८ वैशाख २०८१ शनिबार
अन्तर्वार्ता

प्रतिगमन परास्त नहुँदासम्म गठबन्धन रहन्छ: महरा

दाङबाट निर्वाचनमा भिड्ने हेभिवेट नेताका रुपमा चर्चा गरिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा अन्ततः आगामी संसदीय निर्वाचनमा नभिड्ने निर्णयमा पुगे। दाङ २ मा एमालेका महासचिव शंकर पोख्रेलसंग भिड्ने लख काटिएका महरा अहिले यो क्षेत्रमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी आफ्नै पार्टीकी नेतृ रेखा शर्मा संगै गठबन्धनका उम्मेदवारहरुको पक्षमा चुनावी माहोल निर्माण गर्न दाङमै छन्। गठबन्धनलाई बलियो बनाएर गठबन्धनका उम्मेदवारलाई विजयी बनाउने लक्ष बोेकेका महराले जीतलाई सहज देखेका पनि छन्। गठबन्धनको आवश्यक्ता, यसको आयु  र उनको अबको भावी राजनीतिक यात्राका बारेमा केन्द्रीत रहेर माओवादी उपाध्यक्ष महरासंग नागरिककर्मी देवेन्द्र बस्नेतले कुराकानी गरेका छन् ।    

नेपालका राजनीतिक दलहरु दुई ध्रुवमा ध्रुविकृत बनेका छन् , एउटा वर्तमान सत्तापक्षीय गठबन्धनको नाममा र अर्को बिपक्षी गठबन्धनको नाममा। मुलुकका लागि आवश्यक र मुलुकको कुशल नेतृत्व गर्न सक्ने शक्ति कुन बन्ला ?  

कुन शक्ति शक्तिशाली बन्ने भन्ने त आगामी मंसिरको निर्वाचनले निक्र्योल गर्दैछ। यो पटकको चुनाव सामान्य चुनाव हैन। कतिपय दलहरुले यसलाई सामान्य चुनाव भन्छन् तर त्यो हैन। तपाइले भने जस्तै नेपाली राजनीतिमा दुईवटा धार देखिएका छन्। एउटा कांग्रेसको नेतृत्वमा माओवादी, नेकपा एस,राजमो लगाएतका दलहरुको गठबन्धन छ। अर्को तिर फेरी नेकपा एमालेले नेतृत्व गरेको राप्रपा लगाएतका सानासाना पार्टीहरुको अर्को गठबन्धन छ।  

यसरी हेर्दा एउटा समूह सत्ता गठबन्धनको धारले अग्रगमनको नेतृत्व गरेको छ भने अर्को समूह बिपक्षी गठबन्धनको धारले प्रतिगमनको नेतृत्व गरेको छ। भलै त्यो समूहले यो स्वीकार गरेको त छैन। तर त्यो समूह प्रतिगमनको धार हो भनेर अग्रगमन पक्षीय धारले आरोप लगाएको छ। वास्तवमा मेरो विश्लेषणमा के देख्छु भने एमाले नेतृत्वको धार प्रतिगमन पक्षीय धार हो। किनभने गठबन्धनको नाममा पूर्व राजावादीहरुसंग मिल्नु संविधानको विपरित भयो र यो संविधान विपरित धार हो।  

अर्को सत्तागठबन्धनको धार भनेको संविधानको पक्षधर धार हो, यसले संविधानको रक्षाको लक्ष्य बोकेको छ , यो प्रष्टै बुझिन्छ। यसर्थ एउटा धार भनेको ०७२ सालको संविधानको रक्षा गर्ने धार हो भने अर्को भनेको यो संविधानलाई पछि फर्काउने धार हो। संविधानमा के छ त भन्दा गणतन्त्र छ, संघियता छ, धर्म निरपेक्षता छ , समावेशी, समानुपातिक समावेशीताको कुरा छ यो उपलब्धी हो। यसको संरक्षणको दायित्व बोध गर्नु जायज हो। तर गणतन्त्र मन नपराउने राजावादीहरु संग मिल्नु भनेको गणतन्त्रलाई अप्ठेरो पार्ने कुरा हो।  

