१६ चैत्र २०८० शुक्रबार
अन्तर्वार्ता

‘केन्द्रको मात्रै मुख ताकेर हुँदैन’

लुम्बिनी प्रदेश फुटबल संघका उपाध्यक्ष सुर्यमणी अधिकारी । तस्विरः नागरिक

प्रदेश फुटबल संघ नयाँ संरचना हो । लुम्बिनी प्रदेश फुटबल संघ उपाध्यक्ष भएर आउनु भएको छ । अहिले कसरी काम गरिरहनु भएको छ?  

प्रदेशको कुरा गर्दा पूर्णरुपमा सातवटै प्रदेश गठन भइसकेको छैन । यसका सम्पूर्ण अवधारणहरु केन्द्रले तोकेको छैन । प्रदेशले के काम गर्ने, कसरी गर्ने भन्ने कुरा आफैंमा पनि स्पष्ट रुपमा हामीले पाएका छैनौ । बाँके र कैलालीमा ग्रासरुट प्रतियोगिता सम्पन्न भएको छ । यसै हिसाबले त्यसको संयोजकहरु बनाएर ग्रासरुटबाट फुटबललाई माथि उठाउनुपर्छ भन्ने मुख्य एजेण्डा चाहिँ प्रदेशमा छ । त्यसपछि जिल्लाका गतिविधिलाई सुपरिवेक्षण गर्ने र त्यँहा भएका कमीकमजोरीलाई सुधार गर्न जिल्लालाई निर्देशन दिने जस्ता कुराहरु प्रदेशले गर्न पाउँछ जस्तो मलाई लाग्छ । अहिले पूर्णरुपमा प्रदेशले कुनै पनि कुराको निर्देशन भने पाएको छैन । केन्द्रले यस विषयमा तयारी गर्दैछ ।  

प्रदेशको काम कर्तव्यको बारेमा निति बनाउन पनि एन्फालाई अलि अप्ठयारो जस्तो देखिन्छ । यस्तो अवस्थामा काम गर्न असजिलो भएको छैन ?  

काम गर्ने मानिसलाई नितिले रोक्दैन । हामीले भिजन लिएर अगाडि बढदा केन्द्रलाई राम्रो हुने हो । केन्द्रको मात्रै मुख ताकेर हुँदैन । हामीले ग्रासरुटलाई महत्व दिएर काम गर्दैछौं । फागुनको पहिलो साताबाट ग्रासरुटको प्रादेशिक कार्यक्रम संचालन गर्ने भनेर छलफल भइरहेको छ ।  

संघीयताको अभ्यास गरिरहेको अवस्थामा प्रदेशको भूमिका अन्योलमा छ । त्यो समस्या फुटबलमा पनि होला । यसलाई तपाईंहरुले कसरी व्यवस्थापन गर्ने रणनीति बनाउनु भएको छ ?  

समस्या भन्ने कुरा सबै क्षेत्रमा आउँछ । हाम्रो कार्यशैलीमा निर्भर हुने कुरा हो । केन्द्रले देला र हामीले गरौला भन्नु भन्दापनि हामीले प्रदेशभित्रका कार्यक्रमहरु कसरी संचालन गर्ने सोच्नुपर्छ भन्ने हो । मैले अग्रज दाजुहरुसँग कुरा गर्दा उहाँहरुले तपाईंहरुले बनाएको नीति पारदर्शी छन् भने केन्द्रले त्यो कुरामा रोकछेक गर्दैन भन्ने कुराहरु पनि गर्नु भएको छ । हामी अगल–अलग जिल्लाबाट कार्यसमितिमा चयन भएका छौं । तर पनि हामीले अभ्यास गरिरहेका छौं । हाम्रो समितिमा भएका व्यक्तिहरुले फुटबलबाट केहि लिएको भन्दापनि दिएका छौं । हामीमा आफैंले सुरु गर्नुपर्छ भन्ने मान्यता छ । फुटबलको विकासका लागि यो पटक होमिने कोसिसमा छौं ।  

कोभिडले फुटबललाई पनि प्रभाव पारेको छ । अव फुटबलमा पारेको असरलाई कम गर्न के–के योजना छन प्रदेशसँग ?  

यो विषयमा केन्द्रले कोभिडको प्रभाव कम गर्न योजना ल्याइसकेको छ । अहिले हाम्रो कार्यनीति प्रस्ट नभएका कारण कोभिडका विषयमा योजना त बनाएका छौं र त्यसको कार्यान्वयन गर्ने तयारीमा छौं ।  

फुटबलमा खेलाडीहरुको करियर सुरक्षित हुन सक्ने वातावरण छैन । त्यस्तो वातावरण निर्माणमा तपाईहरुको भुमिका के हुन्छ?

