१७ फाल्गुन २०८० बिहीबार
विचार

अलमलमा धर्म र राजनीति

चिन्तन

सूर्य समयमा उदाउँछ। हावा चलिरहन्छ। पृथ्वी घुमिरहन्छ। दिन र रात समयमै हुन्छ। मौसम समयमा आउँछ। यिनमा कुनै अनियमितता छैन। यिनले कहिल्यै नियम तोड्दैनन्। कहिल्यै धर्म छाड्नैनन्। यस्तो प्राकृतिक नियमलाई ‘धर्म’ भन्न सकिन्छ। यही कुरा मानव जीवनका सन्दर्भमा बुझ्दा मन, वचन र कर्मलाई पवित्र राखेर परोपकारमा लाग्नु नै धर्म हो।

मनुले हिंसा नगर्नु, सत्य बोल्नु, चोरी नगर्नु, पवित्र बन्नु र इन्द्रिय नियन्त्रणमा राख्नुलाई धर्म भनेका छन्। यज्ञ गर्नु, वेद पढ्नु, दान दिनु, तप गर्नु, साँचो बोल्नु, धैर्य राख्नु, क्षमा गर्नु र लोभ नगर्नु-यी धर्मका आठ मार्ग हुन्। जसमा पहिला चारवटा देखाउनका लागि पनि गर्न सकिने कार्य हुन् भने पछिल्ला चार महात्माहरूमा मात्र पाइने विशेषता वा गुण हुन्।

हिन्दुशास्त्रीय मान्यतामा ‘धर्म’ शब्दको अर्थ लामो र व्यापकरूपमा दिइएको पाइन्छ। यसले दिने केही मुख्य अर्थ हुन् :धर्मराज, भक्ति, सत्संग, यज्ञ, समानता, नियम, इमान, न्याय, कानुन, धर्मशास्त्र, उचित र अनुचित विचार गर्ने चित्तवृत्ति, माता, पिता, गुरु आदि मान्यजनको त्यस्तो वचन वा मत जसको पालन गर्दा आफ्नो भलो हुन्छ इत्यादि।

पवित्र ‘धर्म’ धनसँग नाता गाँसेर अपवित्र बन्दै छ। धर्मको विस्तार हुनुमा धन प्रभावी बन्दै छ। सम्पदा बनिसकेको बौद्ध गुम्बा धराशायी बन्नु र चर्चका नयाँनयाँ र आकर्षक पक्की भवनको संख्या बढ्नुमा धनकै करामत त होला !

हरिवंश पुराणअनुसार धर्मका पाँच पाउ (खुट्टा) छन्। तीमध्ये सत्य युगमा चार पाउ धर्म र एक पाउ अधर्म। त्रेता युगमा तीन पाउ धर्म र दुई पाउ अधर्म। द्वापर युगमा दुई पाउ धर्म र तीन पाउ अधर्म। कलियुगमा एक पाउ धर्म र बाँकी चार पाउ अधर्म हुन्छ भनिएको छ।

यसरी हेर्दा युगैपिच्छे धर्म क्रमशः घट्दै गएको देखियो। धर्मको यस्तो युगीन विशेषतासहितको शास्त्रीय अर्थ र परिभाषाबाहेक नेपाली बृहत् शब्दकोशले पनि ‘धर्म’ को ‘असल आचरण’, ‘उपकार’, ‘पुण्य’, ‘कुनै महापुरुषले चलाएको मत’ लगायत नौवटा अर्थ दिएको छ।

