coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

टर्की-सिरिया भूकम्पको सन्देश

२०औं शताब्दीको दौरानमा युरोपमा भूकम्पले दुई लाखभन्दा बढीको मृत्यु र २५० बिलियन युरोभन्दा बढी नोक्सान गरेको तथ्यांक छ। टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा ६ फेब्रुअरी २०२३ का दिन स्थानीय समय अनुसार सोमबार बिहान ४ः१७ मा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

त्यस्तै सोही दिन दिउँसो १ः२४ मा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पपछि हजारौं पराकम्पले मानिसलाई तर्साइरह्यो। सारा घर छाडेर खुला आकाशमा बसे, चिसो मौसमले तिनलाई कम्पित बनाइरह्यो। टर्कीका राष्ट्रपति हु रेसेप तैयपले भूकम्प प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै बताउनुभयो– ‘यो शताब्दीकै भयङ्कर प्राकृतिक विपत्ति हो।’

यो विनाशकारी भूकम्पले ५० हजारभन्दा बढीको ज्यान लिएको छ। यो संख्या दोब्बर हुन सक्ने संयुक्त राष्ट्रसंघले जनाएको छ। यस भीषण भूकम्पमा परेर टर्की र सिरियामा २६ मिलियन मान्छेहरू प्रभावित भएको बताइन्छ। विश्व बैंकको विश्वव्यापी द्रुत प्रकोपपछिको क्षति अनुमान (ग्रेड) रिपोर्टअनुसार टर्कीमा भएको विनाशकारी भूकम्पबाट प्रत्यक्ष नोक्सानी ३४.२ बिलियन अमेरिकी डलर भयो। यो टर्कीको सन् २०२१ को कुल ग्राहस्थ उत्पादनको ४ प्रतिशत बराबर अनुमान गरिएको छ। प्रत्यक्ष क्षतिमध्ये आवासीय भवनहरूमा भएका क्षति धेरै देखिएको छ। जुन ४१८ बिलियन अमेरिकी डलर वा कुलको ५३ प्रतिशत थियो। त्यसैगरी गैरआवासीय भवनमा क्षति ४९.७ अर्ब अमेरिकी डलर वा २८ प्रतिशत भएको थियो, जबकि बाँकी ४६.४ बिलियन अमेरिकी डलर अर्थात् १९ प्रतिशत प्रभाव पूर्वाधारमा परेको थियो।

राहत कार्य

राहत कार्य तीव्र पारिए पनि खराब मौसमका कारणले घरका भग्नावशेषमा पुरिएकाहरूलाई जिउँदै निकाल्न सकिएन। घटनास्थलबाट पुरिएका मान्छे, पशुपन्छी र जनावरहरूलाई सकुशल निकाल्न खटिएकालाई तुरुन्त आवश्यक उपकरण तथा प्रविधिको अभावमा गाह्रो परेको थियो। सडक, यातायात, टेलिफोन सम्पर्क सबै क्षतविक्षत भए। सरकारी भवन, कारखाना र विद्यालय सबै ध्वस्त भएका छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएअनुसार उत्तर–पश्चिमी सिरियामा क्राँसलाइन डिलिबरी पठाउनका लागि अन्तिम मञ्जुरीको प्रतीक्षा गर्नुपरेको थियो। जहाँ लामो समयदेखि चालु गृहयुद्ध नियन्त्रित क्षेत्र भएको र सहायता वितरणमा विद्रोही समूहको बाधाको सामना गर्नुपरेको थियो।

