६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्वार्ता

म अस्वस्थ प्रतिस्पर्धामा छैन : नेपाल

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का प्रभावशाली नेता केपी ओली नजिकै आइसकेको नवौँ महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी हुन्। दुवै दावेदारले पार्टीलाई थप प्रभावकारी बनाउन आफ्नो नेतृत्व आवश्यक भएको दाबी गर्दै आएका छन् भने अर्को पक्षले उठाएका एजेन्डाले पार्टी अघि बढ्न नसक्ने उल्लेख गरेका छन्। सहमतिको प्रयासलाई दुवै नेताले खासै महत्व दिएनन् भने अर्को पक्षको प्रचारलाई अतिरञ्जित भन्न पनि बाँकी राखेनन्। यही असार १९ गते काठमाडौंमा हुँदै गरेको महाधिवेशनबारे के भन्छन् त यी दुवै प्रतिस्पर्धी? नागरिकका मणि दाहालले यही विषयको सेरोफेरोमा रहेर दुवै नेतासँग छुट्टाछुट्टै गरेका कुराकानी :

महाधिवेशनका अधिकांश प्रतिनिधि छानिइसकेका छन्। यस विषयमा तपाईँको मूल्यांकन के हो? कत्तिको उत्साहित हुनुभएको छ?

प्रतिनिधि छनोट आमरूपमा राम्रो भएको छ। पार्टीका कार्यकर्ताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्नुभएको छ। पार्टीप्रति चिन्ता, देश र जनताप्रति बढी चासो भएका सम्पूर्ण कार्यकर्ताप्रति आभार प्रकट गर्दछु। पार्टीलाई अघि बढाउनका लागि पार्टी सदस्यको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। छिटपुट केही घटनाबाहेक ठीक ढंगले प्रतिनिधि छनोटको काम भएको छ। भोलिका दिनमा नेकपा एमालेको भूमिका कस्तो हुनेछ भन्ने विषयलाई ध्यानमा राखी प्रतिनिधि छनोट गर्ने काम भएको छ। अर्थात नीति र विधि, नेतृत्वको विशेषताका पक्षहरुलाई ध्यानमा राखिएको छ। कार्यकर्ताले प्रतिनिधिहरुलाई खास जिम्मेवारी दिएर पठाउनुभएको विश्वास राखेको छु।

देशभर दुई पक्षमै बाँडिएर प्रतिनिधि आएका छन्। तपाईँको पक्षमा कति प्रतिशत प्रतिनिधि आए त?

प्रतिशत म भन्दिनँ। जे होस्, धेरै नै उत्साहप्रद्रूपमा आएका छन्। अन्त्यन्तै राम्रो छ। पार्टीका कार्यकर्ता र प्रतिनिधिमा परिपक्वता देखापरेको छ।

प्रतिनिधि छनोट लोकतान्त्रिक विधिबाट भयो तर यसपटकको प्रतिनिधि छनोटमा विकृति पनि देखियो। अर्को पार्टीसँग प्रतिस्पर्धा गरेजस्तो गरी स्ववियु र संसदीय चुनावकै झ–झल्को देखिए। यसलाई कसरी लिनुभएको छ?

समाजका रहेका विकृतिको केही प्रतिशत पार्टीभित्रै प्रवेश गर्छन् नै। खुला हावामा हिँडेपछि शुद्ध अक्सिजन मात्रै प्राप्त हुँदैन, प्रदूषणको हावा पनि ग्रहण गर्नुपर्छ। त्यो प्रदूषणलाई शरीरमा रहेको ब्याक्टेरियाले मार्नुपर्छ। नेकपा एमालेका कार्यकर्तालाई यस्तो भ्याक्सिन दिनुपर्दछ त्यसले नेगेटिभ ब्याक्टेरियालाई मार्न सकोस् र पार्टीको शरीरलाई पनि स्वस्थ बनाउन सकोस्।

अहिले देखिएको विभाजनले नवौं महाधिवेशनबाट नेतृत्वमा जाने व्यक्तिलाई अप्ठेरो पर्न सक्दैन?