‘ओरालो बग्नु पानीको धर्म हो’ भन्दा ‘धर्म’ को अर्थ ‘गुण वा विशेषता’ हुन्छ। ‘बाबुआमाको सेवा गर्नु छोराछोरीको धर्म हो’ भनियो भने ‘धर्म’ को अर्थ ‘कर्तव्य’ बुझिन्छ। यद्यपि समाजमा हामी जुन रूपमा ‘धर्म’ शब्दको प्रयोग गर्दछौं, त्यसको पहिलो र सबैभन्दा प्रचलित सामान्य अर्थ ‘लोकको हित वा व्यवस्थाका लागि अँगालिने कर्म वा कर्तव्य तथा असल आचरण’ भन्ने नै बुझिन्छ। यसलाई ‘वैदिक कालदेखि नै ‘परम्परागत रूपमा चलिआएको सदाचरण, नियम वा सिद्धान्त’ भनेर बुझ्दा पनि हुन्छ। जसरी बुझ्दा पनि यो शब्दले असल, राम्रो, बहुजन हिताय र सकारात्मक भावकै अर्थ बुझाउँछ।

‘ओरालो बग्नु पानीको धर्म हो’ भन्दा ‘धर्म’ को अर्थ ‘गुण वा विशेषता’ हुन्छ। ‘बाबुआमाको सेवा गर्नु छोराछोरीको धर्म हो’ भनियो भने ‘धर्म’ को अर्थ ‘कर्तव्य’ बुझिन्छ।

प्राचीन कालमा अहिलेजस्तो नियम, कानुन, संविधान बनेका थिएनन्। त्यसैले पनि समाजमा अनुशासन र शान्ति सुव्यवस्था कायम गर्नका लागि पनि ‘धर्मो रक्षति रक्षितः’ (जसले धर्मको रक्षा गर्छ त्यसलाई पनि धर्मले रक्षा गर्छ) भन्ने उक्तिका साथ धार्मिक मान्यताको स्थापना गरियो होला। त्यो जमानामा यस्तो व्यवस्था सामयिक र आवश्यक पनि थियो।

कालान्तरमा धर्मका नाममा संसारमा एकपछि अर्को गरी अनेक विचार जन्मिए। ती विचार नै धर्म भए। धर्मसँगै संस्कार जन्मिए। तीमध्ये हिन्दु धर्मचाहिँ अरूभन्दा फरक छ। अन्य धर्मका जन्मदाता कोही न कोही महापुरुष छन् तर हिन्दु धर्म एउटा सनातन धर्म हो। यस धर्मका अधिकांश धार्मिक/सांस्कृतिक मान्यतामा वैज्ञानिकता पनि रहेको पाइन्छ। धार्मिक कार्यमा प्रयोग गरिने अनेक वनस्पतिमा औषधीय गुण रहेको पाइन्छ। जौ, तिल, कुश, बेल, नरिवल, घिउ, यज्ञ, हवनको वैज्ञानिक र वातावरणीय महत्व छ।

तुलसी रोप्नु, यसलाई छुवाएर चढाएको पानी खानु, यसको पूजा गर्नु धर्म हो भने यसो गरिनुको कारण तुलसीले अत्यधिक अक्सिजन दिनु र यसमा औषधीय गुण पाइनु वैज्ञानिकजन्य मानवीय उपयोगिता पनि हो। त्यस्तै पीपलको पूजा गर्नु, गाईको पूजा गर्नु, व्रत बस्नुजस्ता धार्मिक संस्कारजन्य क्रियाकलाप पनि मानव स्वास्थ्यसँगै जोडिएका छन्। यसैले गर्दा पनि हिन्दु धर्मप्रति पश्चिमाहरूको चासो बढ्न थालेको छ।

कालान्तरमा धर्मका नाममा संसारमा एकपछि अर्को गरी अनेक विचार जन्मिए। ती विचार नै धर्म भए। धर्मसँगै संस्कार जन्मिए। तीमध्ये हिन्दु धर्मचाहिँ अरूभन्दा फरक छ। अन्य धर्मका जन्मदाता कोही न कोही महापुरुष छन् तर हिन्दु धर्म एउटा सनातन धर्म हो।

