५ वैशाख २०८२ शुक्रबार
image/svg+xml २२:४५ अपराह्न
विचार

कसरी बुझ्ने बिपी?

सरकारको स्वच्छताः पहिलो प्राथमिकता

राजा महेन्द्र निर्वाचित सरकारलाई बदनाम गराउन हरेक हतकण्डा प्रयोग गरिरहेका थिए। बिपीलाई निचा देखाउने फिराकमा अवसरहरूको खोजी गरिरहन्थे। मानिस प्रयोग गरी बाहिर हल्ला फिजाइएको थियो कि यो सरकार भ्रष्ट छ। मन्त्रीहरूले पैसा जम्मा गरिरहेका छन्। एक दिन बिपीसँगको भेटमा राजाले भनेछन्–तपाईका मन्त्रीहरूका बारेमा धेरै उजुर आउन थाल्यो। बिपीले अनुसन्धान गरौँ, दोषी देखिए मैले फौजदारी अभियोगमा मुद्दा चलाउँछु भन्नुभएछ।

राजाले गणेशमानजी, शिवराज पन्त, प्रेमराज आङदम्बे र बिपीका निजी सचिव तारिणीप्रसाद कोइरालामाथि उजुर छ भनेछन्। हल्लाको भरमा त भएन कुन विषयमा पैसा खाएको उजुर छ भनी बिपीले सोद्धा राजाले गणेशमानजीले सरकारी घर किन्दा एक लाख रुपियाँ खाएका छन् छानबिन गर्न सक्नुहुन्छ भनी चुनौतीको साथ सोधेछन्। बिपीले किन नसक्ने, म सक्छु। ल सरकारकै विशवासपात्र विष्णुमणिलाई नै छानबिन गर्न लगाऔँ भन्नुभएछ। बिपीलाई पुरा विश्वास थियो गणेशमानजीबाट गलत काम भएको छैन। विष्णुमणिले छानविन गर्दा कुनै कमजोरी फेला पार्न सकेनन्। सबै हिसाब सफा थियो। पछि पत्ता लाग्यो, राजाकी सूत्रधारले राजालाई नै ढाँटी कुरा बनाएकी रहिछन्।

के नाति पुस्ताले बिपीलाई अध्ययन गरी शिक्षा लिन र अनुशरण गर्न सक्ला?

गणेशमानजीलाई फसाउन नसकेपछि राजाले काठ बिक्रीबाट शिवराजले दश हजार रुपियाँ खान लागेका छन् भनेछन्। बिपीले ल दस हजार रुपियाँ दसीसहित पक्राउ गरौँ न त भन्नुभयो। राजाले भोलि घूस लिँदैछ, नोटमा सही गरेर दियो भने त सजिलै पक्राउ गर्न सकिन्छ भनेछन्। बिपीले ल हुन्छ त्यो म गर्छु या सरकारले नै सही गरेर दिबक्सियोस् भन्नुभएछ। अर्को दिन राजासँग भेट्दा भो त्यस्तो काम किन गर्ने भनेछन्। खराब काम गरेको नभए तापनि तारिणीप्रसाद आफ्नै भाइ भएको हँुदा स्वच्छताका खातिर निजी सचिवबाट हटाउनुभयो।

भारत–चीन भ्रमण: राष्ट्रियताको संबद्र्धन

भारत भ्रमणको अवसरमा नेपाल–भारत मैत्री संघले दिल्लीको लालकिल्लामा बिपीको नागरिक अभिनन्दन गर्ने कार्यक्रमको आयोजना गरेको थियो। त्यहाँ बिपीले सम्बोधन गर्नुपर्ने थियो। भारतमा त्यो समयमा बिपीको सरकारलाई चीनतर्फ झुकाव राखेको आरोप थियो। त्यहाँका पत्रिकामा बिपीको आलोचना गरिएका लेख प्रकाशित हुन्थे। बिपीलाई त्यसको जवाफ दिनु थियो। नागरिक अभिनन्दनको कार्यक्रम जनस्तरमा जवाफ फर्काउने उपयुक्त अवसर थियो। चालीस मिनेट लामो बिपीको मन्तव्यको सारांश थियो–भारत र नेपालका समस्या समान छन्। देश निर्माणका दुवैका आकांक्षा पनी समान छन्। विकासको यस अवधि र प्रक्रियामा दुवै देशका दृष्टिकोण पनि समान छन्। यदी देशभक्तिको भावना दुबैले आत्मसात गर्दछन् भने देशभक्त नेपाली र देशभक्त भारतीयको कुरा कही पनि बाझ्दैन। होइन अरु देशको प्रतिनिधित्व गरेर बोल्ने हो भने समस्या शुरु हुन्छ। विपीको भाषणले सबैको मन छोयो। कस्तो बिरोधाभाष ? नेपालका कम्युनिष्ट र राजावादीको आरोप भारत परस्त। भारतीयहरुको दृष्टीमा चीन पक्षीय। सच्चा राष्ट्रप्रेमी।