यो विभाजन होइन, प्रजातान्त्रिक अभ्यास हो। प्रजातान्त्रिक अभ्यान गर्नेबित्तिकै विभाजन ठान्ने हो भने कि प्रतिस्पर्धामा हामी जाँदैनौ भन्न सक्नुपर्छ कि हामी प्रतिस्पर्धामा जाँदैनौ भन्ने प्रकारको नीति नै ल्याउनुपर्‍यो। होइन प्रतिस्पर्धामा जाने हो भने त्यो एउटा पक्षको रूपमा मात्रै हुँदैन। प्रतिस्पर्धा एक वा त्योभन्दा बढीबीच हुन्छ। किन आफ्नो विचारलाई इम्पोज गर्नुहुन्छ, त्यो ठीक हो र? सकेसम्म समझदारीको प्रयास एउटा विषय हो। समझदारी हुन सकेन भने ...रुल अफ द गेम' भित्र रहेर स्वस्थ प्रतिस्पर्धा गरेर विषयलाई टुङ्गो लगाउनुपर्छ। आरोप/प्रत्यारोप जस्तो अमर्यादित काम कहीँ कसैबाट भएका छन् भने ती अनुचित हुन्। तिनलाई रोक्नुपर्छ।

स्वास्थ्य जस्तो मानवीय संवेदनासँग जोडिएको विषयलाई उठाएर महाधिवेशनको मुद्दा बनाएर प्रतिस्पर्धालाई अस्वस्थ्यकर बनाउन खोजिएको हो?

स्वास्थ्यको विषय मैले कहीँ कतै उठाएको छैन। मैले महत्व पनि दिएको छैन। मेरो ध्यान नीतिमा छ। नेताको अनुहारमा छैन। विचार र प्रवृत्तिमा बढी छ। वर्तमानको नेपाल र भोलिको नेपालको भविष्यमा छ। मेरो सिङ्गो ध्यान भनेको नेपाली जनता, देशको समृद्धि र विषयमा के होला भन्ने छ। नेकपा एमालेसँग जनताले ठूलो आशा र अपेक्षा गरेका छन्। त्यो आशा र अपेक्षा पूरा गर्न सक्छौं कि सक्दैनौं भन्ने ठूलो चिन्ता छ। अन्य कुरालाई मैले महत्व दिएको छैन।

प्रतिनिधि चयन भइसकेको अवस्था छ। सहमतिको कुरा पनि उठ्ने गरेको छ। कतिपयले शीर्ष नेतृत्व, कतिपयले पदाधिकारीमा सहमति गरेर जानुपर्छ भन्नेबारे शीर्ष तहमा सहमतिका प्रयास सुरु भएको भन्ने गरिन्छ। यसलाई कसरी लिनुभएको छ?

यो तपार्इँहरुको सर्कलमा होला, हाम्रोमा यो विषय आएको छैन। एमालेको वृत्तभित्र आएको छैन। मलाई कसैले यस विषयमा बताएका पनि छैनन्।

सेकेन्ड राउन्डका नेताहरुसँग कुरा गर्दा शीर्ष नेतृत्वमा सहमतिको कुरा भइरहेको धारणा आउने गरेको छ नि?

यस विषयमा मसँग छलफल भएको छैन। यस्तो हुनका लागि कुनै मिलनबिन्दु हुनुपर्‍यो नि।

तपाईँले नै सहमति नै गर्ने हो भने दोस्रो पुस्तामा गरौँं भन्दै आउनुभएको थियो त?

त्यो विषय कसैले ल्याएका छैनन्। यस विषयमा खासै कुराकानी भएको पनि छैन। कुनै समयसम्म कुनै विषयको उपादेयता हुन्छ। इन्टरभ्युको टाइम तय गरिसकेको छ तर यदि समयमा पुग्नुभएन भने डोर क्लोज गर्नुपर्ने हुनसक्छ। बढाबढमा एक, दुई, तीन भनिन्छ। त्यसपछि समय समाप्त हुन्छ। त्यसमा ढिलो गरेपछि के गर्नु?

सहमतिका लागि अति नै ढिलो भइसक्यो भन्ने हो?

अति नै ढिलो भइसक्यो भन्न सक्दिनँ तर यो कुरालाई पनि ध्यानमा राखेर चल्नुपर्छ। अनन्तकालसम्म चल्दैन। एउटा बिन्दुसम्म मात्रै यो विषय हो। सहमति गर्नु राम्रो कुरा हो। म पनि त्यसैको पक्षमा छु। तर सहमति केका लागि, त्यसको आधार के, कहाँ पुग्ने हो सहमति? आधारभूत विषय नभई सहमति हुन सक्दैन। कम्प्रमाइज गरेर हुँदैन। पार्टीलाई क्रान्तिकारी रूपान्तरण, गतिशील बनाउने, जनतासँग जोड्ने, परिवर्तनको संवाहक, पार्टीलाई नेपाली जनताको आशा र भरोसाको केन्द्र बनाउँदै नेपालका कम्युनिष्ट र नेपालको राजनीतिलाई सही दिशामा डोहोर्‍याउने विषयमा नेतृत्वमा चाहिने क्वालिटी हो। त्यसमा सम्झौता हुन सक्दैन।

उपमहासचिवसहितको पद थपेपछि दुवैतर्फका नेता मिलाएर सहमतिको नेतृत्व चयन गर्ने धारणा पछिल्लो समयमा बाहिर आएको हो?

