३१ वैशाख २०८३ बिहीबार
image/svg+xml
विचार

संक्रमणमा नेविसंघ

नेपाल विद्यार्थी संघको स्थापना २०२७ साल वैशाख ६ गते भएको हो। नेपालको पहिलो निर्वाचित नेपाली कांग्रेसको सरकार र संसद् विघटन गरेर पार्टीहरूमाथि प्रतिबन्ध लगाएपछि राजनीतिक शून्य व्याप्त भएको थियो। प्रतिबन्धित पार्टीको अभाव पूर्ति गरेर राजनीतिक शून्यलाई समाप्त गरी पञ्चायत विरोधी राजनीतिलाई संगठित गर्न र लोकतन्त्रका पक्षमा जनतालाई संगठित गर्ने उद्देश्य राखेर नेपाली विद्यार्थी संघको स्थापना भयो। यो नेपाली कांग्रेसकै अर्को रूप र संस्करण थियो।

अर्कातिर प्रजातन्त्रवादी विद्यार्थीकै अगुवाइमा स्वतन्त्र विद्यार्थी आन्दोलन हुर्किने क्रममा थियो। राजा महेन्द्रलाई सैनिक मञ्चमा कालो झण्डा देखाउनेदेखि उनी चढेको जीपमा बम हाक्नेसम्मको साहसिक कार्यमा यस खेमाका विद्यार्थी संक्रिय भएका थिए। कम्युनिस्ट विद्यार्थीहरूबाट पटकपटक धोका पाएपछि प्रजातन्त्रवादी विद्यार्थीले नेपाल विद्यार्थी संघ स्थापना गरेका थिए।
नेपाल विद्यार्थी संघ (नेविसंघ) को स्थापना विधिवत्, विशिष्ट र गौरवशालीरूपमा भएको थियो। देशभरका क्याम्पस र जिल्लामा अधिवेशन गरी केन्द्रीय महाधिवेशन आयोजना गरिएको थियो। निरङ्कुश सत्ताको दमनको पर्वाह नगरी महाधिवेशन सम्पन्न गर्ने अठोट गरिएको थियो। महाधिवेशनको उद्घाटन स्वयम्भुको जंगलमा गरिएको थियो। बन्द शत्र गौशाला राममन्दिर, चोभारको घाँच, देवपाटन चौर हँुदै त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागमा सम्पन्न भएको थियो। उद्घाटन शत्रदेखि नै धरपकड र गिरफ्तारी थालिए पनि त्यसको सामना गर्दै प्रहरीको घेरामा संगठनको घोषणा पत्र र विधान पारित गरिएको थियो। निर्वाचनबाटै नेतृन्व चयन गरिएको थियो।
विघटित संसद्का सभामुख कृष्णप्रसाद भट्टराई २०२६ साल चैत्र २६ गते थुना मुक्त भएको एघाराँै दिनमा संगठनको उद्घाटन भएको थियो। अनेरास्ववियुलाई कानुनी बन्देज नलगाउ पञ्चायती सत्ताले नेविसंघलाई भने गैरकानुनी संगठन भनेर प्रतिबन्ध लगायो। नेविसंघका दर्जनौ विद्यार्थी नेतालाई राजकाज मद्दा लगाई जेल हालियो। नेविसंघले सर्वोच्च अदालतमा मुद्दा हाल्यो। अदालतले संगठन वैध भएको फैसला गर्‍यो। विद्यार्थी नेता रिहा भए।
नेविसंघको औपचारिक स्थापना जति संघर्षपूर्ण छ यसको पृष्ठभूमि पनि उत्तिको गौरवमय छ। संघको इतिहास कक्षा ६ मा पढ्दै गरेका किशोर विश्वेश्वरप्रसाद कोइरालाले पिता कृष्णप्रसाद कोइरालाको शिक्षा र संस्कार आत्मसात् गर्दै भारतमा महात्मा गान्धीको आह्वानमा अंगे्रजी स्कुल वहिष्कार गरेका थिए। नेपाल छात्रसंघ (२००२) र जयतु संस्कृतम् (२००४)को इतिहास र उत्तराधिकार नेविसंघमा हस्तान्तरित भएको छ। नेविसंघको स्थापनापछि २०२८ र २०३२ सालको विद्यार्थी आन्दोलनको नेतृत्व गरेको थियो। यस्तै २०३६ सालको विद्यार्थी आन्दोलन पनि नेविसंघकै नेतृत्वमा उत्कर्षमा पुगेको हो। नेविसंघ २०४६ सालको जनआन्दोलनको सफल वाहक पनि हो।
तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि राजनीतिक दलहरूको आन्दोलन शिथिल हुन लाग्दा संयुक्त विद्यार्थी आन्दोलनले ऊर्जा थपेको थियो। विद्यार्थी संगठनहरूबीच पानी वारावारको स्थिति रहेकोे विषम परिस्थितिमा २०५८ साल भाद्र २४ गते नेविसंघका तत्कालीन अध्यक्ष विश्वप्रकाश शर्माको संयोजनमा नेविसंघको केन्द्रीय कार्यालयमा विद्यार्थी संगठनहरूकोे बैठक भयो। वैठकले नै विद्यार्थी संगठनहरू शैक्षिक र राजनीतिक मुद्दामा एक हुने मार्गचित्र तय गरी संयुक्त विद्यार्थी आन्दोलनको जग बसाल्यो। असोज १८ को कदमपछि नेपाल विद्यार्थी सघले २०५९मंसिर १० गते प्रतिगमनविरुद्ध पहिलो विरोध सभाको आयोजना गरेको थिया्। गिरिजाप्रसाद कोइरालाले उक्त सभाबाटै राजाविरुद्ध अन्तिम लडाइँको शंखघोष गर्नुभएको थियो। त्यसैको जगमा आज संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल स्थापना भएको हो। प्रतिगमन विरोधी आन्दोलनको मियो संयुक्त विद्यार्थी आन्दोलन र त्यसको मियो नेपाल विद्यार्थी संघ हो निष्कर्षमा पुगेर प्रतिगामी सत्ताले नेविसंघको तत्कालीन अध्यक्ष गुरुराज घिमिरे र महामन्त्री गगन थापालाई २०६० पुस १ गते राजद्रोहको मुद्दा लगायो। त्यसले उल्टै प्रतिगमनविरोधी आन्दोलनमा ऊर्जा थप्यो र अन्ततः दोस्रो जनआन्दोलनको सफलतापछि राजतन्त्रै समाप्त भयो।
यति गौरवशाली इतिहास भए पनि लोकतन्त्र बहालीपछि नेविसंघ प्रभावकारी हुन सकेको छैन। विशेषगरी कांग्रेस एकीकरणपछि नेविसंघमा भएको समायोजनका कारण संगठन अव्यवस्थित र जटिल संक्रमणमा छ। वषौँदेखि संगठनको औपचारिक बैठक बस्न सकेको छैन। केन्द्रीय समितिको आकार, पदाधिकारीको संख्याजस्ता विषयमा समेत सम्बद्धहरूबीच समान धारणा छैन। समितिका केही सदस्यले वर्तमान समितिको औचित्य नभएको भन्दै राजीनामा गरेका छन्। कतिपय जिल्ला र क्याम्पस तहमा समेत समानान्तर नेतृत्व छ। नेविसंघ स्वतन्त्ररूपमा आफ्नै विधानअनुसार सञ्चालन गर्नुपर्छ। तर, समितिनै विवादमा परेको अवस्थामा गतिरोध अन्त्य गर्न नेपाली कांग्रेसले सार्थक पहल गर्नु जरुरी छ। बहालवाला समितिले महाधिवेशन गर्न सत्तै्कन। यस्तो अवस्थामा मातृ पार्टीले नयाँ समिति बनाएर महाधिवेशन गर्न लगाउनुपर्छ भन्ने धारणा संगठनभित्र प्रबल छ।

संक्रमणमा रहेको राष्ट्रिय राजनितिलाई सकारात्मक र शक्तिशाली दबाब दिन संगठनका सबै निकाय चुस्त र सुदृढ हुन जरुरी छ। गिरिजावावुको अभियान शान्ति र संविधान भन्ने नारालाई सार्थक बनाउन अग्रसर भएर सिंगै राष्ट्रलाई जागरुक बनाउन सकेमात्र संघको सामयिक दायित्व पूरा हुनेछ। यसैबाट नेविसंघ स्थापनाको उद्देश्य सार्थक र सहिदहरूले देखाएको बाटोको सम्मान हुनेछ।
लेखक नेविसंघका पूर्व महामन्त्री हुन्।

प्रकाशित: ६ वैशाख २०६७ ००:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %