नेपाली कांग्रेस यतिबेला आफ्नो महाधिवेशन आयोजनाको चटारोमा छ। निर्वाचन अघि कि पछि भन्ने विवादले यसलाई अप्ठ्यारो परिरहेको छ। दलका नेताहरू यसका निम्ति सक्रियतापूर्वक लागेका छन्। यही मौका पारेर कांग्रेस नेता डा. शेखर कोइरालासँग नागरिक फ्रन्टलाइनका लागि प्रधान सम्पादक गुणराज लुइँटेलले लामो कुराकानी गरेका छन्। प्रस्तुत छ– कांग्रेसको महाधिवेशन तयारी, मुलुकको अवस्था र निर्वाचनमा यसको उपस्थितिमाथि गरिएको संवादको सम्पादित अंश।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। मुख्य अजेन्डा के हुन्?
नेपाली कांग्रेसको अधिवेशनकै बारेमा कुरा हुन्छ। अनुशासन समितिले दिएको प्रतिवेदनबारे कुरा हुन्छ। संसदीय समिति बनाउने यी कुरामा छलफल हुन्छ। जस्तो, क्रियाशील सदस्यता नवीकरणको काम मोटामोटी सकिएको छ। आज (बुधबार) राति ९ बजे बन्द गर्ने भनेको छ । त्यसपछि नयाँ क्रियाशीलको पनि एउटा मिति दिएर अगाडि बढ्छौं। सँगसँगै वडाको अधिवेशन पनि अलिकति सार्ने हो कि भन्ने छलफल मात्रै भएको थियो।
क्रियाशील सदस्यता वितरणमा किन समस्या आउँदो रहेछ?
हामीहरूका क्रियाशील नै हुन् मुख्य। क्रियाशीलले क्षेत्रीय प्रतिनिधि बनाउँछन्। क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि बनाउँछन्। महाधिवेशन प्रतिनिधिले महाधिवेशनमा भोट हाल्छन्। त्यसकारण हाम्रो सबभन्दा महत्त्वपूर्ण कार्य नै क्रियाशील सदस्यता वितरण हो।
महाधिवेशनका लागि तोकिएको पूर्वनिर्धारित मिति तलमाथि हुने सम्भावना छैन?
अलिअलि होला। त्यस्तो धेरै फरक पर्दैन। एउटै कुरा के हो भने आमनिर्वाचन अगाडि हामीहरू महाधिवेशन गर्छौं।
यो तपाईंको धारणा हो कि समग्र पार्टी तयार छ?
पार्टी नै तयार छ।
यो महाधिवेशनबाट तपाईंलाई सभापतिका रूपमा देख्न पाइन्छ?
अहिले समय छ। पहिले क्रियाशीलको काम सकियोस्। वडाको सकियोस्। त्यसपछि निर्णय हुन्छ। ठिकै छ नि के भयो र।
आकांक्षा त व्यक्त गरिराख्नुभएको छ?
त्यो स्वाभाविक हो। अघिल्लो पल्ट पनि कोसिस गरिएको हो। सकिएन। तपस्या पुगेन भन्छु। मैले गरेको मेहनत पुगेन। त्यति त हो।
यसपालिको मेहनत चाहिँ राम्रै छ?
अहिलेसम्म राम्रै लागेको छ मलाई त।
अहिलेसम्मका तपाईंका सहयात्री नै विरोधमा लागे वा तपाईंहरूको क्याम्प विभाजित भयो भन्ने खालका समाचारहरू आइराखेका छन्। त्यसमा कति सत्यता छ?
यो नेपाली कांग्रेसभित्रको अधिवेशन हो। कोही जान्छन्, कोही आउँछन्। त्यो क्रम चलिरहन्छ। यो पहिलेदेखिकै हो। गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला) को पालामा पनि थियो। सुशीलदा (सुशील कोइराला) को पालामा पनि थियो। शेरबहादुरजी (शेरबहादुर देउवा) को पालामा पनि थियो। रामचन्द्रजी (रामचन्द्र पौडेल) र शेरबहादुरजी लड्दा पनि त्यो समस्या आयो। पछि पनि आयो । कोही आउँछ, कोही जान्छ, यो चलिरहन्छ। यसलाई अन्यथा लिन हुँदैन।
तपाईंकै क्याम्पमा रहेका महामन्त्री गगन थापा तपाईंसँग प्रतिस्पर्धा गर्ने तयारीमा छन्।
शेरबहादुरजीका साथीहरू पनि हामीसँग आउनुहोला। कोही आउनुहोला, कोही जानुहोला तर अहिले त्यस्तो नै भनेर केही निर्णय भएको छैन।
तपाईंको दौडधुप यही व्यवस्थापकीय काममै चलिरहेको छ?