म त्यसमा संलग्न छैन। हामी बसेको कमिटीमा त्यो पुगेको छैन। स्थायी कमिटीमा त्यो विधान हेर्न पाउनुपर्छ भनेर माग गर्‍यौँ। हामीसँग सोध्दै नसोधी अघि बढाउने भनेर प्रश्न पनि उठेको छ। यो विषय ओपन छ।

यस विषयमा निर्णय भएको छैन?

कार्यदलले यो ल्यायो भन्ने सुन्नमा आएको छ। कागज हेर्न पाएको छैन।

धेरै वर्ष प्रमुख भएर पार्टी चलाउनुभयो। टेस्टेड माधव नेपालले नेतृत्वमा पुगेर दिन सक्ने के नै छ र पनि भनिँदैछ। अध्यक्ष बन्नुभयो भने के दिनुहुन्छ?

मेरो क्षमता र खुबीको मूल्यांकन आफैँले गर्ने होइन। आमपार्टी सदस्यले गर्ने हो। मेरो उपादेयता, आवश्यकता, मसँग ऊर्जा, खुबी, चुनौतीको सामना गर्न सक्ने सामर्थ्य छ कि छैन यो मैलै मूल्यांकन गर्ने कुरा भएन। पार्टी सदस्य, कार्यकर्ताले गर्र्ने हो। त्यस्तो उपादेयता छैन भनेर कार्यकर्ताले मूल्यांकन गर्नुहुन्छ भने म शीर निहुर्‍याएर त्यसलाई स्वीकार्छु। राजनीतिक क्रान्तिको अगुवाई मैले गरेको हो, शान्ति प्रक्रियामा माओवादीलाई ल्याउने पनि काम गरेको हो। अब आर्थिक क्रान्तिको नेतृत्व गर्दै पार्टीलाई बहुमतमा पुर्‍याउने कामको समेत अगुवाई गर्नुपर्छ भन्ने अपेक्षा कार्यकर्ताले गरेका छन्। त्यो आशालाई मैले निराशामा परिणत हुन दिन्न। मसँग त्यो आत्मविश्वास छ।

तर नेताहरुले यो विषयलाई पटकपटक उठाउँदै आउनुभएको छ त?

बीस बीस वर्षदेखि जनसंगठन कब्जा गरेर बसेको थाहा छैन। कसैले अध्यक्ष बन्न खोज्यो भने, मञ्चमा समेत उक्लियो भने मञ्चबाटै जगल्टाएर निकालेको थाहा छैन। त्यस्तो व्यक्तिले यो कुरा उठाउने नैतिक अधिकार पनि छैन। हाम्रो पार्टीमा त्यस्तो प्रावधान पनि छैन। फेरि महासचिवमा पनि उठेको छैन। आठौं महाधिवेशनमा मञ्चमा उभिएर अध्यक्षका लागि मैले आह्वान गरेको हो। करिब १३ सय प्रतिनिधिले मप्रति सद्भाव व्यक्त पनि गर्नुभएको हो। आठौं महाधिवेशन उदाहरण छ।

अहिलेसम्म विपक्षीको कुरा भए तर शुभेच्छुकहरुले तपाईँ यति हाइट बनाइसकेको मानिस चुनावमा पराजित हुँदा राम्रो हुँदैन भन्दै आएका छन् नि?

प्रतिस्पर्धाको राजनीतिमा उत्रँदा जित्ने र हार्ने भइहाल्छ। त्यसैले केही पनि हुँदैन। म पनि हारेको छु। जीत र हार भइरहन्छ। जिन्दगी हो, यो हार जीत भइरहन्छ, बाधा पन्छाउँदै नदी अघि बगिरहन्छ।

नेतृत्वमा नयाँ पुस्ताको मानिस आउनुपर्‍यो भन्ने पनि गरिन्छ। यो प्रक्रियाप्रति तपाईँलाई कत्तिको विश्वास छ?

यो प्रक्रियामा विश्वास छ। पार्टी सदस्यले यसलाई रोजिहाल्छन्। पार्टी नवीकरण गर्ने भनेको पार्टी सदस्यले हो। त्यसैले अमेरिकामा पनि युवा पनि उत्रन्छन् बूढा पनि उत्रन्छन्। कहिले बूढाले त कहिले युवाले जित्छन्। बूढो हार्छ, परराष्ट्र मन्त्री बनेका छन्। त्यो देख्नुभएको छैन? अर्को प्रतिद्वन्द्वी भएको व्यक्ति सहयोगी भएर जान्छ। त्यस्तो विषयलाई हामीले पनि ग्रहण गर्नसक्ने हुनुपर्छ।

अहिलेको प्रतिस्पर्धा सैद्धान्तिक नभई व्यक्तित्वको टकाराव जस्तो देखिन्छ र एमालेमाथि वैचारिकरूपमा स्पष्ट छैन भन्ने आरोप पनि लाग्दै आएको छ। तपाईँ नेतृत्वमा पुग्नुभयो भने कस्तो प्रकारको वैचारिक स्पष्टता आउँछ?

