मेराे रूपान्तरणकाे कथा
जीवनोपयोगी शिक्षाको पाठ्यक्रम बनाउने सिलसिलाबाट रूपान्तरणकारी सोंच जन्मियो। पाउलो फ्रेरे, बेल हुक्स, जयपृथ्वीबहादुर सिंह, सन्त योगमाया, वन्दना शिवा, रोजा पार्क्स जस्ता महान् शिक्षाविद्को विचारप्रवाहसँग नजिकिएर आफ्नो कर्ममा धर्म देख्न थालेपछि ‘रूपान्तरण’ मैले रोजेको, खोजेको बाटो बन्यो।
सुरुवात आफैंबाट गर्दैछु।
म आफ्नो क्षमता विकास सँगसँगै आफ्नो परिवार, कार्यक्षेत्र, समाजमा रूपान्तरण ल्याउन प्रयत्नशील छु। आज म गर्वका साथ भन्न सक्छु, मैले पढाइबाट विरक्तिएका विद्यार्थीमा जोस, जाँगर भर्न सकेको छु।
सधैँ कक्षामा झोक्राएर बस्ने ती विद्यार्थी आजभोलि जीवित देखेको छु। जीवितको अर्थ श्वास फेर्नु मात्र हैन। आफू वरपर के भइरहेको छ चंख भएर चुस्तता देखाउनु हो। जागा हुनु हो।
हिजोसम्म मेरा भाष्य, “आजभोलिका युवा कुन दुनियाँमा हुन्छन्, जसरी सिकाए पनि, जे ल्याएर देखाए पनि कुनै मतलब छैन। लाग्छ भित्तासँग कुरा गरिरहेछु। आफैँलाई पढाइरहेछु। पढाइप्रति चासो छैन। न परीक्षमा फेल हुन्छु भन्ने संकोच वा लाज।”
तर आज मेरो भाष्य बदलिएको छ। मैले विद्यार्थीहरूको कौतुहलता चिन्न थालेको छु। उनीहरूको मानसपटलमा गुम्सिएको अन्योल, भविष्यप्रतिको चिन्ता, सिकेका–सिकाइएका विषयवस्तुको दैनिक जीवन तथा भविष्यसँगको सम्बन्ध नबुझ्दाको अलमल उनीहरूको अनुहारमा पढ्न सक्छु।
लामै समय भयो, मैले कलेजले दिएको निर्देशनभन्दा फरक तरिकाले वा भनौँ, मेरो आफ्नै अर्गानिक तरिकाले कक्षाकोठालाई व्यवस्थापन गर्दै आएको। सरल भाषामा विद्यार्थीहरूसँगको सहकार्य गर्दै आएको। पानीमा चिनी घुलिए जस्तै घुलनशील भएको।
यसो गर्दैगर्दा कहिलेकाहीँ, कलेज प्रशासनबाट प्रत्यक्ष त हैन, अप्रत्यक्ष तरिकाले विषय र ‘रुल्स रेगुलेसन’ भन्दा बाहिर नगइदिए हुन्थ्यो भन्ने मनसायबाट अपरिचित छैन। तर थाहा नपाए जस्तो भने गरिरहन्छु। किनकि मेरो उद्देश्य विद्यार्थीहरूको खुसीबाट चुलिएको उन्नति, प्रगति हेर्नु हो।
म सबै शिक्षकको ध्यानाकर्षण गर्न चाहन्छु-‘अंक’ ठूलो समस्या हैन। विद्यार्थीको श्वास चल्न दिइरहने हो भने। फेरि पनि म आफू यसको जीवित सत्य हुँ। पढ्दा कुनै ऋषिमुनीको वाणी वा आधुनिक सद्गुरुको प्रवचन जस्तो सुनिएला। तर यही सत्य हो। आज म विभिन्न कलेजमा तीनदेखि चारवटा विषय पढाइरहेकी छु। मेरा विद्यार्थी मन लगाएर सिक्न खोज्छन्। राम्रो नंबर ल्याएर पास गरिरहेका छन्।
लामै समय भयो, मैले कलेजले दिएको निर्देशनभन्दा फरक तरिकाले वा भनौँ, मेरो आफ्नै अर्गानिक तरिकाले कक्षाकोठालाई व्यवस्थापन गर्दै आएको।
कहिलेकाहीँ बरु उनीहरू नै सोध्छन्-“म्याम हजुरले यति गंभीर भएर हाम्रा लागि सोच्नुहुन्छ, सिकाउनुहुन्छ। हजुरलाई दिक्क लाग्दैन हाम्रो मूर्खतापूर्ण प्रश्नहरूमा, व्यवहारहरूमा?”
