२०६२-२०६३ को जनआन्दोलनमा युवा नेताका रूपमा सक्रिय भएर ख्याति कमाएका विद्यार्थी नेता हुन् गगन थापा । कांग्रेसको १२ औं महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर आफ्नो छवि ह्वात्तै उचाले उनले । वाककलामा कहलिएका गगन यतिबेला काठमाडौं क्षेत्र नम्बर ४ मा कांग्रेसबाट दोस्रो संविधान सभा चुनावमा उमेदवार छन् । अघिल्लो संविधान सभामा समानुपातिकबाट सभासद् बनिसकेका गगनसँग नागरिकका बालकृष्ण अधिकारीले चुनावी तयारीबारे गरेका संक्षिप्त कुराकानी:
संविधान सभा निर्वाचनको टिकट लिन निकै कठिन भयो, होइन ?कुनै व्यक्ति वा घटनाविशेषलाई मात्र उमेदवारी छनोटको विषय बनाउनुभन्दा राजनीतिक दल सञ्चालनका लागि नयाँ आयाम नखोजेसम्म टिकट वितरणमा समस्या आइ नै रहन्छन् । त्यसलाई व्यवस्थित बनाउन राजनीतिक दलहरुले विशेष गरेर नेपाली कांग्रेसले प्राइमरी इलेक्सनको माध्यमबाट कुनै निर्वाचनका लागि उमेदवार छनोट गर्नुपर्छ । त्यो पनि पार्टीका नियन्त्रित सदस्यबाट होइन, साधारण सदस्यबाट आफ्नो क्षेत्रको उमेदवार छनोट गर्नुपर्छ । प्राइमरी इलेक्सनको माध्यमबाट नछानेसम्म उम्मेदवारी छनोटमा भागबन्डा, गुटबन्दी, लेनदेन र पार्टी छाड्ने क्रम चलिरहन्छ । अब पार्टीले सम्बन्धित निर्वाचन क्षेत्रको साधारण कार्यकर्ताको मतदानबाट उमेदवार छनोट गर्नुपर्छ । उमेदवार को÷को बन्न पाउने भन्ने मापदण्ड पहिले नै पार्टीले तय गरेर त्यसभित्र परेका सबैले भाग लिन पाउनेगरी आन्तरिक निर्वाचन गर्नुपर्छ । त्योमात्र समस्याको निधान हो ।
उमेदवार त सबै क्षेत्रमा पार्टीले छनोट ग¥यो तर सबैभन्दा चर्चामा तपाईँको क्षेत्र (काठमाडौं–४) नै रहन पुग्यो नि ?
कांग्रेसको पक्षमा निर्वाचन निकै अनुकूल बन्दै गएको छ । त्यसलाई मतदातामार्फत् पार्टीको पक्षमा प्रतिविम्बित गराउन बाँकी छ । त्यसका लागि पार्टीले निर्वाचन परिचालनका लागि केन्द्रीय रणनीति बनाउनु आवश्यक छ ।
त्यो पार्टीले अब गर्ने कुरा भयो । टिकट वितरणको कुरा गरेको...
केन्द्रीय समितिको बैठकमा मैले आफ्नोबारेमा प्रष्ठसँग भनेको थिएँ– मलाई काठमाडौं–१० मा उमेदवार बनाए पनि हुन्छ, मेरै क्षेत्रमा पठाए पनि हुन्छ । होइन, पार्टीले दशैभरको निर्वाचनको प्रचार अभियानमा खटाए पनि जान तयार छु । समानुपातिकमा चाहिँ बस्दिनँ भनेको थिएँ । एकै पटक निर्णय गरेर पार्टीले पठायो । काठमाडौं–४ मा अर्को नेतालाई दिएको भए पनि म अहिले जस्तै लाग्थेँ ।
समस्या सबैतिर भयो । संसदीय समितिले मनोमानी ढंगबाट उमेदवार छनोट ग¥यो । संविधान सभा निर्वाचनमा पार्टीको उमेदवार हुने योग्यता पनि राख्छु भन्ने ठानेको छु ।
उमेदवार बन्नुमात्र ठूलो कुरा त होइन होला, मतदातालाई आफ्नो पक्षमा पार्न प्रचारको कस्तो कार्यक्रम लिनुभएको छ ?
