७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

‘लहानलाई लोभलाग्दो नगर बनाउँछु’

देशमा संघीयता स्थापनाका लागि भएको पहिलो मधेस विद्रोह ०६३ को उद्गमभूमि हो– लहान। विश्वकै दोस्रो ठूलो ‘सगरमाथा चौधरी आँखा अस्पताल’ रहेको लहान चिकित्सा पर्यटनको बलियो सम्भावना बोकेको सहर हो। पूर्वपश्चिम राजमार्गमा अवस्थित यो सहर लोभलाग्दो बनाउन पर्याप्त स्रोत भए पनि इच्छाशक्ति बलियो भएको सरकार नपाउँदा ओझेलमा पर्दै गएको छ।

शिक्षा, स्वास्थ्य र पर्यटनको बलियो सम्भावना बोकेको यो सहर लोकसंस्कृति सलहेसदेखि विभिन्न शक्तिपीठले भरिभराउ छ। यस नगरलाई दुईपटक नेतृत्व प्रदान गरिसकेका एमालेका मुनी साह सुडीलाई ८ हजार १३९ मतान्तरले पराजित गर्दै नेपाली कांग्रेसका महेशप्रसाद चौधरी नगरको नयाँ मेयर निर्वाचित भएका छन्। नगरको सम्भावना, योजना र चुनौतीका विषयमा मेयर महेशप्रसाद चौधरीसँग नागरिककर्मी मिथिलेश यादवले गरेको कुराकानीः

लहान नगरपालिकाको मेयरमा निर्वाचित हुँदाको क्षणलाई कसरी सम्झिनुहुन्छ?

सबैभन्दा पहिला नगरबासीलाई अनेकानेक धन्यवाद दिन चाहन्छु, मलाई नगरको मुखिया चुनिदिनुभयो। वर्षौदेखि उकुसमुकुस लहानबासी यसपालि भरोसा गर्ने लायक व्यक्तिलाई आफ्नो मुखिया चुन्नुभएको छ। निर्वाचित हुँदा म जति खुसी छु, त्योभन्दा बढ्दा गम्भीर जनताको भरोसालाई पूरा गर्ने पक्षमा छु। जनतालाई अनुभूति हुनेगरी परिवर्तण र रूपान्तरणको जग बसाल्न पाए म निर्वाचित भएको अर्थ रहन्छ। मेयरमा निर्वाचित हुँदाको क्षणलाई जनताको जिम्मेवारी बोकेको भरियाका रूपमा लिएको छु, नकि शासक र सरकारका रूपमा।

तपाईंलाई निर्वाचित गराउनमा बढ्ता योगदान समाजको हो कि राजनीतिक दलको?

दुबैको हो। नेपाली कांग्रेस जसले मलाई टिकट दियो। तर, मुख्य श्रेय म लहान नगरपालिकाका जनतालाई दिन चाहन्छु जसले आफ्नो अमूल्य मत दिएर मलाई आफ्नो सेवक चयन गर्नुभयो।

पहिला पनि म राजनीतिक कार्यकर्ताभन्दा समाजसेवी भन्न बढ्ता रुचाउँथे। नगरको अभावपीडितलाई सक्ने जति सहयोग गर्नमै म रमाएको थिएँ। पहिला नागरिकको हैसियतमा समाजसेवा गर्थें। अब स्थानीय सरकार प्रमुखको हैसियतमा जनताको सेवामा खटिन्छु। पदीय हैसियत बदलिए पनि काम उही हुन्छ, जनसेवा। जुन जनताले ममाथि यति धेरै विश्वासको मत खन्याउनुभएको छ, उहाँहरू ढुक्क भए हुन्छ। म निराश बनाउने छैन।

विगतको कोरोना काललाई कसरी सम्झिन चाहनुहुन्छ?

त्यो काल मेरो जीवनकै अति नै पीडादायी बन्यो। मैले आफ्नी श्रीमती गुमाउन पुगेकोमा दुःख छ। तर, सन्तोष यस अर्थमा कि मेरी श्रीमती जनसेवा गर्दागर्दै प्राण त्यागिन्। उनी कोरोनाका कारण सरकारले गरेको बन्दाबन्दीबाट प्रभावित समुदायलाई राहत वितरण गर्दागर्दै सङ्क्रमित हुनपुगेकी थिइन्। हामीले सँगै सुरु गरेको जनसेवा अभियानलाई श्रीमतीको देहावसानपछि पनि मैले निरन्तरता दिइरहेँ। धेरै मानिसको अनुहारमा मुस्कान भर्न पाएकोमा मलाई औधी खुःसी र सन्तोष छ। त्यो समयलाई म बाचुन्जेल याद राख्न चाहन्छु।

गणतन्त्र स्थापनापछिको पहिलो स्थानीय तह निर्वाचन ०७४ मा पनि तपाईं मेयरको उम्मेदवार बन्ने इच्छा राख्नुभएको थियो?