 राहत कार्य, औषधीमुलो सबैको अभावले मान्छेलाई विद्रोही बनाइरहेको देखिन्छ। राजनीतिज्ञहरूले विरोधको सामना गर्नुपर्‍यो। ‘यस महाप्रकोपको सामना गर्न म टर्की र सिरियाका जनतालाई एकजुटताको विशाल प्रदर्शनमा लाखौं शरणार्थी र विस्थापित मानिसहरूले पाए सरहको संरक्षण, सहयोग समर्थन र उदारता देखाउन अन्तर्राष्ट्रिय समुदायलाई जोडदार अपिल गर्दछु। ‘संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र संयुक्त राष्ट्र संघको मानवीय मामिलाको समन्वय कार्यालयले दुईवटा द्रुत अपिल सुरु गरेको छ। जसअनुसार टर्कीलाई १ अर्ब डलरभन्दा बढी सहायता रकमको आवश्यक छ। त्यस्तै सिरियाको अवस्थालाई सम्बोधन गर्न लगभग ४०० मिलियन डलर आवश्यक छ भनिएको छ। विश्व बैंकले १.७८ विलियन डलर, अमेरिकाले १८५ मिलियन डलर, संयुक्त अरब इमिरेट्सले १०० मिलियन, कुवेतले ६८ मिलियन र संयुक्त राष्ट्र संघले ५० मिलियन डलरको सहायता प्रदान गरेका छन्।

भूकम्पको कारण

भूकम्प टेक्टोनिक प्लेटको हलचल (गति)का कारण हुने गर्छ। पृथ्वीमा तीन तह छन्, जसलाई क्रस्ट, मेन्टल र कोर भनिन्छ। सबैभन्दा माथिल्लो तह क्रस्ट हो, जुन कडा चट्टान र खनिजहरूले बनेको हुन्छ। यो बाहिरी सतह हो। पृथ्वीको ४० किमि पातलो तहमा रहेको क्रस्ट पृथ्वीको भित्री तहमा रहेको तातो लाभाको आकर्षणमा तानिन्छ। पृथ्वीमा रहेका प्लेटहरू विभिन्न साइजका हुन्छन्। अमेरिकाको उत्तर–पश्चिम तटमा रहेको जु आन डी फुका प्लेट अमेरिकाको ओरेगन राज्य जत्रै ठुलो छ।

त्यस्तै प्रशान्त प्लेट विश्वको पाँच भागको एक भाग जत्रै ठुलो छ। यी भीमकाय प्लेटहरू बिस्तारै आफ्नो गतिमा हिँड्ने गरे पनि कहिलेकाहीं भूगर्भीय कारणले एकआपसमा टक्राउँछन्। यसरी दुई भिन्न प्लेटहरू एक आपसमा ठोक्किनाले ठुलो प्रेसर कायम हुन्छ। यो ठुलो चाप विस्फोटक रूपमा बाहिर निस्कने क्रममा पृथ्वीलाई कम्पायमान बनाउँछ। यही प्रक्रियास्वरूप टर्की र सिरियामा भूकम्प गएको हो। टर्की र सिरिया भूकम्प प्रभावित क्षेत्र भएकाले विगतमा पनि यस्ता भुइँचालाहरू गइरहेका थिए।

भवन निर्माण संहिता र कारबाही

टर्कीका सरकारी अधिकारीहरूले भूकम्पमा ढलेका ठुला बिल्डिङका डिजाइन गर्ने आर्किटेक्ट, निर्माणमा संलग्न इन्जिनियर र बनाउने ठेकेदारसहितका १०० भन्दा बढी टोलीलाई वारेन्ट जारी गर्दै एक दर्जनलाई गिरफ्तार गरिएको छ। गत फेब्रुअरी ६ मा गएको ७.८ र ७.६ रेक्टर स्केलको भूकम्पमा प्रभावित सबै भौतिक संरचनाका बारेमा व्यापक छानबिन भइरहेको छ।

निर्माण गरेपछि जिम्मेवारीबाट पन्छिने र त्यसको सबलता र पूर्ण जीवनको ग्यारेन्टी अन्तर्राष्ट्रिय कानुनअनुसार नगरिने नेपालजस्ता देशका निर्माण सम्बन्ध सरोकारवालाहरूलाई एउटा पाठ हो यो कारबाही। विज्ञहरूले धेरै अघिदेखि टर्कीमा नयाँ बनाएका भवनहरूमा भवनसंहिता पालना नभएको हुँदा ती भवनहरू असुरक्षित रहेको बताउँदै आएका थिए। सरकारी नीति र व्याप्त भ्रष्टाचारका कारण त्यहाँका भवन असुरक्षित मानिए पनि खासै चासो नदिएको बताइन्छ।

