१३ आश्विन २०७९ बिहीबार
अन्तर्वार्ता

‘जुम्लाको स्याउबारी पुग्नुपर्छ दराज’

आँचल कुँवर

सन् २०१५ मा स्थापना भएको दराज समूह, दक्षिण एसियामा उदाउँदै गरेको इकमर्स कम्पनी हो। अहिले बङ्गलादेश, पाकिस्तान, श्रीलंका, म्यानमार र नेपालमा यसका शाखाहरू रहेका छन्। यस कम्पनीको नेतृत्व तहमा पुग्ने पहिलो नेपाली महिला आँचल कुँवर हुन्। कुनै पनि व्यवसायमा मानवता, समाजको उत्थान, दिगो विकास, वातावरण संरक्षण, सकारात्मक परिवर्तनले उल्लेख्य स्थान पाउनुपर्छ भन्ने आदर्शमा रहेर नेतृत्व समालिरहेकी कुँवर दराजलाई नेपाली बजारमा स्थापित बनाउने बाटोमा आत्मविश्वासका साथ लागिरहेकी छन्। नेतृत्व समाल्दाका अनुभव, यस क्षेत्रका चुनौती एवम् अवसर र भावी योजनाका सन्दर्भमा रञ्जु दर्शनाकिसु कुइँकेलले दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छः

तपाईं बाल्यावस्थादेखि हुर्कंदै गर्दाको पहिलो लक्ष्य के थियो?

लक्ष्यमा म एकदमै क्लियर कहिल्यै थिइनँ। मलाई थाहा छ, केही मानिसहरू सानैदेखि म भविष्यमा यो गर्छु, यस्तो बन्छु भन्ने कुरामा स्पष्ट हुन्छन् तर म सधैँ मिक्स कुराहरू सोच्थेँ। मलाई कहिल्यै पनि एउटै बाक्सामा फिट हुनुथिएन। कुनै दिन मैले म पाइलट बन्छु भन्थेँ अनि सँगसँगै फेसन डिजाइनर पनि बन्छु भन्थेँ। म के बन्छु वा गर्छु भन्ने कुरामा सधैँ दुइटा ध्रुव हुने गर्थ्याे।

व्यक्तिले कस्तो करियर छान्छ वा भविष्यमा आफूले गर्ने काममा कति सफलता पाउँछ भन्ने कुरा कति हदसम्म तपाईंलाई सामाजिकीकरण वा घरमा अभिभावकहरूले दिने दीक्षाले निर्धारण गर्छ जस्तो लाग्छ?

नेपालमा अभिभावकीय दबाब हुन्छ, आफ्ना बच्चाबच्चीलाई अरूसँग दाँज्ने, नकारात्मकता फैलाउने कुरा बढी छ। बाल्यावस्था, हुर्काइ–बढाइले कोही व्यक्ति भविष्यमा कति सफल हुन्छ भन्ने कुराको निर्धारण पनि गर्छ। म यो कुरामा अरूभन्दा भाग्यमानी छु किनभने मलाई मेरो बुबा आमाले कहिले पनि अरू बच्चाहरूसँग दाँज्नुभएन। सधैँ खुला हिसाबले मलाई मन लागेका कुराहरू गर्न दिनुभयो। मलाई याद छ, एकपटक पाँचथर फिदिममा हुँदा सडक भन्ने फिल्म चलिरहेको थियो। म ठुला दाइहरूसँगै फुटबल खेलिरहेको थिएँ। अचानक फिल्म हेर्न जाने योजना बन्यो अनि म पनि ल त जाऔँ फ्लिम हेर्न भनेर घरमा नभनीकन लागेँ। मलाई के लाग्छ भने मेरा अभिभावकहरूले मलाई ‘म’ हुनदिनु भएको कुरा नै सबैभन्दा अमूल्य छ, जसका कारण जीवनमा धेरै कुराहरू खोज गर्दै जाँदा मेरो व्यक्तित्व निर्माण भयो। मेरा अभिभावकले मलाई मार्गदर्शन गर्नुभयो तर मलाई कहिल्यै बाँधेर राख्नु भएन। म स्कुलमा हुँदा सधैँ दोस्रो हुन्थेँ, त्यही पनि मलाई कहिल्यै पहिलो हुनुपर्छ भन्ने प्रेसर आएन। मेरो बाबा–ममी दुवै जनाले मलाई सधैँ ठिकै छ, सिक्दै जाऊ भनेर अघि बढाउनुभएको हो। स्कुल छँदा मैले प्रायः सबै प्रतियोगितामा भाग लिन्थेँ र सिक्दै जान्थेँ। मलाई के लाग्छ भने अभिभावकहरूले सिकाउने हो तर यो गर त्यो गर भनेर कर लगाउने होइन। कुनै दिन अभिभावक नै भएन भने त सबै निर्णय त आफैले लिनुपर्छ नि, होइन र?  

