७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

सुशासन, जवाफदेहिता र पारदर्शितालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं: मेयर कोइराला

विकास बहस: विकास र सुशासनको बाटोमा अग्रसर हुँदै विराटनगर महानगर

विराटनगर महानगरपालिकाको मेयर नागेश कोइराला

निर्वाचित भएर आएपछि के-के गर्नुभयो?

निर्वाचित भएर आएपछि पहिलो त हामीले बजेट ल्यायौं। त्यसपछि भर्खरै बजेट कार्यान्वयनको सुरु भएको छ। मैले सुशासन, जवाफदेहिता र पारदर्शितालाई प्राथमिकतामा राखेर काम गरिरहेको छु। हामीले त काम गर्ने हो, हामी आएपछि सुधार भएको छ कि छैन भनेर जनताले  महसुस गर्ने हो। महानगरको प्रशासनिक सुधारसँगै सुशासनलाई बढी जोड दिइरहेका छौं। जनताको काम छिटो छरितो हुनुपर्छ भन्ने हाम्रो मान्यता छ। त्यसैअनुसार कर्मचारीलाई निर्देशन पनि दिइएको छ। हुन्छ भने तुरुन्तै काम गरिनुपर्छ यदि हुँदैन भने के कारणले हुँदैन भनेर सेवाग्राहीलाई भनिदिनुपर्छ। एउटै कामका लागि सेवाग्राहीलाई पटकपटक दुःख दिनु हुँदैन। हामी आउने बित्तिकै विराटनगर–११ मा  महानगरस्तरीय आधारभूत आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्यायौं। १९ वटै वडाका नाला, पैनी, नहरहरू सफा गर्‍यौं जसका कारण यस वर्ष विगतमा जस्तो विराटनगरमा डुबान भएन।  विगतमा  एक दिन पानी पर्नेबित्तिकै विराटनगरका अधिकांक्ष क्षेत्र जलमग्न हुने गरेको थियो। तर, हामीले वर्षा सुरु हुनुभन्दा अगावै नाला सफा गरेका कारण त्यसो हुन पाएन। अर्को हामीले सरसफाईलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेका छौं। हरेक शुक्रबार सरसफाई  विशेष अभियान सञ्चालन गरिरहेका छौं।

यो चार महिनाको अवधिमा यति मात्रै काम गर्नु भयो त?

विकास भनेको सडक बन्नु मात्रै हो भन्ने मान्छेको सोचाइ रहेछ। सडक बन्यो भने चाहिं महानगरले काम गरिरहेको छ भन्ने देखिँदो रहेछ। तर, अरुतिर धेरै काम गर्दा चाहिं नदेखिँदो रहेछ। अहिले कतिपय जान्ने बुझ्ने व्यक्तिहरूको सामाजिक सञ्जालमा टिकाटिप्पणी हेर्छु जानेर पनि विरोध गरिरहेका हुन्छन्। एकथरि मान्छेको प्रवृत्ति के रहेछ भने जेमा पनि विरोध गर्ने। हामीले विराटनगरलाई तीन क्षेत्रमा विभाजन गरेर अहिले सरसफाई विशेष अभियान सञ्चालन गरिरहेका छौं। त्यसमा पनि महानगरले काम पाएन भन्नेहरू पनि छन्। घर भत्काउनु 

पथ्र्यो महानगरले कामै गरेन भन्नेहरू पनि छन्। विराटनगरमा घर भत्काउनु पर्ने गरी सडक अतिक्रमण भएको छैन। अतिक्रमण गरेका संरचना  विगतमै भत्काएर नयाँ सडक निर्माण भइसकेको छ। विराटनगरमा तत्काल गर्नुपर्ने के हो भनेर पहिला त बुझ्नुपर्‍यो नि। ठाउँ अनुसार प्राथिमकता फरक हुन्छ। विराटनगरका लागि डुबान समस्या र फोहोर व्यवस्थापन नै हो तत्कालका लागि त्यसमा हामी सफल भएका छौं। हामीले फुटपाथ क्लियर गरेका छौं। छाडा चौपाया नियन्त्रण भइरहेको छ।  ठूला र देखिने गरी काम गर्न त भर्खरै रातो किताब प्रकाशित भएको छ। भर्खर बजेट कार्यान्वयनको चरणमा छ। त्यसमाथि हामीसित सीमित स्रोत साधन छ। त्यही सीमित स्रोत साधन पहिचान गरेर महानगरवासीका असीमित चाहना परिपूर्ति गर्ने कार्यका लागि हामी अग्रसर भएका छौं।

डुबान समस्या त एक वर्षको होइन, सधैंको समस्या हो, यसको दीर्घकालीन सामाधानका लागि के छन् योजना?

