१६ चैत्र २०८० शुक्रबार
विचार

मुखर्जीको भ्रमण र पशुपति दर्शन

डा गाेविन्द टण्डन

भगवान् शिवका सहस्रौँ नाम महादेव, शिव, भोलेबाबा, शङ्कर आदिमध्ये ‘पशुपति’ पनि एक हो । पशुका पति भएका हुनाले उहाँ पशुपति नामले पनि कहिनु हुन्छ । पशुपतिलाई अझ आदरभाव गर्दा ‘नाथत्व’ पनि विस्तारै जोडिन पुग्यो र ‘पशुपतिनाथ’ आदरवाचक शब्द बन्न पुग्यो । कति मानिसलाई भ्रम छ कि उनी पशु अर्थात् पशुपक्षीका मात्र स्वामी अर्थात् पति हुन्, मानिसका होइनन् । यसो होइन । जबसम्म मानिस अज्ञान, अन्धकार, मोह र भ्रमको बन्धनमा फसिरहन्छ त्यतिञ्जेलसम्म मानिस पनि पशु हो । आहार, निन्द्रा, भय एवं सन्तानोपत्ति मानिस र पशु सबैमा समान छन् । मानिसमा अरूभन्दा फरक बुध्दि र विवेकरूपी धर्म छ । त्यो धर्मको सही अर्थमा पालना गर्ने चेतनाको विकास भएको छ कि छैन वा पालना गरिरहेका छौँ कि छैनौँ त्यसमा भर पर्छ मानिसको पशुता । भगवान् पशुपतिनाथको आराधना वा भक्तिले मानिसमा भएको पशुभाव हट्छ, हट्नुपर्छ । यदि हटेको छैन भने कहीँ गल्ती छ भन्ने बुझ्नुपर्छ । पशुभाव हट्नु भनेको मानवताको विकास हृदयमा भलिभाँति हुनु हो । सबै प्राणीप्रति समभाव उदय हुनु हो, अनुशासन, इमानदारी, सत्यनिष्ठा जागरण हुनु हो र जीवन सद्आदर्शमा रूपान्तरित हुनु हो ।

भारतीय पक्षबाट एक महिनाअघिदेखि पशुपति क्षेत्र विकास कोषसँग बराबर सम्पर्क गरिरहनुले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको पशुपतिनाथ मन्दिरमा हुने दर्शनपूजनलाई अविष्मरणीय बनाउने सोच पुष्टि हुन्छ ।

यसरी हेर्दा पशुपतिको अर्थ हुन्छ– सम्पूर्ण प्राणीका स्वामी अर्थात् मोह, माया, अज्ञानताको बन्धनमा परेका सम्पूर्ण जीवलाई मुक्त गर्ने ईश्वरतत्व । हिन्दु धर्मावलम्बीहरू भगवान् श्रीपशुपतिनाथलाई अत्यधिक श्रध्दा, विश्वास र सम्मान गर्छन् । भगवान् शिवको पशुपति स्वरूपलाई लिङ्ग रूपमा पूजा÷आराधना गर्ने प्रचलन छ।लिङ्ग ब्रह्माण्ड र त्यसमा भएको जलहरि पृथ्वीको बोधक मानिन्छ । साथै तेत्तीसकोटि देवीदेवताको संयुक्त रूप पनि लिङ्गलाई मानिन्छ । ब्रह्मा, विष्णु, महेश्वर र शक्तितत्वको अनुपम स्वरूप पनि शिवलिङ्गलाई मानिन्छ । शिवबाहेक कसैलाई पनि लिङ्गरूपमा पूजाआजा गर्ने चलन हिन्दु धर्ममा छैन । शिवलिङ्गको पूजा आराधनामा सम्पूर्ण देवीदेवताको पूजाअर्चना भएको मानिन्छ । तेत्तीसकोटि देवीदेवताको एकनिष्ठ स्वरूप नै शिवलिङ्ग हो ।