वैचारिक विषय स्पष्ट छ। अहिले हाम्रो पार्टीभित्र जे विषय उठेको छ त्यसमाथि पनि जवाफ दिने हो। अन्य के विषयमा स्पष्टता खोज्ने हो? समसामयिक विषयमा जस्तो प्रश्न उठेको छ त्यसको जवाफ दिनुपर्‍यो। आवधिक निर्वाचन, जनताबाट पटकपटक अनुमोदित हुने, पार्टीको महाधिवेशनबाट पनि अनुमोदित हुने पक्षमा छौँ भनेर सैद्धान्तिकरूपमा स्पष्ट पारिसकेका छौं। यस्तो अनुमोदन भनेको औपचारिक मात्रै हुँदैन। वास्तविकतामा आधारित हुनेछ भनेका छौं। कम्युनिष्ट पार्टी लोकतान्त्रिक हुनसक्छ कि सक्दैन, शान्तिपूर्ण ढंगले अघि बढ्न सक्छ कि सक्दैन, हतियारको आवश्यकता कति छ, मित्र र शत्रुको व्याख्या कसरी गर्ने, कस्तो रणनीति र कार्यनीति लिएर जाने भन्ने विषय हिजोको थियो।

अहिले हामीले सम्पन्न गरेको क्रान्तिलाई के भन्ने? त्यो क्रान्ति थियो कि थिएन, थियो भने त्यसको चरित्र के थियो आजको प्रश्न हो। २०६२–०६३ मा राजनीतिक क्रान्ति नै थियो। पुँजीवादी जनवादी क्रान्ति नै थियो। अब आर्थिक क्रान्तिमा जानुपर्छ। आर्थिक समाजिक रूपान्तरणको विषयलाई केन्द्रभागमा राखेर अघि बढ्नुपर्छ। हिजो राजनीतिक क्रान्ति सम्पन्न गर्नका लागि पार्टी र संगठन निर्माण गर्नु थियो। अहिले पार्टीको काम परिवर्तन भएको छ। त्यसैले आर्थिक समाजिक रूपान्तरणका लागि पार्टीलाई अघि लैजानु आवश्यक छ। अब उत्पादनसँग जोडिने काम गर्नुपर्‍यो। त्यसका लागि तीन खम्बे सार्वजनिक, निजी र सहकारीको आर्थिक नीति लिएका छौं। त्यसमा आमजनतालाई गोलबन्द गर्नुपर्‍यो। विकास, निर्माण र उत्पादनको काममा पार्टीका कार्यकर्ता नमुना भएर लाग्नुपर्‍यो।

जबजको कसैले पेटेन्ट राइट पाएको ठान्नुभएन। जबजको विकासको प्रत्यक्ष साक्षी छु र प्रत्येक कदममा भूमिका खेल्ने व्यक्ति जिउँदै छु। कसैले नक्कली गफ हाँकेको कुरालाई पत्याउन सकिँदैन। म चुनौतीका साथ भन्छु– जबजको जहाँ गहन छलफल हुन्थ्यो। त्यो कोठामा अहिलेका जुनियर नेताहरुले प्रवेश नै पाउँदैन थिए। अहिले गफ दिएर हुन्छ?

वैचारिकरूपमा निकै ठूलो परिवर्तन भइसकेको छ। २०६२–०६३ पछि राजनीतिक क्रान्ति जरुरी छैन भन्ने निष्कर्षमा पुग्नुभएको छ। यस्तो अवस्थामा पनि पार्टीलाई क्याडर बेस राख्ने कि मास बेस बनाउने?

एमाले मास बेस क्याडर पार्टी हुनेछ। जनआधारित कार्यकर्ता पार्टी हुनेछ।

संविधान निर्माण गर्न ७–८ महिनामात्रै बाँकी छ। नेतृत्वमा पुग्नुभयो भने तपार्इँको भूमिका यसमा कस्तो हुन्छ?

संविधान निर्माणमा एमालेका महत्वपूर्ण भइहाल्छ। संविधान लोकतान्त्रिक, जनमुखी, परिवर्तनलाई दिशाबोध गर्ने हुनपर्छ। त्यसमध्ये पनि बडो विचार गरेर जनताको चाहना र भावना अनि देशको स्थिति, यी सबैलाई जोड्ने र राष्ट्रलाई बलियो बनाउने गरी संघीयताको मोडल ल्याउनुपर्छ।

प्रकाशित: १३ असार २०७१ ०१:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App