१४ फाल्गुन २०८० सोमबार
विचार

सहिदको सम्मान

नेपालको प्रजातान्त्रिक इतिहासमा चार अमर सहिद र राजा त्रिभुवनको ठूलो देन छ। १९९७ माघ महिनामा चार महापुरुष शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठहरू राणाको जहाँनिया शासनविरुद्ध सहिद बनेपछि प्रजातन्त्र स्थापनाको बाटो खुलेको थियो। १९९७ माघ ९ गते राति शुक्रराज शास्त्रीलाई टेकुको एक रुखमा झुण्ड्याइएको थियो। त्यस्तै माघ ११ गते धर्मभक्तलाई सिफलको रुखमा झुण्ड्याइयो। दशरथ चन्द र गंगालाललाई शोभा भगवतीपूर्व विष्णुमती किनारमा माघ १५ गते गोली ठोकेर मारिएको थियो। सहिदहरूको लाशलाई सर्वसाधारणलाई त्रसित गराउन प्रदर्शनसमेत गरियोे।  

जहाँनिया राणा शासनको अत्याचारको पराकाष्ठा नाघिसकेको थियो। त्यस अवस्थामा प्रजातन्त्र स्थापनाका लागि कुनै न कुनै प्रकारको समर्पण देखाउनुपर्ने अवस्था आइसकेको थियो। राणा शासनविरुद्ध प्रचण्ड गोर्खा नामक संस्था खोलेको अभियोगमा खड्गमान सिंहलाई भद्रगोल जेलभित्र पिँजरामा राखिएको थियो। १९९३ जेठ २० मा ओमबहालमा राणा शासनविरुद्ध प्रजापरिषद्को जन्म भएको थियो। १९९७ जेठ २० मा प्रजापरिषद्को जन्म हुँदा रामहरि शर्मा त्यसको महामन्त्री बनेका थिए। त्यसरी राणा शासनविरुद्ध लागेकाहरूको खोजी कार्य तीव्र बनाउन थालेपछि कैयौँ विद्रोहीहरू खोजी खोजी पक्राउ गरिन थालिएको थियो। सबै कैदीलाई सजाय सुनाउनु भन्दा तीन महिना पहिलादेखि सिंहदरबारमा ल्याएर राखिएको थियो।  

२०९७ सालमा कसलाई मृत्यूदण्ड दिने र जन्म कैद गर्ने सबै विवरणसहितको फैसला पद्मशमशेरले सुनाएका थिए। तीन महिना सिंहदरबारभित्र कैदमा राख्दा हरेक दिन बयानमा कोर्रा लगाइन्थ्यो। एक दिन कोर्रा हानेको बेलामा गणेशमान सिंहलाई असह्य भएर जोडदारसित कराएका थिए– ‘मृत्युसँग किन डराउने, हान जति हान्छस् कोर्रा।’ शुक्रराज शास्त्रीसँग जुद्धशमशेर धेरै आक्रोशित भएर उनलाई देखाउँदै भन्थे– ‘नाइके यही हो।’ स्नातक गरेका शुक्रराज शास्त्रीले ‘नागरिक अधिकार समिति’ मा संलग्न रहेर राणा शासन विरोधी आन्दोलनमा संलग्न रहेकाले राणाहरू उनीसँग आक्रोशित थिए।  

दशरथ चन्दलाई कोर्रा हान्दा जोडदार कराएका थिए– ‘मलाई मारे पनि म भूत भएर राणालाई खान्छु–खान्छु।’ राजा त्रिभुवनसँग जुद्धशमशेर आगो थिए। राजा त्रिभुवनको राणा विरोधी प्रजापरिषद्को आन्दोलनमा हात छ भन्ने ठानेर राजा त्रिभुवन, युवराज महेन्द्र, अधिराजकुमारहरू हिमालय तथा वसुन्धरासमेतलाई राणाको कथित सैनिक इजलासमा ल्याएर पटक–पटक केरकार गरिएको थियो। सजाय सुनाइसकेपछि मृत्युदण्ड पाउनेहरूलाई अर्कैतिर र अरूहरूलाई भद्रगोल जेलमा लगेर थुनेको थियो। गणेशमान सिंहसमेत सर्वश्वहरणसहित जेल परेकामा उनी जेलबाटै भागेर प्रजातन्त्र स्थापनाका लागि अरू सक्रिय बनेका थिए। यी सबै सहिद तथा जिउँदा सहिदहरूले वैधानिक राजतन्त्र तथा प्रजातन्त्रका लागि पूर्णतः आफूहरूलाई समाहित गरेका थिए।  