हो। त्यति मात्रै होइन। समानुपातिकको सूची तयार गर्नु छ। राष्ट्रियसभाको चुनावका लागि साथीहरू आएका छन्। दिनभरि फुर्सत नै दिँदैन।
यसपालिको महाधिवेशन अघिल्लो वरिष्ठ पुस्ता र पछिल्लो युवा पुस्ताबिचको पनि प्रतिस्पर्धा हो?
म त्यसरी हेर्दिनँ। उमेरगत हिसाबले म हेर्दिनँ। त्यसले खासै फरक पार्दैन।
जेनजी आन्दोलन छाडी पुस्तान्तरण र हस्तान्तरणजस्ता कुराहरू जबरजस्त रूपमा आइरहेका छन्।
हस्तान्तरणका कुरा हामी गरिरहन्छौं तर युवा केलाई भन्ने? उमेरले मात्रै युवा हुने हो कि विचार र कामले पनि युवा हुने हो? त्यो सबै कुरा हेर्छ नि त मान्छेले। ती कुरा साथीहरूले हेर्नुहुन्छ। फेरि नेपाली कांग्रेस तृणमूल तहबाटै भोट हाल्ने त होइन। महाधिवेशन प्रतिनिधिले भोट हाल्ने हो। महाधिवेशन प्रतिनिधि त परिपक्व नै हुन्छन्।
कांग्रेसभित्रका चर्चित युवाहरू भनिएका दुई जनामा मन्त्री गगन थापा र विश्वप्रकाश शर्मा। त्यसपछाडि अर्का युवा नेता प्रदीप पौडेल। उहाँहरू सबै तपाईंको पक्षमा नरहे पनि खासै फरक पर्दैन भन्ने आँकलन गर्नुभएको हो?
गत अधिवेशनमा प्रदीप पौडेल पनि मेरो पक्षमा हुनुहुन्नथ्यो। विश्वप्रकाश पनि मेरो पक्षमा हुनुहुन्नथ्यो। त्यो किन चिन्ता गर्ने? कांग्रेसभित्रको अधिवेशन हो, यसमा धेरै चिन्ता गरेर हिँडिरहनुपर्ने आवश्यकता छैन। हामीले आफ्नो काम गरिरहनुपर्यो। मेहनत गर्नुपर्यो।
थुप्रै जनाले सभापति बन्ने आकांक्षा राखेको सुनिन्छ। कसरी मिलाउनुहुन्छ?
पछिल्लो पटक (१४औं महाधिवेशन) मा पनि पाँच जना उठेका हौं। शेरबहादुरजी, म, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ उठेको हो नि। कांग्रेसको सभापति बन्न ५० प्रतिशत मत ल्याउनैपर्छ। आएन भने दोस्रो चरणमा जान्छ। त्यसकारण जति जना उठे पनि के फरक पर्छ?
प्यानल बनाएरै जानुहुन्छ?
अलिअलि प्यानल बन्छ। कति जना प्यानलमा बस्न चाहनु हुन्न। राम्रै साथीहरू पनि हुनुहुन्छ। उहाँहरू पनि जितेर आउन सक्नुहुन्छ। आखिर कांग्रेसलाई कसरी योगदान दिने हो भन्ने नै हो। प्यानल नै ठ्याक्क बनाएर पनि नहुने रहेछ।
तपाईंको प्यानलका सम्भावित मान्छेहरू तय भइसके?
गर्दै छु। अहिले समय छ। मैले योजना गरिराखेको छु।
वर्तमान सभापति शेरबहादुर देउवाको सहयोगबारे केही कुरा भइरहेको छ?
त्यस्तो केही सोचेको छैन। पहिले आफू बलियो भएपछि उहाँहरूले सोच्नुहुन्छ। आफू बलियो हुनुपर्यो। मलाई गर्दिनुस् भन्नुभन्दा आफू बलियो भए उहाँले आफैं सहयोग गर्नुहोला
नि। कांग्रेसको सभापति जित्न शेरबहादुर देउवाको सद्भाव चाहिन्छ भन्ने पनि छ नि?
भन्छन् मान्छेहरू।
त्यो लिन तपाईंले कोसिस गर्नुभएको छैन?
अहिले त्यस्तो कोसिस पनि गरेको छैन तर समय आउला तर अहिले कोसिस गरिसकेको छैन।
कांग्रेस नेतृत्वमा फेरि कोइराला परिवारकै सदस्यमा आउनुपर्छ भन्ने पनि हो?
