coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्वार्ता

‘राजनीतिक योगदानले मन्त्री भएको हुँ’

गजेन्द्रबहादुर हमाल, मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

बाँकेका गजेन्द्रबहादुर हमाल नेपाली कांग्रेसका पुराना नेता हुन्। २०२५ सालबाट कांग्रेसमा आबद्ध हमाल नेविसंघको जिल्ला अध्यक्ष हुँदै नेपाली कांग्रेस बाँकेको जिल्ला सभापतिसमेत भएर काम गरिसकेका छन्। करिब ४५ वर्ष कांग्रेसको सक्रिय राजनीति गरेका हमाल प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटाबाट मन्त्री भएको आरोप छ। हमाल प्रधानन्यायाधीश जबराका जेठान पर्ने भएकाले उनकै कोटाबाट मन्त्री बनेको चर्चा छ। उनै उद्योगमन्त्री गजेन्द्रबहादुर हमालसँग नागरिककर्मी दिलीप पौडेलले गरेको कुराकानीः

लामो समय राजनीति गरे पनि राजनीतिक जीवनबाट शिथिल भएको अवस्थामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप छ? वास्तविकता के हो?

यो मेरो राजनीतिक इतिहास, मैले नेपाली कांग्रेसमा गरेको योगदान र कठिन परिस्थितिमा शेरबहादुर देउवालाई साथ दिएको बारेमा जानकारी नभएकाले गर्ने कच्चा टिप्पणी हो। अर्को कुरा, नेपालको संविधानमा प्रधानन्यायाधीशलाई मन्त्रीमा कोटा दिने भनेर कहाँ लेखिएको छ? त्यो त छैन। मलाई प्रधानन्यायाधीशले कोटा दिनैपर्दैन। राजनीतिमा मेरो त्याग, बलिदान, योगदान नै पर्याप्त छ। प्रधानमन्त्रीले गैरसांसदलाई ६ महिना मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ। मैले अप्ठ्यारो परिस्थितिमा प्रधानमन्त्रीलाई दिएको साथ र मेरो राजनीतिक योगदानका आधारमा नै म मन्त्री बनाइएको हुँ।  

यहाँको नेपाली कांग्रेसमा राजनीतिक योगदान के हो त?

मेरो परिवार नै राजनीतिमा समर्पित छ। मेरो दाजु कांग्रेसको जिल्ला सभापति हुनुभएको हो। मेरो भाइ सुरेन्द्र हमाल अहिले पनि लुम्बिनी प्रदेशमा सांसद छन्। मैले नेपाली कांग्रेसको राजनीतिमा ४५ वर्ष बिताएँ। दाजु रणेन्द्रबहादुर हमाल प्रतिबन्धित अवस्थामा पनि कांग्रेस जिल्ला सभापति हुनुहुन्थ्यो। उहाँको प्रेरणाले म २०२५ सालबाट १५ वर्षको उमेरदेखि नै कांग्रेसमा लागेर अहिलेसम्म निरन्तर काम गर्दै आएको छु। प्रतिबन्धित अवस्थामा सीमापारि रूपैडियाबाट तरुण पत्रिकालगायत लिएर आउँथ्यौं। २०३१ सालमा नेपाल विद्यार्थी संघ बाँकेको अध्यक्ष भएँ।  

नेपाली कांग्रेसका सबै आन्दोलनमा सहभागी भएर जेलनेल खाएको छु। २०५२ सालमा नेपाली कांग्रेस बाँकेको सभापति भएको हुँ। म सभापति हुँदा बाँकेका तीनवटै संसदीय सिट जिताएको हुँ। त्यो अवस्थामा कांग्रेसमा दुई गुट थिए। एउटा कोइराला, अर्को शेरबहादुर। त्यो बखतदेखि नै मैले शेरबहादुर गुटमा लागेर काम गरें। बाँकेमा मैले एक्लै शेरबहादुरको समर्थन गरेको छु। १८ वटा जिल्ला भंग हुँदा म शेरबहादुर गुटमा लागेकै कारण तत्कालीन सभापति सुशील कोइरालाले म सभापति भएकाले बाँकेको कांग्रेस जिल्ला सभापति पनि भंग गराउनुभएको थियो। त्यसपछि कांग्रेस दुई फ्याक हुँदा म शेरबहादुर पक्षको नेपाली कांग्रेस प्रजातन्त्रिकको सभापति भएर काम गरें।  

