यात्रा संस्मरण

मरुभूमिमा समृद्धि

शनिबार, २६ पुष २०७६, १४ : ५१ नागरिक

कृष्णप्रसाद भण्डारी

अनपेक्षित रूपमा इजरायल यात्राको अवसर जुट्यो। वर्षौंदेखि अरबी र यहुदीबीचको कहिल्यै नटुंगिने विवाद र झैझगडाको केन्द्र रहेको इजरायल यात्रा मेरा लागि  दुई धारको तरबार साबित भयो। एकातिर हत्तपत्त जान नपाइने देश जान पाएको खुसी, अर्कातिर  के कसो हुने हो सन्त्रासै सन्त्रास। त्यसमाथि परिवारको ‘जथाभावी नहिँड्नू, एक्लै नहिँड्नू, काम नपरी कतै नजानू’ लगायत चिन्तामिश्रित अर्ती उपदेशहरू।

चिन्ता र उत्साहबीच काठमाडौंबाट इस्तानबुल हुँदै भूमध्यसागरको तटमा अवस्थित व्यापारिक सहर तेलअबिब पुगियो। इजरायल राजधानी जेरुसेलममा यहुदी, इस्लाम र क्रिस्चियन  धर्मका प्रमुख धार्मिक स्थल छन्। हजारौं वर्षको इतिहास, कैयौं सत्ता परिवर्तनको कथा बोकेको जेरुसेलम  टेक्दा रोमाञ्चित भएँ, सँगै  कौतूहल र अनेक अनुत्तरित प्रश्नले मस्तिष्कमा डेरा जमायो। प्राचीन नगरी इस्तानबुल हुँदै इजरायल जाने अवसर मिलेको थियो।  हुन त मध्यपूर्वका अन्य देशबाट इजरायल जाने हवाई बाटो दुलर्भ नै छ। तथापि भारत, थाइल्यान्डको सट्टा कहिल्यै पाइला नटेकेको टर्की हुँदै जान पाउनु ठूलै अवसर थियो। कमसे कम एकैपटक दुई मुलुकमा टेक्न पाएकामा गर्व महसुस भयो।

सोचेभन्दा फरक
सानैदेखि लडाइँ, झगडा, इजरायल–प्यालेस्टाइन संघर्ष सुन्दै आएकाले मनमा अलिकति शंका थियो। सोच्थेँ– सबै डरमा बाँचेका होलान्, आपतकालीन साइरन बजिरहला, कडा सुरक्षा  होला, सहर बजारमा धेरै प्रहरी र सैनिक होलान्।  एक सहकर्मीले पनि भनेका थिए, ‘हरेक घरमा लुक्ने स्थान (बंकर) हुन्छ, साइरन बज्नेबित्तिकै त्यहाँ जानुपर्छ।’ यसकारण मन सशंकित भएको थियो।

इजरायल कृषि र सूचना प्रविधिमा निकै अगाडि रहेछ। जटिल भू–राजनीतिक अवस्थिति र विषम परिस्थितिको सामना गर्दै प्रगतिको शिखर चढेको रहेछ। यसबाट मेरो मनमा आशा पलायो।

तर, शान्त सहर, समुद्री किनारमा रमाइरहेका मान्छेहरू, सबैजसो मान्छे अनौपचारिक पोसाकमै हिँडडुल गरेको देखेँ। कोही स्कुटरमा त कोही साइकलमा हुइँकिँदै आनन्द लिइरहेका थिए। यस्तो देख्दा अर्कै संसारमा पुगेझैँ भयो। सोचेभन्दा धेरै सहज र फरक वातावरण। भनूँ न, मान्छेहरू कूल देखिन्थे। कोही त सर्फबोर्ड नै बोकेर कार्यालय गएको देख्दा औपचारिक नियमभन्दा कार्यक्षमता र कार्यसम्पादनलाई बढी जोड दिइँदो  रहेछ भन्ने लाग्यो।

सुरक्षा व्यवस्था
सहरमा सुरक्षाकर्मी कमै देखेँ। उनीहरू पोसाकमै किनमेल गरिरहेका थिए, समुद्री किनारमा हिँडिरहेका थिए। डटेर पहरा दिइरहेका सुरक्षाकर्मी खासै भेटिएनन्। यसबाट इजरायले सुरक्षा व्यवस्थाको तयारी, अनुगमन र परिचालनमा प्रविधि प्रयोग गरेर निकै गतिशीलता र स्वचालित संयन्त्र विकास गरेको प्रस्ट हुन्थ्यो। हुन पनि इजरायलले सुरक्षासँग सम्बन्धित सूचना प्रविधिको  विकासमा विश्वकै अग्रणी स्थान कब्जा गरिसकेको छ।

