२५ भाद्र २०८१ मंगलबार
image/svg+xml
समाज

कोठा भाडा तिर्न नसकेपछि घरबाट निस्किइन् दुर्गा

आफन्तको घरको सिडीमुनि बस्दै आएकी दुर्गा सुनार। तस्विरः नागरिक

वीरेन्द्रनगर - जीवनमा कयौं दुःख बेदना हुन्छन्। कतिपय सहजै पार गर्न सकिन्छ। कतिले भने केही बहानामा कहाँ नेर ठक्कर दिन्छ पत्तै हुँदैन। बराहताल सिरफटा घर भएकी वीरेन्द्रनगरमा ज्याला मजदुरी गर्ने दुर्गा सुनारलाई पनि यस्तै भएको छ।

कयौं ठक्कर खाएकी उनले यतिबेला पुनः ठक्कर खाएकी छिन्। जसले गर्दा उनी ओत लाग्ने ठाउँको खोजीमा छिन्। विश्वभरि महामारीका रूपमा फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरस नियन्त्रण गर्न सरकारले चैत ११ गतेदेखि लगाएको बन्दाबन्दी (लकडाउन) का कारण कोठा भाडा तिर्न नसक्दा उनी भाडामा बस्दै आएको घरबाट निस्किएकी छिन्। ‘लकडाउनका कारण काम जान बन्द भयो,’ उनले भनिन्, ‘काम नगर्दा पैसा नभएपछि कोठा छाडेँ।’

घरबेटीले बेलाबेला पैसा माग्ने गरेको भन्दै उनले भनिन्, ‘घरबेटीले पैसा मागिरहँदा मलाई आफैँ लाज लाग्यो अनि भाडामा बस्दै आएको घरबाट निस्के।’ अहिले उनी आफ्नी ६ वर्षीय छोरी आरोसीलाई लिएर आफन्तको घरको सिडीमुनि ओत लागेकी छिन्। जहाँ न ढोका छ नत बत्तिनै। ‘झन्नका मलाई बस्न दिनुभयो,’ उनले भनिन्, ‘नत्र खुला सडकमै बस्नु पथ्र्याे।’ दैनिक पाँच सयसम्म आम्दानी गर्ने उनी महिनामा सबै दिन काम नपाउने गरेको बताउँछिन्।

छोरी आरोसी करिब ढेड वर्षको हुँदा उनका श्रीमान् भीमबहादुर रोजगारीका लागि भारत गएका थिए। उनी हालसम्म सम्पर्कविहीन छन्। घर परिवारले आफूलाई नहेरेको र माइतीमा आमा मात्र भएको उनले बताइन्। दुर्गा वीरेन्द्रनगरस्थित शान्ति टोलमा मासिक १५ सय रूपैयाँ कोठा भाडामा लिएर बस्दै आएकी थिइन्।

उनको कोठामा अन्नपानीसमेत सकिएको छ। ‘ग्यास सकिएको दुई/तीन भइसक्यो,’ उनले भनिन्, ‘चामल दुई दिनसम्मलाई पुग्ला।’ विपन्नसँग महान्ता हुन्छ भन्ने उनले देखाएकी छिन्। उनले भनिन्, ‘मलाई अहिले तत्काल ग्यास चाहिएको छ।

चामल केही दिनलाई पुग्छ। मभन्दा कोहीलाई समस्या भए चामल उहाँलाई दिनुस्। मलाई सकिएपछि दिनु होला।’ उनको महान्ताका अगाडि घरमा महिना दिनसम्म पुग्ने खाद्यान्न भएका व्यक्ति राहत लिन लाइनमा बसेकालाई गिज्याइ रहेको छ। राहतका नाममा सरकारले कार्यकर्ता तथा आफन्तमुखी भएको उनको यो अवस्थाले पनि देखाउँछ।

हालसम्म उनले तीनै तहका सरकारबाट राहत पाएकी छैनिन्। उनको सम्पत्ति भनेको एउटा ग्यास, लगाउने कपडा मात्र छन्। त्यही ल्याएर सिडीमुनि चिसोमा बस्ने गरेको उनी सुनाउँछिन्। आफूसँग नागरिकता नहुँदा पनि समस्या भएको उनले बताइन्। साथै तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले ग्यास सहयोग गरेका छन्। उनी बस्ने ठाउँमै गएर उनले ग्यास सहयोग गरेका छन्।

प्रकाशित: १४ वैशाख २०७७ १२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App