सानो आकारको व्यवसायबाट जीवन सुरु गरेका उच्चमध्यम स्तरको व्यवसायीका रूपमा प्रतिष्ठित सिद्धिलाल श्रेष्ठ काठमाडौँबाहिरका प्रमुख पेट्रोलियम व्यवसायी हुनुहुन्छ। लो-प्रोफाइलमा बसेर काम गर्ने र सामाजिक कार्यमा सक्रिय रहने श्रेष्ठ पेट्रोलियम पदार्थमा ठूला व्यवसायीलाई भ्याटको छुट दिएर सर्वसाधारणमाथि सरकारले अन्याय गरेको बताउनुहुन्छ।
पट्रोलियमको हाहाकार चलेको अवस्थामा सिद्धिलाल श्रेष्ठसँग किशोर नेपालको यो वार्ताले पेट्रोलियम व्यवसायको रूप स्पष्ट पार्ने प्रयास गरेको छ।
तपाईंको प्रारम्भिक दिनका कुरा गरौं। आज तपाईं जुन स्थानमा हुनुहुन्छ, यहाँसम्म कसरी आइपुग्नुभयो?
मेरो पुरानो घर काभ्रेपलान्चोकको दाप्चा हो। मेरो बुबा व्यापारको सिलसिलामा तराई झर्नुभएको थियो। हेटौँडाबाट २७ किमी पश्चिम मनहरी भन्ने ठाउँमा उहाँहरु बस्न थाल्नुभयो। सानोतिनो व्यापार पनि गर्न थाल्नुभयो। म त्यहीँ हुर्के/बढेको हुँ। मेरो पढाइलेखाई पनि त्यही गाउँकै स्कुलमा भयो। अलिक ठूलो भएपछि मलाई पनि व्यापार गर्न मन लाग्यो। के गर्ने त? मेरो यातायात क्षेत्रमा काम गर्ने रुचि थियो। अनि बुबाले मलाई एउटा ट्रक किनिदिनुभयो। १९७५ मा किनेको एउटा ट्रकबाट मैले मेरो व्यवसाय सुरुवात गरें। त्यसपछि मलाई एउटा ट्रकले पुग्दैन, दुईवटा बनाउनुपर्छ भन्ने लाग्यो। यसरी ट्रक थप्दाथप्दै तीन चारवटा ट्रकको मालिक भएँ म। त्यसपछि हेटौँडा सिमेन्ट कारखानाका लागि खानीबाट कारखानासम्म चुनढुंगा सप्लाई गर्ने ठेक्का लिएँ। टिम्बर कर्पोरेसन र इन्धन संस्थानको काठ र दाउरा ढुवानीको ठेक्का पनि लिन थालेँ। त्यसपछि लाग्यो- यातायात क्षेत्रमा लागेपछि पेट्रोल पम्प पनि चाहिन्छ। त्यसपछि पेट्रोल पम्प पनि खोलेँ।
व्यवसाय प्रबर्द्धन गर्दा तपाईँले दुःखचाहिँ कति भोग्नुपर्यो?
दुःख त धेरै भोगेँ। गाडीको किस्ता तिर्न नसकेर लिलाम हुने अवस्थासम्म पुगे पनि मैले हिम्मतचाहिँ हारिन। साथीभाइ र इष्टमित्रसँग पैसा सापट मागेर ऋण चुक्ता गरेँ। त्यो अप्ठेरो स्थितिले मलाइ काम गर्नुपर्छ, कामबाट पछि हट्नुहुन्न भनेर ऊर्जा दिन्थ्यो। म रातको निद्रा र दिनको भोक पनि नभनेर काममा जुट्न थालें। मेरो मेहनत सफल भएजस्तो लाग्छ अहिले।
एउटा ट्रकबाट सुरु गरेको कतिवटा ट्रक बनाउनु भयो त?
त्यो बेला पाँच वटासम्म ट्रक बनाएँ। त्यसपछि मैले ठेक्कापट्टाको काम गर्न थालेँ। पछि त मेरो कम्पनीमा चालीस-पचासवटा ट्रक हुन्थ्यो।
त्यतिबेला व्यवसाय चलाउन ठूलाबडा मान्छेको आशीर्वाद र सहयोग कत्तिको चाहिन्थ्यो?
