५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्तर्वार्ता

'अवार्डको नामभन्दा प्रतिष्ठा महत्वपूर्ण'

काठमाडौं – फिल्म हल गोपीकृष्ण मुभिज, सोही नाम सम्बद्ध टेलिभिजन च्यानल र एफएमका अध्यक्ष हुन् उद्धव पौडेल। पौडेल चलचित्र विकास कम्पनी लिमिटेडका पनि अध्यक्ष हुन्, जसले शनिबार राष्ट्रिय चलचित्र अवार्ड गर्दैछ। आसन्न अवार्ड तथा यसको तयारीबारे नागरिकले पौडेलसँग गरेको कुराकानीःप्राइभेट कम्पनीले राष्ट्रिय चलचित्र अवार्ड बाँड्न मिल्छ?
मिल्छ। राष्ट्रका कलाकारलाई त्यही क्षेत्रमा काम गरिरहेको संस्थाले राष्ट्रिय अवार्ड दिन किन नमिल्ने? जहाँसम्म राष्ट्रिय चलचित्रको नाममा जुन प्रकारका समाचारहरु आएका छन्, तिनमा म के कुरा स्पष्ट पार्न चाहन्छु भने हामीले विकास बोर्डसँग अनुमति लिएर नै अवार्डको नाम तय गरेका हौं। पछि आएर विकास बोर्डले राष्ट्रिय चलचित्र अवार्डको अगाडि एनएफडिसी थप्नुस् भनेर भन्यो। हामीले मान्यौं। 

विकास बोर्ड र तपाईंहरुबीच विवाद त चल्यो नि?
विवादभन्दा पनि गलत रिपोटिङहरु भएका हुन्। हामीले खाली यति भनेका हौं, चलचित्र विकास बोर्डले नै पहिले राष्ट्रिय चलचित्र अवार्डको नाममा अवार्ड गर्न पत्र दिइसकेको छ, त्यही नामलाई निरन्तरता दिउँ। तर बोर्डका नयाँ अध्यक्षले एनएफडिसी थप्नुस् भनेपछि हामीले खासै विवाद गरेनौं। अवार्डको नाम के रहन्छ भन्ने कुरा महत्वपूर्ण होइन। यसले आर्जन गर्ने प्रतिष्ठा महत्वपूर्ण हो।

नेपालमा हुने अवार्ड, सम्मान तथा पुरस्कारले प्रतिष्ठा गुमाएका छन्? अपवाद हुन्छ त तपाईंहरुको अवार्ड?
त्यो त भोलि देखिने कुरा हो। अवार्ड हचुवाको भरमा बाँडियो भन्ने आरोप नलागोस् भनेर नै हामीले देशभरका जनतालाई अवार्डमा सहभागी गराउन मतपत्र छाप्यौं। अहिले हामी रातभर बसेर मतपत्र गन्ने काम गरिरहेका छौं। अवार्डलाई हल्का रुपमा लिएको भए यो सब गर्न के जरुरी थियो?

अवार्डमा तपाईंहरुले सम्पादनजस्ता महत्वपूर्ण विधाहरुलाई किन छुटाउनुभयो?
हामीले पनि गुनासा सुनेका छौं। सबैले के बुझिदिनुपर्योह भने यो पहिलो अवार्ड हो। बिस्तारै विधा थपिँदै जान्छन्। हामीले अवार्डमा उत्कृष्ट एकलाई ५१ हजार र उत्कृष्ट निर्देशकलाई १ लाख रुपैयाँ दिइरहेका छौं। आर्थिक स्रोतलाई पनि त विचार गर्नु पर्यो१ नि।

पुराना फिल्मकर्मीको नामबाट विधाको नाम राख्नु पछाडिको कारण चाहिँ के हो?
सम्मान गर्न। अहिले काम गरिरहेका पुस्तालाई थाहा हुनुपर्योण नि हिजोका दिनमा नेपाली फिल्मको जग हाल्न क–कसको योगदान थियो? यो काम पनि मैले चलचित्र संघको अध्यक्ष हुँदा नै थालनी गरेको थिएँ। 

बलिउडबाट निम्तालु ल्याउने कुरामा जोड दिनुभएको छ। केही विशेष अर्थ छ कि?
हो हामीले यसपटक बलिउडलाई लक्ष्य गरेर प्रतिनिधि निम्त्याएका छौं। नेपाललाई सुटिङ लोकेसनका रुपमा स्थापित गरौं भन्ने हाम्रो आग्रह हो। नेपाली फिल्मको बजार बिस्तार र फिल्मकर्मीको क्षमता वृद्धिमा पनि निरन्तर लाग्नुपर्ने अवस्था छ। बलिउडका केही फिल्म नेपालमा सुटिङ भए भने एउटा त सिनेमा पर्यटनमा मद्दत पुग्छ र अर्को नेपाली फिल्मकर्मी यस्ता फिल्ममा संलग्न हुन पाए भने केही कुरा सिक्न सक्छन्। अर्को वर्ष दक्षिण कोरियासँग सम्झौता भइसकेको छ।

नेपालका फिल्म अवार्ड स्कुलको प्यारेन्टस् डेभन्दा पनि झुर हुन्छन् भन्ने गुनासो छ, यस्ता गुनासोको जवाफ देला अवार्डले?
त्यसको उत्तर चाहिँ साउन ५ मा पाउनुहुनेछ। अहिलेलाई यति भन्छु, हामी हाम्रो स्रोत र साधनले भ्याएसम्म राम्रो गर्ने प्रयासमा छौं।

प्रकाशित: ३ श्रावण २०७० २१:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App