७ वैशाख २०८१ शुक्रबार
विचार

कठै शिक्षक आन्दोलन

अहिले शिक्षा क्षेत्र त्रिकोणात्मक आन्दोलनका कारण अस्तब्यस्त भएको छ। शिक्षक, कर्मचारी र डाक्टरको त्रिकोणात्मक आन्दोलनको तारो शिक्षा मन्त्रालय भएको छ। शिक्षा सेवाका कर्मचारीले निजामती सेवा ऐन नियम तथा प्रचलित अभ्यास र प्राकृतिक नियमविपरित आफूलाई जबर्जस्त 'खाए खा, नखाए घिच' को शैलीमा कनिष्ठ मातहतमा स्थानीय निकायमा पठाएकाले सच्याइयोस् भन्दै हारगुहार गर्दैछन्। त्यस्तै अस्थायी शिक्षक पनि आन्दोलनमा छन्। डाक्टर गोविन्द केसी स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउनु आफ्नो आन्दोलनको उद्देश्य भएको तर सरकार माग पूरा गर्न गैरजिम्मेवार भएको भन्दै पटकपटक भोक हड्तालमा छन्। आफ्ना माग सम्मानपूर्वक पूरा नगरेमा सामूहिक राजीनामासम्म दिने शिक्षाका कर्मचारीको अल्टिमेटम छ।

शिक्षकका आफ्नै पेसागत संघ/संगठनले समर्थन त परै जाओस् उल्टो आन्दोलनरत अस्थायी शिक्षकको माग पूरा नगराउनेखालका भूमिका निर्वाह गरिरहेका छन्। राज्यले पनि नहुने सम्झौता किन गर्‍यो त? प्रश्न उठेको छ। अहिले शिक्षक र सरकारी रवैयाका कारण शिक्षा क्षेत्र नै गन्जागोलको स्थितिमा छ। यसको जिम्मेवारी कसले लिने? अक्षम, परीक्षादेखि डराउने, भनसुनका भरमा अस्थायी जागिरमा छिरेको आदि विविधखाले लाञ्छना लगाएर अपहेलित गरेको गुनासो अस्थायी शिक्षकको छ। तर यस्तो आरोप लगाउनेले शिक्षा क्षेत्रलाई कसरी व्यवस्थित गर्न सकिएला भन्नेतर्फ सोचेकोचाहिँ देखिन्न।

शिक्षण पेसा सबै पेसाको जननी हो। समाजमा प्रतिष्ठित पेसा भनिएका डाक्टर, इन्जिनियर, वकिल जन्माउने पेसा शिक्षण हो। सामाजिक, आर्थिक रूपान्तरण गरेर समृद्ध नयाँ नेपाल बनाउन शिक्षकको अन्य पेसाभन्दा कम जिम्मेवारी र जवाफदेहिता छैन। भनाइ पनि छ– समाजमा आकर्षक पेसा मानिएको एक जना डाक्टरले गल्ती गर्दा एक जना रोगीको ज्यान जान सक्छ, एक जना इन्जिनियरले गल्ती गर्दा भवन पुल भत्केर दुर्घटना परी केही मानिसको जीवन जोखिममा पर्न सक्छ। तर एक जना शिक्षकले गलत शिक्षा दिएमा एक पुस्ताको भाग्य र भविष्य नै तहसनहस हुन्छ। अन्ततः देशको उन्नति प्रगतिमा गम्भीर आघात पुग्छ। तसर्थ कुनै पनि अर्थमा शिक्षण पेसालाई कम आँक्नु अपरिपक्व र अदूरदर्शी सोच हो। शिक्षण पेसालाई मर्यादित र प्रतिस्पर्धी बनाउँदै लाने क्रममा राज्य र शिक्षक स्वयम् चनाखो हुनुपर्छ। शिक्षकलाई विद्यार्थीको पठनपाठनमा जवाफदेही बनाउँदै पेसाप्रति समर्पित बन्ने इच्छाशक्ति जगाउनेखालका उत्पे्ररणाको सुविधा अपरिहार्य हुन्छ।

अहिले २०औँ हजार अस्थायी शिक्षक आन्दोलनमा होमिएका छन्। लामो समयसम्म आन्दोलन चलेकाले लाखौं विद्याथीको पठनपाठनमा असर परेको छ। आफूलाई पढाउने शिक्षक आफ्ना माग पूरा गर्न आन्दोलनमा गएपछि भर्खरका कलिला बालबालिकाको मस्तिष्कमा कस्तो असर पर्ला भन्ने कसैलाई वास्ता छैन्। अधिराज्यभरबाट आन्दोलन सफल पार्न कतिपय शिक्षक काठमाडौँसमेत आएका छन्। कतिपय आन्दोलनकारी शिक्षक बेखर्ची भएर बिचल्ली भएका समाचार पनि सार्वजनिक हुँदैछन्। शिक्षक आन्दोलनको दिगो निकास दिन राज्य जिम्मेवार हुन विलम्ब भइसकेको छ। जे होस्, शिक्षण पेसाको गरिमा कायम राख्न सबै पक्षको ध्यान जानु आवश्यक छ।

प्रकाशित: ८ भाद्र २०७४ ०४:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App