धेरै चाहिन्थ्यो। म सानो उमेरमा नै ठेक्काको काम गर्न थालेको थिएँ। टिम्बरका हाकिमहरु म सानो फुच्चेको उत्साह देखेर माया गर्नुहुन्थ्यो। सोह्र वर्षको हुँदा त म ठेकदार भइसकेको थिएँ। मेरो आँट देखेर उहाँहरु आकर्षित हुनुभएको थियो। त्यसले मेरो व्यवसाय अगाडि बढाउन निकै मद्दत गर्यो । नृपेन्द्र रिमाल महाप्रबन्धक हुनुभएको बेला मैले निकै प्रोत्साहन पाएँ। पहिले त उहाँले मेरो उमेर देखेर मैले काम गर्न सक्छ भनेर पत्याउनु नै भएन। अनि मलाई बोलाएर भन्नुभयो- 'तिमीले यति ठूलो काम गर्न सक्दैनौँ।' मैले उहाँसँग तीन महिनाको समय माग्दै भनें- समयमात्र दिनुहोस्, म गरेर देखाइदिन्छु। त्यसपछि उहाँले तीन महिनाको म्याद राखेर हस्ताक्षर गरिदिनुभयो।
तपाईँले व्यवसाय प्रबर्द्धन कसरी गर्नुभयो?
व्यवसायमा लागेपछि धेरैसँग मित्रता भयो। मानिसको मन जित्नु ठूलो कुरा हो। मन जितेपछि अरु मान्छे चिनियो। मेरो उमेरका कारण पनि सबैले सहयोग गर्नुहुन्थ्यो। त्यसरी हुँदै म ट्रान्सपोर्टबाट पेट्रोलियममा लागेँ। अनि क्रसर राख्न मन लाग्यो। त्यसरी एकआपससँग जोडिएको काम गर्दै यहाँसम्म आइपुगिएको छ।
कतिवटा पेट्रोल पम्प र क्रसर छ त अहिले?
हाल त दुईवटा मात्र पेट्रोल पम्प छ। साथीहरुसँग मिलेर खोलेको एउटा क्रसर छ।
मनहरीको एउटा सानो किराना पसलबाट सुरु गरेको व्यापारलाई बढाएर हेटौँडाको परिचित व्यापारीको छवि बनाउँदाको अनुभवचाहिँ कस्तो छ?
खुशीको त सिमै छैन। धेरै पटक सर्वश्व जान लागेको स्थितिबाट उठेको मानिस हुँ म। ममा पर्याप्त आत्मविश्वास छ। यातायातमा काम गर्दा धेरै पटक दुर्घटनाबाट बाँचेको छु। अहिले ती सब सम्झँदा कहाली लाग्छ। ती घटना नै काल्पनिक लाग्छन्। मैले कतिपय ठेक्का यति सानो ग्यापमा पाएको छु, जसमा सानो चुक भए पनि मेरो त सर्वनासै हुन्थ्यो। म मेरो भाग्य र भगवानलाई धन्यवाद नदिइ रहन सक्दिन। अन्ततः मेरो मेहनत र भाग्यको प्रतिफलप्रति म सन्तुष्ट छु।
व्यवसायी र राजनीतिज्ञहरुको पनि खुब गहिरो सम्बन्ध हुन्छ। होइन?
मैले त्यस्तो सम्बन्ध राख्नैपरेन। किनभने त्यस्तो सम्बन्ध राख्नुपर्ने बेलामा मेरो व्यवसायको राजनीतिक क्षेत्रमा कुनै भूमिका र हैसियत नै थिएन। अहिले बल्ल आएर मेरो भूमिका बन्न थालेको हो। अहिले कुनै पनि उद्योग धन्दा चलाउन राजनीतिज्ञहरुसँग राम्रो सम्बन्ध हुनु जरुरी भएको छ। नत्र मजदुरको समस्या यति चर्किन्छ कि कुनै पनि काम गर्नै सकिन्न। यस्तो हुन थालेको १२/१५ वर्ष जति त भयो नि। पहिला त थिएन यस्तो।
खासगरी तपाईँले गर्नुभएको पेट्रोलियम व्यवसायमा त उन्नति गर्न जालझेल/कपट गर्नुपर्छ। त्यसमा तपाईँको अनुभव कस्तो रह्यो?