हो, विराटनगरको डुबानको दीर्घकालीन समाधानको बाटो खोजिनुपर्छ। विराटनगरको पूर्वमा सिंघिया र पश्चिममा केशलिया पर्दछ। दुई वटा नदीको बीचमा विराटनगर पर्दछ। त्यसो भएकाले हरेक वर्षको  वर्षा याममा दुवै खोलाको बाढी विराटनगरमा पस्दछ। डुबानको प्रमुख कारण भनेको यिनै दुईवटा खोला हुन्। यी दुवै खोलामा तटबन्ध निर्माण नगरेसम्म विराटनगरको डुबान समस्या दीर्घकालीन रुपमा समाधान हुँदैन। हामी निर्वाचित भएर आइसकेपछि पश्चिमतर्फको केशलिया खोलामा कोरिडोरसहितको तटबन्ध निर्माण गर्ने प्रक्रिया सुरु भइसकेको छ। यसमा स्वीस सरकारले सहयोग गर्ने भएको छ। त्यसका लागि डीपीआर बनाउने काम भइरहेको छ। सिंघिया खोलाको किनारमा सुकुम्बासी वस्ती धेरै भएकाले उनीहरूको व्यवस्थापन नगरी तटबन्ध निर्माण गर्न गाह्रो छ। त्यसका लागि पनि पहल भइरहेको छ। दुई वटा खोलामा तटबन्धन बनाउने हो भने विराटनगरमा डुबान हुँदैन।

निर्वाचित भएपछिको पहिलो बजेटमा के कस्ता योजना समेट्नुभएको छ?

निर्वाचित भएर आएपछि लगत्तै बजेट ल्याउनुपर्‍यो। हामीसित पर्याप्त समय भएन। त्यसो भएकाले यस पटक बजेटका विषयमा धेरै छलफल पनि गर्न सकेनौं। तर, पनि विराटनगरमा केही ठूला योजनाहरू पनि अघि सारेका छौं। विराटराजाको दरबारको नामबाट विराटनगर रहन गएको हो। विराटनगरको नामसित जोडिएको विराटराजाको दरबारलाई लुम्बिनी मोडलमा बनाउने योजना बनाएका छौं। यसपटक हामीले त्यसको काम सुरुवात गर्न बजेट पनि विनियोजन गरेका छौं। यदि विराटराजाको दरबारलाई संरक्षण, 

सम्वद्र्धनसँगै विकास गर्ने हो भने त्यहाँ धेरै नै पर्यटक आउँछन्। भारतको बिहारकै कुरा गर्ने हो भने १६ करोडभन्दा बढी जनसंख्या छ। त्यहाँको १ प्रतिशत जनसंख्यालाई वार्षिक भित्र्याउने हो भने १६ लाख पर्यटक आउँछन्। विराटराजाको दरबारमा त्यो सम्भावना छ। त्यसैगरी ऐतिहासिक मण्ठापोखरी र रानीपोखरीको संरक्षणमा पनि बजेट विनियोजन गरेका छौं। यो पनि पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्छ। यो पनि विराटनगरको दक्षिणी क्षेत्रमै पर्दछ। विकासको हिसाबले उत्तरभन्दा दक्षिणी क्षेत्र केही पछि परेको छ। त्यही भएर हामीले दक्षिणी क्षेत्रलाई प्राथमिकतामा राखेर केही ठूला योजना ल्याएका छौं। यस आर्थिक वर्षमा कम्तीमा  दुईवटा सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण गर्ने योजना बनाएका छौं र बजेट पनि विनियोजन भई निजी क्षेत्रसँग समन्वय भइरहेको छ। सडक, नाला बनाउने त नियमित प्रक्रिया हो, यसभन्दा  बाहेक पनि काम गर्नुपर्छ भनेर बजेट छुट्याएका छौं।

तपाईं त अल्पमतमा हुनुहुन्छ, काम गर्न कतिको सहज छ?

मेरो विचारमा स्थानीय तहमा बहुमत र अल्पमत हुँदैन। स्थानीय तह भनेको विकास गर्ने ठाउँ हो। सरकार बनाउने ठाउँमा मात्रै बहुमत र अल्पमतको कुरा आउँछ। अनि कुनै पनि काममा स्वार्थ  बाझियो भने मात्रै विवाद हुने हो। हामीमा कुनै व्यक्तिगत स्वार्थ छैन। विराटनगरका सबै जनप्रतिनिधिको एउटै ध्यान छ विराटनगर बनाउने। हरेक कार्यपालिका सदस्यको कसरी हुन्छ विराटनगरलाई सुन्दर, विकसित र हराभरा बनाउने भन्नेमै चिन्ता र चासो छ। त्यसको उदाहरण बजेटलाई लिन सकिन्छ। सबै वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले अत्यन्तै सौहार्दपूर्ण तरिकाले बजेट पास गर्नुभयो। उपमेयर, वडाध्यक्ष, कार्यपालिका सदस्य मात्रै होइन नगर परिषद्  सदस्यहरूको पनि विराटनगर बनाउने सन्दर्भमा अत्यन्तै राम्रो साथ छ। ५ वर्ष गरेको कामले वर्षौंसम्म हामीलाई विराटनगरवासीले सम्झिरहून भन्ने चाहन्छौं।

प्रकाशित: ६ आश्विन २०७९ ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App