केही समयअगाडिसम्म नयाँ रोग आगमनबारेमा न सर्वसाधारणलाई नै थाहा हुन्थ्यो न त चिकित्सकलाई नै चासो। स्वास्थ्य क्षेत्रमा खासगरी नेपालमा रोगको पहिचान भन्दा पनि उपचारलाई विशेष ध्यान दिँदै आएको देखिन्छ। नतिजास्वरूप नौलो इमर्जिङ रोगबारे पत्तो पाइने कुरै भएन। हालमा पनि ठूला नाम चलेका अस्पतालमा ज्वरो आएका बिरामी आएमा लक्षणका आधारमा उपचार गर्ने गरेको पाइन्छ। यसो हुनुमा या सरुवा रोगप्रति विशेष चासो नदिएको हो वा निदान गर्ने प्रयोगशाला सामग्रीको कमी हो, बुझ्न सकिएको छैन। कारण जे भए तापनि यसले नेपाललाई नयाँ चुनौती भने दिएको छ। यस्तो अन्योलताले कुनै विशेष स्थान वा जनसंख्यामा रोगको प्रभाव, निदान, उपचार तथा रोकथामका उपाय अपनाउन बाधा पर्नेछ। फलस्वरूप ठूलो जनसंख्या थोरै समयमा रोगको उच्च जोखिममा पर्नेछ र परिरहेको पनि छ। विश्व स्वास्थ्य संगठनले इमर्जिङ रोग भन्नाले कुनै विशेष स्थान वा जनसंख्यामा पहिलो पल्ट देखा पर्दा वा पहिलेदेखि नै रहेको र हाल आएर अचानक फैलँदै गएकोलाई परिभाषित गरेको पाइन्छ।
विश्वमा नै इमर्जिङ रोगबारे २ दशकयता मात्र बढी चासो र सजकता अपनाएको पाइन्छ। खासगरी विकसित देशले उच्च प्राथमिकतामा राखेर तत्अनुरूप योजना बनाएको पाइन्छ। विश्वको कुनै पनि ठाउँमा देखाएको सरुवा रोगको प्रकोप अर्काे ठाउँमा तुरुन्तै फैलन सक्ने भएकाले इमर्जिङ रोगहरु विकसित देशका लागि बढी चासोको विषय बनेको देख्न्छि। एड्स, एमडिआर–टिबी, हान्त भाइरस, इन्फ्लुएन्जा, वेस्ट नाइल भाइरस आदि रोग प्राथमिकतामा राखेको देखिन्छ। त्यस्तै पश्चिम अफ्रिकी देशहरुमा देखिएको इबोला भाइरस वा ब्राजिलमा हालसालै मात्र देखिएका जिका भाइरस जस्ता भाइरसबारे विश्वको ध्यान आकर्षित गरेको छ। यसबारे नेपाल पनि अछुतो रहेन र बहसको विषय बनेको थियो र छ। यी उल्लिखित प्राणघातक इमर्जिङ रोग विकसित देशका लागि आयातीत हुन सक्ने जोखिम देखेर अनुसन्धानमा बृहत् जोड दिएको देखिन्छ र त्यसैले विकसित देशमा इमर्जिङ रोग पहिचान गर्ने क्षमता पनि बढी देखिन्छ।
उनीहरुलाई यस्ता विषयमा अग्रिम जानकारी हुने गर्छ। जसले गर्दा आफ्नो देशका सर्वसाधारणलाई समयमै सजग गराउने र देखा परिहालेमा नियन्त्रणमा लिने काम पनि छिटो हुनेे गरेको पाइन्छ। तर इमर्जिङ रोग विकसितभन्दा पनि अति कम विकसित देशमा बढी पाइने भएकोले विकसित देशमा निर्यात भएको हुनुपर्छ। उदाहरणका लािग हिनी पिडिएम०९ इन्फ्लुएन्जा (जसलाई स्वाइन फ्लुको नामले चिनिन्छ) लाई अमेरिकाले पहिलो पल्ट पत्ता लगाएको भनिए तापनि त्यस देशमा भन्दा हाम्रो जस्तो कम विकसित देश जहाँ खुलारूपमा मानिस र पशुको नजिकको सम्पर्कका कारण नयाँ स्वरूपको भाइरस विकसित भएको हुन सक्छ। यो सम्भावना एकदमै तार्किक पनि देखिन्छ। स्वाइन फ्लुका लक्षण हाम्रा जस्ता कम विकसित देश जहाँ ठूलो संख्यामा सुँगुर खुलारूपमा पालन गर्दै आएको ठाउँमा देखा पर्दै आएको हुन सक्छ। ठूलो संख्यामा देखा पर्ने कडा निमोनियाका बिरामी त्यसको कारणले हुने उच्च मृत्यु दरले पनि यस सम्भावनालाई बढावा दिएको देखिन्छ। तर अनुसन्धानलाई प्राथमिकतामा राखेर राज्यले लगानी गरेको भए यस्ता इमर्जिङ रोगको पहिचान बेलैमा हुन्थ्यो भने रोकथामका उपाय पहिल्याइन्थ्यो। शायद स्वाइन फ्लु अमेरिका नभई नेपाल जस्ता देशमा धेरै अगाडि पत्ता लागाइसक्थ्यो होला। तर कम विकसित देशका लागि गाँस, बास र कपास नै प्राथमिकतामा परेकाले अनुसन्धानमा लगानी ओझेलमा परेको देखिन्छ।