टंकप्रसाद आचार्य र रामहरि शर्मा ब्राह्मण भएकाले चारपाटा मुडेर सर्वश्वसहित जन्म कैद गरिएको थियो। उहाँहरूसँगै राणा शासन विरोधी अभियोगमा परेका गोविन्दप्रसाद उपाध्याय, चुडाप्रसाद शर्मा, हरिकृष्ण श्रेष्ठ, सिद्धिचरण श्रेष्ठ, धर्मरत्न यमी, फत्तेबहादुर, चिनियालाल, पं. मुरलीधरहरू जन्म कैद भए। २००३ मा विराटनगरमा मजदूर हडतालले महत्वपूर्ण स्थान प्राप्त ग¥यो। २००४ को अन्त्यमा नेपाल राष्ट्रिय कांग्रेस अवैध घोषित गरियो। यस्ता अनेकौँ संघर्ष र जनअभियानलाई सहिदहरूबाट पे्ररित गराएकाले प्रजातान्त्रिक क्रान्तिले मूर्त रूप लियो। राजा त्रिभुवनबाट जहानिया राणा शासनविरुद्ध २००७ सालमा श्रीपेचलाई दाउमा पारेर देशभित्र प्रजातन्त्र ल्याउन जनतासँग मिलेर नारायणहिटी नछाडेका भए अमर सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठको सपना राणाहरूले साकार बन्न दिने थिएनन्। राणाहरूले दबाउँथे। राजा त्रिभुवन र प्रजातन्त्रवादी नेपालीहरूले आफू र नेपाली जनतालाई बन्धनबाट मुक्त गराउँदै राणाहरूलाई चुनौती दिएर प्रजातन्त्र स्थापित गराइछाडे।  

चारजना प्रजातन्त्रका हिमायतीलाई झुण्डाएर र गोली ठोकेर मारेपछि राजा त्रिभुवनबाट राणा शासनविरुद्ध सशक्त भएर लाग्नु भनेको प्रजातन्त्रका लागि त्यो बेलाको बलियो नेतृत्व थियो। राजा त्रिभुवन सहिदहरूका प्रणेता भएकाले उनको सक्रियताबाट नै त्यत्ति छिटै प्रजातन्त्र प्राप्त गर्न सकिएको हो। सर्वश्वहरण तथा जन्म कैद भएका योद्धाहरू पछि २००७ सालको क्रान्तिपछि जेलमुक्त भएका थिए। उहाँहरूसँगै राणा शासन विरोधी अभियोगमा परेका गोविन्दप्रसाद उपाध्याय, चुडाप्रसाद शर्मा, हरिकृष्ण श्रेष्ठ, सिद्धिचरण श्रेष्ठ, धर्मरत्न यमी, फत्तेबहादुर, चिनियालाल सिंह, पं. मुरलीधरहरू जन्म कैदबाट २००७ सालको क्रान्तिपछि जेलमुक्त भएका थिए। चार अमर सहिदको सम्झनामा भद्रकाली सहिद गेटमा स्थापित शालिकहरूमा माघ १६ गते श्रद्धाञ्जलि अर्पण गर्ने गरिन्छ। शुक्रराज शास्त्रीको सम्झनामा हरेक माघ १० गते पुल्चोक मोडमा अवस्थित शालिकमा माल्यार्पणका साथ श्रद्धाञ्जलि अर्पण गरिन्छ।  