हो, राखेकै हो। त्यो बेला मैले पार्टीबाट टिकट पाइनँ। पार्टीबाट अर्कै साथीले टिकट पाउनुभयो। त्यो बेला हामीले लुज गर्‍यौं। मचाहिँ हार मानिनँ। टिकट नपाए पनि म जनताको सेवामा निरन्तर खटिरहेँ। हुनेखानेभन्दा पनि हातमुख जोड्न समस्या भोगिरहेका परिवारको साथी बनेँ। यो नगरमा भोकभोकै कोही बस्नुपरेन। सबै अभावपीडितलाई अन्न, दाउरा, ग्यास चुलो उपलब्ध गराएँ। आखिर जनताले त्यसवापत मलाई आफ्नो विश्वासको मत दिएर मेयर चुन्नुभयो।

यसपालिको चुनावमा तपाईंले त सदर मतको आधी मत प्राप्त गर्नुभयो, कसरी?

फेरि कोरोना कहरकै समय स्मरण गर्न चाहन्छु। त्यो बेला सरकारी सेवा डराएर खुम्चिएको थियो। मानिसहरू रोजगार गुमाउन पुगेका थिए। आम्दानी रोकिएको थियो। गरिबहरू भोकले छटपटाइरहेका थिए। सरकार निरीह दर्शक बनेको अवस्था थियो। मेरी श्रीमती सङ्गीता र म आफ्नो व्यक्तिगत लगानीमा विपन्न, दलित, गरिब, असहाय, अपाङ्ग, मजदुर र एकल महिलाहरूलाई खाद्यान्न सहयोग गर्ने सोच बनाएँ। तर पूरा गर्न निकै चुनौती थियो। लक्षित समुदाय धेरै थिए, स्रोत थोरै थियो।

हामीले सुरुवात गर्ने आँट गर्‍यौं। बिस्तारै स्रोत जुट्दै गयो। हामी सबै अभावपीडित समक्ष खाद्यान्न पुर्‍यायौं। सरकारमा नहुँदा त जनताका लागि ज्यान फाल्ने मान्छे त्यो ठाउँमा पुगेपछि केसम्म गर्न सक्छन् भनेर नगरवासीले मलाई कुल ४० हजार सदर मतको आधा २० हजार १०५ मत दिएर नगरको ‘मुखिया’ बनाएका छन्। जनताको विश्वासमा अडिग रहन सक्नु र अपेक्षित विकास गर्नु मेरो मूल मन्त्र हुनेछ।

पदभार ग्रहण गरेपछि जनतालाई अनुभूति हुने खालका केही काम गर्नुभएको छ?

दुईचार दिनमै त चमत्कार हुन सक्दैन। यद्यपि मैले पदभार ग्रहण गरेकै दिन व्यक्तिगत घटना दर्ताअन्तर्गत जन्मदर्ता, नागरिकता सिफारिस, विवाहदर्ता र मृत्युदर्ता निःशुल्क गर्ने घोषणा गरेको छु। प्रमुख प्रशासकीय अधिकृतमार्फत् नगरपालिकाका २४ वटै वडाका सचिवहरूलाई परिपत्र पनि भैसकेको छ।

मधेसका रैथाने भए पनि सुकुम्बासी जीवन बाँच्न बाध्य मुसहर समुदायलाई पाँच हजार किरिया खर्च उपलब्ध गराउने सुरुवात भैसकेको छ। मुसहर समुदायमा जोकोहीको मृत्यु भए पनि किरिया गर्न नगरपालिकाले पाँच हजार रूपैयाँ सहयोग गर्छ।

ज्येष्ठ नागरिकहरूले बैंक बाहिर घण्टौं लाइनमा लागेर सामाजिक सुरक्षा भत्ता लिनुपर्ने बाध्यतालाई दूर गर्न घरघरमै भत्ता पुर्‍याउने प्रक्रिया सुरुवात भैसकेको छ। अर्को कुरा आफूले पाउने तलब सुविधा महिनाको प्रत्येक २२ गते एउटा दलित बस्तीमा सहयोग गर्ने घोषणा गरेको छु। प्रत्येक परिवारलाई १० किलो चामल, एक लिटर खानेतेल र एक किलो नुन उपलब्ध गराउने छु। यस नगरमा करिब चारहजार घरधुरी दलितको बसोबास छ।

यो नगरमा सुगम र दुर्गम दुवै बस्ती छन्। दुर्गमका जनताको दुःख दूर गर्न कस्तो योजना छ?