कमजोर सरकारी नीतिका कारण ठेकेदारहरूले भवन निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय नियमहरू उल्लंघन गर्दै भूकम्पीय जोखिमयुक्त स्थानहरूमा छिटो छिटो भवनहरू बनाइएको थियो। विपक्षी दलका नेताले धेरै समयदेखि एर्दोवान सरकारले भवन निर्माणसम्बन्धी संहितालाई पूर्ण रूपमा पालना नगरेकाले ठुला अपार्टमेन्टहरू भूकम्प प्रतिरोधात्मक प्रविधिको प्रयोग नगरिएकाले ठुलो विनास भएको बताएका छन्। टर्कीमा सन् १९९९ अगस्ट १७ मा इज्मिटमा गएको ठुलो भूकम्पपछि बनाइएका नीतिनियम र भवन-संहितालाई वास्ता नगर्नाले यो अर्को डरलाग्दो त्रासदी भोग्नुपरेको भनेर रोष व्यक्त गरे। इज्मिटमा भएको उक्त भूकम्पमा टर्कीमा करिब १८ हजारले ज्यान गुमाएका थिए।

यो तथ्यांकले संसारका सबैभन्दा डरलाग्दा भूकम्पको सूचीमा चीन सबैभन्दा अगाडि देखिन्छ। चीनको पनि एउटै प्रान्त सबैभन्दा प्रभावित क्षेत्रका रूपमा दिहोरिरहेको तथ्य तालिकाबाट प्रस्टै देख्न सकिन्छ। यसका आफ्नै वैज्ञानिक कारणहरू, भौगर्भिक तथ्य होलान्, तथापि यस प्रकारका महाभूकम्पले जनजीवनमा पार्ने गहिरो त्रासदीले मान्छेहरूलाई लामो समयसम्म पिरोलिरहेको हुन्छ। यसबाट हुने विशाल धनजनको क्षति र त्यसलाई न्यूनीकरण गर्नका लागि अपनाइनुपर्ने इन्जिनियरिङ डिजाइन, निर्माण कार्यमा प्रयोग गर्नुपर्ने भूकम्प प्रतिरोधात्मक प्रविधिको शत प्रतिशत प्रयोग कडिकडाउका साथ लागु गर्नुपर्ने देखिन्छ।

छिमेकी राष्ट्रहरू भारत, चीन र पाकिस्तानमा समेत यसप्रकारका डरलाग्दा भूकम्पीय दुर्घटनाहरू बारम्बार घटिरहेका सन्दर्भमा हाम्रो देश नेपालसमेत हिमालयन क्षेत्र हुँदै पर्ने टेक्टोनिक जोनमा पर्ने हुँदा समयमै यसप्रकारको दैवी विपत्तिबाट बच्न सरकारले यथोचित कदम चाल्नुपर्ने देखिन्छ। भूकम्प प्रतिरोधात्मक निर्माण कार्यलाई सबै क्षेत्रमा अनिवार्य लागु गर्नुपर्छ। डिज्यास्टर म्यानेजमेन्ट र रेस्क्युसम्बन्धी विज्ञहरूलाई बेलैमा तम्तयार पारेर राख्दै सबैलाई यस प्रकारका प्रकोपको पूर्व जानकारी, पूर्व सचेतता दिन सके अकाल र असमयमै धेरैले जीवन बरबाद पार्नुपर्ने थिएन।

