coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
मुख्य समाचार

राष्ट्रप्रमुख महिला

काठमाडौं- संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी निर्वाचित भएकी छन्। व्यवस्थापिका संसद भवन, नयाँबानेश्वरमा बुधबार भएको मतदानमा भण्डारी कांग्रेस उम्मेदवार कुलबहादुर गुरुङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएकी हुन्।उनी नेपालको इतिहासमै पहिलो राष्ट्रप्रमुख महिलासमेत बनेकी छन्।

गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिमा मधेसी समुदायका तत्कालीन कांग्रेस नेता डा. रामवरण यादव चुनिएका थिए।

कांग्रेस उम्मेदवार गुरुङलाई १ सय १३ मतले पछि पार्दै भण्डारी दोस्रो राष्ट्रपतिमा निर्वाचित भइन्। भण्डारीले बिहीबार पद तथा गोपनीयताको शपथ लिने तय गरिएको छ। राष्ट्रपतिका लागि संसदका दुई ठूला दल कांग्रेस र एमालेले आ–आफ्नातर्फबाट उम्मेदवारी दर्ता गराएको थियो। संसदले सहमतिका लागि दिएको समयसीमाभित्र सहमति नजुटेपछि मंगलबार मतदान गरिएको थियो।

नेपालको संविधानको धारा २९७ को उपधारा (३) र अन्तरिम कार्यविधिको दफा २६ को उपदफा (२) बमोजिम मतदान भएको थियो।

सहमतिका लागि दिइएको समयमा सहमति कायम नभएपछि बहुमतीय प्रक्रिया अघि बढेको हो। बुधबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म भएको मतदानमा संसदमा तत्काल कायम संख्या ५ सय ९७ मध्ये ५ सय ४९ सांसदले मतदान गरेका थिए।

त्यसमध्ये भण्डारीको पक्षमा ३ सय २७ र गुरुङको पक्षमा २ सय १४ मत परेको थियो भने ८ मत बदर भएको थियो भने ४८ सांसद अनुपस्थित रहे।

निर्वाचन अधिकृत तथा संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले मतपरिणाम सभामुख ओनसरी घर्तीलाई हस्तान्तरण गरेका थिए। त्यसपछि बसेको संसद बैठकमा सभामुख घर्तीले मतपरिणाम सार्वजनिक गरेकी थिइन्।

सभामुख घर्तीले तटस्थताका लागि भन्दै मतदान गरिनन् भने कांग्रेसका दुई, एमाओवादीका तीन सांसद अनुपस्थित थिए। बाँकी मधेसवादी दलका सांसद राष्ट्रपति चयनका लागि भएको मतदानमा सहभागी थिएनन्। सद्भावनाकी माधवी रानी साह भने मतदानमा सहभागी भएकी थिइन्। सद्भावनाकै सञ्जय साह निलम्बित छन्।

गोप्य मतदान परिणाम व्यवस्थापिका संसदको बेलुका बसेको बैठकमा घोषणा गरिएको थियो। एमाले उम्मेदवार भण्डारीलाई एमाओवादी, राप्रपा नेपालसहित सत्तारुढ दलका सांसदले मतदान गरेका थिए भने कांग्रेस उम्मेदवार गुरुङलाई कांग्रेससहित केही साना दलका सांसदले मत दिएका थिए।

सभामुख घर्तीले संसदमा तत्काल कायम सदस्य संख्याको बहुमत भण्डारीले प्राप्त गरेको भन्दै निर्वाचित भएको घोषणा गरेकी थिइन्।

'राष्ट्रपति पदका उम्मेदवारमध्ये विद्या भण्डारीले नेपालको संविधानको धारा २०७ को उपधारा ३ बमोजिम तत्काल कायम सदस्य संख्याको बहुमत प्राप्त गर्नुभएकाले विद्यादेवी भण्डारी नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनुभएको घोषणा गर्दछु,' घर्तीले संसदमा मतपरिणाम घोषणा गर्दै भनिन्।

घर्तीले नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई व्यक्तिगत र संसदका तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेकी थिइन्।

निर्वाचित भएपछि भण्डारीले आफ्नो विजय सबै नेपालीको भएको प्रतिक्रिया दिइन्। उनले संविधान लागू हुने क्रम पनि सुरु भएको बताइन्।

'संविधान जारी भएपछि पहिलोचोटि संविधान लागू हुँदै राष्ट्रपतिको निर्वाचन भएको छ,' भण्डारीले पत्रकारसँग भनिन्, 'संसदबाट निर्वाचित भएको छु, सबै नेपालीलाई धन्यवाद। संविधान जारी भएपछि लागू हुने क्रम पनि सुरु भएको छ। सबै नेपालीको विजयको रुपमा मैले लिएको छु। संविधानले सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वतन्त्रताको रक्षा गर्दै समृद्ध नेपालको निर्माणका लागि संविधान अगाडि बढ्नेछ। त्यसमा हामी सबैको भूमिका हुनेछ।'

राष्ट्रपतिमा निर्वाचित भएकोमा भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित निवर्तमान प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले संविधानसभाबाट नेपालको संविधान जारी भएपछिको राष्ट्रपति निर्वाचन संविधान कार्यान्वयन सुरुआत भएको बताए।

'अहिले संक्रमणकालीन व्यवस्थाअनुसार राष्ट्रपति निर्वाचन भएको छ,' उनले भने, 'निर्वाचन लोकतान्त्रिक अभ्यास हो। कसले जित्यो र कसले जितेन महŒवपूर्ण होइन। लोकतान्त्रिक अभ्यासबाट राष्ट्रपति निर्वाचित हुनुभएको छ, संसदको ठूलो बहुमतबाट राष्ट्रपति निर्वाचित हुनुभएको छ। यसले नयाँ इतिहास रचना गरेको छ।'

प्रधानमन्त्री ओलीले गणतन्त्रात्मक प्रणालीमा सभामुख र राष्ट्रपति महिला निर्वाचित हुनु नेपाली समाजको प्रतिबिम्ब आएको बताए।

'नेपालको इतिहासमा गणतन्त्रात्मक प्रणालीअन्तर्गत अहिले दोस्रो राष्ट्रपतिमा महिला निर्वाचित हुनुभएको छ,' उनले भने, 'यसले नेपाली महिला अघि बढ्ने सन्दर्भ, नीतिनिर्माण र शासनमा सहभागिताको आधार हेर्दा सभामुखको विजय र आज राष्ट्रपतिजस्तो देशको प्रमुख पदमा महिला निर्वाचित हुनुभएकाले नेपाली समाज प्रतिबिम्बित गरेको छ। संविधान कार्यान्वयनका सन्दर्भमा यो महŒवपूर्ण पाइला हो। यसले सवै नेपाली खुसी हुनुपर्छ। यो निर्वाचनले हामी सबैलाई खुसी र उत्साही बनाएको छ।'

प्रधानमन्त्री ओलीले भण्डारीसँग राष्ट्रपतिका लागि अनुभव, योग्यता र क्षमता भएको प्रतिक्रियासमेत दिए। 'अनुभव, योग्यता र क्षमता भएको गरिमामय पदको मर्यादा राख्ने हैसियत भएको व्यक्ति हो उहाँ,' ओलीले भने, 'उहाँलाई हार्दिक बधाई भन्न चाहन्छु।'

नेपाली कांग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री सुशील कोइरालाले पनि महिला राष्ट्रपति भएको भन्दै बधाई तथा शुभकामना व्यक्त गरे।

'महिला राष्ट्रपति हुनुभएको छ,' कोइरालाले भने, 'यो अत्यन्त गौरवको कुरा हो। उहाँको सफलताको कामना गर्छु।' कोइरालाले प्रजातन्त्रको सुन्दरता निर्वाचन पनि भएकाले कांग्रेसले सबै पदमा उम्मेदवारी दिएको बताए।

'नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी हो,' कोइरालाले भने, 'प्रजातन्त्रको सुन्दर पक्ष सहमति मात्रै नभई प्रजातान्त्रिक अभ्यास पनि हो भन्ने पुष्टि गर्न लागेका हौं। यसलाई सकारात्मक रुपमा लिएको छु।'

कोइरालाले भण्डारीमाथि जिम्मेवारी थपिएको बताए। 'राष्ट्रपतिले निष्पक्ष भई सबैलाई समान रुपले हेर्नुहुनेछ। उहाँको कार्यकाल सफल होस् शुभकामना व्यक्त गर्दछु।'

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि संविधान कार्यान्वयन सुरुआत भएको प्रतिक्रिया दिँदै सक्षम महिला राष्ट्रपतिमा निर्वाचित हुनु गर्वको कुरा भएको बताए।

'राष्ट्रपतिमा सक्षम महिला विजयी भएको कुराले यो संविधानले सबै उत्पीडित वर्ग समुदायलाई समावेश गराउँछ भन्ने पुष्टि भएको छ,' दाहालले भने, 'संविधानको कार्यान्वयन सुरुआत भएको छ।'

दाहालले यससँगै आफू मधेस आन्दोलनको समस्या समाधानका लागि पनि गम्भीर भएर लागेको बताए। 'मधेस आन्दोलन सम्बोधन गर्ने सवालमा हामी गम्भीर भएर लागेका छौं,' उनले भने, 'समस्या समाधान गरेर उत्साहको वातावरण बनाउनु, समानुपातिक र समावेशी बनाउनु, सिंगो देशलाई उत्साहमा लैजाने र समृद्धिको दिशामा लैजाने प्रक्रियामा छौं, समस्या समाधानका लागि पनि पहल भएको छ। यसलाई आत्मसात गर्दै नेपाली जनताले कठिनाइ केही दिन झेलेर परिवर्तनलाई साथ दिएका छन्।'

उनले कांग्रेस नेतृत्वको सरकार रहेका बेला आफू बाहिर रहेर पनि भूकम्प र संविधान जारी गर्न भूमिका निर्वाह गरेको उल्लेख गर्दै राष्ट्रको समस्या समाधानका लागि कांग्रेसको पनि साथ रहने विश्वास व्यक्त गरे।

प्रकाशित: ११ कार्तिक २०७२ २०:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App