८ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्तर्वार्ता

‘पहेँलपुर’ हाम्रो देशको ययार्थ हो

नेपाली साहित्यमा भर्खरै उदाएका साहित्यकार जीएस पौडेलको वास्तविक नाम घनश्याम पौडेल हो। विसं २०४१ सालमा माता विष्णुमाया तिमिल्सिना र पीता वेदप्रसाद पौडेलको कोखबाट उनी गैँडाकोटमा जन्मिएका थिए। 'एक सर्को माया' उपन्यास प्रकाशन भएपछि नेपाली साहित्यिक बजारमा उनको व्यापक चर्चापरिचर्चा हुन थालेकाे छ। साथै भर्खरै उनको 'पहेँलपुर' उपन्यासले निकै चर्चा बटुलेकाे छ। उनै साहित्यकार पौडेलसँग नागरिकले गरेकाे कुराकानीकाे अंशः 

जिएस पाैडेलेकाे बाल्यकाल कसरी बित्याे?

मेरो बाल्यकाल त्यतिबेलाको आम निम्न वर्गीय नेपाली परिवारमा हुर्केको औसत बालकको प्रतिनिधित्व गर्थ्यो भन्दा हुन्छ। परिवार आर्थिक रूपमा जति नै कमजोर भए पनि बाल्यकालले त्यसको बोझ बोक्नु नपर्ने हुँदा धेरैजसोको बाल्यकाल सुखद नै रहन्छ या कम्तीमा त्यसलाई आज स्मरण गरिरहँदा सुखद नै लाग्ने गर्दछ। मेरो र मेरा प्रायः सबै बालसखाहरूको त्यो विशिष्ट काल, एकैखाले दिनचर्यामा वित्ने गर्दथ्यो।

आज मेराे आफ्नो बाल्यकाललाई स्मरण गरिरहँदा सबैभन्दा कलिलो ‘म’ निलो जाँघेको गोजीमा आधा दर्जन जति शिशाको गुच्चा बोकेर, एकाबिहानै नाङ्गो खुट्टा चोकतिर दाैड्दै गरेको देख्छु। सायद त्यो पहिलो पटक थियो, हजुरबाले मलाई शिशाको गुच्चा ल्याइदिनुभएको। योभन्दा पहिलो पटक म हाम्रोतिर पाइने काँडाको गुच्चा खेल्ने गर्थ्येँ। तिन्ताका सायद म तीन कक्षामा पढ्थेँ कि?

बिहानै उठ्यो, गुच्चा खेल्न गयो। खेल्दाखेल्दै कहिले त स्कुल जाने समय भएको पत्तो नहुने। कहिले हजुरमा त कहिले आमा खोज्दै आउनुहुन्थ्यो। मेरो मात्र होइन सबै साथीहरूको पनि त्यस्तै। त्यसपछि दगुर्दै घर आयो, सपासप भात खायो र गन्जी उतारेर सेतो कमिज लगायो, ऊनीको झोला भिर्‍याे अनि स्कुल हिँड्यो।

स्कुल जाँदा पनि हामी साथीहरूलाई पर्खेर सँगै जान्थ्यौँ। प्राविमा पढ्न जाँदा लैजाने खाजा प्रायः भुटेको मकै, भट्ट या चिउरा हुने गर्थ्याे। मावि पढ्दा भने दुईचार पैसा बोकेर गइन्थ्यो। कहिले पुष्टकारी, कहिले भुजाबाट लड्डु, चनाचटपट आलुचप आदि खाइन्थ्यो। पैसा नहुँदा स्कुल नजिक घर भएका साथीहरूको पछि लागेर गइन्थ्यो। अनि सिजनअनुसार कहिले मेवा, कहिले लिची,आँप, कहिले भोगटे त कहिले उनीहरूको भागमा पाकेको खाजा या भात पनि खाइन्थ्यो। अहिलेको विद्यार्थी जीवनमा त्यो कहाँ सम्भव?

