७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

पर्यटनको लागि साइकलयात्रा

सुयोगमानसिंह बस्न्यात,
कक्षा–४, नव अरुणिमा सेकेन्डरी स्कुल, आरुबारी,काठमाडौं।

ओलम्पिक डेको उपलक्ष्यमा भएको साइकलयात्रापछि मैले कुनै पनि साइकल यात्रामा भाग लिन पाइनँ। कारण थियो बिरामी। संयोग पनि कस्तो साइकल यात्राको १/२ दिनअघि जरो आउने। गत असोज ४ गते बुढानिलकण्ठ राइडर्स क्लबले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले साइकलयात्राको आयोजना गरेको थियो। यस पटक पनि टन्सिल बढेर जरो आयो। डाक्टरले दिनुभएको औषधि खाएपछि शुक्रबार बिहानबाट जरो नियन्त्रणमा आयो। शनिबार बिहान बाबा साइकलयात्रामा जान लागेको थाहा पाएँ। त्यो देखेर मलाई सकसक लाग्यो। बाबाको अनुहार नै नहेरी आँखा चिम्लिएकै अवस्थमा बाबा भने। बाबाले किन भन्नुभयो। मैले भनें, ‘म पनि जान्छु नि !’ बाबाले भन्नुभयो, ‘गा-हो हुन्छ कि ?’ मैले अहँ हुँदैन, म सक्छु नि भनें। बाबाले भन्नुभयो, ‘बाबू, सक्छस् त ?’ मैले सक्छु भनें। उहाँले लौ हिँड् न त भन्नुभयो। यो थियो साइकल यात्रामा जानुभन्दा अगाडि बिहान ६ बजे बाबा र म बीच भएको कुराकानी। त्यसपछि जे पर्लापर्ला भनेर बाबासँग म पनि त्यस दिन हिँडेँ साइकलयात्रामा भाग लिन। मामुचाहिँ मामाघरतिर लाग्नुभो।

हामी बुढानिलकण्ठको नारायण मन्दिर पुग्दा टिसर्ट वितरण भइरहेको थियो। बाबाले पनि दुई ओटा टिसर्ट लिनुभयो। ठूलो भएकोले मैलेचाहिँ टिसर्ट लगाइनँ। त्यसपछि हामी पनि नास्ताको लागि लाममा बस्यौँ। नास्तामा अन्डा, चना, चिया, पाउरोटी र पानीको राम्रो व्यवस्था थियो। चना मलाई धेरै मिठो लाग्यो।

बुढानिलकण्ठ मन्दिरबाट सुरु भएको साइकलयात्रा कृष्ण मन्दिर, टुसाल, चण्डेश्वरी, टोखा, विष्णुमति पुल, ओखल गाउँ, हात्तिगौँडा, धोबिखोला पुल, राम मन्दिर, कपन गुम्बा, सहिद पार्क, सापटार, चुनिखेल, गाम्चा हुँदै नौलिन मन्दिर गएर यात्रा टुंगिने भए पनि कौडोलको हिलोबाटो र चर्काे घामको कारण बाबा र मैले जगडोलको भञ्ज्याङमा पुगेपछि यात्रा टुङ्ग्यायौं। मलाई पूरै यात्रा गर्न मन थियो तर त्यत्तिकैमा मन बुझाउन बाध्य भएँ । हामीसँगै यात्रामा आउनु भएको बाबाको साथी ध्रुव लौडरी अंकलले ‘एन्टिबायोटिक्स’ खाइराखेको अवस्थामा धेरै धपेडी गर्नु हुँदैन। आराम गर्नुपर्छ नत्र स्वास्थ्यमा गम्भीर असर पर्छ भन्नु भएकोले डर लाग्यो। त्यसैले हामी यात्रा पूरा हुन २/३ किमि जति बाँकीमा घरतिर लाग्यौँ।

यस पल्टको साइकलयात्रामा म जस्तो धेरै नानीबाबूहरूको उपस्थिति थियो। त्यसै भएर होला एक जना अंकलले सुयोगले गर्दा अहिले धेरैले आफ्नो बच्चा ल्याउन थाले। मेरो छोरा ३ वर्षको भयो। अब २/३ वर्षमा म पनि साइकलयात्रामा सहभागी गराउँछु भनेर बाबासँग कुरा गर्नुभयो। बाबाले पनि उहाँलाई केके गर्दा राम्रो हुन्छ भनेर सल्लाह दिनुभयो। हुन पनि हो आजभन्दा २ वर्षअघिसम्म बच्चा साइकलयात्रीमा म मात्र हुन्थें। धेरैले अचम्म मानेर मलाई हेर्नुहुन्थ्यो। मसँग कुरा गर्नुहुन्थ्यो। फोटो खिच्थे। बाबासँग सोधीखोजी गर्नुहुन्थ्यो। पछि बिस्तारैबिस्तारै उहाँहरूले पनि आफ्नो बच्चाहरूलाई साइकलयात्रामा सहभागी गराउन थाल्नुभयो।

सबै साइकल यात्रा कार्यक्रमका सबै आयोजकहरूलाई म धेरैधेरै धन्यवाद दिन्छु। यहाँहरूको कारणले मैले काठमाडौं उपत्यकाको कुनाकाप्चा घुम्ने, हेर्ने, पुग्ने, देख्ने, अनुभव गर्ने मौका पाएँ। काठमाडौं बाहिर पनि साइकलकै कारण पुग्न पाएँ।  जय साइकल ! ! !

प्रकाशित: २५ आश्विन २०७६ ०५:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App