मधेश प्रदेशको लहान नगरपालिका हेर्दा सुगम देखिन्छ। तर धेरै बस्ती यस्ता छन्, जहाँ शुद्ध खानेपानीसमेत उपलब्ध छैन। लहान नगरपालिका– १६ दुर्गम क्षेत्र मानिन्छ। यस वडाको भसुवा भम्रेका बासिन्दा वर्षौंदेखि शुद्ध पानीका लागि काकाकुल छन्।

चुरे सिरानका बासिन्दाका लागि शुद्ध खानेपानी, स्कुल, स्वास्थ्य उपचार केन्द्रको निर्माणलाई प्राथमिकता दिन्छु। लहान नगरक्षेत्रभित्रका जनताबीचको असमान विकासमा समानता ल्याउँछु। लहान बजार क्षेत्रका जनताले पाउने सेवा सुविधा बराबरको सुविधा चुरे सिरानका जनतालाई पनि उपलब्ध हुने वातावरण बनाउँछु। विकासमा असमानता दूर गरेर समान र साझा विकासलाई अघि बढाउँछु।

नगर क्षेत्रभित्र पूर्वपश्चिम राजमार्ग क्षेत्रमा जहाँतहीँ छाडा चौपाया छाडिएको देखिन्छ नि?

हो, छाडा चौपाया र सडकमै निर्माण सामग्री राखेर आवागमनमा समस्या पैदा गर्ने देखिएको छ। नगरपालिकाभित्रका सडकहरूमा राखिएका निर्माण सामग्री हटाउन नगर प्रहरी इन्चार्जलाई निर्देशन दिइसकेको छु। नगरक्षेत्रभित्रका सडकमा छाडा रूपमा छोडिएका चौपाया नियन्त्रणमा लिई जरिवानाको व्यवस्थासमेत गर्ने कामको सुरुवात भैसकेको छ। विस्तारै सबै नियन्त्रणमा आउँछ।

बर्खाको समयमा नगर क्षेत्रभित्रका सडक र पानी व्यवस्थापनको अव्यवस्थालाई कसरी व्यवस्थापन गर्ने योजना छ?

यो यस नगरको ठूलै समस्या हो। पहिला दीर्घकालीनभन्दा झारो टार्ने किसिमबाट सडक र नालाका कामहरू भए। कति लथालिङ्ग पारेर छाडिएको अवस्था छ। पानीको निकासका लागि निर्माण भएका नाला र नहरलाई उकास गर्ने काम सुरुवात भैसकेको छ। भएका नाला नहरहरूको सफाइको काम पनि तीव्र गतिमा भैरहेको छ। बर्खापछि दीर्घकालीन योजनाअन्तगर्त ड्रनेज निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउँछु। नगर क्षेत्रका सडकहरू दुरुस्त पार्ने र भोटियाटोलदेखि बर्छावा जाने सडक पनि गाडी गुड्नलायक बनाउन निर्देशन दिइसकेको छु। १० दिनभित्र सडक मर्मत गरेर गाडी चल्नसक्ने बन्छ।

नगरपालिका कार्यालय हाताभित्र सञ्चालित चमेना गृह तपाईं आएपछि बन्द गराइदिनुभयो?

हो, बन्द गराइदिएँ। म आउनुअघि नगरपालिकाले मासिक तीन लाखभन्दा बढीको चियामा खर्च गरिरहेको थियो। मलाई त्यो मितव्ययी लागेन, बन्द गराइदिएँ। यो नगरपालिका ८५ करोडको बजेट घाटामा छ। यो घाटा कम गर्न अनावश्यक खर्च कटौती गर्नै पर्‍यो नि। यसले नगरपालिकाको वार्षिक ३६ लाख खर्च कम गर्छ।

बजेट घाटाको सन्तुलन मिलाउन अरू केके गर्नुभएको छ?

बजेटको स्रोत नभएको ठेक्का रद्द गर्न निर्देशन दिएको छु। दैनिक ज्यालादारीका १५० जना कर्मचारी हटाइदिएको छु। जनप्रतिनिधि र कर्मचारीलाई अनावश्यक खर्च कटौती गर्न निर्देशन दिएको छु।

नगर प्रमुख भएपछि प्रायः सबै सेतो नम्बर प्लेट भएको सरकारी गाडी चढ्छन्। तपाइँचाहिँ रातो नम्बर प्लेटवाला किन चढ्नुभएको?

