस्तै डर र त्रासमा आफ्ना नागरिकलाई राख्ने देश हो जस्तो लाग्छ । लालपुर्जाविना ग्रामीण जीवन डरैडरको सँगालो हो।
नेता र राजनीतिक दल नागरिकता दिन तयार भए, भोटका लागि । तर जमिन दिन तयार भएनन् । भूमिहीनहरू पैसा देऊ, पद देऊ, अरूको जमिन खोसेर देऊ भनिरहेका छैनन् । जोतिराखेको र बसिराखेको जमिनको लालपुर्जा देऊ, मानवअधिकार र नागरिक अधिकारको संरक्षण गर भनिराखेका छन् । भूमिहीनहरूले वा मोहीहरूले सरकार, राजनीतिक दल हामीले केही गल्ती गरेको भए कारबाही गर, सजाय देऊ, गल्ती छैन भने हाम्रो आत्मसम्मान र पहिचान फिर्ता गर भनिरहेका छन् । बस्ने बास र काम गर्ने खेतको अधिकार देऊ, सरकार तिम्रै आत्मसम्मान बढ्छ भनिरहेका छन्।
नेपालमा भुमिसुधारका नीति, ऐन र कार्यक्रम बन्छन् तर यसका लागि ती भूमिहीन, सुकुमबासी, मोही, अधियाँ कमाउने मानिससँग सोधिँदैन । पानी पनि जम्यो भने हिँउको ढुंगा बन्छ, चट्टान बन्छ । ती चट्टान एकत्रित हुँदा सत्तामाथि प्रहार गर्ने ढुंगा बन्छ । यसैले त हामीले १० वर्षे द्वन्द्व खेप्यौँ । तर फेरि पनि यी भूमिहीनका समस्या समाधान भएनन् । भुमिसुधारको थालनी गर । यस्तै महत्वपूर्ण विचार र सन्देश पढ्दा ९ घन्टे बसाइ सकियो । इस्तानबुलमा ‘भुइयाँ’ मेरा लागि खाना, पानी र इन्टरनेट भयो।
किर्गिस्तानको मनसा एयरपोर्टमा मेरो पहिला चिनजान भएकी साथी लिन आएकी रहिछन् । उनलाई सोधँे— सोभियत संघबाट छुटेपछि फरक के भयो ? जवाफ थियो— देश स्वतन्त्र भयो, राम्रो भयो तर आर्थिक र सामाजिक स्थिति पहिलाभन्दा झन् तल झर्यो । असमानता र शोषण झन् बढ्यो।
म सहभागी हुन गएको एसिया भूमि कार्यशालामा मन्त्री, कृषि मन्त्रालयका निर्देशक आए । तर फूलमाला थिएन । प्रमुख अतिथि, अतिथि भनेर अगाडि बोलाइएन । कार्यक्रम ४५ मिनेटमा सकियो । सबैले विषयवस्तुका कुरा गरे, सम्बोधन कसैले कसैलाई गरेनन् । हामीकहाँ ४५ मिनेट त प्रमुख अतिथि र अतिथि पर्खन र सम्बोधन गर्न नै लाग्छ । किर्गिसहरू उत्पादनमायोग्य कुरामा लगानी गर्ने रहेछन्, हामी चाहिँ अनुत्पादक कुरामा।
प्रकाशित: २ आश्विन २०७४ ०२:४३ सोमबार