तर गाँस, बास र कपासबाहेक स्वास्थ्यलाई पनि उच्च प्राथमिकतामा राख्नुपर्ने बेला आइसकेको देखिन्छ। स्वास्थ्यबिना गाँस, बास र कपासको महत्व रहँदैन तर कम विकसित देशमध्ये छिमेकी देश बंगलादेशमा भने अनुसन्धानलाई प्राथमिकतामा राखेको देखिन्छ। बंगलादेशको आइसिडिडिआरबी जस्तो अनुसन्धान केन्द्रबाट झाडापखालामा प्रयोग हुने जीवनजल निर्माण भएको थियो। विश्वका लाखौं झाडापखालाका बिरामीलाई यसको प्रयोगले मृत्युको मुखबाट हाल पनि बाचाइरहेको छ। यस किसिमको सफलता हाम्रो जस्तो आर्थिक क्षमता कम भएको देशले पनि परिकल्पना गर्न सकिन्छ। नेपालमा जस्तै दक्षिण एसियाली देशहरुमा रोगको ठूलो प्रकोप हुने भएकाले यसले अनुसन्धानका लागि अवसर पनि सिर्जना गरेको छ। वास्तवमै भन्नुपर्दा विकसित देशका अनुसन्धानकर्ताले हाम्रा जस्ता देशमा आएर अनुसन्धान गरी ठूला उपलब्धि हासिल गरेको देखिन्छ। नयाँ रोग पहिचान तथा त्यसको औषधिको खोज तथा विकासमा धेरै प्रगति गरेको देखिन्छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल हाल पनि झाडापखाला मात्र उपचार गर्ने अस्पतालका रूपमा परिचित देखिन्छ। तर योबाहेक हरेक इमर्जिङ रोगको पनि उपचार गर्छ भन्ने कुरा थोरैलाई मात्र थाहा भएको देखिन्छ। हाल यो अस्पतालले हरेक इमर्जिङ रोग (सामान्यदेखि प्राणघातक रोगसम्म) का चुनौती सामना गरी भएको स्रोतसाधनले सकेसम्म उपचार गर्दै आएको छ। पश्चिम अफ्रिकामा इवोलाको महामारी देखिँदा पनि यो अस्पताल तयारी अवस्थामा थियो र हाल पनि जिका भाइरसका लागि पनि तयारी अवस्थामै छ। त्यस्तै स्वाइन फ्लुको हरेक वर्ष देखिने प्रकोप वा महामारीमा सधैँ उपचारमा खटिँदै आइरहेको छ। सधैँ निम्नमध्यम वर्गको घुइँचो हुने यस अस्पतालमा फ्लुको प्रकोपमा उच्च वर्गका मानिसको उपचार गर्ने मौका पाएको पंिक्तकारको अनुभव छ। यसले यस अस्पतालको आवश्यकता र महत्वलाई बढाएको छ।
यति गर्दागर्दै पनि हाल भौतिक साधन तथा प्रशिक्षित जनशक्तिको अति नै कमी छ। यस अस्पतालको संरचना ८० वर्षअगाडिको रोगहरुको सामना गर्ने परिकल्पनाकै अवस्थामा छ। यसले हालको इमर्जिङ रोगहरुको चुनौती सामाना गर्न सक्दैन। हालको स्रोतसाधनलाई आधुनिकीकरण गरिरहेको भए तापनि यो ढिलो कछुवा गतिमा हिँडिरहेको छ। यसले तत्काल कुनै उच्च गतिमा सर्न सक्ने प्राणधातक रोगबाट संक्रमितको उपचार गर्ने सम्भावना कम देखिन्छ। इमर्जिङ रोगहरुको चुनौती सामना गर्न भएको जनशक्तिलाई पनि समयानुकूल प्रशिक्षित गर्दै लैजानुपर्छ। त्यस्तो जनशक्तिको कमीले पनि उपचारमा ठूलो बाधा हुनेछ। यसका लागि यहाँको सरुवा रोगमा विशेष चासो राख्ने स्वास्थ्यकर्मीलाई तालिमका लागि अवसर प्रदान गर्नुपर्छ। यसका लागि विकसित देशबाट प्रशिक्षक ल्याएर तालिम दिन सकिन्छ। पछि ती प्रशिक्षितहरुबाट नेपालका विभिन्न ठाउँका स्वास्थ्यकर्मीलाई तालिम दिने सके अपर्झट देखिन सक्ने प्रकोप समयमा नै नियन्त्रणमा लिन सकिनेछ।
रिसर्च संयोजक, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल
प्रकाशित: २६ असार २०७३ ०७:१८ आइतबार