१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
मुख्य समाचार

जीर्ण घरको बास, गुन्द्रुक-ढिडो गाँस

गौंडा (लमजुङ)- नकाटेको दाह्री। साधारण कमिज। जिन्सको पाइन्ट र सामान्य जुत्ता। बेलायती राजकुमार ह्यारी यही हुलियामा सोमबार लमजुङको गौंडा गाउँमा झुल्किए। दिउँसो पौने ३ बजे हेलिकप्टरबाट भीरकुनामा झरेका उनले सुरुमै गाउँलेको स्वागत ग्रहण गरे। फूलमाला लिएर लाममा बसेका गाउँलेको हातबाट टीका, फूल र खादा ग्रहण गर्दा दुई हात जोडी मुस्कानसहित अभिवादन गरे।

आफूलाई फूलमाला दिन उभिएका साना नानीका सामु उनी टुक्रुक्क बसे र नानीहरू जत्तिकै बनिदिए। वृद्धवृद्धाका सामु भने उनी झुके। अत्यन्तै साधारण रूपमा प्रस्तुत भएका उनले बासका लागि रोजेको मंगली तामाङको घर भूकम्पले चर्किएको छ। त्यहाँ उनका लागि सोमबार दिउँसो साधारण खाटमा नयाँ विस्तारा लगाइएको थियो। घर–आँगन आमा समूहले आइतबारै सरसफाइ गरेको थियो। साँझ ७ बजेपछि उनले मंगलीको घरमा गोर्खा वेलफेयर स्किमको टिमले तयार पारेको नेपाली खाना खाए। राजकुमारलाई नेपाली स्वाद चखाउने भनेर गुन्द्रुक र ढिँडो तयार पारिएको थियो।

ब्रिटिस आर्मीका पूर्व सैनिककी परिवार पाकुली गुरुङलाई भेटेर उनले हालचाल सोधे। बन्दै गरेको उनको घरबारे जिज्ञासा राखे। छुट्टै भान्छा कोठासहितको उनको घर बनेर कहिले सकिन्छ भन्ने उनको सोधाइ थियो। गोर्खा वेलफेयर स्किमले बनाउन लागेको घर दुई महिनापछि तयार हुने सुनेर राजकुमार मुस्कुराए र पाकुलीलाई सोधे, 'गोर्खासँग बिहे गर्दा कस्तो लाग्यो?' पाकुली हाँसिन् मात्रै। लगत्तै उनले स्किमले बनाइरहेको अर्का पूर्व ब्रिटिस आर्मी राजमानको घर अवलोकन गरे। राजमानसँग चाहिँ ह्यारीले लडाइँबारे पनि सोधेका थिए। 'तपाईंसँग खुकुरी छ?' उनको अर्को प्रश्न थियो। राजमानले भने आफूसँग खुकुरी नभएको जवाफ दिए।

भीरकुनाको भेटघाटपछि राजकुमार एक घन्टा पैदल हिँडेर गौंडाको लेउरानी गाउँ पुगेका थिए। पहिला मंगली तामाङसँग भलाकुसारी गरेका राजकुमारले सांस्कृतिक कार्यक्रमका लागि निक्लनुअघि ज्याकेट लगाए, क्याप पहिरिए। नेपाली भाषामा गाइएको सोरठीगीत र नाचसँगै उनले तामाङ अनि गुरुङ गीतमा दिलचस्पी दिए। नाचगान हुँदाहुँदै असिना पानी परेर सबै गाउँले आफू बसेको टेन्टमुनि गुजुमुज्ज हुँदा पनि ह्यारीको अनुहारमा हडबडहाटको कुनै धर्सा देखिएनन्। पानी रहेपछि फेरि उनले नाचगानमै रुचि देखाए र सांस्कृतिक कार्यक्रम नियमित भयो। ६ बजे साँझ फेरि मंगली तामाङकै घर पुगेर राजकुमारले आराम गरे।

सांस्कृतिक कार्यक्रमका दौरान आफूसँग फोटो खिच्न आएका स्थानीयसँग राजकुमार सहज रूपमा प्रस्तुत भए। फोटो खिच्न चाहनेसँग खिचाए। एकैछिन सूर्यास्त पनि हेरे। सांस्कृतिक कार्यक्रमकै सिलसिलामा दुईवटा बाल क्लबका लागि १०/१० हजार रुपैयाँ सहयोग पनि राजकुमारले हस्तान्तरण गरेका थिए।

प्रकाशित: ८ चैत्र २०७२ २१:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App