संसारमा धर्मको संख्या धेरैै छ तर तिनको अध्ययन गर्दा ती सबैको सार र मर्म एउटै मानवीय बिन्दुमा मिल्छन्। तिनमा रहेका अनेक कथा, उपकथा र विचार पनि अन्ततः मानवीय हितमै टुंगिन्छन्। कुनै पनि धर्मले ‘झुटो बोल’, नराम्रो काम गर’, ‘चोर’, ‘अरूलाई दुःख देऊ’ भन्दैन। सबैले ‘साँचो बोल’, ‘राम्रो काम गर’, ‘नचोर’, ‘अरूमाथि दया गर’ नै भन्छन्।

महर्षि व्यासले १८ वटा पुराण लेखे तर ती सबैको सारस्वरूप आत्मवान् पण्डितले भनेका थिए:

अष्टादश पुराणेसु व्यासस्य वचनद्वयम्

परोपकारः पुण्याय पापाय परपीडनम्।

(व्यासले लेखेका १८ पुराणमा खालि दुइटै वचन छन्-पुण्य कमाउने हो भने परोपकार गर, पाप कमाउने हो भने अरूलाई दुःख देऊ)

‘जति लामो दाम्लो बाटे पनि गाँठो एउटै’ भनेझैं त्यतिका मोटामोटा १८ पुराणको सार त एकदुई वाक्यमै पो बताउन सकिने रहेछ।

धर्मका विशेषताका बारेमा यो श्लोक पनि प्रसिद्ध छ:

क्षान्ति तुल्यं तपो नास्ति सन्तोषान्न सुखं परम्

नास्ति तृष्णा समो व्याधिः न च धर्मो दयापरः।

(धैर्यजस्तो तपस्या छैन, सन्तोषजस्तो सुख छैन। लोभ वा इच्छाजस्तो रोग अर्को छैन र दयाजस्तो धर्म अर्को छैन)

त्यस्तै अहिंसा परमो धर्मः (अहिंसा नै सबभन्दा ठुलो धर्म हो) भन्ने पदावलीले पनि धर्मको मर्म दयालाई नै मानेको छ। यसरी हेर्दा सबै धर्मको सारतत्व प्राणीउपर गरिने दयालाई मानिएको देखिन्छ, जो चित्तबुझ्दो पनि छ।

‘तिमी चाहे हिन्दु बन वा बौद्धमार्गी, इस्लामी होऊ वा इसाई वा अरू कुनै, एक असल र परोपकारी धर्मावलम्बी बन। तिमीले वरण गरेको धर्मले मानवता, सेवा र शान्तिको उत्थान गरिरहोस् !’ धर्म र पात्रताका सम्बन्धमा, कुनै समयमा चर्चा र विवादमा आएका सत्य साइबाबाको यो भनाइ पनि स्मरणीय र मार्मिक छ।

तर,सम्झिल्याउँदा भने संसारका कुनै पनि धर्म बहुजन हिताय बहुजन सुखाय बन्न सकेका छैनन्। न त ती विवादरहित नै बन्न सकेका छन्। बरु ‘धर्म’ ले आजसम्म मानव जातिलाई फाइदाभन्दा बढी बेफाइदा गरेको इतिहास साक्षी छ। इतिहासका विभिन्न कालखण्डमा धर्मका नाममा अनेक युद्ध भएका छन् र त्यसमा असंख्य मानिस मारिएका छन्।

एउटै धर्मभित्र अनेक सम्प्रदाय छन्। उनीहरू आफ्नै धर्म सही र अरूको धर्म गलत मान्छन्। कतिपय धर्मले आफैलाई ईश्वरका सन्तान र अरूलाई सैतान ठान्छन्। एकले अर्काको धार्मिक गतिविधि र दैनिकी मनै नपराउने मात्र होइन, एकअर्काप्रति आक्रामक बनेका देखिन्छन्।

उहिलेदेखि नै हिन्दु र मुस्लिम, सिया र सुन्नी, मुस्लिम र यहुदीबीच कडा मनमुटाव, विवाद र संघर्ष भइआएको छ। तिनीहरू एकले अर्कालाई सम्मान गर्नुलाई होइन, सकेसम्म सिध्याउनु र भत्काउनुलाई ‘धर्म’ ठान्छन्।