मैले ट्रान्सपोर्ट सेक्टरमा काम गर्दा त्यस्तो केही गर्नुपरेन। तर पेट्रोलियममा काम गर्न थालिसकेपछि भने केही नमीठा कुराहरु भोग्नुपर्यो । हो, यो एकदमै जालझेलबाट जकडिएको व्यवसाय रहेछ। शुद्ध र पारदर्शी ढंगबाट काम गर्छु भन्दा पनि नपाइने। नियम नै त्यसरी बनाइएका छन्। पेट्रोलको मूल्यमा एकरूपता नहुँदा बाध्य भएर त्यस्तो काम पनि गर्नुपर्ने दिन आयो। मैले कुन बेलाको कुरा गरेको भन्दा, जुन बेला डिजेल र मट्टितेलको मूल्यमा धेरै फरक थियो। झन्डै एक लिटरमा नौ रुपियाँसम्म फरक थियो। त्यो बेला यो क्षेत्रमा काम गर्न सारै डरलाग्दो अवस्था थियो। निगमले कुनै पनि बेला छापा मार्न सक्ने। निगमकै कर्मचारीले तेलको घनत्व एक दुई पोइन्ट तल-माथि पार्थे र उनीहरु नै रेड गर्थे । त्यस्तो स्थिति थियो। निगमका कर्मचारीसँग सम्बन्ध बिग्रियो कि व्यवसाय नै भद्रगोल हुने अवस्था थियो। त्यो स्थिति दश बाह्र वर्ष रह्यो। पेट्रोलियमको काम गर्ने भन्नेबित्तिकै हामीलाई समाजले ठगको नजरले हेर्थ्यो। पेट्रोलियम ढुवानी महासंघको वरिष्ठ उपाध्यक्ष भएपछि मैले यो स्थिति परिवर्तन गर्नुपर्छ भनेर लागेँ। अनि मैले डिजेल र मट्टितेलको मूल्य एउटै हुनुपर्छ भनेर आन्दोलन सुरु गरेँ। त्यसमा सबैले समर्थन गरे। त्यो आन्दोलन पनि सफल भयो। त्यसबाट सरकारलाई अर्बौँ रुपियाँ बचत भएको छ। किनभने डिजेलमा भ्याट लाग्थ्यो, मट्टितेलमा लाग्दैन थियो। मट्टितेल र डिजेलको मूल्यमा धेरै भिन्नताले गर्दा गलत काम गर्न प्रोत्साहन मिलेको थियो।
तर पेट्रोलियममा नेपालमा अहिले पनि त यस्तै समस्या छ नि?
हैन, पेट्रोलियममा अहिले त्यसो गर्न सक्दैन। किन भन्दा, पहिला मूल्य भिन्नताका कारण त्यसो हुन्थ्यो, अहिले त्यो छैन। र, पेट्रोलमा मिसावटको कुरा गर्दा जहिलेदेखि मोटरसाइकलमा फोर स्ट्रोक इन्जिन आउन थाल्यो, त्यो पनि बन्द भयो। किनभने तेलको गुण/अवगुण मान्छेले थाहा नपाए पनि इन्जिनले थाहा पाइहाल्छ। अनि कुरा रह्यो थोरै क्वान्टिटी दिन्छ भन्ने, उपभोक्ता यति धेरै सचेत भइसके कि त्यसमा पनि झुक्याउन सम्भव छैन। सामान्य मिनरल वाटरको बोतलमा भरेर हेर्योा भने थाहा भइहाल्छ।
पेट्रोलियममा संकट त परिरहन्छ नि त?