तपाईं दराजको एमडी कसरी बन्न पुग्नुभयो?

खासमा म दराजको एमडी नै बन्छु भन्ने लक्ष्य लिएर हिँडेको होइन। मैले सधैँ बृहत्तर हितको कुरामा विश्वास राखेँ र कहिल्यै जीवनलाई म्याराथुन प्रतियोगिता जसरी लिइनँ। जीवनमा जे जस्ता कुराहरू आउँदै गए, म आफू समाहित हुँदै गएँ। सबैभन्दा प्रमुख कुराचाहिँ कसरी आफ्नो समुदायभन्दा बाहेक पनि प्रभाव पार्न सक्छु भन्ने विचारले नै मलाई डोर्‍याएको हो र अहिले त्यही विचारलाई पछ्याउँदै दराज नेपालमा आएकी हुँ किनभने दराज आफ्नो आर्थिक वृद्धिभन्दा पनि समाजको बृहत्तर हितको मूल्यमान्यतामा विश्वास राख्दछ। योसँगै म अरूभन्दा भाग्यमानी पनि छु किनभने मैले सपोर्टिभ अभिभावक पाएँ, जसले मलाई दुनियामा लड्न सक्ने क्षमता प्रदान गर्‍यो र सानैदेखि राम्रो शिक्षाको पनि अवसर पाएँ। आर्थिक सहायताकै कारण मैले अमेरिकामा उच्च शिक्षा पनि हासिल गर्नसकेँ र दिन प्रतिदिन आफैँलाई चिन्न पनि सिकेँ। म दराजको नेतृत्व तहमा आइपुग्नुको अर्को महत्वपूर्ण कारण भनेको मैले आफैलाई बुझ्दै गएर आफूलाई के कुरा गर्न मन लाग्छ भन्ने थाहा पाउनु पनि हो।  

मेरो मन मानिसहरूसँग मिलेर, कुरा गरेर, काम गर्नमा लाग्ने रहेछ। त्यसैले त म फिजिक्सको राम्रो विद्यार्थी भए पनि मेरो क्षेत्र ल्याब होइन, बरु समाज हो भनेर पछि मैले फिजिक्स नपढी इकोनोमिक्स विषय पढेँ। मलाई एकदम भुईंस्तरदेखि कामहरू बढाउँदै लग्न मनपर्छ। यसरी कामहरू अघि बढाउन मेन्टर्सहरूको निकै आवश्यकता पनि पर्दो रहेछ। मेरा धेरै मेन्टर्सहरू हुनुहुन्छ, जोसँग म जीवनका हरेक पक्षका कुराहरू गर्छु र वहाँहरूको सल्लाह–सुझावअनुसार नै धेरै निर्णय पनि लिन्छु। म आफूलाई मनपर्ने जुनै क्षेत्रका नेतृत्वसँग नजिकको सम्बन्ध राख्न मन पराउँछु। जीवनमा मिहिनेतको अन्य कुनै विकल्प वा छोटो बाटो हुँदैन, मिहिनेत र परिश्रमले समय लिन्छ र यो स्वाभाविक पनि हो। आफूलाई कुन कुरा मन पर्छ भन्ने थाहा पाउँदै गयो भने आफूले कुन क्षेत्रमा राम्ररी काम गर्न सक्छु भन्ने थाहा हुन्छ, मेरो जीवनमा पनि त्यस्तै भयो र म अहिले दराज नेपालको एमडीको पोजिसनमा छु।

नेपाल कत्तिको घुम्नु भएको छ? तपाईंले नेपालका विभिन्न स्थानमा पुगेर बजारहरू कति नजिकबाट अध्ययन गर्न पाउनुभएको छ? नेपालको कुन ठाउँ तपाईंको मनको नजिक छ?