चीन भ्रमणको समयमा माओत्से तुङसँगको भेटमा माओले बिपीसँग माउन्ट एभरेस्टलाई साझा गरौँ र यसको नाउ मितेरी चुचुरो राखौँ भन्ने प्रस्ताव गर्नुभयो। बिपीले एभरेस्ट नेपालकै भएको बताउनुभयो।

तिमीहरूको आफ्नो नाउँ पनि छैन, अंग्रेजले राखेको नामले सम्बोधन गर्छौ, हाम्रो नाम छ झ्यामोलोमा भन्दछौ भनी माओले भन्दा बिपीले भन्नुभयो-झ्यामोलोङमा चिनिया नाम होइन, तिब्बती हो। हाम्रो नाम छ सगरमाथा भन्दछौँ। माओले पुनः साझा गरौँ भन्दा बिपीले हाम्रोमा पार्लियामेन्ट छ। त्यसले सबै हेर्छ। मैले मात्र निर्णय गरेर हुँदैन भन्नुभयो।

भारत र चीन भ्रमण: सम्बन्ध र सिकाइ

विदेश भ्रमणमा आपसी सम्बन्धको विकास द्विपक्षीय व्यापार वाणिज्यलगायतका कुरा त हुन्छन् नै, अवलोकन भ्रमण पनि हुने गर्दछ। बिपीको अवलोकन भ्रमण नेपालका लागि के सिक्न सकिन्छ भन्ने दृष्टिकोणबाट निर्देशित हुन्थ्यो। भारत भ्रमणमा उहाँ नेपालकै जस्तो भूगोल भएको हिमाञ्चल प्रदेशमा जानुभयो। त्यहाँ बिपीले घरेलु उद्योग साना साना चिनी मिलहरू र मझ्यौला उद्योगको अध्ययन गर्नुभयो। सहरी विकास हेर्न चण्डीगढ जानुभयो तर चण्डीगढको सहरको डिजाइन नेपालका लागि उपयुक्त मान्नुभएन।

चीन भ्रमणमा ठूला ठूला बुल्डोजर, मेसिन र सिमेन्टको प्रयोग नगरीकन श्रमदानबाट मानिसले निकै ठूलो बाँध बनाएको देख्नुभयो। माओले बिपीलाई तिमीसँग पैसा छैन भने आफ्नै प्रविधि प्रयोग गर भने। बिपीलाई त्यो मनपरेछ। जवाहरलाल नेहरूसँग चीनमा जस्तै श्रमदानबाट किन काम गराउनुहुन्न भन्दा नेहरूले त्यो चीनमा मात्र सम्भव छ। प्रजातन्त्रमा श्रमदान त्यो पनि त्यति ठूलो मात्रामा सम्भव हुँदैन भने। चीनमा घरेलु स्पात कारखाना देखाए। बिपीलाई मन त पर्‍यो तर पछि त्यो असफल भएको सुन्नुभयो। उहाँलाई लाग्यो– त्यो केवल प्रचारबाजी मात्र रहेछ।