नेपालमा पशुपतिनाथको प्रसिध्द मन्दिर हुनु नेपाल र नेपालीकै लागि गौरवको विषय हो । त्यतिमात्रै होइन, यो विश्वकै लागि एक अतुलनीय जीवन्त सम्पदा स्थल पनि हो । संयुक्त राष्ट्र संघअन्तर्गतको युनेस्कोको विश्वसम्पदा सूचीमा सन् १९७९ मा पशुपति क्षेत्र सूचीकृत भएपछि त अझ यस क्षेत्रको महत्व विश्वव्यापी बन्न पुगेको छ । नेपालको यो राष्ट्रिय गौरवको योजना स्थल पनि हो । भगवान् श्रीपशुपतिनाथप्रति श्रध्दा, भक्ति र आस्था देखाउन छिमेकी मुलुक भारतबाट अहिले मात्रै होइन, शताब्दियौँअघिदेखि नै दर्शनार्थ आउने चलन थियो र छ । दुई वर्षअगाडि नवनिर्वाचित भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीको पशुपतिनाथ मन्दिरमा भएको दर्शन भ्रमणपश्चात् धेरै विशिष्ट व्यक्तित्वको पशुपतिनाथ मन्दिरमा दर्शनपूजन भइसकेको सन्दर्भमा अहिले हुन लागेको भारतका महामहिम राष्ट्रपति प्रणव मुखर्जीको राजकीय सुभावना भ्रमणको आफ्नै विशिष्टता छ । विदेश मन्त्री छँदा झण्डै सात वर्षअघि उहाँले पशुपतिनाथ मन्दिरमा दर्शन गर्नुभएपछिको यो अर्को महत्वपूर्ण भ्रमण हो ।

भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीको पशुपतिनाथ मन्दिरको भ्रमण पहिले हुने गरेका भ्रमणभन्दा नितान्त फरक हुन पुग्यो । पहिले उच्च व्यक्तित्वहरूको भ्रमण केवल दर्शनपूजनका लागिमात्र हुन्थ्यो भने नरेन्द्र मोदीको भ्रमणसँगै त्यस क्षेत्रको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनमा सहयोगका हात बढाउने नवीन कार्यको सुरुवात भयो । यसले एकातिर भारतको आर्थिक समुन्नति र तरक्कीलाई इङ्गित गर्छ भने अर्कोतर्फ छिमेकी मुलुकको सहानुभूति आर्जन गर्ने माध्यम पनि बन्न पुगेको छ । त्यसबेला भगवान् पशुपतिनाथको मन्दिरका लागि २५०० किलोग्राम श्रीखण्ड ल्याई अर्पण गर्नु तथा पशुपति क्षेत्रको विकास एवं प्रबद्र्धनमा झण्डै ४० करोडको योजना पशुपति क्षेत्रका लागि प्रदान गर्नु आफैँमा उल्लेख्य कार्य हो । त्यसअघि झण्डै ४–५ वर्षअघिदेखि पाँच सय किलोग्राम श्रीखण्ड कि खरिद गर्ने कि उपहार प्राप्त होस् भनी पहल गरेको सन्दर्भमा जवाफ सकारात्मक नभइरहेको स्थितिमा स्वयं प्रधान मन्त्रीले आफू पुग्नुअघि नै पच्चीस सय किलो श्रीखण्ड उपहारस्वरूप पठाइदिनु पशुपति क्षेत्र विकास कोषले कहिल्यै नसोचेको कुरा थियो । साथै झण्डै १२ वर्षदेखि अलमलिएको नेपाल–भारत पशुपति मैत्री धर्मशालालाई छिटोभन्दा छिटो निर्माणका लागि पहल भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले गरिदिएकै कारण अहिले पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा क्षेत्रमा उपलब्ध गराएको झण्डै १४ रोपनी जग्गामा बाइस करोडको लागतमा ४०० जना बस्न हुने सुविधा सम्पन्न धर्मशाला १८ महिनाभित्र कोषलाई हस्तान्तरण हुने गरी निर्माण कार्य भइरहेको छ । त्यसैगरी झण्डै पाँच करोडको लागतमा पशुपतिनाथ मन्दिरको दक्षिणतर्फ रहेको भकुन्टोलमा महाशिवरात्रि जस्तो ठूलाठूला पर्व÷उत्सवमा आउने लाखौँ दर्शनार्थी, तीर्थयात्रीका लागिसमेत हुने गरी दुई तले वातानुकूलित सुलभ शौचालय निर्माण हुने अवस्थाको नजिक पुगेको छ ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको पशुपतिनाथ मन्दिरमा हुने दर्शनपूजनलाई अविष्मरणीय कसरी बनाउन सकिन्छ त्यसमा भारतीय पक्ष अनवरत लागिरहेको अनुभव झण्डै एक महिनाअघिदेखि पशुपतिनाथको मन्दिर एवं पशुपति क्षेत्रका लागि गर्नुपर्ने खास केही छन् कि भनी कोषसँग बराबर सम्पर्क गरी जिज्ञासा राख्ने गरेकोबाट थाहा पाउन सकिन्छ । त्यसरी जिज्ञासा देखाउँदा कोषको तर्फबाट यी चार वटा परियोजना अहिले जरुरी देखिएको विषयमा जानकारी गराएको थियो– (१)भूकम्पले क्षति पु¥याएका (पशुपति परिसरबाहेक) पशुपति क्षेत्रका सम्पदाको पुनर्निर्माण एवं सम्बद्र्धन, (२) पशुपतिनाथ मन्दिरको पूर्वपट्टि रहेको मृगस्थली जङ्गलस्थित विश्वारूपा मन्दिरको पुनर्निर्माण, (३) आर्यघाट एवं घाट क्षेत्रको संरक्षण÷सम्बद्र्धन र (४) पशुपति क्षेत्र विकास कोषअन्तर्गतको गोठाटारमा रहेको जग्गामा परिपूरक गुरुयोजनाका लागि सहयोग । धेरै सम्भव छ राष्ट्रपति प्रणव मुखर्जीबाट भगवान् पशुपतिनाथको दर्शनपूजनपश्चात् पशुपति क्षेत्रका तिनीहरूमध्ये कुनै उपयुक्त परियोजना संरक्षण÷सम्बद्र्धनका लागि केही वचनबध्दता प्राप्त हुने ।
पशुपति क्षेत्र कला, वास्तुकलाका दृष्टिकोणले हेर्ने हो भने खुला संग्रहालय नै हो । पहिलो÷दोस्रो शताब्दीदेखि लिएर आधुनिक कालमा निर्मित मूर्ति, मन्दिरहरू त्यहाँ यत्रतत्र छन् । महत्वपूर्ण कुरा के छ भने पशुपति क्षेत्रमा भएका मठमन्दिर, बिहार, स्तूपाहरूमा बिहानदेखि बेलुकासम्म हुने कुनै न कुनै किसिमका धार्मिक÷आध्यात्मिक कृत्यहरूले यस क्षेत्रको जीवन्ततालाई अरू पुष्ट पारेको अनुभूति हुन्छ । यस्तो क्रियाकलाप विश्वका अन्य सम्पदास्थलहरूमा विरलै देख्न पाइन्छ । विश्वमा अनेक सभ्यताका अनुचिह्न स्वरूपका अनुपम निधिहरू नभएका होइनन् तर पशुपति क्षेत्र जस्तो जीवन्त सम्पदा पाउन अत्यन्त गाह्रो छ । जीवन्त सम्पदास्थलमा मानव जीवनसँग सम्बन्धित अनेकौँ पक्षहरूको अवलोकन सजिलै गर्न पाइने भएकाले यस्ता स्थलमा जीवन, जगत् र ईश्वरको रहस्य बुझ्न गाह्रो पर्दैन ।

