१४ माघ २०७९ शनिबार
विचार

मरुभूमिमा हिमपातको सौन्दर्य

कविता भावहरूको पुञ्ज हो। विचारको तरेली र हृदयको स्पन्दन हो। कविताले व्यक्तिको वैविध्यलाई समेट्छ। समाजको सङ्गतिलाई एकीकृत गर्छ र शब्दमार्फत् सम्भावनाको खोजी गर्दछ। कविताको प्राचीन इतिहास, यसको विकासक्रम र आजका रचनाकारको चेतनाको सम्मिश्रणले नेपालको काव्यिक धरातल हराभरा बन्दै आएको छ। नेपाली कविताको कालक्रमिक व्याख्या र तिनको उच्छलन एवम् उद्बोधनले पछिल्लो पुस्ताका कविताशिल्पीहरू खारिँदै र माझिँदै आएको तथ्य छर्लङ्ग नै छ। यसै हारमा मिसिएका एक कवि हुन् सोझो गाउँले जो ‘मरुभूमिमा हिमपात’ लिएर समसामयिक नेपाली काव्य क्षितिजमा आएका छन्।  

कवि सोझोको यसअघि पनि ‘मनको बाँसुरी’ कवितासङ्ग्रह (वि.सं. २०४४) प्रकाशित भइसकेको छ। पश्चिम नेपालको बझाङदेखि काठमाडौंसम्मको लयबद्ध यात्रामा उनले छिटपुट विशृङ्खलित भएर मनको बाँसुरीमा धुन भरेको भए पनि यसपटक मरुभूमिमा हिमपातसम्म आइपुग्दा उनको सिर्जनाको तह, उनले देखेको, भोगेको र अनुभूत गरेको जीवन एवम् तरलीकृत समयरेखा शृङ्खलाबद्ध भएर उभिएका छन्। कवितालेखनको झन्डै दुई दशक लामो यात्रामा कवि सोझो गाउँलेले मानव सभ्यता, प्रकृति, संस्कृति, मिथक र समसामयिक परिवेशलाई आफ्नो सिर्जनाको भावभूमि बनाएका छन्। यसमा पनि मुख्यगरी प्रकृति, संस्कृति र नेपाली परिवेशको त्रिकोणात्मक सम्बन्धलाई कविले आफ्ना कवितामा समेटेका छन्। जसले कविताको सौन्दर्यलाई अग्लो बनाएको छ। यहाँका रुखपात, बुटाबुट्यान, पाखापर्वत, खोलानदी, तालतलैया, छाँगाछहरा, झरनाका बिम्बलाई उनले कवितामा प्रयोग गरेका छन्। बेथिति, विकृति, विसङ्गतिमाथि उनको काव्यिक प्रहार देखिन्छ। उनले नराम्रा थिति र पद्धतिलाई व्यङ्ग्य गरेका छन्। उनका कविताले आजका युगको भाषा बोलेका छन्।  

‘मरुभूमिमा हिमपात’ कविताकृति ४७ कविताको सञ्चयन हो। उनले कवितालाई देश, परिवेश, जीवन र प्रेम गरी चार खण्डमा विभाजन गरेका छन्। प्रत्येक खण्डले केही कविताहरूको थुँगा बोकेर भावक एवम् पाठकमा सिर्जनात्मक सौन्दर्यको सिञ्चन गरेको देखिन्छ। हरेक खण्डका कविताले आआफ्नो खण्डको सीमा सहजै नाघेका छन्। देश खण्डका आठ कविताले देशलाई एक सुन्दर सिर्जना नगरका रूपमा चित्रण गरेका छन्। यो देश कला र संस्कृतिले भरिपूर्ण देश हो। विविध प्रकृति, हावापानी, संस्कार र जीवनपद्धतिले देशको गरिमालाई उँचो बनाएको छ। यहाँ कोकिलले मधुर लयमा गीत गुन्जाउने मात्र नभएर पुतलीहरूले समानताको सितार बजाउने गरेको तथ्यलाई पनि कविले अघि सारेका छन्। त्यसो त यो देश धेरै वस्तुस्थितिहरूको निजत्व मात्र नभएर कविहरूको देश हो। यहाँ हृदयको हावा चल्ने, पसिनाको पानी पर्ने र चेतनाको घाम लाग्ने गरेकाले संवेदनाको सास फेर्दै मानिसहरू बाँचेको र इन्द्रेनी मालाको पोसाक लगाएको सुन्दर परिकल्पनालाई कविले कविताका हरफमार्फत् सार्वजनिक गरेका छन्। पुर्खाको इतिहासले रातो र तातो बनेको देशका खर्क, देवी–देउराली, नागी र भन्ज्याङलाई कविले आफ्ना कविताका हरफमार्पmत् स्पर्श गरेका छन्।  