यसर्थ अबको मुलुकको नेतृत्व गर्न सक्ने र मुलुकका लागि आवश्यक्ता भनेको संविधानको रक्षा गर्ने धार नै हो। तर, अब आगामी निर्वाचनले मुलुक अग्रगमनको बाटोमा जाने कि प्रतिगमनको बाटोमा जाने भन्ने निर्धारण गर्ने छ।

यहाँले आगामी निर्वाचनलाई संविधान जोगाउने शक्ति र संविधानलाई धरापमा पार्ने शक्ति बीचको प्रतिस्पर्धाका रुपमा अथ्र्याउनु भयो। अहिलेको देश व्यापी माहोलले कुन शक्ति हाबी हुने संकेत गर्छ ?

मेरो मान्यता ०७२ सालको संविधानको रक्षा गर्नु नै हो। यसर्थ संविधानको रक्षाका निम्ती उभिएको शक्ति अगाडी आउँछ र आउनु पनि पर्छ। धेरै ठूलो संघर्ष गरेर संविधान ल्यायौँ। अब संविधानलाई फेरी पछि फर्काउने भन्ने कुरा गल्ती कुरा हो। यसलाई मैले मात्रै हैन, सबै नेपालीहरुले बुझनु पर्छ र बुझेको अवस्था पनि छ। यसर्थ संविधान जोगाउने धारको शक्ति हाबी हुनेमा म कुनै शंका देख्दैन।

सत्ता गठबन्धन हाबी हुने आधार हरु ?  

यो आन्दोलन हो। १० वर्षको जनयुद्ध, १९ दिने आन्दोलन , यो आन्दोलन र जनयुद्ध मिलेर ल्याएको चिज हो संविधान। संविधानसभा देशको आवश्यक्ता हो भन्ने बोध भएकै कारण यसका निम्ती जनताको धेरै ठूलो सहभागीता भयो। संविधान घोषणा हुने बेलामा ९८÷९९ प्रतिशतले समर्थन जनाए। राप्रपाको एकाध शक्तिले मानेन यो बाहेक सबैले मानेकै हो। संविधान मान्ने शक्ति नै ठूलो शक्तिका रुपमा संविधानसभामा देखियो। र त्यो आन्दोलनबाट सृजित भएको हुनाले त्यसमा जनताको ठूलो हात छ। यसर्थ अब जनता पछि हट्ने पक्षमा छैनन्।  

आम जनताले यी राजनीतिक धारका राष्ट्रव्यापी मुद्धालाई पछ्याउँछन् कि उनीहरुको प्राथमिकताको बिषय आफूहरुको आधारभूत अधिकार प्राप्ती हो ?  

दुईटै कुरा हो। राष्ट्रियताको कुरा गर्दा यसका दुई प्रकार छन्। एउटा राष्ट्रियता जनताको मुक्तीसहितको राष्ट्रियता, एउटा जनताबाट निरंकुशता फाल्ने राष्ट्रियता। राजाले पनि आफूलाई राष्ट्रवादी नै भन्थे नि त। तर निरंकुशता लादे। तर यो लोकतन्त्रसहितको राष्ट्रियता हो नि। अर्को कुरा सत्य के हो भने जनताको जिवन स्तर बदल्ने कुरामा पार्टीहरुले ध्यान नदिएको कुरा साँचो हो। म स्वीकार गर्छु। नेपाली कांग्रेसले पनि ध्यान दिएन, माओवादी केन्द्रले पनि ध्यान दिएन, एमालेले पनि गर्न सकेन, कसैले पनि सकेन। जनताको जिवनस्तर माथि उकास्ने बिषयमा सबैको ध्यान कमै पुगेको हो। यसर्थ पार्टीहरु प्रति जनतामा वितृष्णा पैदा भएको छ।  