त्यो अवस्थाचाहिँ निगमकै कारणले हो। आफूले बढी पैसामा पेट्रोलियम किन्छ र यहाँ ल्याएर अनुदान दिएर बेच्छ। त्यसले गर्दा संकट भएको हो। हामीले राज्यलाई के भनेका छौँ भने डिजेल जस्तो आमजनताले प्रयोग गर्ने वस्तुमा भ्याट लगाउनुभएन। सानो होस् या ठूलो होस्, एउटा निजी कम्पनीले प्रयोग गरेको डिजेलको सम्पूर्णरूपमा भ्याट फिर्ता पाउँछ। उद्योगको मालिकले चढेको गाडीमा हालेको डिजेलको समेत भ्याट फिर्ता पाउँछ। तर सर्वसाधारण जनता, जसले बस चढ्छ, ट्याम्पो चढ्छ, जसले स-सानो परिमाणमा दाल चामल ढुवानी गर्छ, त्यसको भ्याट त फिर्ता हुँदैन। त्यो त आखिर जनताले नै तिर्नुपर्छ। ठूला ठूला होटल र उद्योगले भने छुट पाउँछन्। त्यो त ठीक होइन। हामीले छ/सात वर्षदेखि डिजेलमा पनि भ्याट नलगाउन राज्यलाई घच्घच्याइरहेका छौँ। निगमले पनि भ्याट हटाउन प्रस्ताव राखेको छ। भ्याट हटाउनेबित्तिकै अनुदान दिनुपर्ने अवस्था रहँदैन। अनि उसले जतिमा ल्याएको हो, त्यतिमै बेच्न पाउँछ। अनि समस्या हुँदैन। अनि जति पनि स्टक राख्न सक्छ। अहिले नेपालको विडम्बना भनेको रक्सौल वा अमलेखगञ्जमा कतै बन्द हड्ताल भयो भने राजधानीमा इन्धन हाहाकार हुन्छ। किनभने निगमसँग स्टक नै छैन। व्यवसायीहरु अग्रिम पैसा डिपोजिट गर्न तयार छन्। तर पनि निगम र सरकार कुरा सुन्दैन।
आयल निगमको एकाधिकार तोड्नुपर्छ भनेर मान्छे भन्छन्, व्यवसायीहरु पनि भन्छन्। वास्तवमा हामीलाई आयल निगम किन चाहिएको छ त?
आयल निगम हामीलाई चाहिएको मुख्य कारण नै अनुदान दिन हो। किनभने व्यापारीले ल्याएर त अनुदान दिने होइन। अनुदान दिने त राज्यले नै हो। हाम्रै छिमेकी राष्ट्र भारत जहाँबाट हामी तेल लिएर आउँछौँ, त्यहाँ पनि पेट्रोलियम निजी क्षेत्रका लागि खुला भइसक्यो। यहाँ एकाधिकारको कुरालाई लिएर यति धेरै विवाद किन हुन्छ भने निजी क्षेत्रलाई दिनेबित्तिकै अहिले पेट्रोल पम्प चलाइरहेकाहरुको के हुन्छ? त्यो त थाहा हुनुपर्योर नि। आमजनतालाई सस्तो र सुलभ तरिकाले कसरी पेट्रोलियम पदार्थ आपूर्ति गर्न सकिन्छ, त्यो सबै निर्क्यौल गरेर ल्याउनुपर्छ। गएको सरकारले जाने अन्तिम दिन क्याबिनेट निर्णय गरेर निजी क्षेत्रलाई दिने भनेर नियम ल्याएको छ। अहिले व्यवसाय गरिरहेकाहरुको हकहितको वास्तै नगरी ल्याइएकाले हामीले त्यसको विरोध गरेका हौँ। त्यो सबै छलफल गरेर अगाडि बढाउन व्यवसायी तयार हुन्छन्। आयल निगमको एकाधिकार तोडेर निजी क्षेत्रलाई दिने कुरामा कसैको पनि दुई मत छैन। आयल निगमकै सेयर जनतालाई दिए पनि त हुन्छ नि! नेपालमा पेट्रोलियम प्रोडक्टहरुको समस्या समाधान गर्नका लागि पहिला त सरकारले भ्याट हटाउने नै आँट गर्नुपर्छ। र यसै क्षेत्रमा व्यवसाय गरिरहेकाहरुलाई समेटेर निजी क्षेत्रलाई दिए हुन्छ।
तपाईँलाई आयल निगमको प्रमुख समस्या के हो जस्तो लाग्छ?