पार्टीका शीर्ष नेताहरुलाई देशभर चुनाव प्रचारको केन्द्रीकृत अभियान बनाउन संविधान सभा निर्वाचनमा पार्टीको पक्षमा मत माग्ने आधारसहित एउटै अभियान लिएर जानुपर्छ भनिरहेका छौं ।
भन्नु त कुन ठूलो कुरा भयो र, पार्टीले त अहिलेसम्म प्रचारको कुनै कार्यक्रम बनाएको छैन, तपाईँ पनि क्षेत्र जानुभएको छैन त्यसो भए ?
मुख्य नेतृत्वले त्यस विषयमा निर्णय गर्ने कुरा हो । अब नेताहरु गरे गर्नुहुन्छ, गर्नुभएन भने छैन तर अपेक्षा गरौं, केन्द्रीय प्रचार अभियान हुन्छ ।
आफ्नो क्षेत्र गएकै छु । फूतपातिको दिनसम्म पहिलो चरणको प्रचार अभियान सक्ने योजना बनाएको छु । दसैंलगत्तै निर्वाचन प्रचारको मूल अभियान सुरु हुन्छ ।
तपाईँलाई काठमाडौंका जनताले किन मत दिने ? तपार्इँसमेतको अघिल्लो संविधान सभाले संविधान त बनाएन ?
संविधान सभाको दोस्रो निर्वाचन गराउने काम हामीले जति सजिलोसँग सोचिरहेका छौ, यसलाई सफल बनाउनु थप चुनौतीपूर्ण छ । यो संविधान सभा असफल भयो भने तेस्रो पटक नेपालमा संविधान सभा निर्वाचन हुँदैन । एक वर्षभित्र संविधान सभाबाट संविधान बनाउनुपर्छ । संविधान सभामा यो वा त्यो गर्छु भन्नु बेकारको कुरा हो । यो पुरानो संविधान सभाको निरन्तरता मात्र हो । अहिले उत्तेजनात्मक वा आक्रामक नेतृत्व होइन, सुझबुझपूर्ण र समन्वय गर्न सक्ने नेतृत्व आवश्यक छ । दल पुरानो, विषय पुरानै छ तर सबै विषय र दललाई समेटेर समन्वयकारी भूमिका खेल्न सक्ने दल कांग्रेसमात्र हो । संविधान बनाउन हामीलाई समन्वय र नेतृत्वदायी भूमिकाका लागि जनतासँग आग्रह गर्छौं ।
अघिल्लो संविधान सभामा पनि तपाईँहरु नै हुनुहुन्थ्यो । जनताले कसरी पत्याउँछन् तपाईँका कुरा ?
संविधान सभाको नेतृत्व कसले गर्ने भन्ने मुख्य विषय हो । अहिलेको आवश्यकता र परिवेश फरक छ । अहिलेको आवश्यकता समझदारीबाट एउटा निकास दिने हो । अघिल्लो पटक आन्दोलनबाट आएका विषयलाई पार्टीहरुले त्यहाँ उठाउने काम गरे । अहिले त्यसलाई व्यवस्थित गरेर संविधान जारी गर्ने बेला हो । त्यसबेला कांग्रेस नेतृत्वदायी भूमिकामा थिएन । जसले नेतृत्व ग¥यो, उसले समन्वय गर्न सकेन । त्यसैले संविधान बनेन ।
कांग्रेसले केही गरेन भन्दाभन्दै पनि संकटका बेला महŒवपूर्ण निर्णय र भूमिका खेलेको छ । अर्को, अबको चार वर्ष संक्रमणकालको नाममा नेपाललाई बन्धक बनाउन पाइँदैन÷हुँदैन । संविधान सभाको अध्यक्ष र संसदको सभामुख फरकफरक व्यक्ति हुनु पर्छ । बहुमत ल्याउनेले सरकार चलाउनुपर्छ । अल्पमतमा हुने प्रतिपक्षमा बस्नुपर्छ । संविधान बनाउन संविधान सभाभित्र सहमति खोजिनुपर्छ । राष्ट्रिय सहमति भनेको भागबन्डा गरेर मिलाएर खाउँ भन्ने हो, अब त्यसो गर्नुहुन्न । संविधान नबन्दासम्म अन्तरिम संविधानको आधारमा शासन चलाउनुपर्छ । जनतामा केही न केही परिर्वतन आएको छ भन्ने कम्तीमा आभाष दिन सक्नुपर्छ । पहिले जस्तै संविधान सभा भन्ने सरकार बनाउने÷गिराउने काममा हामी लाग्यौं भने जनता चार वर्ष कुर्नेवाला छैनन् । छ÷आठ महिनामा जनताको धैर्यको बाँध टुट्नेछ ।
अघिल्लो संविधान सभा चुनावमा कांग्रेसले प्रतिनिधित्व नगर्दा संविधान बन्न सकेन भन्नुको कारण ?