महावीर स्कुल खोलेर राणा विरोधी क्रियाकलाप गरिएको भनेर चिनियालाल सिंहलाई जन्म कैद दिइयो। चिनियालाल र बलबहादुर पाण्डे जेलभित्रै मरेका थिए। चिनियालालको सम्झनामा सहिद नै मानेर हरेक वर्ष कुपन्डोल–महावीर स्कुल परिसरमा उनको स्मरणमा भेला भई श्रद्धाञ्जलि अर्पण गर्ने गरिन्छ। कुपन्डोल महावीर स्कुल रहेको भवन र जग्गा चिनियालालकी छोरी सुश्री उषा सिंहले जीवित भएकै अवस्थामा चिनियाकाजीकै स्मृतिमा समर्पण गरेकी हुन्। सिद्धिचरण श्रेष्ठ तथा केदारमान व्यथितहरू जस्ता कैयौँ जेलभित्रै कोचिएका थिए। त्यस्तै सिद्धिचरण श्रेष्ठको हरेक वर्ष जेठ ९ गते शालिक स्थापित भएको स्थान ओमबहालमा जन्म जयन्ती मनाउने गरिन्छ। राणा शासनको आक्रोशमा सिद्धिचरण श्रेष्ठले कविता लेखेका थिए– ‘बिखालु किट जन्मेर फैलाए रोग बेगिन्ती, स्वदेशी हुन् भनी खाली नमारौँ के कीरालाई ?’ जेलमा कुजिएर रहिरहनु भन्दा बाहिरबाटै ठोस योगदान गर्न सकिन्छ होला भनेर गणेशमान सिंह २००१ असारमा जेलभित्रैबाट भागेका थिए।  

२००७ साल भन्दा अगाडि राजा पनि कैदी जस्ता थिए। विदेशीको आँखा छल्न राष्ट्राध्यक्षस्वरूप राजाहरूलाई जबर्जस्त हस्ताक्षर गर्न लगाइन्थ्यो। केमा हस्ताक्षर गरिएको कुरा पनि राजालाई जानकारी दिइँदैनथ्यो। युवराज त्रैलोग्यले राणाहरूको विरोधमा सक्रियता देखाएको भनेर विष खुवाएर मारिएको थियो। तर राजा त्रिभुवनले भित्रभित्रै निरंकुश शासनबाट मुक्त हुन प्रजातन्त्रवादी व्यक्ति र अमर सहिदहरूको नेतृत्वका प्रेरक बनेकाले नेपालमा प्रजातन्त्र स्थापना हुन सकेको हो। राजा र जनताको नेतृत्व र सक्रियताबाट नैं नेपालको एकीकरण र प्रजातन्त्र स्थापना हुन सकेको हो। राजा त्रिभुवनलाई फसाउन राणाहरूबाट विवादास्पद लालमोहर पनि राजाकै नामबाट गराइन्थे।  

राजा त्रिभुवनले लुकीलुकी प्रजातान्त्रिक योद्धाहरूलाई भेट्ने र उनीहरूबाट गोप्य कागजपत्र, अनेकौँ उपाय गरेर, राजा त्रिभुवनसमक्ष पुर्‍याइन्थ्यो। राजा त्रिभुवनबाट पनि गोप्यरूपमा त्यसको प्रतिउत्तर जाने गथ्र्यो। आफूसमेत वन्धनबाट उम्केर प्रजातन्त्रलाई संस्थापना गर्न राजा त्रिभुवनको ठूलो योगदान थियो। राजा त्रिभुवनको सेवामा रहेकी नर्स एरिकाले लेखेको पुस्तक र गणेशमान सिंहको भनाइ, कम्पाउन्डर चन्द्रमान, खड्गमान सिंहबाट लिखित पुस्तक ‘जेलमा बीस वर्ष’ त्रिभुवन स्मृतिग्रन्थ तथा अनेकौँ ज्युँदा सहिदहरूको भनाइबाट थाहा हुन्छ– बिपी कोइराला, मातृकाप्रसाद कोइरालालगायत धेरै प्रजातान्त्रिक योद्धाहरूले प्रवासमा नैं राणा शासनविरुद्ध कार्यक्रम जारी राखिरहे।  

२०६३ सालको जनआन्दोलनको लगत्तै अमर सहिद र राजा त्रिभुवनको विषयमा अनर्थमा विवाद उठाउने काम गरियो। आन्दोलनमा मारिएका कैयौँ व्यक्तिलाई समेत अन्धाधुन्धमा सहिद घोषणा गरिएकाले १९९७ का चार अमर सहिदहरूलाई समेत ओझेलमा पार्न खोजिएको देखिन्छ। त्यसैले पछि घोषणा गरिएका अन्य सहिद भन्दा यी चार सहित नित्तान्त फरक छन् । यस्ता वास्तविक सहिदको सम्मान गर्न सिकौँ । अनि मात्र देशको भलो हुनेछ ।  

Email: dirghrajprasai@gmail.com

प्रकाशित: १५ माघ २०७९ ००:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App