नेपालका विभिन्न क्षेत्रमा घुम्न पुगेको छु। धेरै ट्रेकिङ जान पनि मन पराउँछु। मैले नेपालको बजार, आर्थिक स्थितिबारे किताब र वेबबाट त अध्ययन गरेकी छु तर भौतिक रूपमै विभिन्न स्थानमा पुगेर भने अहिले अध्ययन गरेको छैन। मलाई यसबारे धेरै ज्ञान छैन। म बुझ्दै छु। झम्सीखेल म हुर्केको ठाउँ भएर पनि मेरो मनको एकदम नजिक छ। अहिले त निकै परिवर्तन भइसकेको छ।  

इकमर्स धेरै सहर केन्द्रित भएको देखिन्छ। यसलाई ग्रामीण क्षेत्रसम्म फैलाउन के–कस्ता काम गर्न सकिन्छ?

वास्तवमा यो एउटा भ्रम हो किनभने दराजको ५०% बजार काठमाडौँ बाहिर कै छ। झापा, इलाम फिदिम एवम् अन्य ठाउँहरूबाट हामीलाई निकै अर्डर आउँछ र यो बिस्तारै बढ्दैगएको छ। नेपाल र नेपालीको एउटा एकदम राम्रो पक्ष के हो भने यहाँका मानिसहरू परिवर्तनमा चाँडै समाहित हुन सक्छन्, अङ्गीकार गर्न सक्छन्। अनलाइन पेमेन्टकै कुरा गर्ने हो भने अहिले तरकारी पसलदेखि पान पसलसम्म इक्यान पे, अनलाइन पे उपलब्ध छन्। यी कुराहरूले गर्दा पनि इकमर्सलाई सहज भएको छ। म केही समयअघि मुक्तिनाथ घुम्न जाँदा त्यहाँ पनि मोबाइल नेटवर्क टिपेको थियो, अमेरिकामा यस्ता ठाउँहरूमा नेटवर्क टिप्दैन। नेपालमा मानिसहरूको बसोबास भएको भएर नै होला नेटवर्क चलेको, तर धेरै चुनौतीहरू पनि छन्। काठमाडाैंमै पनि अनलाइन सामान किन्ने कुरामा विश्वासको कमी छ। पहिल्यै पैसा तिर्न मानिसहरू हिच्किचाउने गर्छन्। त्यसैले बिक्रेता र उपभोक्ता शिक्षा धेरै आवश्यक छ।  

इकमर्स र समाजको सम्बन्ध कस्तो हुन्छ होला?

खासमा इकमर्सले समुदायलाई नै उत्थान गर्ने काम गर्छ। अहिले इकमर्सले धेरै सहजता ल्याएको छ किनभने आफूले एकैछिनमा अर्डर गरेपछि घरमै सामान आउनु भनेको सहुलियत हो। म नै अमेरिकामा छँदा एमेजोनबाटै सामानहरू मगाउने गर्थें र आफ्नो व्यस्त समय हुँदा यसले धेरै सजिलो पनि बनाएको थियो। कति समय त घरमा बच्चा हुँदा झनै बजार जान गाह्रो हुन्छ। त्यसैले अनलाइनबाट अर्डर गर्ने कुराले जीवनमा सहजता ल्याएको छ।

दराजमा साना तथा मध्यम व्यवसायी, घरेलु उद्यमीहरूले आफ्नो उत्पादन कसरी दर्ता गराउन सक्नुहुन्छ? यसको प्रक्रिया के हो?