त्यो पनि म भन्दिनँ। कोइराला परिवार विरासतका हिसाबले भन्नुभयो होला। त्यो त्यति जरुरी होइन तर काम गरेर अगाडि आउने हो।
अघिल्लो महाधिवेशनमा कोइराला परिवारबाटै असहयोग भएको थियो। यसपालि एक ढिक्कै हुनुहुन्छ?
यसपालि सहयोग हुन्छ। त्यो व्यवस्थापन पनि भएको छ। मैले गर्ने कोसिसहरू सबै गरिराखेको छु तर अहिले क्रियाशील वितरण हुँदै छ। क्षेत्रीय प्रतिनिधि आएपछि अगाडि बढ्छु तर मैले आफ्नो हरेक मोर्चामा कोसिस गर्दै छु।
कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी कांग्रेस नेत्री पनि आरजु देउवाको व्यवस्थापन जसले गर्छ उही सभापति बन्छ भन्ने एउटा खालको विश्लेषण छ।
त्यो बनाइएको छ। त्यसलाई कसरी लिन्छन् मान्छेहरू, साथीहरूले थाहा छैन। यो भाष्य नै हो। यो पनि एउटा पक्ष हो। यो स्वाभाविक हो। शेरबहादुरजीको उत्तराधिकारी पनि त कोही छ। उहाँले खोज्या पनि होला। केही होला। त्यसलाई हामीले अन्यथा भन्नुभएन तर अहिले नै केही छ भन्ने कुरा चाहिँ होइन।
सरकार फागुन २१ गते निर्वाचनको तयारीमा देखिन्छ। त्यसमा विभिन्न खालका छलफलहरू पनि चलिराखेका छन्। तपाईंको बुझाइमा त्यसका लागि वातावरण कति बन्दै छ?
कांग्रेसको केन्द्रीय समितिले २१ फागुनको निर्वाचनमा भाग लिने निर्णय गरेको छ तर शान्ति सुरक्षा सरकारले दिनुपर्यो, लुटिएका हतियारहरू फर्काउनुपर्यो। करिब पाँच हजार कैदीहरू अहिले पनि फरार छन्। तिनलाई वापस ल्याउनुपर्यो। त्यसमा ‘सार्प सुटर्स’हरू पनि छन्।
पुलिसको मनोबल खस्किएको छ। तिनीहरूको मनोबललाई उच्च पार्ने काम गर्नुपर्यो। सरकारले ती कामहरू गरेको मैले देखिराखेको छैन। कहिलेकाहीं त गृह मन्त्रीजीको अभिव्यक्ति पनि त्यस्तै देखिन्छ। अलिकति वितृष्णा फैलाएको जस्तो पनि देखिन्छ । सँगसँगै उहाँले भदौ २४ गते भएको घटनालाई उदार हिसाबले हेरेको देखिन्छ। पुलिसहरूले पनि तिनलाई छाडेको बुझिन्छ। २३ कोलाई कडा र २४ कोलाई नरम देखिन्छ। त्यसले पनि उहाँहरूमा दलप्रति वितृष्णा छ। उहाँहरूले नेपाललाई शान्त राखेर चुनाव गराउन चाहनुहुन्छ भने त्यो वितृष्णा त्याग्नुपर्यो।
तपाईं शान्ति सुरक्षाप्रति त्यति आश्वस्त हुनु हुन्न?
म मात्रै होइन। कोही पनि छैन। तपाईं हुनुहुन्छ? मलाई लाग्दैन तपाईं हुनुहुन्छ भनेर। एउटा आम व्यक्ति छैन। अहिले आफ्नो गृहजिल्ला पुगेर आएँ। त्यहाँ कहींकतै चुनावको वातावरण छैन। नेपाली कांग्रेसको महाधिवेशनले अलिअलि चलायमान भएको छ तर कुनै पार्टीको गतिविधि कतै देखिँदैन। अनि चुनाव चुनाव भनेर हामी भनिराखेका छौं।
चुनाव हुनेमा विश्वस्त हुनु हुन्न?
चुनाव हुनेमा विश्वस्त हुनुपर्यो। हामी त हुनुपर्छ भनेर हिँड्दै छौं।
राष्ट्रपतिको रोहवरमा तीन पूर्वप्रधानमन्त्रीसँग प्रधानमन्त्री सुशीला कार्कीले छलफल पनि गर्नुभएको छ। त्यसले पनि चुनावको वातावरण बन्यो होला नि?
त्यसले वातावरण त अवश्य पनि बनाएको छ। यही कुरा छिटो गर्नुस् भनेर हामीले त पटक पटक भनेकै हो। अब प्रधानमन्त्रीजीले आफैं पनि उहाँहरूलाई बोलाएर कुरा गर्नुपर्यो। वार्तामा के भयो, भित्री हामीलाई थाहा छैन तर पहल भएको कुरा राम्रो छ। यस्तो पहल निरन्तर भइरहनुपर्ने हुन्छ। दलहरूको विश्वास लिनुपर्छ। केही उपाय छैन उहाँहरूको।
दलहरूको गतिविधि चुनाव लक्षित देख्नुहुन्छ?
मैले देखेको छैन। अब सुरु हुन्छ कि! एमालेको अधिवेशन भरखर सकियो । हाम्रो अधिवेशन हुनेवाला छ। कांग्रेसको हकमा अधिवेशनले पनि चुनावको वातावरण बनाउन
सक्छ। निर्वाचनमा जाने भने पनि कांग्रेस पछिल्लो चरणमा प्रतिनिधिसभा पुनस्र्थापनाको कुरातिर लागेको छ। किन यस्तो?
कांग्रेस लागेको छैन । फागुन २१ मा चुनाव हुन्छ भन्नेमा हामी अडिग छौं तर नेपाली कांग्रेस एउटा उदार पार्टी भएकाले व्यक्तिको स्वतन्त्रतालाई पनि हामीले ध्यान दिन्छौं। हामी अरूजस्तो ‘रेजिमेन्टेड’ (नियन्त्रित) पार्टी होइन, यो गर भनेर गरिहाल्ने। उहाँहरू स्वतन्त्र रूपमा आफ्नो अधिकारका लागि जानुभएको हो।
कांग्रेसका तर्फबाट बहुमत संख्या पुर्याएरै सर्वोच्च अदालतमा पूरक निवेदन लैजाने पनि तयारी देखिन्छ।
२१ फागुनमा चुनाव भएन भने के हुन्छ? त्यो पनि सोचौं।
के हुन्छ? २१ गते राति प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ?
पुनर्स्थापना कसरी हुन्छ? केही न केही त रिट त पार्नु पर्ला। व्यक्तिगत स्वतन्त्रताको हिसाबले उहाँहरूले हाल्नुभयो। त्यसमा मलाई केही भन्नुछैन तर भएन भने के हुने हो? भन्ने प्रश्न त छ। पुनस्र्थापना म त भन्दिनँ। अहिले पनि २१ फागुनको चुनावै भन्छु तर चुनाव नहुने अवस्था आए पुनस्र्थापनन एउटा बाटो त हो। त्यही हो बाटो त भन्दिनँ तर पुनर्स्थापनामा पनि एउटा समस्या देख्छु।
पुनर्स्थापना नगरेर चुनावमा जाने हो भने केका लागि चुनाव भन्ने प्रश्न छ कि छैन? कांग्रेस र एमालेको सरकारलाई ढाल्न र ७६ जनालाई हताहत गर्नका लागि मात्रै यो बनेको हो त? २०८४ को चुनावलाई २०८२ मा ल्याउने हो त? होइन होला नि। त्यसको केही ‘उद्देश्य’ होला नि। त्यसैले मैले भन्ने गरेको छु– यो सर्कल हो। २३–२४ गते भएको जेनजी आन्दोलनको यो आधा सर्कल भयो, पूरा सर्कल हुन बाँकी छ। त्यो के हो ‘आइ डन्ट नो (मलाई थाहा छैन)।’
२३ गतेको त सरकारको दमन, बर्बरता भन्नुस्। कलिला बच्चा, केटाकेटीहरू हताहत भयो। तर २४ गतेको घटना। नेपालीको क्षमता छ त्यो? ६ घण्टामा देशभरि एकैचोटि बाल्ने क्षमता नेपालीको छ? जेनजीको छ? मलाई लाग्दैन।
को आए जस्तो लाग्छ?
त्यो त खोजी गर्नुपर्यो। खोज, रिसर्च गर्नुपर्यो। काठमाडौं मात्रै होइन, नेपालभर भएको छ। त्यो पनि लोकतान्त्रिक संस्थाहरू राष्ट्रपति भवन, सर्वोच्च अदालत, सिंहदरबार, संसद भवन जलेको छ र देशभरि त्यही ‘फ्रिक्वेन्सी’मा चारैतिर छ। किसुनजीको बोडेगाउँ आश्रम किन जलाइयो? गणेशमान सिंहजीको चाक्सीबारी किन जलाइयो? हामी एकदम सामान्य तरिकाले लिइराखेका छौं। मलाई लाग्दैन यो यति सामान्य छैन। हामीले नदेखेको पाटो अरू केही होला जस्तो लाग्छ। म भन्न सक्दिनँ। हामीले सबै हेर्नुपर्यो। सार्क देशहरूमा के भइरहेको छ, बाहिर विदेशमा के भइराखेको छ, हाम्रो छिमेकी बंगलादेशमा के भइराखेको छ, यो सबै विचार गर्नुपर्यो। हामीले अब सोच्नुपर्यो।
४६ सालको जनआन्दोलन, ६२/६३ को जनआन्दोलनपछाडि जसरी शासनसत्ता सञ्चालन भइरहेको थियो। लोकतन्त्र भनेर मुलुक अगाडि बढिराखेको थियो। त्यो मन नपराउने व्यक्तिहरूबाट भयो कि वा त्यसलाई सुधार्न भयो?