परिवेश खण्डका चौध कविता छन्। कविले यसै खण्डमा सहरी र ग्रामीण सभ्यताको फ्युजन पनि गराएका छन्। सहरमा बसेर कल्पेको गाउँ र गाउँबाट कल्पना गरिने सहरको चित्रबिचको अन्तर सिपमूलक कार्यले सिँगारिएको परिवेश यहाँ चित्रित छ। सिसिफसको नियति भोग्न बाध्य कयौं मनहरूको सङ्घर्षको कथा एकाकार हुँदै निराकारमा पोखिएका छन्। सोझो गाउँलेलाई सहरको परिवेशले बेइमान बनाएको तितो यथार्थलाई पनि कविले स्वीकार गरेका छन्। काफल बेच्ने केटीको नियति वा डोको बुन्ने दाइको ऊर्जा दुवैले युटोपियाको खोजी गरेको भान हुन्छ।  

जीवन खण्डका पन्ध्र कविताहरूमा प्रत्येक भावकले आफ्नो अनुहारको प्रतिच्छाया भेट्छ। उदास साँझमा पश्चिमको पहाडतिर हानिने एक हुल चराले बादलको घेरोमा सुन्तले बुट्टा भरेजस्तै जीवनका प्रत्येक अनुच्छेद रङ्गीन छन् तर त्यसलाई रङ्ग्याउनको लागि पेन्टिङ ब्रस मात्र पर्याप्त छैन, जीवनको असली रङ चाहिन्छ भन्ने भाव उस खण्डका कवितामा आएका छन्। वर्तमानमा बाँचेको छरपस्ट जीवन र हृदयको अतल गहिराइबाट कल्पेको सुदूर उज्यालोले कविताका फाँकीहरू चम्किला भएका छन्।  

‘प्रेम’ प्रेमको रङको रातो बाछिटा भेट्न सकिन्छ। जहाँ प्रेम छैन, त्यहाँ जीवन छैन। जहाँ जीवन छैन, त्यहाँ समाज छैन। जहाँ समाज छैन, त्यहाँ देश छैन। तसर्थ, प्रेम नै सार्थक जीवनको अभिन्न अङ्ग हो। प्रेम नै संसारमा एउटा त्यस्तो तŒव हो जो सदैव अमर रहन्छ भन्ने भावमा यहाँका कविताहरूले आवाज भरेका छन्। आकाश र धर्तीको प्रेम, चिसो र तातोको प्रेम, फूल, बस्ती र सभ्यताको पे्रम, आगो र उज्यालोको प्रेमका उज्याला दीप कवितामा बलेका छन्। मरुभूमिबाट लेखेको पत्रमा होस् या भुइँको भमरा र गमलाको फूलमा होस्, धोकाको धब्बा वा प्रेमको अपमानमा नै किन नहोस् जताततै प्रेमकै बास्ना मगमगाएको छ। ‘प्रेमको इजलासमा प्रतिवादीको बयान’ कविता त झन् प्रेमको नयाँ भाष्य निर्माण गर्न नै सफल भएको छ।  

गाउँलेका कविता भावकमा पछिसम्म पनि प्रभाव छोडिरहन सफल छन्। कथ्य, शिल्प र बुनोटका दृष्टिले गाउँलेका कविताहरू आकर्षक र प्रभावशाली छन्। उनका कविता पढिरहँदा कवितामा नभनिएका वा भन्न बाँकी धेरै कुराहरू पाठकको मनमा सवालका रूपमा आफैं उब्जिन्छन् र तिनले आफैं एकएक जवाफ पनि छोडी जान्छन्। कतै कतै उही र उस्तै बिम्ब एवम् शैलीको पुनरावृत्तिले फ्लोलाई ब्रेक गर्न खाजेको भेटिन्छ। समग्रमा मरुभूमिमा हिमपात कवितासङ्ग्रहले नेपाली कविता साहित्यको क्षेत्रमा बलियो उपस्थिति जनाउने अपेक्षा गर्न सकिन्छ।  

प्रकाशित: ७ माघ २०७९ ०९:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %