२० मंसिर २०८२ शनिबार
image/svg+xml
अन्तर्वार्ता

‘जेन-जीको मतअनुसार चुनावमा आयाैं’

मध्यमवर्गीय किसान परिवारमा २०२४ फागुन ११ मा रोल्पाको परिवर्तन गाउँपालिका– ३ इरिवाङको केवरीमा जन्मिएका नेत्रविक्रम चन्द ‘विप्लव’ ले २०३९ सालमा स्कुले जीवनमा अखिल छैटौंबाट राजनीतिक यात्रा सुरु गरेका थिए। चार वर्षपछि छैटौंको रोल्पा जिल्ला अध्यक्ष बने। २०५२ फागुन १ बाट सशस्त्र द्वन्द्व थालनी हुँदा उनी पार्टीको ललितपुर सचिव थिए। २०५४ सालमा कर्णाली उपक्षेत्रीय ब्युरो इन्चार्ज भए। उनी अहिले नेपाल कम्युनिस्ट पार्टी माओवादी दल दर्ता गरी चुनावी मैदानमा छन्। प्रस्तुत छ चन्दसँग नागरिक दैनिकका लागि सहकर्मी दिनेश सुवेदीले गरेको संक्षिप्त कुराकानी।

हिजोआज के गर्दै हुनुहुन्छ?

व्यक्तिगतरूपमा खासै केही छैन। राजनीतिक रूपले सर्वपक्षीय अन्तरिम सरकार बनोस् भनेर राष्ट्रपति र प्रधानमन्त्रीसँग छलफल गरिरहेका छौं। यस विषयमा अन्य दलका नेतासँग पनि छलफल चलिराखेको छ।

छलफलबाट अन्तरिम सरकारको सम्भावना देख्नुभयो त?

अझ छलफल गरौं भन्नुभएको छ। हामी राष्ट्रिय महत्वका केही प्रस्तावसहित फेरि भेट्ने तयारीमा छौं।

त्यसो भए फागुन २१ मा निर्वाचनको सम्भावना छैन?

अनुकुल वातावरण बनिसकेको छैन। सबै दलका नेता, सरकार, प्रहरी प्रशासन र मौसम सबै पक्षबाट हेर्दा उपयुक्त देखिँदैन। समस्या आएन भने ढिलोचाँडो चुनावचाहिँ हुन्छ।

हिजोसम्म एकीकृत जनक्रान्ति भन्दै दलीय व्यवस्थाबाट पार लाग्दैन भन्नुहुन्थ्यो, दल दर्ता गरेर संसदीय धारमै आउनुभयो नि?

एकीकृत जनक्रान्तिभित्र चुनाव पनि छ। चुनावी मोर्चालाई नयाँ तरिकाले प्रयोग गर्ने नीति छ । सँगसँगै जनताको संघर्षको भूमिका र दबाबलाई पनि आत्मसात गर्नुपर्छ। हामीले पहिले पनि भनेका थियौं - सदन, सरकार र जनता जोड्ने विषयलाई एकीकृत जनक्रान्तिमा मौलिक तरिकाले लैजान्छौं।

१० वर्षअगाडि रोल्पाको थवाङमा छाडेको माओवाद अब किन चाहियो?

हामीले माओवाद छाडेको हैन। हाम्रो मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओवाद थियो। पार्टीको नामबाट मात्र माओवादी हटाएर नेपाल कम्युनिस्ट पार्टी राखेका हौं। त्यतिबेला माओवादी आन्दोलनमा जस्ता खालका राजनीतिक, आर्थिक, सांस्कृतिक समस्या थिए, त्यससँगसँगै उस्तैउस्तै नाममा रहँदा जनतामा कन्फ्युजन जान्छ भन्ने थियो। अर्को कुरा कम्युनिस्ट आन्दोलनलाई फराकिलो बनाउन नेपाल कम्युनिस्ट पार्टी राखेका हौं।