जेनजीले उठाएका कुराहरू जायज हुन्। त्यसमा कुनै शंकै भएन। भ्रष्टाचार, सुशासन, पारदर्शिता, जबाफदेहिता, उत्तरदायित्वका कुराहरू त जायज हुन्। त्यसमा सरकारले झन् सामाजिक सञ्जाल बन्द गर्यो। आजकल सामाजिक सञ्जाल जीवनरेखा नै भइसकेको छ। त्यसैबाट उनीहरूले कमाइ पनि गरिराखेका छन्। त्यो नै बन्द गरेपछि कस्तो अवस्था भयो होला? त्यो उनीहरूले उठाएका कुरा, मुद्दा ठिक हो तर त्यसपछिका घटना हामीले गम्भीर रूपमा लिनुपर्छ।
जेनजी आन्दोलनको केही दिनमा कांग्रेस सभापति शेरबहादुर देउवा र उहाँकी श्रीमती उपचारका लागि सिंगापुर जानुभयो। फेरि फर्केपछाडि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटको शृंखला लगातार चलिराखेको छ र त्यो सँगसँगै केही राजनीतिक घटनाक्रम पनि भइराखेका छन्। ती घटनाहरू कांग्रेस र एमालेबिचकै योजनाअनुसार भइरहेका हुन्?
ओलीजीलाई भेट्नुभएको छ। प्रचण्डजीलाई पनि भेट्नुभयो। सूचना त लिनुपर्यो नि। हाम्रै नेतृत्वका साथीहरूले पनि अरू पार्टीका नेताहरूलाई पनि भेटिरहनुभएको छ । कुरा भइराखेको छ। कुरा गरिराखेका छौं। किनभने हामीले सोच्नुपर्यो। म व्यक्तिभन्दा पनि राष्ट्र बाँच्छ कि बाँच्दैन? ‘नेसन फस्र्ट’ भनीकन हामीले हेर्नुपर्यो। राष्ट्र नै पहिलो हो। राष्ट्रलाई पहिलो मानेर हिँड्यौं भने पक्कै पनि गन्तव्यमा पुग्न सक्छौं। नत्र गाह्रो छ।
पछिल्ला घटनाक्रमले नेपालको अस्तित्वमाथि नै धावा बोल्ने अवस्था आएको हो?
यसो हेर्दा त्यो बुझिन्छ तर अनुसन्धान केही भएको छैन। हामी एकदम सामान्य तरिकाले मात्रै हेरिरहेका छौं तर त्यसको सांकेतिक अर्थ, त्यसले नेपाललाई पार्ने दूरगामी प्रभाव, तत्काल पर्ने प्रभाव केके हुन्छ? अनुसन्धान हुनुपर्छ। अहिले हामी एकदम गम्भीर अवस्थामा छौं।
कोइराला निवासले के गल्ती गरेको थियो? पञ्चायतका बेलामा पनि कोइराला निवासलाई त केही गरिएन। त्यो एक सय २५ वर्ष पुरानो घर हो । के गल्ती गरेको थियो? छानीछानी योजनाअनुसार जलाएको देखियो। किसुनजीको आश्रम त सरकारी हो। जोसुकै हुन्, तिनीहरू केही उपलब्धि हासिल गर्न यो गरिराखेका छन् र नेपालको अस्तित्वमा खेलबाड गरेको जस्तो देखिन्छ। यसको अनुसन्धान राज्यकै तहबाट गर्नुपर्छ तर राज्यको जासुसी बडा कमजोर छ। २३ गतेको घटनाबाटै बुझिन्छ राज्यको जासुसी कति कमजोर छ भन्ने ।
मलाई थाहा छ, कोइराला निवास कसले जलाएको भनेर। मान्छे चिन्छु। तर म भन्दिनँ किनभने अब जलिसक्यो। त्यो सकियो।
तर मान्छेले थाहा पाउनुपर्ला नि?