भारतीय पेलाहा कूटनीति

संयुक्त राष्ट्र महासभाको बैठकमा भाग लिन न्युयोर्क जाँदा भारतीय पक्षले बिपीलाई अप्ठ्यारो स्थितिमा पुर्‍यायो। बिपी न्युयोर्क पुगेको दुई तीन दिनपछि नेहरू न्युयोर्कमा आएका थिए। भारतको रक्षामन्त्री कृष्ण मेनन बिपीसँग आएर नेहरू आउँदै हुनुहुन्छ, उहाँ तपाईँको मित्र पनि हो। उहाँसँग तपाईँको राम्रो सम्बन्ध पनि छ। उहाँलाई स्वागत गर्न एयरपोर्ट जाउँ। यो प्रोटोकलको कुरा होइन, मित्रताको कुरा हो भनी बिपीलाई एयरपोर्ट जान आग्रह गरे।

बिपीलाई त्यहाँ जान उचित लागेन। नेपालको प्रधानमन्त्री भारतको प्रधानमन्त्रीलाई स्वागत गर्न न्युयोर्कको हवाईमैदानमा जान प्रोटोकलले मिल्दैनथ्यो। नेपालको इज्जतको कुरा पनि थियो। बिपी जानुभएन। यसलाई बिपीले भारतको पेलाहा कूटनीति भन्नुभएको छ।

दूरद्रष्टा

जनवरी १९७३ मा भियतनामबाट अमेरिकी सेना फिर्ता भएपछि हिन्दुस्तानका केही दिग्गज राजनीतिज्ञहरूसँग छलफलमा अब के हुन्छ भनी प्रश्न उठ्दा बिपीले अब अमेरिका र रुसको प्रतिद्वन्द्विताको क्षेत्र दक्षिण एशिया हुन्छ र अब दक्षिण एशियामा अस्थिरता आउँछ भन्नुभयो। त्योबेला बिपीको विचारलाई कसैले ध्यान दिएन। त्यसको सुरुवात सिक्किम बिलयबाट भयो।

सिक्किम विलयपछि गोरखपुरको एउटा पत्रकार सम्मेलनमा एक पत्रकारले बिपीलाई सोधे– सिक्किमको बारेमा तपाईँ के भन्नुहुन्छ? बिपीले तत्काल भन्नुभयो–भारतले सिक्किम विलय गरेर यो क्षेत्रमा अस्थिरता सिर्जना गर्‍यो।

अब यसको प्रतिक्रिया बंगलादेश, नेपाललगायत दक्षिण एशियाली देशमा देखिन्छ भन्नुभयो। त्यसको दुई तीन महिनापछि बंगलादेशमा सैनिक कु भयो। मुजिब सेनाद्वारा मारिए। यिनै घटनालाई बिश्लेषण गरेर नेपालमा राष्ट्रिय संकट देखी बिपी नेपाल फर्कनुभएको थियो।

नेपाल फर्किनुको कारण र उद्देश्य स्पष्ट पार्दै बिपी लेख्नुहुन्छ, राष्ट्र अभूतपूर्व संकटमा छ। राजाले ल्याएको व्यवस्थाका कारण यो संकट उत्पन्न भएको हो। अब राजाले यही व्यवस्थालाई च्यापे भने यो व्यवस्था त रहन्न नै राजा पनि रहँदैनन्। यो व्यवस्था रहँदैन भन्ने कुरामा म निर्धक्क छु। हामी बाहिर रह्यौ भने देश पनि नरहन सक्छ। तसर्थ देश बचाउनका लागि हामी नेपाल जाँदैछौँ।

हामीले प्रत्यक्ष देख्यौँ, भोग्यौँ, २०४६ सालमा पञ्चायत समाप्त भयो। पञ्चायतको समाप्तिपछि राजाको लोकप्रियता बढेको थियो। पुनः सक्रिय हुन खोज्दा २०६४ मा राजतन्त्र पनि समाप्त भयो।

बिपीलाई देखे/भोगेको कांग्रेसी छोरा पुस्ताले बिपीको नाम बिक्री गरेर हैसियत बढायो। सम्मान गर्न सकेन। के बिपीलाई नदेखेको नाति पुस्ताले बिपीलाई अध्ययन गरी शिक्षा लिन र अनुशरण गर्न सक्ला? एक सय दसौँ जन्मजयन्तीमा महामानवप्रति हार्दिक सम्मान! 

प्रकाशित: २४ भाद्र २०८० ००:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App