त्यस्तै अहिंसा परमो धर्मः (अहिंसा नै सबभन्दा ठुलो धर्म हो) भन्ने पदावलीले पनि धर्मको मर्म दयालाई नै मानेको छ। यसरी हेर्दा सबै धर्मको सारतत्व प्राणीउपर गरिने दयालाई मानिएको देखिन्छ, जो चित्तबुझ्दो पनि छ।

यस क्रममा आफ्नो धर्म कसरी विस्तार गर्ने र अरूका धर्म कसरी मेटाउने रणनीति पनि अपनाइँदै आइएको छ। त्यसैका लागि असंख्य लगानी गरिएका छन्।

परिणामतः पवित्र ‘धर्म’ धनसँग नाता गाँसेर अपवित्र बन्दै छ। धर्मको विस्तार हुनुमा धन प्रभावी बन्दै छ। सम्पदा बनिसकेको बौद्ध गुम्बा धराशायी बन्नु र चर्चका नयाँनयाँ र आकर्षक पक्की भवनको संख्या बढ्नुमा धनकै करामत त होला!

मानवीय प्रवृत्ति असल बन्न नसकी धर्मका नाममा स्वार्थ गाँसिदा सनातन धर्ममा पनि अनेक संस्कार थपिएका छन्। यसले मानवीय जीवनको लय बिगारेको छ। सबै धर्ममा कथित धार्मिक अगुवा र टाठाबाठाले आफ्ना फाइदाका लागि सर्वसाधारणको शोषण गर्दै आएका छन्। धर्म-धन्दा, व्यापार र लुटको साधन बन्ने गरेको छ। संस्कार आडम्बरी र अन्धानुकरणमा रमाउँदै छन्।

भनिन्छ-मानिसको जिन्दगी सुख र दुःखको मिश्रण हो। सुख त सजिलो हुनाले बिर्सिइन्छ तर दुःखचाहिँ गाह्रो हुनाले सम्झनामा रहिरहन्छ। बुद्धले ‘संसार दुःखमय छ’ भन्नुको कारण पनि यही होला। यहाँ जन्म लिने प्रत्येक मानिसले जिन्दगीमा विभिन्न दुःखमय अनुभव लिनैपर्ने हुन्छ।

यो प्रकृतिको शाश्वत नियम नै हो। तर जसरी एकजना रक्स्याहा पिर पर्दा रक्सी र खुसी हुँदा पनि रक्सी नै पिउँछ, त्यसरी नै विभिन्न धर्मका नाममा गरिने विभिन्न संस्कार अन्तर्गत खुसी हुँदा होस् वा दुःखी हुँदा होस्, केही न केही फजुल खर्ची कर्मकाण्ड गर्नैपर्ने सामाजिक बाध्यता छ।

हिन्दु संस्कारअन्तर्गत गरिने न्वारन, व्रतबन्ध, विवाह खुसीका कुरा हुन्। त्यसैले त्यस्ता कर्ममा मन फुकाएर खर्च नगर्ने कोही हुँदैनन्, तर आफ्ना परिवारजनको मृत्युमा खेप्नुपरेको पीडा जोकोहीका लागि पनि असह्य हुँदाहुँदै पनि त्यस्ता बेलामा स्वर्ग/नर्कको डर देखाएर ‘यो’ वा ‘त्यो’ का नाममा गरिने÷गराइने खर्च झन् बढ्ता हुन्छ।

भनिन्छ-मानिसको जिन्दगी सुख र दुःखको मिश्रण हो। सुख त सजिलो हुनाले बिर्सिइन्छ तर दुःखचाहिँ गाह्रो हुनाले सम्झनामा रहिरहन्छ।