त्यो भनेर के फाइदा? यो सरकारले या अर्को सरकारले उसलाई समातेर दुई दिनमा छोड्ने हो भने केही अर्थ भएन। उनीहरूबाट हामीले निकाल्न सक्नुपर्छ - कसले गरेको हो? कसको उक्साहटमा भयो? भन्ने कुरा। गरेको त नेपालीले हो। त्यसमा त केही शंका छैन।
नेपालले अपनाएको उदार लोकतन्त्र अफापसिद्ध हुन खोजेको हो?
उदार लोकतन्त्र अफाप सिद्ध हुन खोजेको पनि हुन सक्छ। हामीले अलिकति टाढाका देशहरू श्रीलंका र बंगलादेशलाई पनि हेर्नुपर्यो। त्यहाँ के भइरहेको छ। नेपालमा त्यस्तो घटना नदोहोरियोस् भन्ने न हो।
चुनावमा कांग्रेस एक्लै लड्छ कि सहकार्य वा गठबन्धन नै गर्छ? के छ योजना?
अहिले कांग्रेसले निर्णय गरेको छैन। मेरो व्यक्तिगत जवाफ हामी एक्लै लड्नुपर्छ। सबै दल एक्ला एक्लै लडौं। निर्वाचन प्रणालीले हामीलाई कोही न कोहीसित, कहीं न कहीं मिल्नैपर्छ। त्यो मिल्ने क्रम आउँछ फेरि।
तर एमालेसँगको सहकार्य वा निकटता अलि घनीभूत भएकोजस्तो देखिन्छ। के हो?
शेरबहादुरजी र ओलीजीको कारणले कांग्रेस र एमाले नजिक भएको जस्तो हो। शेरबहादुरजीको स्वभाव पनि हो। पहिले प्रचण्डजीसित हुनुहुन्थ्यो। त्यो बेला उहाँभन्दा दायाँबायाँ हेर्नुहुन्नथ्यो। ओलीजीसित गफै गर्नुहुन्नथ्यो। त्यस्तै हो अहिले। उहाँ एउटा विश्वासिलो साझेदार हो।
तपाईं सभापति हुनुभयो भने केही फरक पार्छ?
कार्यशैली त परिवर्तन हुन्छ। हामीहरू एक्लै चुनाव लड्नुपर्छ। एक्लै चुनाव लडेर हामीले गठबन्धन गर्नुपर्छ। सरकार बनाएर अगाडि जानुपर्छ। अहिले रास्वपा छ, नयाँ पार्टीहरू खुलेका छन्। उनीहरूको पनि हेरौं। अब एमाले, माओवादी सबै कसरी जान्छन्। त्यो अहिले नै भन्न सक्ने अवस्था छैन। चुनावको नतिजाले भन्ने हो।
यस्तो अवस्थामा कांग्रेसका लागि निर्वाचनको परिणाम कस्तो होला?
बहुमत त कुनै पनि पार्टीको आउँदैन। यो निर्वाचन प्रणालीले कहिल्यै आउँदैन। निर्वाचन प्रणाली फेर्नुभएन भने कुनै पनि दलको बहुमत कहिल्यै पनि आउँदैन। मिलीजुली नै गर्नुपर्छ । पहिलो दल त अहिले पनि कांग्रेस नै छ, अब पछि पनि बन्न सक्छ।
चुनावमा युवा कतिको आउन पाउँछन्?
यसमा मेरो सोचाइ अलि भिन्दै छ। सकिन्छ, सकिँदैन थाहा छैन। मैले कोभिडको बेलादेखि नै एउटा कुरा भनिराखेको रहेछु । कोभिडको बेलाका पेपर डकुमेन्ट खोलेर पढ्दा मैले के भन्या रहेछु भने स्थानीय चुनावमा ४० प्रतिशत, प्रदेशमा ३० प्रतिशत र केन्द्रमा २० प्रतिशत युवालाई दिऊँ। युवा भन्नाले ४० वर्षमुनिका सबै। यो कुरा चारैतिर भनेको रहेछु। त्यसलाई पालना गर्न सक्नुपर्यो हामीले। कति कार्यान्वयन हुन्छ, हेरौं यसैचोटि।
जेनजी आन्दोलनपछाडि बनेको यो सरकारप्रतिको तपाईंको धारणा के हो?