हाहा! हँसाउनुभयो! म पहिलादेखि आफ्नै गाडी चढ्दैआएको कुरा नौलो होइन। आज नगर प्रमुख हुँदा सरकारी गाडी चढ्न मन मानिरहेको छैन। मलाई सरकारी गाडी चढेर जनताको काम गर्न असहज लागिरहेको छ। म आफ्नै गाडी चढेर जनताको सेवा गर्नमा सन्तुष्टि महसुस गरिरहेको छुु। यसले नगरपालिकाको खर्च सन्तुलन गर्न थोरै भए पनि मद्दत गर्छ।

स्थानीय तहको ठूलो रोग भ्रष्टाचार हो। यसलाई कसरी नियन्त्रण गर्न सक्नुहुन्छ?

हो, यो सत्य हो। मैले पदभार ग्रहण गरेकै दिन सम्पूर्ण कर्मचारी र जनप्रनिधिसमक्ष आफ्नो पक्ष स्पष्ट पारिसकेको छु। मैले अठोट लिएको छु कि मैले भ्रष्टाचार गरेको कसैले प्रमाणित गरिदिएकै दिन पदबाट राजीनामा गर्छु। कर्मचारीहरूलाई तलबले पुग्दैन भने इमान्दार कर्मचारीलाई कार्यपालिकाको निर्णयबाट सुविधा थप्न तयार छु तर भ्रष्टाचार गरेको सहन तयार छैन। म आफ्नो कार्यकालमा यस नगरलाई भ्रष्टाचारको कलङ्कबाट दूर राख्ने पूर्ण प्रतिबद्ध छु।

लहानलाई लोभलाग्दो सहर बनाउने योजना के छ?

शिक्षा, स्वास्थ्य र पर्यटनमा आवश्यक बजेट विनियोजन गरेर इमान्दारीका साथ कार्य अघि बढाउँछु। यस नगरमा जसरी सगरमाथा चौधरी आँखा अस्पताल आँखा उपचारको हब बनिसकेको छ। त्यसैगरी लहान अस्पताललाई ट्रमा बिरामीका लागि हब बनाउने योजना छ। यस अस्पताललाई सुविधायुक्त ट्रमा अस्पतालका रूपमा सम्पन्न बनाउने योजना छ।

गुणस्तरीय शिक्षा आर्जनका लागि दुई दशक अघिसम्म यहाँ विभिन्न भूगोलबाट विद्यार्थी लहान क्षेत्रमा झुम्मिन्थे। यहाँको शिक्षाको गुणस्तर र पूर्वाधारलाई उचाइमा पुर्‍याएर शिक्षाको हब बनाउने अठोटका साथ छिट्टै कार्य अघि बढाउँछु।

प्रत्येक इलाका स्वास्थ्य कार्यालयमा एमबिबिएस राख्ने बन्दोबस्त मिलाउँदै छु। गाउँका बिरामीहरू हतपत सहर आउनुनपर्ने गरी स्वास्थ्य उपचार केन्द्रहरूको उपचार सेवा प्रभावकारी बनाउँदै छु।

धेरै कर्मचारीलाई तपाईंले हटाउनुभएको छ। रोजगारीका लागि के सोच्नुभएको छ?

होइन, यो नगरपालिकालाई दिवालिया बन्नबाट जोगाउने प्रयास मात्र गरेको हुँ। रोजगारीका लागि भन्दा पनि स्वरोजगारका लागि नगरपालिकाबाट आर्थिक सहयोगदेखि सिपका धेरै योजनाहरू आउँदै छन्। मेरो कार्यकालमा धेरै युवायुवती स्वरोजगारमार्फत् आत्मनिर्भर हुने छन्।

किसानहरू खेती गर्न हौसिने छन्। किसानका लागि पनि नगरपालिकबाट आर्थिक सहयोगदेखि तालिमसम्मको बन्दोबस्त मिलाउँदै छु। सिँचाइ, मलखात, बीउलगायतको सुविधा उपलब्ध गराएर कृषितर्फ आकर्षण बढाउने र कृषि रोजगारको मूल खोल्ने मेरो योजना छ। मैले असुरक्षित रोजगारभन्दा सुरक्षित र सिपसहितको रोजगारका लागि नगरका युवायुवतीलाई सधैं प्रेरित र सहभागी गराउनेछु।

प्रकाशित: १४ जेष्ठ २०७९ ०३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App