मेरो जवाफ यही हुन्छ–“यिनै मुर्खातापूर्ण प्रश्नमा त तिमीहरूको स्वच्छ मन, निष्कपट बुझाइ, थिचिएको भावना, आवेग झल्झली देख्न सक्छु। यिनै प्रश्नले त पोल्छ मलाई। अनि थोरै भए पनि तिमीहरूमा ऊर्जा थप्न सकेँ भने मेरो शिक्षक धर्मको बिउ त रोपियो जस्तो अनुभूति हुन्छ।”
आपसी सद्भाव, सहभाव र समभाव
संवेदशीलता र प्रगाढताबीचको द्वन्द्वात्मकता हो शिक्षक–विद्यार्थी संबन्ध। सानो (अ)विश्वासले कायापलट गरिदिन्छ। त्यसैले ताली बजाउन दुई हात चाहिन्छ, एक हातले त ठोक्न मात्र मिल्छ। आफ्ना समस्या, तनाव निर्धक्क बताउन सक्ने वातावरण सिर्जना गर्न सचेत प्रयास गरेको छु। रूपान्तरणले मेरो हेराइ, बुझाइ र गराइमा आएको फरकबाट विद्यार्थीमा समेत सद्भाव, सहभाव र समभाव सनैसनै उद्भव हुँदैछ।
स्वअनुशासन एवं मर्यादाको घेरालाई ससम्मानित सहकार्यले शिक्षक–विद्यार्थी दुवैको सिकाइ अझ माँझिन्छ। केही दिनअघि उनीहरूको कुरा सुन्दै गर्दा आजभोलि युवाहरू गलत कार्य, कुलतमा फस्ने दृश्य झल्झल्ती मेरो आँखा अगाडि नाच्न लागे। “काठमाण्डूमा डेरामा बसेर पढ्नुपर्छ। परिवारबाट टाढा, आर्थिक बोझ दिन मन लाग्दैन। स्थायी आम्दानीको स्रोत छैन। पाइहाले पनि काम रोज्यो पढाइ बिग्रिने, पढाइ मात्र भन्यो भने कमाइ छैन।”
पाठ सोध्ने क्रममा कहिलेकाहीँ विद्यार्थीबाट यति नमीठो जवाफ आउँछ, एकछिन त तिर्मिराउने अवस्थामै पुगिन्छ। पुरानो ‘म’ ले त गाली गरेर सिधै क्लासबाट निकालिदिन्थेँ। तर रूपान्तरित ‘म’ ले संयम राख्दै त्यो व्यवहारपछाडि लुकेको तनाव खोज्न थालेको छ। तर यसको अर्थ उसको गलत व्यवहारलाई अनदेखा गर्ने भनेको होइन। अपमान नगरी गल्ती महसुस गराउने हो। त्यसपछिको सद्भावको स्वाद तपाईहरूलाई सबै भन्दा मीठो के लाग्छ, त्यसैलाई सम्झन सक्नुहुन्छ।
संवेदशीलता र प्रगाढताबीचको द्वन्द्वात्मकता हो शिक्षक–विद्यार्थी संबन्ध। सानो (अ)विश्वासले कायापलट गरिदिन्छ।
गल्ती हुनु गलत हैन, गल्तीको पुनर्उत्पादन हुनु गलत हो। गल्ती गर्नै हुन्न भन्ने सिकाउने हैन, गल्तीबाट सिक्ने कला सिकाउनु शिक्षकको स्वभाव हुनुपर्छ।
सिक्ने/सिकाउने कुरा
विद्यार्थीमा राम्रो आचरण, अनुशासन सिकाउन मन्टेसोरीदेखि माध्यमिक तहसम्मका विद्यालयले विभिन्न मोडेल बनाएर व्यापक अभ्यासका खबर थुप्रै पढ्न पाइन्छन्। हामी शिक्षकहरूले शब्द र सिध्दान्तको मोडेल भन्दा विद्यार्थीहरूको आजको संकुचन, समस्या, मनोभावलाई ध्यानमा राखेर मोडेल बनाउँदा कस्तो होला? किताबको बोझ, असाइनमेन्टको बोझ, लगभग बिहान ६ देखि साँझ ६ सम्म विद्यालय एवं कलेजमा उपस्थितिको बोझ, अनि मनोसामाजिक बोझ। कति एउटै थोत्रो राग अलाप्ने ? कति ‘अन्धो भक्ति’ को अपेक्षा राख्ने?