ठिकै छ भन्छु म। किनभने उहाँहरूले गरेका निर्णयहरू सबै ठिक छन् भनेर पनि भएन। महान्यायाधिवक्ता (सविता भण्डारी) कै विषय छ। राजदूतहरू फिर्तीको विषय छ। अरू धेरै पनि विषय छन्। एउटा कुन चाहिँ विदेशी आइएनजिओलाई कर छुटको कुरा छ। धेरै कुरा छन्। त्यसमा हामीहरू बोलिराखेका छैनौं। यस्ता कुरा सार्वजनिक हुनुपर्यो। यो सरकारले गलत काम गर्दै छ भनेर। निर्वाचनमा ध्यान दिएको छैन। गृहमन्त्रीलगायत अन्य मन्त्रीज्यूहरूले दलहरूप्रति वितृष्णा फैलाइरहनुभएको छ। उहाँहरूको त जनादेश नै चुनाव हो । चुनावभन्दा बाहिर उहाँहरूले जान पाउनु हुन्न।
त्यति मात्रै होइन, राष्ट्रपतिजीले रोकेको अध्यादेश किन पठाउनुभयो? के थियो त्यो अध्यादेशमा? पहिले पनि रोक्या थिए। ओलीजीको पालाको ठ्याक्कै त्यही संवैधानिक नियुक्तिको अध्यादेश ल्याउनुभयो। किन ल्याउनुभयो? आफ्ना मान्छे हाल्न त होला नि।
यो त दलको सरकार होइन। यसमा आफ्नो भन्ने त के हुन्छ?
तपाईंलाई लाग्छ। उनीहरू त आफ्नो मान्छे हाल्छन् नि। हामीलाई चाहिँ उनीहरूले भन्ने। हामीले त्यो बेला पनि विरोध गरेका थियौं। ओलीजीले ल्याएको अध्यादेशमा पनि विरोध गरेका थियौं। जेनजीले अहिलेसम्म विरोध गरेको छैन। जो आफूलाई एकदम लोकतान्त्रिक भन्छन्। कहाँ विरोध गरेका छन् तिनीहरूले? हामीले त विरोध गरेका थियौं, संसद्मा विरोध गरेका थियौं।
यो सरकारले निर्वाचन गराउन सक्छ?
अहिले पनि सक्छ। इमानदार भएर म निर्वाचन गराउँछु भनेर सरकार हिँडे सक्छ। सरकारले खाली आर्मीलाई परिचालन गरेर निर्वाचन गराउँछु भनेर त हुँदैन किनभने आर्मी गएर बुथमा त बस्दैन। ऊ त बाहिरी घेरामा मात्रै बस्ने हो। बुथको हेरचाह त पुलिसले नै गर्ने हो। पुलिसको आत्मबल उच्च बनाऊँ र शान्ति सुरक्षा दिऊँ। त्यति मात्रै हो।
दलहरूले पनि त सरकारलाई सहयोग गर्नुपर्ने होला?
हामीहरूले गरिरहेका छौं । सरकारका विरुद्धमा केही बोलेको छैन? सरकारले बोलाएको बेलामा गएकै छ। निर्वाचनमा भाग लिन्छौं भनेकै छौं। ओलीजीले पनि निर्वाचनमा भाग लिन्छौं नै भन्नुभएको छ। प्रचण्डजीले पनि भन्नुभएको छ। नेपाली कांग्रेसको त निर्णय नै आइसकेको छ। त्यसका लागि किन उहाँहरूले चिन्ता गर्ने? हामीले सहयोग गरिराखेकै छौं । तर हामीहरूलाई सहयोग भनेको हामीलाई होइन कि राज्यलाई सहयोग गर्ने । पुलिसको मनोबलमा, भागेका कैदीहरूका बारेमा विचार गर्नुपर्यो।
सबै तयार छन् भने चुनाव हुन सक्दैन भन्ने भाष्य किन बन्यो?
