१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

घर-घरमा सर्वज्ञहरू

नेपाली सामाजिक सञ्जाल, पत्रपत्रिका, युट्युब लगायतका सामग्री “सर्वज्ञ” देखिनेहरूको नियन्त्रणमा छ। गम्भीर विषयमा जुन बहस, विमर्श र निष्कर्ष हुनुपर्ने, त्यो देखिँदैन। अन्य सभ्य र प्रजातान्त्रिक राष्ट्रमा न्यायपालिका सबै समस्याको उपचारक मानिन्छ तर यहाँ त्यो निर्वस्त्र छ ।

प्रेस, नागरिक समाज, पेसागत संगठन र संस्थादेखि कार्यपालिका, न्यायक्षेत्र, व्यवस्थापिका सबै उच्शृंखल बनेको आरोप लागिरहेको छ। त्यसो भए उनीहरूलाई कसले पथभ्रष्ट, भ्रमित र बदनाम गराइरहेको छ? के नेपाललाई असफल राष्ट्र बनाउने डिजाइन अनुुसार “सर्वज्ञहरूको” परिचालन भइरहेको त छैन?

पछिल्लो उपनिर्वाचनको परिणामले काँग्रेस, एमालेलगायत दलको भविष्यमा ठूला दलका नेता र ठूला भनिएका सञ्चारमाध्यमले नै रहस्यमय प्रश्न उठाएको देखियो। जीवन मरणको हिसाब नगरेर परिवर्तन खोज्दै क्रान्तिमा कुदेका युवाले अहिले ठूला दलहरू र जिम्मेवार व्यक्तिहरूसँग चित्त दुखाएका पाइन्छ। उनीहरू भनिरहेका छन्, २०६३ सालसम्म ११ लाख नेपाली विदेशमा श्रम गरिरहेका थिए, त्यो संख्या हाल ५५ लाखको हाराहारीमा छ।

हत्या जसले जहाँ जसरी गरे पनि त्यो अपराध हो। यसलाई राजनीतिको जलप लगाएर डेमोक्रेसीका लागि जेल गएको भन्न मिल्दैन।

स्वदेशमा शिक्षा, अध्ययन, उपचार सबै अत्यन्तै महँगो छ भने राज्यसत्ता दुरूपयोग गरेर जनताको करबाट उठेको ठूलो रकम हिनामिना गरिरहेको अवस्थामा सरकारले कढाइका साथ दायित्व लिनुपर्ने हुन्छ।

यो युगमा कसैले कसैलाई सधैँ ढाँट्न र झुक्याउन संभव छैन। हातहातमा मोबाइल फोन बोक्नेहरू बढेका छन्। काठमाडौँ इन्द्रचोक, असन वा सहरका मुख्य ठाउँमा कुनै खबर फैलिँदा त्यो तत्काल ताप्लेजुङको थेचम्बु, बैतडीको बमराडा, वीरगन्जको छपकैया, नेपालगन्जको रूपैडिहा वा झापाको केचना पुगिसक्छ।

यसको अर्थ, चेतना धेरै बढेको छ। संसारमा फैलिएका नेपाली स्वदेशतिर बेलाबखत चिहाउने गर्छन् राम्रा/नराम्रा कुरामा प्रतिक्रिया जनाउने गर्छन्। यो पार्टी, त्यो पार्टी होइन, असल काम गर्ने मानिस खोजिरहेका छन्, उनीहरू।

गाउँ वा नगर तहमा राम्रो, इमानदार र कर्तव्यबोध गर्ने जनप्रतिनिधि निर्वाचित भएमा कुन दल वा गुट हेरिँदैन। पछिल्ला केही उदाहरण नै यसका लागि पर्याप्त छन्। स्थानीय तहलाई दलीय हस्तक्षेप, दबाब र घातप्रतिघातबाट टाढा राख्न युवाले गरेको आग्रह पूर्वाग्रहले विकृत छैन। विकासलाई मात्रै ध्यान दिने हो भने इमानदार, योग्य र क्षमतावानहरू धेरै छन् तर उनीहरूलाई पन्छाएर दल वा गुटका नेता रिझाउनुपर्ने “बटमलाइन” युवा पुस्ता स्वीकार्न तयार छैन।

स्वदेश र विदेशमा उच्च अध्ययन गरेका र विभिन्न क्षेत्रमा नेतृत्व गरेका मानिसले राजनीतिमा शुद्धीकरण ल्याउने दृढ अठोट र सोहीअनुसार काम गर्न चाहन्छन् भने त्यो प्रशंसनीय कुरा हो।

विकासलाई मात्रै ध्यान दिने हो भने इमानदार, योग्य र क्षमतावानहरू धेरै छन् तर उनीहरूलाई पन्छाएर दल वा गुटका नेता रिझाउनुपर्ने “बटमलाइन” युवा पुस्ता स्वीकार्न तयार छैन।

को कति जना मारेर वा कतिवटा अपराध गरेर कति वर्ष जेल बसेको थियोे भन्ने कुरा अर्थहीन छ। हत्या जसले जहाँ जसरी गरे पनि त्यो अपराध हो। यसलाई राजनीतिको जलप लगाएर डेमोक्रेसीका लागि जेल गएको भन्न मिल्दैन।

मन्त्री बनाउने हो भने विषयमा ज्ञान हुनेलाई मात्रै बनाउन आवश्यक छ। उदाहरणका निम्ति सेनामा लामो अनुभव भएको व्यक्ति रक्षामन्त्री, अर्थतन्त्र बुझेको अर्थमन्त्री, परराष्ट्र सेवामा काम गरिसकेको इमानदार मानिस परराष्ट्रमन्त्री बनेको खण्डमा कर्मचारीतन्त्रले मन्त्रीलाई उल्लु बनाउन सक्दैन तर मलाई सबै कुरामा ज्ञान छ भन्ने अहंकारले टापटिपे प्रवृत्ति बढेको हो।

अरूलाई परिवर्तन गराउन चाहना राख्ने तर आफ्नो मनोवृत्ति परिवर्तन नगर्ने स्वभाव राजनीतिक नेतृत्वदेखि यावत् क्षेत्रमा छ। यही कारणले नेपालका कतिपय क्षेत्र आज पनि अस्तव्यस्त छन्।

 अरूलाई दोषारोपण गरेपछि आफ्नो उचाइ बढ्छ भन्ने घृणित सोच सैनिक हेडक्वार्टरसम्म फैलियो। अग्रजहरूले गरेका असल कामका लागि अनुगृहित, कृतज्ञ र सन्तुष्ट हुनुपर्नेमा फलानाले सबै भत्काउने काम मात्रै गरेर गए भन्ने सन्देश प्रवाह भयो। आजका उच्च अधिकारी सेवानिवृत्त भएपछि उनीहरूले कसरी मान, इज्जत र कदर पाउलान् त?

साठी वर्ष पहिलेसम्म सिंगापुर, मलेसिया, दक्षिण कोरिया आदि राष्ट्र नेपाल जस्तै आर्थिक अवस्थामा थिए। उनीहरूले राष्ट्र उठाउन अनेक यत्न गरे। दल, गुट वा जातका पर्खाल उठाउने होइन, राष्ट्र उठाउने काममा सबै ऐक्यबद्ध भए।

फलतः धनी, सुखी र खुसी भए। हाम्रो समस्या दिमागमा छ। दिमाग विस्तृर्ण हुनुपर्ने तर संकीर्ण नै रहिरह्यो। आज पनि हामी पुरानै सोचले ग्रस्त भएर प्रियजनलाई मात्रै सर्वज्ञ ठानिरहेका छौँ। यस्तो सोचले हामी घृणा, उपेक्षा र तिरस्कार, बहिष्कारको चक्रपथमै परिक्रमा गरिरहेका हुनेछौँ।

अरूलाई परिवर्तन गराउन चाहना राख्ने तर आफ्नो मनोवृत्ति परिवर्तन नगर्ने स्वभाव राजनीतिक नेतृत्वदेखि यावत् क्षेत्रमा छ। यही कारणले नेपालका कतिपय क्षेत्र आज पनि अस्तव्यस्त छन्।

काठमाडौंँ महानगरकाका शक्तिशाली प्रमुख बालेन शाहले हालै दिएका अभिव्यक्तिले राजनीतिक दलका नेताहरूलाई झस्काएको हुनुपर्छ। महानगर प्रमुखको विचारमा नेपाल राष्ट्रको माया गर्नेहरूले कुनै दलको अगुवाइ गरेको पाइएन।

आक्रोश बढ्दैछ। काठमाडौँका महानगर प्रमुख शाहले त कुनै दलीय नेतालाई राष्ट्रको माया नै रहेनछ भनेका छन्। यस्तो भावनाले युवालाई सचेत बनाउन थालेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले उपचारका लागि खर्च गरेका करोडौँ रुपियाँ आफैँले तिर्नुपर्ने अवस्था आयो। केपी ओलीको उपचारका लागि ५४ करोड रुपियाँभन्दा धेरै खर्च भएको, २०४६ सालपछि अर्बौं रुपियाँ राजस्व नेताहरूले बेरोकटोक खर्च गरेका र अत्याधिक बेथिति बढेकै हो। युवा वर्ग जागेका कारण अब यस्ता बिकार घट्ने विश्वास बढ्दैछ।

लाखौँ युवा र ४० वर्ष नाघेका पुस्ताबीच विचार वा मनोवैज्ञानिक दूरी बढ्दा राजनीतिमा त्यसको प्रभाव बढ्दै जान्छ। सत्तामा पुग्न अर्को ध्रुवको दलसँग अपवित्र गठबन्धन गर्दा कमल थापाले जुन बदनामी सहनुपरेको थियोे, पुष्पकमल दाहाललाई गुरु नानक मानेर उपप्रधानमन्त्रीको जागिर खान जाने (सिख) शिष्य राजेन्द्र लिङ्देनले त्यस्तै आलोचना सहनुपरेको देखिन्छ।

आक्रोश बढ्दैछ। काठमाडौँका महानगर प्रमुख शाहले त कुनै दलीय नेतालाई राष्ट्रको माया नै रहेनछ भनेका छन्। यस्तो भावनाले युवालाई सचेत बनाउन थालेको छ।

को सही वा को गलत भन्नु भन्दा पनि के सही र के गलत भनेर वस्तुपरक (अब्जेक्टिभ) देखिन्छन्, युवा। नेपाली राजनीतिको खेल बुझेका युवा सबैलाई सर्वज्ञरत्न मान्दैनन्। विवादास्पद, चरित्रहीन र स्वार्थी समूहको घेरामा राजादेखि रंकसम्म फसेको देख्नेहरूले स्पष्ट बोलेका छन्, अरूको आलोचना गर्ने हक उसैलाई मात्र हुन्छ, जो निःस्वार्थ, इमानदार, चरित्रवान र साँच्चै राष्ट्रभक्त हुन्छ।

विचारहीन मानिस पतीत हुन्छ, भ्रमित हुन्छ र पथभ्रष्ट हुन्छ। मलाई सबै थाहा छ भनेर असल सल्लाह नसुन्ने धेरैको कन्तविजोग भएको छ।

यसबाट बुझ्न सकिन्छ, नीति महत्वपूर्ण कुरा हो तर नेताको सच्चरित्र, इमानदारी, दूरदृष्टि र मार्गचित्र पनि त्यत्तिकै सहायक हुन्छ। अखबारको, दलको, राष्ट्रको वा कुनै संगठनको नीति स्पष्ट छैन भने इतिहासको गीत गाएर मात्रै राष्ट्र सुरक्षित रहँदैन।

आफ्नो हातमा राष्ट्रिय अभिभारा आएको बेला त्यसलाई क्यासिनो ठान्ने प्रवृत्तिले नेपाल र नेपाली सदैव प्रवन्चनाको सिकार भए। केही अपवादबाहेक धेरैजसो नेताले राष्ट्र र जनतालाई बुझ्न सकेनन्। जनताले गन्थन गरिरहे तर पद्धतिमा परिवर्तन ल्याउने साहस गरेनन्। राष्ट्र जुरुक्क उठाउन सकिन्थ्यो तर टाठाबाठाहरू जनता भएर निर्णायक हुन सकेनन्। कार्यकर्ता हुनुमै गर्व गरिरहे।

आफ्नो हातमा राष्ट्रिय अभिभारा आएको बेला त्यसलाई क्यासिनो ठान्ने प्रवृत्तिले नेपाल र नेपाली सदैव प्रवन्चनाको सिकार भए। केही अपवादबाहेक धेरैजसो नेताले राष्ट्र र जनतालाई बुझ्न सकेनन्।

धेरै राष्ट्र असफल हुनुका पछाडि अस्थिरता, राजनीतिक दलहरूको सत्ता संघर्ष, बुद्धिहीन नेतृत्व, दलपरस्त जनता, लाचार सरकार, विदेशमुखी चरित्र जस्ता अनेक कारण छन्। ती सबै दुष्प्रवृति यहाँ स्पष्ट देखिन्छन्।

जनता सचेत मात्रै भएर पुग्दैन, उनीहरूको अन्तस्करणमा कर्तव्यबोध पनि हुनुपर्छ भन्छन्, राजनीतिशास्त्रका विद्वान्हरू। राष्ट्रको उच्च तहमा बस्ने सबैलाई सबै भन्दा योग्य ठान्ने हीनताबोध पनि जनताको कमजोरी हो। यसले राष्ट्र नै कमजोर बनाइरहेको छ।

प्रकाशित: २९ वैशाख २०८० ००:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App