पार्टीले चुनाव जित्ने र सत्तामा मात्रै जाने उदेश्य नराखिकन वा जनताको जिवन स्तर उकास्ने सवालमा गम्भिर भएर सोच्नु पर्छ भन्ने हो। तर सोच्दा खेरी पनि राजनीतिक कमाण्डलाई केन्द्र बिन्दुमा राखेर सोच्नु पर्छ। पछि फर्केर जनताको जिवन स्तर उकास्ने कुरा गर्नु पर्छ भन्ने हैन, अगाडी बढेर मुलुकमा भएका जनताका उपलब्धीहरुको रक्षा गर्दै जनताको जिवनस्तर उठाउने कुरालाई ध्यान दिनु पर्छ। यो कुरालाई ध्यान दिने हो भने अग्रगमनकारी शक्तिकै जित हुन्छ।  

जनतामा राजनीति प्रतिको वितृष्णा उत्पन्न भएको कुरा गर्नु भयो, कहाँनेर चुके दल अनि नेताहरु ?

यसमा मेरो विश्लेषण अलि फरक छ। मैले के देख्छु भने जनताको आधार बनेको सरकार हो, देशको अर्थतन्त्र हो। देशको अर्थतन्त्रमा बिचौलिया प्रवृत्ति हाबी भयो। राजनीतिक भाषामा हामीले के भन्छौँ भने दलालतन्त्र हाबी भयो। यसले तलदेखि माथिसम्मै हान्छ। राजनीतिक शक्तिहरुलाई बिग्रह बनाउँछ र जनताहरुमा वितृष्णा पैदा गर्छ। त्यो शक्ति हाबी भएको छ।  

यहि शक्तिका कारण राजनीतिक शक्तिहरुको शिर पनि ढलेको छ , र जनताको जिवनस्तर पनि खस्केको छ। यस्तो तत्वलाई निर्मुल पार्ने राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने बिषयमा प्रतिवद्ध हुनुपर्छ पार्टीहरु। यसो गरिएन भने दलालहरुको पछि लागेर केहि मान्छेहरुले पैसा त कमाउलान् तर जनताको जिवनस्तर झनै खस्कँदै जान्छ। यसर्थ बिचौलियाहरु हाबी हुनु वास्तवमा यो वितृष्णाको कारण हो जस्तो लाग्छ मलाई।  

अघि यहाँले ‘प्रतिगमनकारी शक्ति’ शब्दावली प्रयोग गर्नु भयो , यो शब्दावली पनि नेकपा एमाले लक्षित नै हो, कम्युनिष्ट सिद्धान्तमा प्रतिगमनको परिकल्पना गर्न सकिन्छ ?

सबै कम्युनिष्ट पार्टीहरुलाई बिग्रिए भन्ने मेरो मान्यता हैन। कम्युनिष्ट पार्टीहरुमा आदर्श र कम्युनिष्ट सिद्धान्त अनुसार अगाडी बढ्नु पर्छ भन्ने हुन्छ। तर सत्तामा नजिक पुग्न खोजेका कम्युनिष्ट शक्तिहरु बिग्रेकै छन्। अहिले त्यो रुप एमालेले देखायो। उसले पनि त सत्ता लोलुपताकै कारण त होनि संविधानको धज्जी उडाउन खोजेको। मत हाम्रै पार्टीकै पनि कुरा गर्छु नेकपा माओवादी बिद्रोही हो। हिँजो त्यति ठूलो जन आन्दोलन, जनयुद्ध गर्ने शक्ति हो। तर त्यो मुल्य र मान्यता बाहिर यतिबेला हाम्रो पार्टीमा अलिकती केहि स्खलन आएकै छ।  