दराजमा साना तथा मध्यम व्यवसायी, घरेलु उद्यमीहरूले आफ्नो उत्पादन दर्ता गराउन दराजको वेबसाइटबाट वा त्यहाँ दिइएका नम्बरहरूमा फोन गरेर आफ्नो व्यवसायलाई दर्ता गराउन सक्नुहुन्छ। व्यवसाय दर्तामा मद्दत गर्नका लागि दराजले छुट्टै कर्मचारीहरू पनि राखेको छ।  

‘जुन दिन इकमर्समा जुम्लाको स्याउ बिक्री गर्न सकिन्छ, त्यही दिन इकमर्स पूर्ण रूपमा सफल भयो भन्न सकिन्छ।’ तपाईंलाई यो भनाइ कस्तो लाग्छ?

तपाईंले ठीक भन्नुभयो। खासमा हाम्रो उद्देश्य पनि नेपालमा भएका उत्पादनहरूलाई एउटा सशक्त प्लाटफर्म दिनु हो। हामी अघिल्लो वर्ष कम्पनीको वृद्धिमा केन्द्रित थियौँ, यो वर्ष बिक्रेता र उपभोक्ताको अनुभव सकारात्मक बनाउने कुरामा केन्द्रित छौँ। जुम्लाको उत्पादन दराजसम्म ल्याउनका लागि हामीले निकै मिहिनेत गर्नुपर्छ र हामी यो कुरा गर्न पनि चाहन्छौँ। बिस्तारै देशका हरेक कुनाको उत्पादन हाम्रो प्लाटफर्ममा ल्याउन अघि बढिरहेका छौँ।

इकमर्सलाई सहजीकरण गर्न सरकारले के कस्ता काम गर्नुपर्छ?

सुरुमा त इकमर्सका लागि नीति ल्याउनुपर्छ। अहिले ठ्याक्कै इकमर्सका लागि सरकारले कुनै नीति बनाएको छैन, जसले गर्दा धेरै समस्याहरू आइपर्छन्। यसबाहेक देशभरि सडकको व्यवस्था, इन्टरनेटको सुविधा भयो भने सबै नेपालीको पहुँचमा इकमर्स हुनसक्छ। अमेरिकामा लकडाउन हुँदा इकमर्सहरूलाई सरकारले मद्दत नै गर्‍यो, किनभने मानिसहरूलाई घरमै बसाएर सामानहरू उपलब्ध गराउनु निकै महत्वपूर्ण कुरा हो भन्ने त्यहाँको सरकारले बुझ्यो तर यहाँ लकडाउनकै बेलामा पनि इकमर्स कम्पनीहरूलाई धेरै गाह्रो भएको थियो, पुलिसले नै डेलिभरी गर्ने व्यक्तिहरूलाई हिरासतमा लिएको थियो। नेपालमा योजना बनाउने कुरामा धेरै कमजोरी छ जस्तो लाग्छ। कुनै पनि परिस्थितिसँग कसरी जुध्ने भन्ने कुरामा पूर्वतयारी पनि नरहने कुरा मैले पाएँ।

इकमर्स, प्राईभेट कम्पनीहरूले गर्नुपर्ने कति इमान्दार भएर काम गरिरहेका छन् जस्तो लाग्छ? दराज नेपालले कुन कुन ठाउँमा समाजप्रतिको दायित्व निर्वाह गरिरहेको छ?  

खासमा, म दराजसँग नेतृत्व तहमै बसेर काम गर्ने निर्णय गरेको एउटा कारण भनेकै समाजप्रतिको उत्तरदायित्वलाई महत्वपूर्ण पक्ष मान्ने भएर हो। म पढ्दै गर्दा पनि मैले ४ जना विद्यार्थीको पढाइ खर्चको जिम्मेवारी लिएकी थिएँ। अब दराजले समाजप्रति कस्तो उत्तरदायित्व लिन्छ भन्ने कुरा म स्वयम्को व्यक्तिगत विश्वासअन्तर्गत पनि पर्छ। हिजो मात्रै हामी एसिड आक्रमण पीडितसँग काम गर्ने संस्थासँग पीडितहरूको शिक्षाका लागि सहमति गरेका छौँ। यस्तै समाजप्रति उत्तरदायी हुने धेरै काम दराजबाट हुँदै आएको छ।