चिसोचिसो हावामा
तेलअबिब सहरको तटीय इलाकाका होटलको झ्यालबाट भूमध्यसागरको एकपछि अर्को छाल किनारमा ठोक्किएको देखिन्थ्यो। छालको गर्जनलाई बेवास्ता गर्दै  किनारमै विविध गतिविधिमा रमाइरहेका बाल–वृद्ध  देख्दा स्वर्गीय आनन्द महसुस भयो। कोही पौडिरहेका। कोही व्यायाम गरिरहेका। कोही मसिनो बालुवामाथि हिँडिरहेका। कोही साइकल कोही स्कुटर चलाइरहेका थिए। हिउँदमा भूमध्यसागरबाट बहने चिसो हावा र तटमा हिँड्दा सागरको चिसो पानीको स्पर्शका कारण फरक अनुभव भयो। हिउँद र हिमाली हावाको सम्झना दिलायो।

  पुरानो बजार
जेरुसेलम शताब्दियौंदेखि ऐतिहासिक घटनाक्रमको साक्षी छ।  यहुदी मन्दिरको पश्चिमी पर्खाल, मुसलमानको अल–अक्सा मस्जिद र जिसस क्राइस्ट जन्मिएको स्थानका कारण यसको धार्मिक र सांस्कृतिक महŒव झनै उच्च छ। यहाँ पुरानो बजार पनि देखियो। चिसो मौसमबीच पनि जेरुसेलमको पुरानो बजारमा विशेष चहलपहल थियो। काठमाडौंको असनजस्तै देखिन्थ्यो। साँघुरा गल्लीभित्र चियापसल, रक्सी पसल, भोजनालय देखिन्थे। सडकपेटीमा खानेकुरा, किराना सामग्रीका अनगिन्ती पसल रहेछन्। पसले चिच्याउँदै ग्राहक बोलाइरहेका देखिन्थे।  क्रेताको लस्कर।  रमितेहरू। टाउकोको दायाँबायाँ दुवैतिर चुल्ठो, लामो दारी लर्काएर हिँड्ने अर्थोडक्स यहुदीहरू। प्रेममा लीन युवाजोडीहरू, तिनको गतिविधि निहालेर रोमाञ्चित हुने अधबैंसे। कोलाहलबीच पनि आनन्दको अनुभूति भयो।

सहर बजार निकै सफा सुग्घर र व्यवस्थित थिए। ढुंगा ओछ्याइएका पुराना तर भव्य लाग्ने सडकपेटी। सडकको बीचमा रहेको लिकमा गुड्ने रेलगाडी। पुराना तर आकर्षक भवनहरू। त्यस्तै, गगनचुम्बी भवनले सहरको सभ्यता र भव्यता झल्काइरहेको थियो।

विविधता, कट्टरता र आधुनिकताको मिश्रण
इजरायल यहुदीको गृह क्षेत्रका रूपमा स्थापित देश हो। यो भू–राजनीतिक अवस्थितिका कारण अन्य धर्म र सम्प्रदायका मानिसको पनि देश बनेको छ।  यहाँ अरब मुसलमान र क्रिस्चियन पनि छन्। सामान्य यहुदी र कट्टर जीवनशैली जिउने  अर्थोडक्स यहुदीहरू देखेँ। लामो दुई चुल्ठो कपाल, लामै दारी, ठूलो छाते टोपी (ह्याट) र खुकुलो लामो पहिरनमा हिँड्ने अर्थोडक्स यहुदी पुरुष झट्ट हेर्दा ऋषिमुनिजस्तै देखिन्थे। उनीहरूले सरकारको अनुदानबाट जीविका चलाएका रहेछन्। ‘यिनका सन्तान पनि धेरै हुन्छन्। यिनीहरूलाई हामीजस्ता उदारले पाल्नुपर्छ किनकि हामीले तिरेको करबाट यिनलाई खर्च जान्छ,’ एक यहुदीले तीतो पोखेझैं गरे। उनको भनाइ पूर्ण सत्य होइन रहेछ। अचेल  धेरैजसो अर्थोडक्स  यहुदी विभिन्न पेसामा संलग्न रहेछन्।

कट्टरताबीच उदार जीवनशैली देखियो। आधुनिकताको प्रभाव त झन् देखिने नै भयो। आधुनिक रेस्टुरा, पबहरू, डिस्को, बारहरू जताततै देखिन्थे। त्यस्तै, इजरायलीमा उच्च कोटिको पेसागत संस्कृति, अनुशासन र कामप्रतिको कटिबद्धता पनि पाएँ। औपचारिकता र कागजी प्रक्रियाको जटिलतालाई पन्छाएर कार्यक्षमतामा सुधार र उत्पादकत्व वृद्धि गर्न हर तरहले क्रियाशील हुँदा रहेछन्।  प्रायः ट्याक्सी चालक  वृद्धहरू नै हुँदा रहेछन्। उनीहरू पेसामा दक्ष र कामप्रति कटिबद्ध रहेछन्।