यसर्थ सबै पार्टीहरुमा राम्रा पक्ष हाबी नै छन् तर नराम्रा पक्षले गिजोलिएको छ, केहि सिमित नराम्रा पक्षले पनि प्रभाव पारिरहेकै छ। तर यो चिज यस्तै रहँदैन, केहि समयमा मेरो बिचारमा नेपाली राजनीतिमा उथलपुथल आउँछ, फेरी जनताको पक्षमा, देशको पक्षमा आउनै पर्छ। तर अगाडी बढेर बदल्ने कुरा हो, पछाडी फर्केर हैन। यसर्थ पछाडी फर्कन खोज्ने शक्तिलाई हैन, अगाडी बढ्न खोज्ने ठूलो पंक्तीलाई साथमा लिएर हिँड्नु पर्छ।

अहिले बाहिरि रुपमा गठबन्धन बलियो बनेको भनेर चर्चा चल्छ, बाहिरि रुपमा बलियो देखिने यो गठबन्धनको धरातलीय अवस्था कस्तो छ ?

मैले समग्र देशव्यापी रुपमा गठबन्धनको अवस्थालाई हेरेको त छैन। कस्तो छ बुझेको छैन। तर केहि सूचनाको आधारमा अहिले कांग्रेस, माओवादी लगाएतका दलहरु रहेको गठबन्धन राम्रोसंग अगाडी बढेको छ। कांग्रेस, माओवादी, नेकपा एस, राजमो भित्रपनि साना साना फ्याक्टरहरु त छन्। तर असहयोगको वातावरण छैन। अहिले सबैमा चेत खुलेको जस्तो देखिन्छ। यसपटक गठबन्धनलाई फितलो बनाउनु हुँदैन, सबै एक ढिक्का हुनुपर्छ भन्ने मनोभाव छ। अहिले म दाङमा छु , यहाँको माहोल हेर्दा जिल्लामा भएका भेलाहरुमा गठबन्धनमा आवद्ध सबै दलका नेता कार्यकर्ताहरु उत्साहित भएर सहभागि भएको मैले पाएको छु। यसको सन्देश पनि के हो भने एकतावद्ध हुनुपर्छ भन्ने मनोभाव हो। यसर्थ म धेरै उत्साहित छु र गठबन्धन धेरै अगाडी छ।  

वर्तमान सत्ता गठबन्धनको आयु कति होला ?

म एउटा प्रसंग भन्छु, म शान्ति वार्ताको लामो समय सम्म बसेँ। त्यस बेला कांग्रेसका सुशील कोइरालाले भन्नु भएको थियो कि हतियार फालिदिनुस्। अनि मैले प्रति प्रश्न गर्दै भनेको थिएँ –हतियार किन फाल्ने ? उहाँले फेरी – म आफैले हतियार जंगलमा गाडेको हुँ, तपाईले पनि गाड्नुस् भन्नु भयो। अनि मैले तपाइले गाडेर गल्ती गर्नुभयो भनेँ। प्रतिगमन आयो भने के गर्ने ? फेरी आइ हाल्छ भनेर मैले उहाँलाई भनेँ। हतियार देखेपछि पो प्रतिगमन परास्त हुन्छ भनेर मैले उहाँलाई भनेको थिएँ। यसर्थ मैले के भन्छु भने अहिलेको सत्ता गठबन्धन भनेको प्रतिगमन नास गर्ने त्यहि हतियार हो। यो गठबन्धन टुट्ना साथ फेरी प्रतिगमन हाबी भैहाल्छ।  

प्रगिमनलाई पुरै परास्त नगरेर हुँदैन, अहिले पुरै परास्त भैसकेको पनि छैन। यो चेत गठबन्धन गर्ने सबै शक्तिहरुमा हुनै पर्छ , एक दुईवटालाई मात्रै भएर हुँदैन। सत्ता पाउने बित्तिकै यो चेत हरायो भने त गठबन्धन सिद्धिन्छ अनि प्रतिगमनले सिध्याउने नै हो। यसर्थ प्रतिगमनलाई छिर्नै दिनु हुँदैन। छिर्ने सानो प्वाल देख्यो भने भित्र प्रवेश गरि हाल्छ। प्रतिगमनलाई देख्न सक्नु पर्छ र त्यसलाई परास्त गर्न एकता कायम राखिरहनु पर्छ।  

