८ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने पक्राउ

एम्बुलेन्समा चुरोट र लागुपदार्थ तस्करी गर्ने चार जना पक्राउ परेका छन्।

आमा छोदिङ्मो गाउँपालिका–३ गतलाङ स्वास्थ्य चौकीको स्वामित्वमा रहेको एम्बुलेन्स दुरुपयोग गरी चिनियाँ चुरोट काठमाडौंतर्फ लैजान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो।

बिरामी बोकेको बहाना बनाई काठमाडौंतर्फ लैजाँदै गरेको अवस्थामा नेपाल प्रहरीको बेत्रावति सुरक्षा चौकीले एम्बुलेन्स जाँच गर्दा तीन हजार ९४० बट्टा चिनियाँ चुरोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

प्रहरी निरीक्षक एवं सूचना अधिकारी रमेश रायका अनुसार पक्राउ पर्नेमा एम्बुलेन्स चालक गतलाङका ४३ वर्षीय दावानुर्पु तामाङ, सोही गाउँपालिका–५ का  चिलिमेका २७ वर्षीय मार्कुस तामाङ, ३२ वर्षीय सुशील तामाङ र ३६ वर्षीया सुनिता तामाङ छन्।

यसैगरी, रसुवागढी नाकाबाट लागुपदार्थसहित एक जना पक्राउ परेका छन्। गोसाइँकुण्ड गाउँपालिका–५ का २४ वर्षीय विकास तामाङलाई केरूङबाट नेपालतर्फ आउँदै गर्दा सीमा क्षेत्रमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पक्राउ गरेको हो।

उनको साथबाट २ ग्राम कालो चरेश तथा पहेँलो सात र सुन्तला रङ्गका पाँच क्याप्सुल लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले दुवै घटनामा संलग्न व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रकाशित: ७ चैत्र २०८२ २१:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App