यसरी मैले ४५ वर्षभन्दा बढी नेपाली कांग्रेस र त्यसमा पनि शेरबहादुरलाई यसरी साथ दिएर काम गरें। यसरी साढे चार दशक कांग्रेसको राजनीति र त्यसमा पनि देउवालाई साथ दिएको मान्छेलाई मन्त्री नबनाएर कसलाई बनाउने? म राजनीतिक जीवन मात्रै नभएर सामाजिक क्षेत्रमा पनि काम गरेको छु।

संसद् पुनःस्थापना अदालतसँगको सेटिङमा भएको भन्ने विपक्षी एमालेको आरोप छ। तपाईंभन्दा धेरै राजनीति योगदान भएका सांसद पनि मन्त्री बन्न पाएका छैनन्। यस्तो बेला प्रधानन्यायाधीशसँग नाता पर्ने तपाईं गैरसांसद मन्त्री बन्नुलाई संयोग मात्र मान्न सकिएला र?

मन्त्री बन्न प्रधानन्यायाधीशसँग जोड्नु भनेको मेरो राजनीतिक योगदानको हत्या गर्नु हो। नाता हुँदैमा मन्त्री बन्न पाइन्छ? म ठकुरी, मेरो नाता त पूर्वराजपरिवारसँग पनि थियो। तर, म नेपाली कांग्रेसको राजनीतिमा लागेर राजसंस्थालाई फाल्ने आन्दोलनमा लागें। शेरबहादुरको पत्नी आरजु राणासँग पनि मेरो नाता पर्छ। नाताले मात्र हुने भए म मात्र किन मन्त्री भएँ? अरू किन भएनन् त? प्रधानन्यायाधीशसँग नाता पर्ने पनि धेरै छन्। त्यसकारण, यो मेरो राजनीतिक जीवन नबुझेका, मेरो नामबाट कसैलाई (प्रधानन्यायाधीशलाई) बदनाम गराउन चाहनेले यो विषय गलत ढंगले प्रचारमा ल्याएका हुन्। जसले यस्ता प्रचार गरेका छन्, उनीहरूलाई बाँके गएर मेरो राजनीतिक जीवन र मैले पुर्‍याएको योगदानबारे बुझेर मात्र टिप्पणी गर्न आग्रह गर्छु।

२५ सदस्यीय मन्त्रिमण्डलमा तपाईं मात्र कति धेरै भाग्यमानी हुनुभयो है, गैरसांसद भएर पनि मन्त्री बन्ने अवसर पाउनुभयो। कसरी?

म मात्रै हो गैरसांसद मन्त्री बनेको? पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री बनाएका युवराज खतिवडाले कहाँबाट चुनाव जित्नुभएको थियो? ओलीले गैरसांसदलाई मन्त्री बनाउन हुने, प्रधानमन्त्री शेरबहादुर देउवाले नहुने? संविधानको कुन धारामा लेखिएको छ? ओलीले खतिवडालाई मन्त्री बनाउँदा किन प्रश्न नउठाइएको? संविधानमा भएको व्यवस्थाअनुसार नै म मन्त्री बनेको हुँ। प्रधानमन्त्रीलाई ६ महिनाका लागि सांसद नभएका व्यक्तिलाई पनि मन्त्री बनाउन सक्ने अधिकार दिएको छ। मन्त्री बनाउन नपाइने भए संविधानमा सांसदहरूले यो व्यवस्था किन राखेको? संविधानमा भएकै अधिकार प्रधानमन्त्रीले प्रयोग गर्नुभएको हो। म कांग्रेसको कोटाबाट नै मन्त्री बनेको हुँ। प्रधानमन्त्रीले कांग्रेसको कोटाबाट बनाएको भनिसक्नुभएको छ। सर्वोच्च अदालतले होइन भनेर विज्ञप्ति निकालिसकेको छ। लहडका पछि कसैलाई झुटा आरोप लगाएर राजनीतिक रूपमा चरित्र हत्या गर्नु त भएन नि।

यहाँले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व सम्हाल्नुभएको छ। यहाँको प्राथमिकता के छन्?

मेरो पहिलो प्राथमिकता रुग्ण उद्योगलाई माथि उकास्ने हो, बन्द उद्योग सञ्चालन गर्ने हो। न्यून क्षमताका उद्योगलाई स्तरवृद्धि गर्ने मेरो पहिलो प्राथमिकता हो। बन्द अवस्थामा रहेका उद्योगलाई सञ्चालन गर्ने, उद्योगपतिलाई उद्योग सञ्चालनका लागि आह्वान गर्ने, नेपालका उद्योगपतिलाई आह्वान गर्ने योजनामा छु। स्वदेशी उद्योगी मात्र नभएर विदेशी लगानीकर्तालाई पनि आकर्षित गर्ने, एक घर एक उद्यमी बनाउने लक्ष्य लिएर अघि बढ्ने परिकल्पना गरेको छु। जापानमा हेर्नुहोस् त, त्यहाँ घरघरमा घडी बन्छ, घरघरमा मान्छेले काम पाएका छन्। नेपालको आवश्यकताअनुसार यहाँको कच्चा पदार्थलाई प्रयोगमा ल्याएर उद्योग चलाउनुपर्छ। मुलुकलाई औद्योगिकीकरणमा लैजानुपर्छ। सानादेखि ठूला उद्योगका लागि आवश्यक नीति बनाएर अघि बढाउँछौं। व्यावसायिक वातावरण सिजना गर्न र आपूर्ति व्यवस्थामा पनि ध्यान दिन्छु।