प्रतिगमन पूर्ण रुपमा परास्त भयो भने त्यसपछि आआफ्नो बाटो लागे भयो नि त। यसर्थ मेरो बिचारमा प्रतिगमन पुरै परास्त नहुन्जेल सम्म गठबन्धन कायम राख्नु पर्छ। अहिले पनि मैले देखिरहेको छु, प्रतिगमनका संकेतहरु धेरै छन् , सिद्धिइसकेका छैनन्। प्रतिगमन शक्ति यहि हो भनेर मैले ठोस रुपमा भनेन तर संविधानलाई उल्टाउन खोज्ने शक्तिहरु जति छन् उनिहरु सबै प्रतिगमनकारी नै हुन्।  

चुनाव पछि गठबन्धन टुट्छ, पहिला एउटै दल बनेका माओवादी, एमालेहरु फेरी मिल्न सक्छन् भन्ने चर्चा पनि बाक्लिएका छन् नि , यो कति सम्भव होला ?  

यो पछिको विश्लेषण अहिले गर्न सकिने कुरा हुन्न, त्यति बेलै फेरी गरौँला। तर मेरो बिचार के हो त भन्दा संविधान नै बेठिक छ भन्ने पक्षमा म छैन । संविधान अपुरो छ भन्न सकिन्छ , अझै परिमार्जन गर्नु पर्छ, धेरै जनताको पक्षमा हुनुपर्छ भन्न सकिन्छ। तर यो संविधानको पक्षधर शक्तिहरु मिल्नु पर्छ र मिल्न नदिन खोज्ने शक्तिहरुको विरुद्धमा लडिरहनु पर्छ भन्ने हो। यसका लागि पनि अहिलेको गठबन्धन भैराख्नु पर्छ भन्ने मेरो मान्यता हो।  

अब,यहाँको उम्मेदवारी बारे जिज्ञासा , किन तपाई आगामी चुनावबाट ब्याक हुनु भयो ?

म संसदीय चुनावमा किन लडेन भन्दा म ५ पटक चुनाव लडेँ र पाँचै पटक जितेँ। चार पटक प्रत्यक्ष निर्वाचन लडेँ र एक पटक समानुपातिक तर्फबाट निर्वाचित भएँ। यसर्थ संसदीय अभ्यासको पुरा अनुभव भयो मलाई। फेरी लडिरहनु पर्छ भन्ने जरुरी छैन नि। यो एउटा पक्ष भयो। अनि अर्को पक्ष के हो त भन्दा अब उर्जाशिल युवा शक्तिलाई अगाडी बढाइएन भने हरेक व्यवस्थाको उचित व्यवस्थापन हुन सक्दैन। यसलाई थाम्न सक्ने नयाँ पिढि आउँछ। त्यस कारणले मेरो उम्मेदवारी सहज रुपले यो ढंगको सोचका साथ नभएको हो। मै बसिराख्नु पर्छ भन्ने कुरा ठिक हैन।  

अर्को कुरा मेरो क्षेत्रमा माओवादीकै तर्फबाट रेखा शर्मा उम्मेदवार बन्नु भएको छ , उहाँ आफै हेभिवेट नेता हो। क्षमतावान नेता हो। रेखा र मेरोबीचमा कुनै अन्तर रहेन। मैले नै उहाँलाई अघि बढाएको हो। म निर्वाचनमा लड्नु नै रेखा लड्नु हो र रेखा लड्नु भनेकै म लड्नु हो। उहाँले मलाई चुनावमा उठ्न भन्नु भएको थियो। र मेरो बीचको उतारचढावका बेला मैले उहाँलाई नै जिम्मा दिएको थिएँ कि अब तपाईँले गर्ने हो तपाईले नै जिल्लाको बस्तुस्थितीलाई हेर्नुस् भनेकै थिएँ। यसर्थ रेखा शर्मा एजेण्डाका सन्दर्भमा अग्रगामी शक्तिको नेतृत्व गर्नुुहुन्छ। दोस्रो उहाँ पनि हेभिवेटकै उम्मेदवार हो।  

यहाँ उम्मेदवार बन्ने चर्चा चलेको दाङ –२ मा निर्वाचन जित्ने आधारहरु के लाई मान्नु भएको छ ?