मेरो मूल्य–मान्यता पनि आफ्नो काम, आफूभन्दा माथि उठेर समाजका लागि केही गर्नुपर्छ भन्ने नै छ। मेरो एउटा व्यक्तिगत र निकै ठूलो सपना भनेको ‘सफा बाग्मती’ हो। बाग्मतीको हालको अवस्था देखैर भित्रैदेखि मेरो मन खल्बलिन्छ। मलाई थाहा छैन, यो कत्रो प्रोजेक्ट बन्न सक्छ, दराज नेपालको भूमिका कति हुन सक्छ, मेरो भूमिका पनि के हुन सक्छ तर सफा बाग्मती बनाउनै पर्छ। कति वर्षमा बाग्मती सफा गर्न सकिन्छ? केके कारणले गर्दा यो सफा भएको छैन? कति खर्चमा यो सफा गर्न सकिन्छ र सफा बाग्मतीको संरक्षण कसरी गर्न सकिन्छ भन्ने कुराको एउटा बृहत् योजना बनाएर अन्य कम्पनीसँगै मिलेर काम गर्न सकियो भने निकै राम्रो हुन्छ भन्ने लाग्छ।

दराजको एउटा मूल्य–मान्यता भनेको उदारता हो, जुन कम्पनीले आफै र आफ्ना कर्मचारीहरूमार्फत् पनि समाजमा योगदान पुर्‍याउन प्रोत्साहन गर्छ। यसका लागि कर्मचारीहरूले सामाजिक सेवा गर्नकै निमित्त पनि छुट्टी पाउन सक्नुहुन्छ।

‘नेपालमा काम गर्न सजिलो छैन, जहाँ पनि भ्रष्टाचार, अनियमितता छ’ भन्ने कथन धेरै सुनिन्छ। यस्तो अवस्थामा दराजले आफूभित्र हुन सक्ने अनियमितता, भ्रष्टाचार, अनुत्तरदायित्वलाई रोक्न के नीति लिएको छ?

दराज नेपाल एक बहुराष्ट्रिय कम्पनीअन्तर्गत पर्छ। त्यसैले पनि यहाँका नीतिहरू निकै स्पष्ट र कडा छन्। यससँगै दराजभित्रै कानुनी टिम छ, जसले यी विषयमा काम गर्छ। कसैले आर्थिक चलखेल गरेको छ वा आफ्नो शक्तिको दुरूपयोग गरेको छ भने पनि कडा एक्सन हुन्छ। दराजमा काम गर्ने व्यक्तिहरूको एभरेज उमेर पनि २७ वर्षमात्र भएकाले यस्तो कुरा यहाँ कम नै छ किनभने एमडीले भनेको छ वा कम्पनीको अन्य शक्तिशाली व्यक्तिले भनेको छ भनेर जे पनि काम गर्ने संस्कार यहाँ छैन। मैले यो काम किन गर्ने भनेर प्रश्न सोध्न सक्ने सामर्थ्य र शक्तिको पनि विकास दराजमा गरिएको छ। यससँगै हरेक मिटिङमा सबैका कुराहरू सुनिने र हाइरार्की घटाउने काम यहाँ भएको छ। सबैले यहाँ आफ्नो पोजिसन, काम महत्वपूर्ण छ भनेर लिन सक्नुहुन्छ। त्यसैले कसैलाई रिझाउन आफ्नो शक्तिको दुरूपयोग गर्ने जस्तो संस्कार छैन।

तपाईंसँग १८ वर्ष लामो समय अमेरिकामा काम गरेको पनि अनुभव छ, अहिले नेपालको पनि काम गर्ने तरिका, वर्क कल्चरबाट पनि परिचित हुँदै हुनुहुन्छ। तपाईंले अमेरिका र नेपालको वर्क कल्चरमा के कस्तो फरक पाउनुभयो?