नेपालमा सन् २०१५ को भूकम्प

भूकम्पले पार्न सक्ने विनाशकारी प्रभावको अर्को उदाहरण हो–नेपालको सन् २०१५ अप्रिल २५ मा गएको ७.८ रेक्टर स्केलको भूकम्प। यसले व्यापक क्षति पुर्‍याएको थियो, जसमा परेर ९ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो। भूकम्पले धेरै ऐतिहासिक र सांस्कृतिक भवनसहित अन्य धेरै भवनको व्यापक विनाश पनि गर्‍यो र लाखौं मानिसलाई घरबारविहीन बनायो। नेपालको भूकम्प यस क्षेत्रका धेरै देशका लागि वेक अप कल थियो–भूकम्पको प्रभावलाई कम गर्न पूर्वतयारी र न्यूनीकरण प्रयासहरूको महत्वलाई प्रकाश पार्दै। नेपालको विनाशकारी प्रकोपपछि यस क्षेत्रका धेरै देशले आफ्नो तयारी र क्षमता सुधार गर्न कदम चालेका भए पनि ती प्रयास अझै अपूरा र अधुरा रहेको सत्य टर्कीको महाविनासले देखाएको छ

भूकम्प रोकथाम

दुर्भाग्यवश, भूकम्प आउनबाट रोक्न सम्भव छैन तर भूकम्पको प्रभावलाई कम गर्न र जनधनको क्षति हुन नदिनका लागि कदम चाल्न सकिन्छ। यी तल समावेश छन्:

भवन–संहिता र मापदण्ड: भवनहरू उपयुक्त कोड र मापदण्ड पूरा गर्ने गरी निर्माण गरिएको छ भनी सुनिश्चित गर्नाले भूकम्पको प्रभावलाई कम गर्न मद्दत गर्न सक्छ। यसमा भवनहरू ठोस जगमा बनेका छन्, पर्खाल र छाना सुदृढ भएका छन् र भूकम्प सामना गर्न सक्ने गरी डिजाइन गरिएको छ भन्ने कुरा सुनिश्चित हुनुपर्छ।

भूकम्पको पूर्वचेतावनी प्रणाली: भूकम्पको पूर्वचेतावनी प्रणाली लागु गर्नाले मानिसलाई कम्पन सुरु हुनुभन्दा पहिले जानकारी दिने, जस्तैः तुरुन्त सुरक्षित ठाउँमा लुक्ने वा भवनबाट सुरक्षित ठाउँतिर भाग्ने।

आपत्कालीन प्रतिक्रिया योजना: राम्रोसँग अभ्यास गरिएको आपत्कालीन प्रतिक्रिया योजनाले भूकम्पको घटनामा सही कदम चाँडै लिई सुनिश्चित गर्न मद्दत गर्न सक्छ। यसमा आपत्कालीन प्रतिक्रिया टोली प्रशिक्षित र प्रतिक्रिया दिन सुसज्जित छन् र जनतालाई जानकारी प्रदान गर्न सञ्चार प्रणालीहरू छन् भन्ने कुरा सुनिश्चित गर्नुपर्छ।

सार्वजनिक शिक्षा र चेतना: भूकम्पका खतराहरू र कसरी प्रतिक्रिया दिने भन्नेबारे जनचेतना जगाउन भूकम्पको प्रभावलाई कम गर्न मद्दत गर्न सक्छ। यसले भूकम्पको समयमा के गर्ने र त्यसका लागि कसरी तयारी गर्ने भन्नेबारे जनतालाई शिक्षित गर्न सहयोग गर्छ।

भूकम्पसम्बद्ध अनुकरणीय नीतिका उदाहरण

जापान संसारको सबैभन्दा धेरै भूकम्प गइरहने देशमध्ये एक हो। यहाँ भूकम्प सामना गर्नका लागि राम्रोसँग विकसित प्रणाली छ। यसमा एक व्यापक भूकम्प प्रारम्भिक चेतावनी प्रणाली, भवन कोड र मापदण्ड एवम् राम्रोसँग अभ्यास गरिएको आपत्कालीन प्रतिक्रिया योजनाहरू समावेश छन्। जापानसँग विश्वको सबैभन्दा उन्नत भूकम्प पूर्वचेतावनी प्रणाली छ। साथै सुनामी चेतावनी सेवा पनि छ, जसमा ३०० सेन्सर र ८० जलीय सेन्सर छन्।