यसबाट कसैको पेसा चलिरहेको हुन्छ भने कसैलाई आर्थिक भार परिरहेको हुन्छ। त्यसैले लाग्छ, मान्छे भएर जन्मिएपछि बाँच्न त गाह्रो छ नै, त्योभन्दा पनि मर्न गाह्रो छ। यो कुरा सोच्दै गर्दा नेल्सन मन्डेलाको भनाइ सम्झना आउँछ-दुनियाँलाई बदल्ने शक्तिशाली हतियार भनेको शिक्षा हो। दुनियाँलाई मूर्ख बनाउने हतियार भनेको धर्म हो।

तर यो कुरा बुझ्न विश्व मानव समुदायलाई अझै कति शताब्दी लाग्ने हो, भन्न सकिँदैन।  

यसै सन्दर्भमा धर्मसँगै चर्चा गर्नुपर्ने अर्को शब्द ‘राजनीति’ पनि छ। यो शब्दको अर्थ पनि शब्दकोशमा ‘जनताको शान्तिसुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन-व्यवस्थाको प्रणाली निर्धारण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्ने र यस्तै अन्य कार्य गर्ने नीति, राज्यको शासन-व्यवस्थासम्बन्धी नीति, राज्य-सञ्चालन प्रणाली, राज्य र प्रशासनसँग सम्बन्धित एक सामाजिक सिद्धान्त भनेर दिइएको छ। यसरी हेर्दा धर्मजस्तै राजनीतिको अर्थ पनि धेरै कल्याणकारी छ।

यो अर्थअनुसार राजनीतिमा लाग्ने मान्छे बौद्धिक र असल हुन्छ। उसले समाज र देशका हितका लागि ल्याइएका नयाँ विचार कार्यान्वयनमा ल्याउँछ। तर प्राचीन कालमा पनि राजनीतिको मूल उद्देश्य सत्ता प्राप्ति भएपछि महाभारत युद्ध हुन पुग्यो। राजनीतिमा सफल हुन साम, दाम, दण्ड र भेदको कला जान्नुपर्ने कुरा चाणक्यले बताएपछि यो एउटा राजनीतिक सूत्र नै बन्यो। त्यसमा स्वार्थवश झुट, भ्रम, जालझेल र छलकपट जस्ता सहायक कला पनि थपिए।

अनेक वाद, दर्शन र सिद्धान्त जन्मिए जन्माइए। परिणामतः इतिहासका विभिन्न कालखण्डमा नरपिशाच र रक्तपिपासु शासक जन्मिए। तिनले सल्काएका युद्धले यहाँका धर्तीपुत्रहरूको बाँच्न पाउने अधिकार खोसियो। मानिसले नै बनाएका सुन्दर सहरहरू ध्वस्त भए। यसरी मानिसका लागि मानिस नै कलंक बन्यो। धर्म हरायो। सारमा यसको कारक तत्व राजनीति नै बन्न पुग्यो।

यो अर्थअनुसार राजनीतिमा लाग्ने मान्छे बौद्धिक र असल हुन्छ। उसले समाज र देशका हितका लागि ल्याइएका नयाँ विचार कार्यान्वयनमा ल्याउँछ।

यसरी हेर्दा ‘धर्म’ मानव जीवनको आधार, असल बाटो देखाउने तथा संसारलाई सुखमय बनाउने मूल तत्व हुँदाहुँदै पनि यसले धेरै ठाउँमा धन्दाको रूप लिएर बाटो बिराउँदै आएको छ।

त्यस्तै ‘राजनीति’ पनि सबैभन्दा आकर्षक पेसा र हरतरहको अपराधबाट जोगिने माध्यमसमेत बन्ने गरेको छ अनि संसारकै विवेकशील प्राणी ‘मानव’ मा मानवताको साटो अमानवता हाबी हुँदै छ। यो प्यारो र सुन्दर संसारमा धर्म, राजनीति र मानवताले त्रिकोणात्मक सार्थकता पाउने हो भने यो अझै कति प्यारो र सुन्दर बन्ने थियो होला?

प्रकाशित: ६ जेष्ठ २०८० ०१:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App