सामान्यरूपमा अमेरिका र नेपालको वर्क कल्चर दाँज्नु भनेको बृहत् होला, त्यसैले मैले काम गरेको कम्पनी एमजोन र हालको दराजलाई दाँजेर हेरौँ। यहाँका व्यक्तिहरूका बारेमा भन्नुपर्दा निकै होनहार व्यक्तिहरू हुनुहुन्छ। कम्पनीको कुरा गर्दा एमजोन निकै ठुलो छ, जसका योजना, कार्यक्रम तथा प्रक्रिया स्पष्ट हुन्छन्। प्राथमिकताबारे क्लियरिटि छ। यहाँ भने प्रक्रियाका कुरा स्पष्ट हुन अझै बाँकी छ। काम गर्ने व्यक्तिहरू किन काम गरिरहेको छु भन्ने कुराको गहिराइमा जानु आवश्यक छ।  

नेपालमा प्लान गरेर काम गर्ने कुरा निकै कम छ। जस्तै, विवाहकै कुरा हेर्‍यौँ भने नेपालमा हप्ता–दश दिनअघि मात्र निमन्त्रणा आउँछ र कोको आउने–नआउने पनि थाहा हुँदैन, जसले गर्दा खानेकुरादेखि धेरै कुरा बढी हुने वा निकै कम हुने पनि गर्छ। ठ्याक्कै यसका विपरीत, अमेरिकामा हेर्‍यो भने वर्ष दिन अघिदेखिकै तैयारी हुन्छ। कोको आउने–नआउने सबै थाहा हुन्छ, जसले गर्दा पूरै कार्यक्रम राम्ररी गर्न सकिन्छ। त्यसैले यो काम गर्ने तरिका समाजमा कसरी चलिरहेको छ भन्नेले पनि फरक पार्ने रहेछ।

प्रायःजसो कर्पोरेट क्षेत्रमा काम गर्न निकै कठिन हुन्छ भन्ने कुरा सुनिन्छ र कर्मचारीहरू अफिस जाने समय पनि निराश, उदास भइराखेका हुन्छन्। काम गर्न मन नभए पनि तलबसुविधाकै लागि खटिइरहेको पाइन्छ। यस्तो अवस्थामा परिवर्तन ल्याउन दराजले के गरिरहेको छ?  

नेपालमा मैले के देखेँ भने कर्मचारीहरूलाई माया गरेकोजस्तो गर्ने तर अफिस टाइम सकिएपछि विभिन्न कार्यक्रमहरू गर्नेगरेको पाएँ। म आउनुभन्दा अघि दराजमा टेबलटेनिस खेल खेलाउने कार्यक्रम रहेछ तर बिदाको दिन। मैले त्यसलाई परिवर्तन गरेँ। यदि यस्ता कार्यक्रम राख्ने भए, कर्मचारीलाई माया गर्ने भए अफिस टाइममै गर्नुपर्छ। बिदाको दिन त वहाँहरूको व्यक्तिगत समय हो, अफिसले विभिन्न बाहनामा व्यक्तिगत समय लिन मिल्दैन।  

यसैगरी अहिले हामीले नो मिटिङ मनडे, अफिस टाइमभन्दा बाहेक अतिआवश्यक नपरेसम्म फोनहरू उठाउन नपर्ने, अफिस टाइम इन र आउट गर्ने र एउटा निश्चित समय बाँधेर राख्नेजस्तो कुरा हटाएका छौँ। कर्मचारीहरूले आफ्नो काम समयमै सकाउनु त पर्छ तर बाँधिएर, निस्सासिएर होइन भन्ने मेरो मान्यता हो। दिनमै १२ घण्टा कसैले काम गरिरहेको छ भने यो एकदम जायज हो कि उसको शरीर, मस्तिष्कले धेरै सक्रिय भएर भोलिपल्टबाट गर्न सक्दैन। हेल्दी वर्क लाइफ, वर्क ब्यालेन्स निकै महत्वपूर्ण छ र म यो कुरामा निकै गम्भीर पनि छु। नो मिटिङ मनडे किन आएको भने कर्मचारीहरूलाई नयाँ हप्ताको सुरुवातदेखि नै मिटिङको तनाब नहोस् र सबैले आनन्दले हप्ताको योजना बनाउन सकून् भनेर हो। कर्मचारीहरूले आफ्नो धेरै समय अफिस मै बिताउनुपर्ने हुन्छ र त्यो समय पनि दिक्क लाग्दो, निरासजनक भयो भने न आफू खुसी हुन सक्नुहुन्छ, न त काम नै राम्रोसँग गर्न सक्नुहुन्छ। त्यही भएर अफिस समय कसरी निराशाजनक नबनाउने, खुसी हुन सक्ने वातावारण बनाउने भन्ने कुरामा मैले ध्यान दिने गरेको छु।  