अहिले मुलुकको व्यापार घाटा ठूलो छ। स्वदेशी उत्पादन बढाउनुपर्ने र आयात प्रतिस्थापन गर्नुपर्ने छ। तर, उद्योगीहरू लगानी गर्न उत्साहित देखिँदैनन्। कसरी आकर्षित गर्नुहुन्छ?

उद्योग सञ्चालनका लागि राज्यले उचित नीतिगत व्यवस्था गरेर सुविधा दिनुपर्छ। उद्योगीले पुँजी नडुब्ने सुनिश्चित भएपछि मात्र लगानी गर्छ। त्यसका लागि सरकारले वातावरण तयार गर्नुपर्‍यो। काम गर्न कानुनी छेकबार भयो भने लगानी वृद्धि हुँदैन। छेकबार हटाएर उद्योगमैत्री नीति बनाउन प्रयत्न गर्छु। जसले स्वदेशमा उद्योगधन्दा सञ्चालन गरेर रोजगारी सिर्जना गर्दै औद्योगिकीकरणमा टेवा पुगोस्।

वैदेशिक लगानी पनि भित्र्याउनुभयो? लगानीमैत्री वातारण नभएका कारण अपेक्षित रूपमा वातावरण तयार नभएको भन्ने छ। कसरी समस्याको हल गर्नुहुन्छ?

विदेशी लगानीकर्तालाई तिम्रो लगानी सुरक्षित छ र कानुनमा भएका व्यवस्थाअनुसार लाभांश लैजान सक्छौ भन्ने सुनिश्चित गर्दै विश्वास दिलाउन सक्नुपर्छ। त्यो काममा ध्यान दिन्छौं। कानुनी अवरोध छन् भने हटाउनुपर्छ। हामीले विदेशी लगानी ल्याएर उत्पादन वृद्धि गरेर निर्यात गर्न स्वदेशीसँगै विदेशी लगानी पनि आवश्यक छ। उत्पादन वृद्धि गरेर व्यापार घाटा कम गर्दै लगेपछि मात्र निर्यात सम्भव छ।

नेपालमा पनि उद्योगमैत्री वातावरण छैन भन्ने निजी क्षेत्रको गुनासो छ नि?

निश्चय पनि। म उद्योगी, व्यवसायीसँग छलफल गरेर के–के समस्या छन्, के–कस्ता नीतिगत तथा कानुनी कठिनाइ छन् भनेर पहिला बुझ्छु। तिनलाई सुधार गरेर, समस्या समाधान गरेर निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्छु। तिम्रो लगानी सुरक्षित छ भन्ने राज्यका तर्फबाट लगानीकर्तालाई आश्वस्त पार्नुपर्छ। त्यो जिम्मेवारी म पूरा गर्छु। उद्योगधन्दा फस्टायो भने रोजगारी सिर्जना हुन्छ, कर संकलन हुन्छ, मुलुकको विकास र सम्वृद्धिमा टेवा पुग्छ। अहिले विद्युत् खेर गइरहेको छ। उद्योगीहरूलाई न्यून शुल्कमा दिने व्यवस्था गर्नुपर्छ।

यहाँका योजना धेरै होलान्। यहाँको कार्यकाल ६ महिना मात्र हो। यति छोटो समयमा कसरी परिणाम देखाउनुहुन्छ त?

निश्चय पनि चुनौती छ। यसबारे म सचेत छु। सरकारले आवश्यक नीतिनियम, ऐन, कानुन उद्योगमैत्री बनाउने हो। त्यो काम प्राथमिकतामा राखेर गर्छु। जसले गर्दा लगानीकर्ताको मनोबल बढोस् र ढुक्क भएर उनीहरूले लगानी गरून्। जति समय म मन्त्रालयमा वस्तु मुलुकको समृद्धिमा योगदान पुर्‍याउने गरी काम गर्छु।

प्रकाशित: २४ आश्विन २०७८ ०१:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App