coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्वार्ता

अध्यक्ष आफैँले मलाई जिताउनुस् भन्न मिल्दैन: भीम रावल

सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै महाधिवेशनको हलले अध्यक्ष केपी ओलीलाई जिम्मा दिएको हो?

त्यो पूर्णतः गलत हो। हलले कसैलाई जिम्मा दिएको छैन। अध्यक्षमण्डलको तर्फबाट त्यसलाई स्वीकार गरिएको छैन। स्वयं पार्टी अध्यक्षले सहमति भयो भने मात्रै प्रस्ताव आउँछ, नत्र सहमति नभए प्रत्येक व्यक्तिले निर्वाचन लड्न पाउँछ भनेर त्यहीँ नै खण्डन गरिसक्नुभएको छ। विधान महाधिवेशनले पारित गरेको विधान दुई महिना नपुग्दै शुक्रबार केन्द्रीय कमिटी बैठकबाट परिवर्तन गरियो। त्यो प्रस्ताव ल्याउँदा पनि हामीसँग कुनै छलफल गरिएन। तर पनि हामीले त्यसमा कुनै अब्जेक्सन जनाएनौं। बन्दसत्रमा एक्कासी त्यस्तो प्रस्ताव आउदा घनश्याम भूषालजीले तल फ्लोरबाट र मैले माथि अध्यक्ष मण्डलकै मञ्चबाट प्रतिवाद गरेपछि त्यो रोकिएको हो।

मैले अस्ति नै आचारसंहिताविपरीत भनिसकेको छु। निर्वाचन आयोगले जुन आचारसंहिता ल्याएको छ, कुनै पनि व्यक्तिले मलाई जिताउनुस् भनेर लामो–लामो भाषण गर्न पाउँदैन। झन् निजले नै उम्मेदवारको सूची पेस गर्ने कुरा त लोकतन्त्रको उपहास हो। बन्दसत्रमा मलाई बोल्न दिनपर्छ भनेको थिए तर मलाई बोल्न समय छैन भन्ने अध्यक्षलेचाहि दुई घण्टा भन्दा बढी मलाई जिताउनुस भन्दै भाषण गर्न मिल्छ?

बन्दसत्रमा कसले पेश गर्‍यो प्रस्ताव?

उपमहासचिव विष्णु पौडेलले प्रस्ताव अगाडि बढाउने क्रममा पदाधिकारी र केन्द्रीय सदस्यहरूको सूची पेस गर्ने अधिकार अध्यक्षलाई दिने र उहाँले प्रस्तुत गर्ने भन्नुभो। मलाई आश्चर्य लाग्यो। यस्तो गम्भीर कुरामा छलफल नै छैन, केन्द्रीय कमिटी बैठकमा कुरै भएको छैन। हामी अध्यक्षमण्डलमा छौँ। अध्यक्षमण्डलले स्वीकृत नगरी प्रस्ताव नै पेस गर्न पाइँदैन। त्यसकारण मैले बीचैमा उठेर यो मान्य छैन भने। यस्तो प्रस्ताव आउनुनै हुँदनथ्यो। आएपनि मानइ हुँदैन। म अध्यक्षको उम्मेदवार हुँ। म विधि, पद्धति र लोकतान्त्रिक मूल्य मान्यतामा आधारित भएर पार्टीलाई अघि बढाउनुपर्छ भन्दै आएको छु त्यसकारण जो जो यस्तो परिस्थिति ल्याउनु भयो त्यो मान्य छैन।

अरु कसले के भने?

प्रतिनिधिहरूसँगै रहनुभएका घनश्याम भुसाल तल उठ्नुभो र हामी दुवैले प्रतिवाद गर्‍यौँ। बैठक सञ्चालन गरिरहनुभएका महासचिवले मलाई बोल्ने समय दिनुभयो। मैले प्रतिवाद गर्दै यो प्रस्ताव कहाँबाट आयो? दोस्रो केन्द्रीय कमिटी बैठकमा छलफलै भएको होइन भनेँ। हामी विधि–पद्धतिबाट चल्नुपर्छ भन्दै पार्टी विधानमा निर्वाचन गर्नुपर्ने अनिवार्य व्यवस्था पढेर सुनाएँ। यो विधानविपरीत छ, मान्य हुन सक्दैन भन्दै आफ्ना कुरा राखेँ।

त्यसपछि अध्यक्षले के भन्नुभयो?

मैले कुरा सकेपछि अध्यक्षले बोल्नुभो। उहाँले सहमति भएपछि भनेको हो, भएन भने त सबैको अधिकार सुरक्षित छ भन्नुभो। व्यक्तिको चुन्ने र चुनिने सार्वभौम अधिकारमाथि प्रहार गर्ने गरी बन्दसत्रमा जुन प्रस्ताव आएको छ, यसलाई मैले गम्भीर रूपमा लिएको छु। पार्टी बचाउन मेरो नेतृत्व आवश्यक छ। मेरो उम्मेदवारीको औचित्य पुष्टि भयो। पार्टीभित्र लोकतान्त्रिक प्रणालीमाथि नै आघात गर्ने प्रस्ताव आयो। त्यसकारण म उम्मेदवारी दिन्छु नै।

प्रकाशित: १२ मंसिर २०७८ ०१:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App