फुटबल क्षेत्रको मेरुदण्ड भनेकै क्लबहरु हुन् । उनीहरुसँग आफ्नो खेलाडी हुनपर्छ भन्ने मेरो मान्यता हो । यसमा खेलाडीले पनि आफ्नो प्रदर्शन देखाउने ठाउँ चाहिन्छ । त्यो हामीले दिनुपर्छ । यसमा हामीले नितान्त रुपमा लाग्ने योजना छ । फुटबलमा विकास गर्न व्यावसायिक फुटबल हुनुपर्छ । हाम्रो क्षेत्रमा खेलाडी हुनुप¥र्यो र प्रतिभा देखाउने स्थान हुनु प¥र्यो । त्यो काम क्लबहरुले गर्न जरुरी छ । त्यसमा हामीले प्राविधिक रुपमा सहयोग गर्नेमात्र हो ।  

फुटबललाई व्यावसायिक बनाउन के–के कुरा आवश्यक पर्छ जस्तो लाग्छ ?  

प्रदेशमा क्लबस्तरीय खेलकुद हुनुपर्दछ । त्यसले जिल्लासम्म खेलाडीलाई छनौट गर्ने र अवसर दिन सहयोग पुग्छ । त्यसको लागि कुनै एउटा क्लबले आफ्नो खेलाडीहरुलाई ल्याएर प्रतियोगिता गराएर व्यावसायिक रुपमा जाने वित्तिकै आयआर्जनको बाटो पनि खुल्छ । क्लबले आयआर्जन हिसाबले प्रतियोगिता खेलाएको हुनु पर्छ । यसबाट खेलाडीहरुलाई राष्ट्रिय स्तरसम्म पु¥याउन हामीले भूमिका खेल्छौं । हामीले नै खेलाडी उत्पादन गर्ने, हामीले नै खेल खेलाउने र राष्ट्रसम्म पु¥याउने भन्ने कुरा अलि सम्भव हुँदैन । हामीले यसको प्राविधिक पाटमा सहयोग गर्ने हो ।  

जिल्ला संघलाई सक्रिय बनाउन के गर्नु पर्ला ?  

जिल्ला संघलाई सक्रिय बनाउन जिल्ला संघसँग आवद्ध रहेका फुटबल क्लबहरुको गतिविधिलाई सक्रियतापूर्वक संचालन गर्नु पर्छ । यसको सुपरिवेक्षण अब प्रदेशले गर्छ । जहाँ– जहाँ गतिविधि भएको छैन । प्रदेशले त्यसको सुचांक गर्छ ।  

फुटबलमा व्यावसायिक प्रतिष्ठानको क्रेज बढाउन सकिएको छैन । फुटबललाई कसरी अझ धेरै व्यावसायिक गर्न सकिन्छ जस्तो लाग्छ?  

जबसम्म फुटबलमा गतिविधि हुँदैन, हामी व्यावसायिक प्रतिष्ठान तर्फ जान सक्दैनौ । अहिलेसम्म बाँकेको कुरा गर्ने हो भने फुटबलमा व्यावसायिक साथ भएको देखिदैन । यसमा हामीले योजना बनाएर काम गर्नुपर्ने देखिन्छ । व्यावसायिक सहभागिता बढाउन पहिलो त उद्योग वाणिज्य संघसँग विभिन्न सहकार्य गर्नुपर्छ । उहाँहरुलाई खेलकुद भनेको के हो भन्ने कुरा बुझाउन जरुरी छ । उहाँहरुलाई पनि फुुटबलप्रति नजिक बनाउने अवधारण लिएर जानुपर्छ । नेपालगन्जमै भएका कर्पोरेट हाउस सहकार्य गर्न तयार छन् । तर हामीले फुटबललाई व्यावसायिक बनाउनै सकेका छैनौ । नेपालगन्जमा भएको रंगशालामा लामो–लामो घाँस पलाएर बसिरहेको छ । त्यहाँ कुनै प्रतियोगिता हुन सकेको छैन । हामी यो भएन, त्यो पाएनौ मात्र भन्छौं तर हामीले गरेको छौं त । पहिला गरौ अनि त्यसपछि सबै आउँछ ।  

 

 

 

प्रकाशित: १२ माघ २०७७ १४:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App