नेपालको लोकतन्त्र र राष्ट्रियताका लागि नेपाली कांग्रेस मियो हो । लोकतन्त्रका सबै विकल्प कांग्रेसले दिएको हो । कांग्रेसका मान्यतालाई संविधानभित्र हाल्नुप¥यो । त्यसका लागि कांग्रेसले संविधान सभाको नेतृत्व गरे संविधान बन्छ भन्ने हो । यो सन्र्दभमा कांग्रेसको परिपक्वता, धैर्यले मात्रै संविधान निर्माण गर्छ भन्ने हो । हामी संविधान बन्ने आधारसहित जनतामा जान्छौं ।
के हो त्यो आधार ?
संविधान सभाको पहिलो दुई वर्षमा एकीकृत माआवादीले सम्पत्तिमा हदबन्दी लगाउने, अदालतलाई स्वतन्त्र राख्दैन भन्दै जनसंविधान बनाउने दाबी गर्ने विघटनको समयमा कांग्रेसको एजेन्डामा आइपुग्यो । सहमति हुन बाँकी छ विषय बाहेक संविधान सभामा सहमति भएको विषय त कांग्रेसले घोषणापत्रमा जे राख्यो, त्यही हो । कांग्रेसको प्रस्तावमा संविधान सभा आइपुग्यो तर नेतृत्व नहुँदा संविधान बन्न सकेन ।
तपाईँको प्रतिस्पर्धा कोसँग हो ?
यो राम्रो, ऊ नराम्रो भन्ने पक्षमा म छैन । आफ्ना कुरा लिएर म जनतामाझ जान्छु । कांग्रेसको उम्मेदवार मात्र होइन, म एउटा पुस्ता र प्रवृतिको नेतृत्व गरेर आएको छु । राजनीति पेसा होइन । निष्ठापूर्वक राजनीति गर्नुपर्छ भन्ने मिसन र सपना बोकेर आएको हुँ । केही गर्ने कोसिस गरेको छु ।
क्षेत्रको विकासका लागि कुनै कार्यक्रम छैन ?
छ, क्षेत्रको मात्र होइन, उपत्यकाको विकास र व्यवस्थापनको विषयमा म स्पष्ट दृष्टिकोण लिएर जान्छु । केही विषय क्षेत्रका मात्र छन् ।
संसारको सबैभन्दा खराव वातावरण भएको शहरमध्ये एउटा हो काठमाडौं । त्यसैले मैले मेरो क्षेत्र मात्र सफा बनाउँछु भनेर सम्भव छैन । अर्को विद्युत्को कुरा, माथिल्लो तामाकोसी बन्यो भने पो क्षेत्र नम्बर–४ मा पनि लोडसेडिङ हट्छ । क्षेत्रमा नै जलविद्युत आयोजना बनाउने कुरा सम्भव छैन । त्यसैले राष्ट्रिय स्रोत र साधनको अधिकतम् आफ्नो क्षेत्रमा ल्याउने प्रत्येक सांसदको चाहना हुन्छ । त्योबाहेक हाम्रो वरिपरि धेरै स्रोतसाधन छन्, त्यसलाई उपयोग गरेर विकास र विस्तार गर्न सकिन्छ ।
प्रकाशित: २४ आश्विन २०७० २१:५५ बिहीबार





