११ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

बाढी-पहिरोमा फसेका ६८४ नागरिकको सेनाद्वारा उद्धार

नेपाली सेनाले अविरल वर्षासँगै देशका विभिन्न भागमा आएको बाढी, पहिरो तथा डुबान प्रभावित क्षेत्रबाट आज ६८४ जना नागरिकको सकुशल उद्धार गरेको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पर्वत, म्याग्दी, बागलुङ र जाजरकोटका जोखिमयुक्त स्थानहरूबाट हवाई र जमिनी माध्यममार्फत उनीहरूको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्वारमा पहिरोमा फसेका ७८ जनालाई सैनिक हेलिकप्टरमार्फत उद्धार गरी स्थानीय मुक्तिमार्ग माध्यमिक विद्यालयमा सुरक्षित राखिएको छ।

यस्तै, पर्वत, म्याग्दी र बागलुङबाट ६०२ जनालाई जमिनी टोली परिचालन गरेर सुरक्षित स्थानमा सारिएको छ।

उता, जाजरकोटको भेरी नगरपालिका-१३ कुदुस्थित भेरी नदीको टापुमा बाढीका कारण फसेका चार जनालाई सेनाले हेलिकप्टरमार्फत सकुशल उद्धार गरेको छ।

यस्तै, पाल्पाको रामपुर नगरपालिका-४ वडाबानघाटमा कालीगण्डकी नदी बस्तीमा पसेपछि जोखिममा परेका स्थानीयलाई समेत सेनाले सुरक्षित स्थानमा सारेको छ।

उद्धारसँगै सेनाले सडक सञ्जाल टुटेका दुर्गम प्रभावित क्षेत्रमा सैनिक हेलिकप्टरमार्फत ९७९ किलो राहत सामग्री ढुवानी गरेको छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित मुक्तिमार्ग माध्यमिक विद्यालय, बागलुङको तमानखोला गाउँपालिकाको सोलेडाँडा र पर्वतको जलजला गाउँपालिकामा राहत सामग्री पुर्‍याइएको निर्देशनालयले जनाएको छ।

यसैबीच, डडेल्धुराको आलिताल गाउँपालिका-८ भगरियामा पहिरो खसेर अवरुद्ध बनेको जोगबुडा-बुडर सडकखण्ड सेनाको टोलीले पहिरो पन्छाएर पुनः सञ्चालनमा ल्याएको छ।

त्यसैगरी, सम्भावित डुबान रोक्न रौतहटको मौलापुर नगरपालिका-१ मर्यादापुरस्थित लालबकैया नदीमा करिब ८० मिटर बाँध मर्मत गरी मजबुत बनाइएको सेनाले जानकारी दिएको छ।

प्रकाशित: ११ आश्विन २०८३ २१:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App