बेथलेहेम भ्रमण
बेथलेहेम जिसस क्राइस्टको जन्मभूमि हो। यहाँ ‘चर्च अफ नेटिभिटी’ (प्राचीन गिर्जाघर)को संरक्षण गरिएको छ, नेपालको बुद्धजन्मस्थल जस्तै। प्यालेस्टिनी बस्ती हुँदै सुन्दर ढुंगे सिँढी पार गरेर यो गिर्जाघर पुगिँदो रहेछ।  चर्चमा फुर्तिला पादरीहरू, प्रार्थनामा मग्न इसाई र हामीजस्ता उत्सुकता शान्त गर्न पुगेका पर्यटकको भीडभाड हुँदो रहेछ। पूजा गर्ने प्रक्रिया अवलोकन गरेँ।  कता कता पशुपति र पुजारीको झझल्को दियो।

चर्च जाँदै गर्दा रोचक कुरा पत्ता लाग्यो। बाटोमा  चेकपोस्ट रहेछ। ट्याक्सी चालक निशिमले ‘नेपाली पर्यटक’ भनेपछि सुरक्षाकर्मीले सहज रूपमा जान दिए। उनी बोलक्कड रहेछन्। उनले विविध स्थानबारे  जानकारी दिए। प्यालेस्टिनी इलाकामा प्रवेश गर्नासाथ उनले हामीलाई छोडिदिए। ‘मलाई उता जान दिँदैन’ भन्दै हामीलाई  एक प्यालेस्टिनी चालक ‘सलाम’को जिम्मा लगाए। त्यहाँबाट चर्चसम्म ‘सलाम’ले लगे। यस क्रममा सलामले प्यालेस्टिनीका अनेक दुखेसो पोखे, आक्रोश  पोखे।  नेतालाई गाली गरे। पुराना नेता यासेर अराफातलाई आदरपूर्वक सम्झिए। ‘हामी एक खुला जेलमा बसिरहेका छौं। वरिपरि पर्खाल छ। निस्कने एउटा मात्र ढोका छ। त्यहाँ इजरायलीको पहरा छ। हामी स्वेच्छाले न भित्र आउन सक्छौं  न बाहिर जान सक्छौं,’  उनले भने। परिस्थिति त्यस्तै देखियो। भौगोलिक रूपमा सँधियार भएर पनि इजरायली र प्यालेस्टिनीबीचको मनोवैज्ञानिक खाडल निकै फराकिलो रहेछ। 

नुनको चोट
मृतसागर नपुगी फर्कनुपरेको भए खल्लो हुने रहेछ।  अत्यधिक नुनका कारण कुनै जलचर  बाँच्न नसक्ने भएकाले यसलाई मृतसागर भनिएको रहेछ। मृतसागर इजरायल र जोर्डनको बीचमा रहेछ। सन् १९४८ को अरब इजरायल युद्धपछि जोर्डनले यसलाई कब्जामा गरेको र सन् १९६७ मा ६ दिन युद्ध गरेर  पुनः इजरायलको अधीनमा आएछ। तैपनि दुई देशबीच विवाद चलिरह्यो। पछि दुवै देशले शान्ति सम्झौता गरेर मृतसागरको बीचबाट कोरिएको सिमानाले दुई देशलाई छुट्याउने निर्णय गरेका रहेछन्।

पहिलोपटक मृतसागर प्रवेश गर्दा पक्कै रोमाञ्चित भइयो।  तर निरन्तर छचल्किने पानी र पैताला घोच्ने नुनका तीखा ढिक्काले हैरान भएँ। मृतसागरमा डुबिँदैन भन्ने कुराले  उत्तानो परेर घाम ताप्न पाइएला भन्ने  लागेको थियो। डुबिने डरले हत्तपत्त खुट्टा भुइँमा पु-याउँदा नुनको ढिक्कामा ठोक्कियो।  बाहिर आएपछि मात्र थाहा भयो, चोट लागेछ। चोट निको हुन दुई साता लाग्यो।

मृतसागरको नुनिलो पानी। मृतसागरको माटोले नुहाइरहेका मानिस।  माटोमा रहेको औषधीय गुणको बखान। बेच्न राखिएका मृतसागरको माटोका पोका। र ती  सामानको आकाश छुने मूल्य सुनेर फरक अनुभव महसुस गरेँ। इजरायल कृषि र सूचना प्रविधिमा निकै अगाडि रहेछ। जटिल भू–राजनीतिक अवस्थिति र विषम परिस्थितिको सामना गर्दै प्रगतिको शिखर चढेको रहेछ। यसबाट मेरो मनमा आशा पलायो। समुद्र सतहबाट चार सय मिटरभन्दा तल पुगिसकेको,  बर्सेनि पानी सुकेर साँघुरिँदै गएको मृतसागरको यात्रा रोचक  थियो। तर, भावी पुस्ताले  मृतसागरमा पानी देख्न पाउलान् ?






यसमा तपाईको मत

अन्य समाचार

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट  प्रालिसँग सम्झौता...

Ncell Footer Ad