माओवादी केन्द्र लगभग समाजवादी पार्टीकरण भइसकेको, सिद्धान्तका हिसाबले पनि माओवाद छाडेर माक्सवाद, लेनिनवादमा गयो। नाम पनि माओवादी छाड्यो। चुनाव चिन्ह त्याग्यो। चारैतिर हेर्दा माओवादी भन्ने चिज आन्दोलनबाट विस्थापित हुन खोजेको देखियो तर यो नाम नेपालको क्रान्तिकारी आन्दोलन, कम्युनिस्ट आन्दोलन, जनताको विद्रोहसँग एकदमै घनिष्ट ढंगले जोडिएको हुँदा त्यो इतिहासको रक्षा आवश्यक देखियो।

अर्कातिर माओवाद हाम्रो सिद्धान्तमा रहेकाले आवश्यक थियो। निर्वाचन आयोगमा पनि माओवादी पार्टी नरहेको र नेकपा भन्ने पार्टी धेरै भएकाले जनतामा जान पहिचान सजिलो होस् भनेर नेकपा माओवादी राखेका थियौं।

सैद्धान्तिकभन्दा पनि मतदाता फकाउन माओवादी नाम राख्नुभएको हो?

हामी जनतामा माओवादी भनेरै परिचित छौं। यसै पनि स्थापित थियौं। नेकपा मात्र राख्दा पनि हामी माओवादीबाटै परिचित छौं। जनताले विप्लव माओवादी भनेर चिन्नुहुन्थ्यो। अब नाम पनि हुँदा जनतामा जान झनै सजिलो भयो र अपनत्व भएको पार्टी बन्यो।

नेपाली कम्युनिस्टहरू सिद्धान्तभन्दा पनि पद र प्रतिष्ठाका लागि किन चिराचिरा पर्छन्?

पदका लागि हो भने त हामीले यतिका समयसम्म आन्दोलन गर्नुपर्ने नै थिएन। सिँगै माओवादी पार्टी नै पदमा थियो । कोही मन्त्री, कोही सांसद थियौं। जिम्मेवार ठाउँमै थियौं तर आन्दोलनको जिम्मेवारी, जनताप्रति उत्तरदायित्व र परिवर्तनकारी आन्दोलनको रक्षा गर्ने विषय गहन भएकाले पनि कम्युनिस्ट आन्दोलनमा विभिन्न विभाजन आएको हो तर यसपटकको विभाजन औचित्यपूर्ण छ।

हाम्रो पार्टीको हकमा वैचारिक मान्यता, सांगठनिक अनुशासन, सांस्कृतिक र सामाजिक मान्यताका हिसाबले फरक हो। हाम्रो पार्टीको औचित्य साबित भइसकेको छ।

बन्दुक समाएको हातमा गुलाफको फूल (चुनाव चिन्ह) अटाउला?

बन्दुक र फूल सँगसँगै हुन्छन्। जसले फूलको सौन्दर्य बुझेको हुन्छ उसले बन्दुकको महत्व पनि बुझेको हुन्छ। बन्दुकको महत्व बुझ्नेले फूलको सौन्दर्य पनि बुझेको हुन्छ। जनतालाई समस्या पर्दा, देशलाई अप्ठ्यारो पर्दा जुनसुकै जोखिम मोल्न तयार हुने विद्रोहको कुरा अधिकार हो। श्रमिक वर्गीय पार्टी भएकाले श्रमसँग सौन्दर्य जोडिएको हुन्छ।

गुलाफको फूलमा किन दिने भोट? आधार के छ?

लामो राजनीतिक यात्रा गरिसकेका हामीले नेकपा माओवादी फरक हो भन्ने कुरा जनतामा स्थापित गरिसकेका छौं। देशैभरका जनताले माया, सद्भाव, भरोसा गर्नुहुन्छ। अरूभन्दा यो फरक पार्टी हो भन्ने बुझ्नुभएको छ। देशको स्वाधीनताका पक्षमा लडाइँ गरेको हिसाबले उहाँहरूलाई स्पष्ट भएको छ। सांस्कृतिक अनुशासन, मेहनत, उत्पादन गर्न सिकाएकाले पनि जनतासँगको सहकार्य आदिका कारण नेकपा माओवादीलाई जनताको पार्टीका रूपमा बुझ्नुपर्छ।

२०६४ सालमा जनताले सर्वशक्तिमान बनाएका थिए, तर आत्मसात गर्न किन सक्नुभएन त?

त्यतिबेला हाम्रो पार्टीले जनताको अपार माया र समर्थन पाएको तर त्यसलाई आत्मसात गर्न सकेन। यसपछि पार्टी कमजोर हुँदै गयो। मेहनत, अनुशासन, आदर्श व्यवहार छाड्दै जाँदा अविश्वास र आशंका पैदा भए। त्यसलाई चिर्दैचिर्दै पार्टी यहाँसम्म आइपुगेको छ। फेरि एकपटक माओवादीलाई साथ दिनुपर्छ भन्ने वातावरण बनेको देख्दै छु। त्यसलाई हामी सम्बोधन गर्ने छौं। यसले हामी जनताको विश्वास जितेको पार्टी हुने छौं।

माओवादी बोकेर हिँडिरहँदा संक्रमणकालीन न्याय कहाँ छ?

सहिद परिवार, द्वन्द्वपीडित, जनयुद्धका सहयोद्धासँग प्रत्यक्ष साक्षात्कार गर्ने हामी नै हौं। हामीले जटिलताका बिच सीमित स्रोतसाधन प्रयोग गरेर दर्जन बढी सहिद परिवारका घर बनाएका छौं। नेकपा माओवादी आफैं मेहनत गरेर अगाडि बढ्यो। हामी द्वन्द्वपीडितका सुखदुःखसँग जोडिएका छौं। पीडितका लेखाजोखा हामीसँग छ। हामीलाई सेवा गर्नुभएको छ। क्रान्तिमा साथ दिनुभएको छ। हामी त्यसलाई सम्बोधन गर्ने छौं।

सशस्त्र द्वन्द्वमा यौन हिंसामा परेका तीन हजार बढीको उजुरी आयोगमा छ, तिनको खैखबर किन गर्नुभएन त?

यो एउटा सामाजिक समस्या पनि हो। त्यतिबेला यस्ता घटना भए अझै धेरै केस आउन सकेको छैन। आउने वातावरण बनेको छैन। यस विषयका पक्षमा हामी खुलेर बोलिरहेका छौं। अनुकूल वातावरण बनेपछि सबै खुल्दै जान्छ।

आन्दोलनको अपनत्व विप्लवले लिन खोजेको आरोप छ नि?

यो परिस्थिति र समयको कुरा हो। देशैभर जाँदा र नयाँ पुस्तासम्म पुग्दा अब जनताका मतबाट पनि आउनुपर्‍यो भन्ने सुझाव सर्वत्र पायौं। सबै दल विचलित भएको समयमा नेकपा माओवादीले आउनुपर्‍यो भन्ने आम बुझाइ छ।

विद्रोहको मात्रै कुरा गरेर मध्यमवर्गीय, बुद्धिजीवी, सहरिया साथीभाइ, उद्योगी–व्यवसायीको भूमिका नदेखिने भएकाले त्यसलाई पनि सम्बोधन गर्ने गरी आउनुपर्‍यो भन्ने अर्काे सुझाव आयो। जेनजीको विश्वास हामीसँग बढी भएको पाएकाले दल दर्ता गरेर आउनु उपयुक्त ठान्यौं।

अर्कातिर मुलुक संकटमा छ। सम्भावनाको संघारमा छ। जनतालाई बुझाउन सक्यौं भने संकटको निकास हुन्छ। यसका लागि अग्रगामी शक्तिका रूपमा आउनुपर्छ। निर्वाचनमा षड्यन्त्र भयो भने जनता आन्दोलनकारीका रूपमा आउनुपर्छ।

प्रकाशित: ८ मंसिर २०८२ १०:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App