पर्यटनको विविध स्वरूप र किसिमहरू भएको सन्दर्भमा धार्मिक एवं आध्यात्मिक पर्यटनको अति नै ठूलो महत्व दिनानुदिन बढ्दै गइरहेको छ । नेपालजस्तो देश जहाँ कुनै बेला ‘जति मानिस छन् त्यति मूर्ति छन्, जति घर छन् त्यति मठमन्दिर छन्’ भनी विदेशी कलापारखीहरूले समेत मुक्तकण्ठले प्रशंसा गर्थे, त्यस्तो ठाउँमा धार्मिक÷आध्यात्मिक पर्यटनका लागि खास उल्लेख्य कार्यहरू हुन नसक्नु कम दुःखलाग्दो छैन । छिमेकी भारतकै कुरा गर्ने हो भने पनि त्यत्राविधि पुरातात्विक, ऐतिहासिक स्थलहरू भइकन आन्ध्र प्रदेशको तिरुपति बालाजी, महाराष्ट्रको शिरडी साइबाबास्थल, जम्मु÷कश्मीरको वैष्णोदेवी आदि धार्मिक स्थल सबैभन्दा बढी पर्यटक आउने क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा पर्छन् जहाँ वार्षिकरूपमा लाखौँ पर्यटक घुम्न र दर्शन गर्न जाने गर्छन् । त्यसपछि मात्रै अन्य पर्यटकीय स्थलको पालो आउँछ भारतमा । त्यसैगरी तिब्बतको पोताला दरबारमा वर्षको दशौँ लाख पर्यटक पुग्छन् । यसो हुनाको कारण त्यहाँ घुम्न जाने पर्यटक, दर्शनार्थीका लागि जुन किसिमका सरसुविधा छन् त्यसको कारणले पनि हरेक वर्ष पर्यटकको संख्या बढ्दो छ । नेपालमा रहेका भगवान् श्रीपशुपतिनाथको प्रसिध्दि भारतमा यस्तो छ कि भारतमा भएका चारधाम होस् कि तीन धाम, त्यहाँको तीर्थयात्रा गरिसकेपछि नेपालस्थित श्रीपशुपतिनाथको दर्शन नगरे तीर्थयात्रा पूर्ण हुँदैन भन्ने परम्परा छ । यसैगरी भारतको प्रसिध्द शिवमन्दिर केदारेश्वरको शिरोभागका रूपमा भगवान् श्रीपशुपतिनाथ रहेको कुरा शिवपुराणमा स्पष्टसँग उल्लेख भएकाले प्राचीनकालदेखि नै भगवान् श्रीपशुपतिनाथको मन्दिरलाई दिइएको महत्व बुझ्न सकिन्छ। त्यहाँ लेखिएको छ ः

नयपालाख्यपुर्य्यां तु प्रसिध्दयां महीतले ।
लिङ्गं पशुपतीशाख्यं सर्वकामफलप्रदम् ।।
शिरोभागस्वरूपेण शिवलिङ्ग तदस्ति हि ।
तत्कथां कथयिष्यामि केदारेश्वरवर्णमे ।।
(शिवपुराण, कोटिरुद्र संहिता १२।१८(१९)

अर्थात् पृथ्वीतलमा नेपाल नामको प्रसिध्द ठाउँ छ जहाँ सबै कामना पूरा गर्ने पशुपतिनामको लिङ्ग छ । यो शिरोभागका रूपमा रहेको छ । यससम्बन्धी वर्णन केदारेश्वरको प्रसङ्गमा भनौँला भनी केदारनाथको शिरोभागको रूपमा शिवपुराणमै उहिल्यै उल्लेख गरिएको छ । हिजोआज यस विषयमा गलतफहमी फैलाउन डोलेश्वरलाई शिरोभाग भनी कसैले भनिदियो, यसैले डोलेश्वर नै केदारनाथको शिरोभाग भन्न कसैकसैले प्रयत्न गरेको पाइन्छ । डोलेश्वरको उन्नति, प्रगति होस्, सबैले जोसकेको सहयोग गर्नुपर्छ तर पशुपतिनाथको इतिहास मेटिने गरी गलत कुरालाई प्रोत्साहन दिनु कुनै हालतमा उपयुक्त हुँदैन ।

संसारमा रहेका सम्पूर्ण हिन्दुहरूको सपना एक पटक नेपालमा आई भगवान् श्रीपशुपतिनाथको दर्शन गर्ने रहेको हुन्छ भन्ने कुरा प्रत्येक दिन हजारौँको संख्यामा आउने तीर्थयात्री, पर्यटकहरूबाट अवगत हुन्छ । यस्तो सुमधुर परम्परा बुझी नेपालमा आउने तीर्थयात्रीलाई आवश्यक पर्ने सरसुविधा विकास गरी उनीहरूका लागि आकर्षक गन्तव्य बनाउन सकेको खण्डमा धार्मिक एवं आध्यात्मिक पर्यटन नेपालका लागि फलदायी हुन सक्छ भन्ने कुरामा कुनै शङ्कै रहँदैन । यसका लागि विविध प्रभावकारी उपाय र सरसुविधाको विकास एकदमै आवश्यक देखिन्छ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र हिन्दु धर्मावलम्बीहरूका लागि मात्रै नभई विश्वकै एक संरक्षणीय, सम्बद्र्धनीय एवं अतुलनीय निधि हो भन्ने विषयमा कुनै विमति नै छैन । यसको संरक्षण, सम्बद्र्धन एवं विकासका लागि सबैको जिम्मेवार भूमिका रहनुपर्छ र भावी सन्ततिले यसबाट सिक्न सक्ने, लिन सक्ने पाठहरू मानवमात्रकै लागि उपयोगी हुन सक्छन् भन्ने कुरामा कुनै शङ्कै छैन ।
सदस्यसचिव, पशुपति क्षेत्र विकास कोष

प्रकाशित: १८ कार्तिक २०७३ ०५:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App