मनसुन सुरु हुन केही दिन बाँकी रहँदा जुम्लामा नेपाली सेनाले सम्भावित मनसुनजन्य विपद्को सामना गर्न पूर्वतयारीस्वरूप ‘विपद् प्रतिकार्य संयुक्त अभ्यास मनसुन–६’ सञ्चालन गरेको छ। चन्दननाथ नगरपालिका–१ दासाँघुमा आयोजित अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, स्वास्थ्यकर्मी, विद्यार्थी, स्थानीयवासी तथा विभिन्न सरकारी निकायको सहभागिता रहेको थियो।
नेपाली सेनाको देविदत्त गण जुम्लाको नेतृत्वमा सञ्चालन गरिएको अभ्यासमा पहिरो, बाढी, डुबान, भीर तथा नदीमा फसेका व्यक्तिलाई कसरी सुरक्षित रूपमा उद्धार गर्न सकिन्छ भन्ने विषयमा प्रत्यक्ष प्रदर्शन गरिएको थियो। कृत्रिम रूपमा सिर्जना गरिएका विपद्का दृश्यबीच सुरक्षाकर्मीले खोँचमा फसेका व्यक्तिलाई डोरीको सहायताले उद्धार गर्ने, नदीमा फसेकालाई बाहिर निकाल्ने तथा जोखिमयुक्त क्षेत्र पार गराउने अभ्यास गरेका थिए।
अभ्यासमा ‘हाइ एंगल रेस्क्यु’ प्रविधिमार्फत नदीमा फसेका व्यक्तिको उद्धार, पहिरोले पुरिएका नागरिकको खोज तथा उद्धार, डुबानमा परेकालाई पानीबाट बाहिर निकाल्ने र बाढीले बगाएका व्यक्तिलाई सुरक्षित स्थानमा लैजाने अभ्यास गरिएको थियो। साथै रिभर क्रसिङमार्फत जोखिमयुक्त क्षेत्र पार गराउने सीपसमेत प्रदर्शन गरिएको थियो।
देविदत्त गण जुम्लाका गणपति प्रमुख सेनानी धिरज थापाले जुम्ला प्राकृतिक विपद्को उच्च जोखिममा रहेको भन्दै विपद् आउनुअघि नै तयारी आवश्यक रहेको बताए। उनका अनुसार मनसुन सुरु भएपछि मात्र तयारी गर्ने समय नहुने भएकाले समुदायलाई विपद्का बेला कसरी काम गर्ने भन्नेबारे अभ्यस्त बनाउन अभ्यास आयोजना गरिएको हो। उनले विपद् व्यवस्थापन केवल सुरक्षाकर्मीको जिम्मेवारी नभई समुदायको पनि साझा दायित्व भएको उल्लेख गरे।
कार्यक्रममा चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत, उपमेयर रामदेवी खड्का, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी तथा स्थानीय गरी पाँच सयभन्दा बढीको सहभागिता रहेको थियो। मेयर कठायतले विपद्का समयमा नेपाली सेनाले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताए। साथै नगरपालिकाले प्रत्येक वर्ष विपद् व्यवस्थापनका लागि आवश्यक बजेट छुट्याउँदै आएको जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय र जिल्ला विपद् व्यवस्थापन समितिले हालै ‘मनसुन तथा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ अनुमोदन गरिसकेको छ। योजना अनुसार जिल्लाका स्थानीय तहमा राहत सामग्री, तालिमप्राप्त जनशक्ति तथा उद्धार संरचना तयारी अवस्थामा राखिनेछ। स्थानीयका अनुसार यस्तो अभ्यासले समुदायमा आत्मविश्वास बढाउनुका साथै विपद्का बेला समन्वय र तयारीलाई थप प्रभावकारी बनाएको छ।
प्रकाशित: १३ जेष्ठ २०८३ २०:१६ बुधबार