अहिले हाम्रा छोराछोरीहरूको मोवाइलमा थुप्रै प्रकारका खेल खेल्छन्। हामीले चाहिँ धुलो, हिलो, बालुवा र पानीमा थुप्रै खेल खेल्याैँ। गुच्चाबाहेक हामी सात पत्थर खेल्थ्यौँ। पितौजी खेल्थ्यौं (त्यतिबेला त्यसको नाम पितौंजी भन्न नजानेर हामी घुरुङ भन्थ्यौँ) डोरीले घुमाउने घुरुङ पनि खेल्थ्यौँ। अझ मजाको कुरा त थोडी हुन्थ्यो, अरू ठाउँमा यसलाई के भन्छन् कुन्नि थोडी एक प्रकारको क्रिकेट जस्तै हुन्थ्यो। म र मेरा बालसखाहरूले खेलेको धेरै खेलमध्ये यो पनि एक थियो।

नेपाल निकै सम्पन्न तर निकै अभागी देश हो। हामी प्राकृतिक सांस्कृतिक र सामाजिक रूपमा धेरै सम्पन्न छौ तर यसको समुचित उपयोग गर्न सकिएको छैन। सबैभन्दा दुःखको कुरा हामीकहाँ स्वार्थ र षड्यन्त्रको राजनीतिकबाहेक अरू केही कुराको विकास भएको देखिँदैन। काठमाडौँको सिंहदरबारदेखि सुदूर विकटका स-साना दरबारसम्म स्वार्थ र षड्यन्त्रको राजनीति हावी छ।

दशैंमा पिङ तिहारमा देउसी खेल्ने काम त सामान्य भइहाल्यो। होलीमा रंग किन्ने पैसा नहुँदा इँटाको धुलो पानीमा हालेर बाँसको पिचकारीले एक अर्कालाई छ्याप्दै रमाइलो पनि खुब गरियो। घरमा साइकल बोकेर कोही आयो भने मान्नुस् हाम्रो लट्री नै लाग्थ्यो। कैंची चलाउँदै साइकल कुदाउन कम्ता मजा हुन्थेन। पछिपछि हाम्रो घरमा झुम्राको फुटबल, ब्रिक गेम, लुँडो र क्रिकेट पनि खेल्यौं। यसरी मेरो बाल्यकालको ठूलो हिस्सा खेलैखेलले भरिएको छ।

नारायणीछेउमा हुर्किएको मेरो बाल्यकाल, नदीमा पौडिनु हाम्रो नियमित दिनचर्या जस्तै हुन्थ्यो। नदी तरेर पारिपट्टिको निकुन्जमा हामी साथीभाइ गइरहन्थ्यौं। सिजन अनुसार कहिले बयर टिप्न, कहिले निगुरो टिप्न वनकाँडा (साबुन बनाउने एक प्रकारको कच्चा पदार्थ) खोज्ने कहिले हुटिट्याउँको फूल खोज्ने, कहिले झुलमा माछा मार्न, कहिले वन करेलो टिप्न, कहिले गाईभैंसी चराउन त कहिले यसै दाइहरूको पछिपछि हामी नदी तरेर निकुन्जमा जान्थ्यौं। निकुन्जको ठूल्ठूलो बगरको बयरघारी नारायणीसँगै बगेर सकिएको छ। त्यो अब सम्झनामा मात्रै बाँकी छ।

गर्मी याममा बिहानको पढाइ हुन्थ्यो। दिनभरि हामी नारायणी किनारमा बल्छी थाप्थ्यौं। नदीछेउका ढुंगाहरूमुनि हात हालेर गंगटाहरू खोज्थ्यौँ र पोलेर खान्थ्यौँ। झिंगे माछा पनि पोलेर खान्थ्यौँ। बालुवामा घामले डढेर कालो भइन्जेल लडीबुडी गर्थ्याैँ र दौड्दै गएर नारायणीमा झ्वाम्म हामफाल्थ्यौं। बर्खामा पहाडतिरबाट बगाएर ल्याएका काठहरू छोप्न ठूलाठूला भेलहरूसम्म पुग्थ्यौं। कति पटक त भुमरीमा फसेर भक्कानिँदै बाहिर आउँथ्यौं। बर्खाको त्यो अजंगको नारायणीमा डुबेर कान थाप्थ्यौं र गर्भमा सुसाएको नाराणी सुन्थ्यौँ। आहा क्या दिन थिए ती। मेरो बाल्यकालको अर्को ठूलो हिस्सा नारायणीको पानीले भिजेको छ।

तपाईको नजरमा जीएस पौडेल को हो?

मेरो नजरमा जीएस पौडेल एउटा सामान्य घरबारे मान्छे हो जसले आफ्नो परिवारको आर्थिक जिम्मेवारी उठाएको छ। उसलाई एकान्त र शान्त रहन मनपर्छ। उसलाई बोल्नभन्दा धेरै सुन्न मनपर्छ। सुन्नभन्दा पढ्न मनपर्छ। आफ्नो बाटो हिँड्ने आफ्नो मानो खान। अनावश्यक रूपमा कसैसँगै बहस नगर्ने झट्ट हेर्दा घमन्डी जस्तो। आफ्ना थोरै साथीको सर्कलमा धेरै रमाउने मन्चमा उक्लेर माइक समातेर बोल्न डराउने स्वभावको मान्छे हो, जिएस पौडेल।

'एक सर्को माया'मा नसोचेको सफलता पाउँदा कस्तो लाग्छ?

'एक सर्को माया' मार्फत् मैले नेपाली साहित्यमा सानै तहमा भए पनि एउटा परिचय गर्ने मौका पाएँ। यसले मलाई एउटा सुखद् अनुभूति दिएको छ। मेरो पहिलो पुस्तकले यति धेरै पाठकको मन जित्न सफल होला मैले सोचेको थिइनँ तर अहिलेसम्म पनि पाठकहरूले ‘एक सर्को माया’ पढेर मलाई प्रतिक्रिया दिइरहनुभएको छ। ती हरेक प्रतिक्रियाले मलाई अझ ऊर्जावान् हुन प्रेरणा दिइरहेका छन्। ‘एक सर्को माया’ भन्दा पनि अहिले मैले ‘पहेँलपुर’का प्रतिक्रिया धेरै पाइरहेको छु। यो उपन्यासमा आएका प्रतिक्रियाहरू झनै राम्रा छन्। पाठकहरूले झनै मन पराइदिनुभएको छ। हो, दुवै पुस्तक  ठूला छन् तैपनि  पाठकहरू नहिच्किचाई पढेर आफ्ना अमूल्य प्रतिक्रिया दिनुहुन्छ। मेरो दुवै पुस्तकलाई माया मिलेको छ। म सबै पाठकप्रति आभारी छु।

प्रवासबाट देश कसरी सम्झिनुहुन्छ?

कुनै काम गर्न कुनै न कुनै राजनीतिक दलको झण्डा नबोकी नहुने भएको छ। हरेक सरकारी अड्डाको दलिन अगाडि दलहरूको रजाइँ छ। दलाल नपोसेसम्म कुनै सरकारी काम हुँदैन। नेता नपोसेसम्म कर्मचारीको सरुवा हुँदैन। न्यायालय पत्रकारिता, अनेक सामाजिक अभियानहरू, संघसंस्थानहरू हरेक कुरामा राजनीति थोपरिएको छ।

–ल भन्नुस् त नेपालको कुन क्षेत्र छ जहाँ सिन्डिकेट छैन। यस्तो फोहोर राजनीतिमा हुर्किँदै गरेको हाम्रो समाज कसरी सफा हुन सक्छ? यो सबै कुरासँग विद्रोह गर्न मान्छे तयार देखिँदैन किनभने विद्रोहको नाममा जे वितण्डा हुँदै आए। त्यसले उनीहरूभित्र ठूलो वितृष्णा पैदा गरिसकेको छ। यति सुन्दर उर्वर देश यति कुरूप बन्जर भएको छ। देशले राम्रो राजनैतिक संस्कार नहुँदाको परिणाम भोग्दैछ। नेताहरूमा दूरदर्शिता छैन। कार्यकर्ताहरूमा विवेक छैन। आम जनतामा राजनैतिक चेतना पुगिसकेको छैन। भ्रमको अखबार चलाई झुट र स्वार्थको खेतीले सारा सिस्टम ब्रिफकेशभित्रबाट कोचिएको छ।

सबै नेपालीलाई देशको यो अवस्थाले पिरोलेको छ र मलाई पनि। ‘पहेँलपुर’ उपन्यासका पात्रहरूले जस्तै हामी पारसमणि नामको आश्वासन ‘पहेँलपुर’ नामको राजनीति र त्यसैले दिएको डिप्रेसनरूपी पारस चक्की खाएर जिउन बाध्य छौं। यो नै हाम्रो देशको ययार्थ हो। यसबाट उन्मुक्त हुन जरुरी छ। तर, मन निरास भएको भने छैन। ‘पहेँलपुर’ उपन्यासको अन्त्यमा आलोकको हातमा भर्भराइरहेको आगोको भ्रूँड प्रतिकान्ति भ्रूँड हरेक नेपाली युवाको हत्केलामा देख्छु म। त्यसैले देशले सही मानेमा खोजेको परिवर्तन धेरै पर छैन भन्ने कुरामा आशावादी छु। तर, त्यति सन्निकट पनि छैन। नेपालको राष्ट्रिय राजनीतिमा सक्षम युवाहरूको हस्तक्षेपकारी उपस्थिति मात्र होइन नेतृत्व पनि चाहिन्छ।

प्रकाशित: २४ पुस २०७८ ०८:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App