यो हल्लैहल्लाको देश पनि हो। यही हल्लैहल्लामा २१ फागुनमा चुनाव हुन पनि सक्छ । मधेसको आन्दोलनपछाडि पनि हामीले चुनाव सार्यौं । एक चोटि नोमिनेसन गर्यौं। फेरि अर्को चोटि नोमिनेसन गर्यौं। त्यो किनभने देशमा अशान्ति नहोस्। संविधानसभाबाट चुनाव होस् भन्ने दोस्रो पटकको चुनावमा हामीले गर्यौं नि। चुनाव भएन भने अराजकतातिर जान्छ। संसद् पुनस्र्थापना गर्ने हो भने केका लागि गर्ने भन्ने सोचौं। ओलीजीलाई हटाउन यत्रो काण्ड भएको हो? ७६ जना हताहत भए, त्यसका लागि गरेको हो? मलाई लाग्दैन।
संसद् पुनर्स्थापना गर्ने भए दलहरूको बिचमा एउटा समझदारी हुनुपर्यो। दल भन्नाले हामीहरू त भयौं, अन्य दलहरू पनि। तर केका लागि भन्दाखेरि संविधान संशोधन गर्नका लागि । के के संशोधन गर्ने हो, पहिले नै निर्णय गरौं। जुन कुरामा गाह्रो छ, त्यो कुरालाई जनमतसंग्रहमा लग्ने कोसिस गरौं। जेनजीलाई कसरी समायोजन गर्ने भन्ने कुरा पनि छ। जेनजीहरूको पनि त माग छ। संसद्मा त छैनन् जेनजीहरू। नेपाली कांग्रेसका कोही हुनुहुन्छ। एमालेको पनि हुन्छ। अहिलेकै संविधानमा पनि ६ महिना मन्त्री बनाउन सकिन्छ। गर्न खोजे त्यो सम्भव छ तर खाली संसद् पुनस्र्थापना गरेर फेरि त्यही प्रणालीबाट जाने हो भने संसद् पुनस्र्थापनको कुनै अर्थ छैन।
संविधान संशोधन गर्दा न्यायपालिकाका कुराहरू संशोधन गर्नुपर्ने होला। मेरा आफ्ना सोचाइ होलान्। समानुपातिक के गर्ने भन्ने कुरा आउँछ। भोलिको चुनावका लागि अहिले त केही फरक परेन। यो कुराहरू गर्ने भए गरौं। होइन भने केका लागि संसद् पुनस्र्थापना गर्ने? अब फेरि नेपालले पटक पटक संविधानसभाबाट संविधान बनाउने कल्पना पनि नगरौं। अब देशले धान्नै सक्दैन। आर्थिक मात्र होइन, देशको सामाजिक, राजनीतिक सबै क्षेत्रमा हामी स्खलन भइरहेका छौं।
भूराजनीतिक असरहरू कस्तो देखिराख्नुभएको छ?
भूराजनीतिक असर त छ । त्यो स्वाभाविक पनि हो। म त्यसलाई अन्यथा भन्दिनँ। किनभने दुइटा ठुला देश हाम्रो छिमेकी छन्। विश्वको सबैभन्दा शक्तिशाली देशको पनि नेपालमा इन्ट्रेस्ट छ। त्यसलाई हामीले नै व्यवस्थापन गर्ने हो। हामीले आफ्नो स्वार्थमा काम गर्नुपर्छ। ‘नेसन फस्र्ट’ भन्ने कुरालाई ध्यान दिएर हामीले काम गर्नुपर्यो। भूराजनीति असरमा हामीले बाँच्न सिक्नुपर्यो। नेपाल र नेपालीलाई खुसी पारौं। देशलाई खुसी पारौं। राष्ट्रियता र प्रजातन्त्र सँगै हिँडाउन सके मात्रै राष्ट्र अगाडि बढ्छ। राष्ट्रियता कमजोर भएको म देखिराखेको छु। उग्रराष्ट्रवादको नारालाई छाडेर राष्ट्रियताको मात्रै कुरा गरेर अगाडि बढ्यौं भने मात्रै हामी ठाउँमा पुग्न सक्छौं।
आगामी दिनमा संघीयता, संविधान वा राष्ट्रियताको अवस्था कस्तो देख्नुहुन्छ?
यही हिसाबले २०८४ को निर्वाचन २०८२ मा भए दुई वर्ष सरे जस्तो हुन्छ। परिणाम पनि उस्तै आउँछ। यही हुन्छ। अझ खिचडी हुन्छ। धेरै दलको मिश्रण हुन्छ। त्यसकारण हामीले अब सोच्नुपर्ने छ। यस्तै प्रणालीमा जाने हो या निर्वाचन प्रणाली परिवर्तन गर्ने हो? पहिलो चुनावपछि नै मैले भनिराखेको छु। निर्वाचन प्रणालीमा दलित र महिलालाई ३३ प्रतिशत महिलाको सिट छुट्याइदिऊँ। अनि हामीहरू जाऊँ निर्वाचनमा। कुनै क्लस्टर छुट्छ भने उसलाई राष्ट्रियसभामा स्थान राख्न सकिन्छ। त्यसका लागि ८/१० वटा सिट थपौं । त्यो हुन सक्छ।
प्रदेश पनि त्यति चलिराखेको म देख्दिनँ। प्रदेश नचल्ने कारण अधिकार सम्पन्न गर्न सकेनौं। संविधानमा भएको अधिकारलाई पनि हामीले दिएनौं। प्रदेश हटाइदिनुपर्छ भनेर भाष्य बनाइएको छ। खर्च बढायो, भूमिका देखिएन भनिन्छ। राम्ररी रोल दिए प्रदेशको रोल छ। स्थानीय तह ठिकै छ। यसलाई अझ बढी क्षमतावान् बनाउनुपर्यो।
प्रकाशित: १२ पुस २०८२ ०७:४३ शनिबार