नेपालमा प्रायःजसो क्षेत्रको प्रमुख पुरुष हुनुहुन्छ। महिलाको नेतृत्व नरुचाउने पुरुषहरू पनि हुनुहुन्छ। तपाईंलाई नेपालमा काम सुरु गरिसकेपश्चात् महिलाको नेतृत्व नरुचाइएको जस्तो केही तितो अनुभवहरू भएको छ?

दराजमा मैले त्यस्तो महसुस कहिल्यै गर्नुपरेको छैन। तर दराजभन्दा बाहेक चाहिँ महिलाको नेतृत्व स्विकार्न गार्हो हुने भावना भने हुँदो रहेछ।  

धेरै अवस्थामा काम गर्दै जाँदा कहीँ न कहीँ कसैले केही अनियमितता गरेको, आफ्नो शक्तिको दुरूपयोग गरेको भेटिन सक्छ, जसले गर्दा असल काम गर्ने मोटिभेसन नै हराएर जान्छ। तपाईं एउटा यस्तो सशक्त पोजिसनमा हुनुहुन्छ र यो यात्रामा अनियमितता गर्ने मानिसहरू भेट्न सक्नुहुन्छ। त्यस्तो समयमा आफ्नो काम फत्ते गर्न तपाईंले के गर्नुहुन्छ?

सर्वप्रथम त म आफ्नो मूल्य–मान्यतामा अडिग रहने व्यक्ति हुँ। सत्य र निष्ठाको विषयमा आफ्नै परिवारसँग पनि लड्न सक्छु र झुक्दिन। मेरो यही व्यक्तिगत मूल्य–मान्यता मै रहेर म हरेक निर्णयहरू लिन्छु।  

दराज नेपालले महिलाहरूको सशक्तीकरणका लागि के कस्ता कार्यक्रमहरू गरिरहेको छ?

यस कम्पनीमा ४५% विभाग प्रमुखहरू महिला हुनुहुन्छ। सबै कर्मचारीमा पनि ३५% महिला नै हुनुहुन्छ। हामीले सुत्केरी बिदालाई ३ महिनाबाट बढाएर ४ महिना गरेका छौँ र हामीभित्रै दि वुमे भन्ने एउटा कमिटी छ, जसले दराज नेपालभित्र महिलासँग सम्बन्धित विषयमा छलफल गर्ने र केकस्ता योजना चाहिन्छ, त्यसबारे सुझाब दिने काम गर्छ। मुख्य कुरा भनेको सुन्ने काम हो। जति हामी वहाँहरूलाई सुन्न सक्छौँ, त्यति नै वहाँहरूको आवश्यकताबारे थाहा पाएर काम गर्न सक्छौँ।

हामी तपाईंलाई एक सशक्त महिलाको रूपमा देख्छौँ, जो अहिले नेतृत्व गर्ने पदमा हुनुहुन्छ। तपाईंलाई नै आइडियल मानेर हेरिरहेका अन्य महिला, व्यक्तिहरूका लागि के सन्देश दिन चाहनुहुन्छ?

तपाईं आफूलाई चिन्नुस्। धेरै नयाँ कुराबारे जान्न र एक्सप्लोर गर्न आफूलाई स्पेस दिनुस्। आफूलाई चिनेर के कुरा मनपर्छ, मनपर्दैन भन्ने थाहा पाउनुस् र अडिग भएर हिँड्नुस्। आफैँलाई बुझिसकेपछि मिहिनेत, लगनशीलता पनि आउँदै जान्छ। अरू हुने कोसिस नगर्नुस्, आफू नै बन्नुस् भन्न चाहन्छु।

प्रकाशित: ४ असार २०७९ ०७:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App