पहिलो आधार भनेको गठबन्धनमा आवद्ध दलहरुको एकता बलियो बनेको छ। दोस्रो रेखा शर्मा लगाएत प्रदेशका उम्मेदवारहरु सक्षम र काबिल हुनुहुन्छ। यो आधारमा गठबन्धन अगाडी छ। र अर्को आधार भनेको , नेकपा एमालेबाट शंकर पोख्रेल प्रतिनिधिसभामा भिड्नु भएको छ। शंकर पोख्रेल जुन धरातलबाट आउनु भयो, त्यो धरातल नस्वीकार्नेहरु एमाले भित्रै पनि छन् , त्यो पनि मैले बुझेको छु। यसकारण एमाले भित्रको त्यो असन्तुष्ट जनमत पनि अर्को आधार हो। शंकर पोख्रेल भन्दा कम हेभिवेट हैन रेखा शर्मा जि। यसर्थ उहाँलाई हेभिवेट हैन भन्न मिल्दैन। र म आफै खटिइरहेको छु। मलाई रुचाउने मान्छेहरुसंगको सामिप्यता कसिरहेको छु। रेखाले जित्नु पर्छ, कांग्रेसका प्रदेशका उम्मेदवारहरुले जित्नै पर्छ भनेर लागि रहेको छु। गाउँगाउँमा हिँडिरहेको छु। यसर्थ यि आधारले रेखा शर्माको टिमले चुनाव जित्छ।  

निर्वाचनमा फरक दलको अस्तित्व कुन हदसम्म स्वीकार्य होला ?

अब, यो आशंका रहेन। लालसलाम र जयनेपाल भन्ने शब्द अहिले साझा भैसकेको छ। अहिले सुन्नु भएकै होला नि ‘लाल जय नेपाल’ भन्ने गरेको। त्यस कारणले गठबन्धनमा आवद्ध दलका बीचमा एकले अर्को दलको अस्तित्वलाई स्वीकारेको परिस्थती छ। स्थानीय तहको निर्वाचनमा मैले केहि असहज देखेको थिएँ, तर अहिले स्थिती धेरै राम्रो बनेको छ।              

अब अन्त्यमा, तपाईँ निर्वाचनमा भिड्नु भएन, अबको तपाईको राजनीतिक भूमिका के हुने त ?  

मैले राजनीतिबाट सन्यास लिएको हैन। संसदीय निर्वाचनमा नभिड्ने भनेर निर्णय लिएको मात्रै हो। मेरो राजनीतिक जिवनको बाँकी अवधि पार्टी सञ्चालमा सकृय भूमिकामा लगाउने छु। र नयाँ युवा साथीहरुलाई सहयोग गर्छु भन्ने छ। र अर्को कुरा लामो समय सम्म सकृय भैरहनु पर्छ भन्ने पनि छैन। म अहिले ६५ वर्षको भएँ , अब ७०÷७२ वर्ष पछि त सामाजिक जिवन नै बिताउनु पर्छ। अब नयाँ पिढिलाई जिम्मा दिनु पर्छ, यदि नयाँ पिढिलाई दिइएन भने पार्टी बिग्रन्छ। मै मात्रै गर्छु, मै मात्रै सक्छु भन्ने सोँच राख्नु हुँदैन। यसर्थ अब म मेरो सकृयता पार्टी निर्माणका लागि रहने छ , अब पार्टीमा मेरो अभिभावकीय भूमिका रहन्छ। 

प्रकाशित: २१ कार्तिक २०७९ ११:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App