यसले भूकम्पीय गतिविधिलाई निगरानी गर्छ। जापानको पूर्वी तटमा सयौं भूकम्प र सुनामी प्रतिरोधी आश्रयस्थल छन्। केही सहरमा सुनामी पर्खाल र फ्लडगेटहरू पनि बनाइएका छन्। जापानले निरन्तर आफ्नो सुरक्षा कोड र निर्माण दिशानिर्देशहरू परिमार्जन र स्तरवृद्धि गर्दै छ, जुन विपद् तयारीको उत्कृष्ट विश्व उदाहरण हो। न्युजिल्यान्ड त्यस्तै अर्को राम्रो नीति भएको देश हो, जसबाट विश्वले धेरै कुरा सिक्न सक्छ।

अन्तमा, टर्की र सिरियामा हालैको भूकम्पले पार्न सक्ने विनाशकारी प्रभाव र यी प्रकोपको प्रभावलाई कम गर्नका लागि गरिएका तयारी र प्रतिक्रियाका प्रयासहरूले विश्वलाई भोलि घट्ने यस्ता वैश्विक प्रकोपसँग लड्न यो सम्झनाका रूपमा रही रहने छ। उद्धार टोलीका प्रयासहरू एवम् बाँचेका र तिनीहरूका परिवारको पुनस्र्थापनामा खेलिने लचिलोपन र प्रेरणादायी प्रयास सबैका लागि प्रेरणादायक हुने छन्। जस्तो सुकै प्रतिकूलताको सामना गर्न मानव समुदाय आत्मादेखि नै विश्व–बन्धुत्वको मूलमन्त्रसँगै सेवामा लाग्ने छ।

भवन निर्माण–संहिताको साँचो पालना नेपालले बेलैमा सिक्नुपर्ने ठुलो पाठ हो। टर्की र सिरियाको घटनाबाट नेपालका ठेकेदारहरू, त्यसका डिजाइन र निर्माणमा संलग्न सबैलाई जिम्मेवार निकायले कारबाही नगरेसम्म यस्ता घटना घटिरहन्छन्। सेस्मिक जोनका नजिक रहेका टर्की, सिरियामा ठुला हाइड्रोपावरका ड्यामले असर पर्न सक्ने चेतावनी विज्ञहरूले दिएका थिए।

त्यस्तै भयो सिरियामा भूकम्पपछि ड्याम विध्वंस भए र मान्छेहरू बाढीको सिकार भए। कतिपय जलविद्युत् आयोजनाको सुरुवात प्रायः पानी हडप्ने बाँध निर्माण गर्ने उद्देश्यले जानीजानी स्थगित गरिन्छ। पहाडी क्षेत्रमा ४ सयभन्दा बढी जलविद्युत् योजना बनाइएको छ। तिब्बत–नेपालका हिमाली क्षेत्रमा ती कुनै पनि बेला बारुद बनेर पड्किन सक्छन्।

नेपालले यस्ता घटनाबाट बेलैमा पाठ सिकोस्। ठेकदारलाई नीतिनियम बनाउने ठाउँमा होइन, बिल्डिङ कोडअनुसारको बलियो निर्माणमा लगाउनु अहिलेको खाँचो हो। नेताहरू ठेकदारको घरमा होइन, जनताको मनमा बसून् ताकि आइरहने प्राकृतिक दुर्घटनामा धेरैको ज्यान जोगाउन सकियोस्। एउटा भूकम्पसम्बन्धी विज्ञ नेपालीलाई अधिकारसम्पन्न विपद् व्यवस्थापन निकायमा स्थायी रूपमा नियुक्त गरियोस्। अस्थिर राजनीतिको सुनामी र भुइँचालोले आक्रान्त हाम्रो देशमा भुइँचालो र प्राकृतिक विपत्का बारेमा सोच्ने फुर्सद कसलाई होला र?

प्रकाशित: ४ चैत्र २०७९ ०१:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App