अब यसरी थोपरिएको ‘अनुशासन’ ले ‘स्वअनुशासन’ लाई कति लामो समयसम्म थेग्न सक्ला? अनि आचरण र संस्कार डग्मगाउँछ। विद्यार्थी मात्र किन? कस्ताकस्ता मै हुँ भन्नेको पनि धैर्यको सीमा गाह्रो छ।
यति लामो भूमिका बाँध्नुपछाडि एउटै उद्देश्य छ, विद्यार्थीको अनुशासन, आचरण अझै जोगाउन सकिन्छ। विद्यार्थीहरूसँग सरोकार राख्नेहरूबीच सिर्जनात्मक सहकार्य हुन सकेमा फरक पार्न सकिन्छ। सुधार विद्यार्थीदेखि सबै सरोकारवालाहरूसम्म उत्तिकै जरुरी छ।
यसो भनेर मैले अभिभावक, स्कुल, कलेज, शिक्षक, शिक्षाका नीतिलाई आरोप लगाउन खोजेको हैन। तर यी दोषमुक्त भने छैनन्। लेखको आफ्नै सीमा छ। त्यसैले म शिक्षकको नाताले कक्षा कोठामा विद्यार्थीलाई सिकाउने दायित्व बोकेका शिक्षक स्वयंको सिक्ने हुटहुटी शीर्षस्थ मान्छु। पुराना अनुभव र पुराना शिक्षण पद्धतिले नयाँपन ल्याउन सकिँदैन। त्यसैले सिकाउन शिक्षक आफैँ सिकिरहेको हुनुपर्छ। इमानदारीपूर्वक आफैँलाई सोधौँ त-
यसो भनेर मैले अभिभावक, स्कुल, कलेज, शिक्षक, शिक्षाका नीतिलाई आरोप लगाउन खोजेको हैन। तर यी दोषमुक्त भने छैनन्। लेखको आफ्नै सीमा छ।
१. के हामी शिक्षक धर्मको पालना नैतिकताका साथ गर्छौ?
२. एकछिनलाई मानौँ, हामीले अनुशरण गरिरहेका पाठ्यक्रम र पाठ्यपुस्तक उत्कृष्ट छन्। तर ती विषयवस्तुमा विद्यार्थीलाई पारंगत बनाउन हामी शिक्षकहरूको आफ्नै बुझाइ–सिकाइ पुगेको छ/छैन, त्यसको परीक्षण र प्रशिक्षणप्रति कति गंभीर छौँ?
३. आपसी सरसहयोग, सहकार्य, सहसिर्जनालाई कसरी बुझेका छौँ ?
४. जानी/नजानी विद्यार्थीहरूको जात, भौगोलिक परिवेश, लैंगिक तथा यौनिक अल्पसंख्या वा शारीरिक बनावटमा गरिरहेका टिप्पणीले विद्यार्थीको मन मस्तिष्कमा पर्न जाने असरको पर्वाह गर्छौ?
२१औँ शताब्दीमा पनि विद्यार्थीलाई काँचो माटो सम्झने र उनीहरूको भविष्य आफूले कोर्ने सोच राख्न मिल्ला त? कमीकमजोरी कसको हुँदैन र? हाम्रो छैन र? संकुचनको घेराबाट बाहिर निस्केर निन्दा गरिरहनुको साटो सबल पक्षको पहिचान र सचेत ढंगबाट तिनको विकासमा सहजीकरणमा जुट्न सकिन्छ कि?
यसको अर्थ सबै नराम्रो भनेर राम्रा कुरालाई ओझेलमा पार्न खोजेको होइन। आज यो लेख्ने जाँगरसमेत राम्रा अभ्यासमाथि बेलाबेलामा उठ्ने गरेका कलम, विचार, चिन्तन र चिन्ताकै कारण हो।
२१औँ शताब्दीमा पनि विद्यार्थीलाई काँचो माटो सम्झने र उनीहरूको भविष्य आफूले कोर्ने सोच राख्न मिल्ला त? कमीकमजोरी कसको हुँदैन र? हाम्रो छैन र?
अझ भन्न–गर्न धेरै बाँकी छ, तर सन्तोष छ रूपान्तरण सुरुवात भइसकेकामा। स्थापित धरातलमाथि टेकेर, यथास्थितिलाई आलोचनात्मक ढंगले विवेचना गर्दै शिक्षक–धर्मलाई अझ सुदृढ, अझ परिष्कृत गरी विकास र समुन्नतितर्फ लम्कने हो। ‘हजारौँ कोस हिँड्नु छ, प्रथम पाइला चाल्नैपर्छ।’
हाम्रो सानो सचेत प्रयासले करोडौँ विद्यार्थीको जीवनमा हाँसो फिजार्न सकिन्छ भने मिलेर सार्थक सपना बुनौँ।
(संयोजक-आजीवन सिकाइ मण्डला)
प्रकाशित: ४ वैशाख २०८० ००:११ सोमबार