पहिलो समस्या त निगमले धेरै मूल्यमा किनेर थोरै मूल्यमा बिक्री गरिरहनुपरेको अवस्था छ। निगमले जति पनि अनुदान दिन्छ, त्यो सरकारले बेहोर्नुपर्नेमा निगम आफैँले बेहोर्छ। अर्को भनेको अनियमितता पनि हो।
सरकारले आयल निगमलाई किन भ्याट छुट दिने? कारण त हुनुपर्योम नि?
पेट्रोलियम पदार्थमा लाग्दै आएको भ्याट पूर्णरूपमा छुट किन हुनुपर्छ भने भ्याट भनेको भ्यालु एडेड वस्तुमा लगाउने कर हो। तर पेट्रोल, डिजेल वा मट्टितेल भनेको सधैँ सञ्चय गरेर राख्न त सकिँदैन। यो त प्रयोग गर्नेबित्तिकै धुँवा बनेर उडेर जान्छ। केवल सरकारको राम्रो आमदानीको स्रोत हुन्छ भन्दैमा भ्याट लगाउन त पाइँदैन नि। मैले अघि नै भनें नि- साना/ठूला उद्योगी, होटल आदिले भ्याट छुट पाइरहेका छन्। तर आमसर्वसाधारणले भ्याट तिर्नुपरिरहेको छ। सर्वसाधारण जनताका लागि पेट्रोलियम पदार्थमा अनुदानस्वरूप भ्याट नै छुट गरेमा पनि निगम घाटामा जानुपर्दैन।
तपाईँ हेटौँडा-काठमाडौँ सुरुङ मार्गमा पनि लाग्नुभएको छ। यो मार्ग बन्यो भने हटौँडाको भविष्य कस्तो देख्नुहुन्छ?
सुरुङ मार्ग बन्यो भने हेटौँडा एउटा ट्रान्जिट पोन्इट हुन्छ। अहिले पूर्व पश्चिम जताबाट पनि हेटौँडा पाँचदेखि छ घन्टामा आइपुग्छ। सुरुङ मार्ग बनेपछि काठमाडौँ यहाँबाट मात्र ४५ मिनेटमा पुगिन्छ। यो आजभन्दा तीस चालीस वर्ष अगाडि नै बन्नुपर्ने बाटो हो। फिनल्यान्ड, नर्वे सरकारले त्यतिखेरै सर्वेक्षण गरिसकेको थियो। मुग्लिन घुमेर जाँदा कति खर्च भइरहेको छ? यो सोच्नुपर्ने कुरा हो। समय र इन्धन दुवै बचत हुने यो बाटो बनाउनुको विकल्प छैन। यो परापूर्वकालदेखि काठमाडौँ ओहरदोहर गर्ने प्रमुख बाटो हो। त्यो त्यसै भएको त होइन। हामीले खाली कसैले सहयोग गरेर अर्को बाटो बनाइदेओस् भनेरमात्र यसलाई बनाउन धेरै वर्ष पछाडि धकेल्यौँ। अब त्यसो गर्नुहुन्न। र, यो बन्यो भने काठमाडौँको पपुलेसन ड्रेन गर्ने प्रमुख बाटो पनि हुन्छ। किनभने काठमाडौँमा अब न घर बनाउने ठाउँ छ न बस्न सक्ने अवस्था छ। त्यसैले पनि यो बनाउनुपर्छ भनेर हामी लागेका हौँ।
तपाईँहरुले बाटो त बनाउनुहुन्छ होला। तर, तपाईँहरुले जुन हिसाबमा सोच्नुभएको छ त्यो हिसाबमा व्यवस्थापन नहुन पनि त सक्छ नि?
हामीले व्यवस्थापनलाई कसरी अगाडि लाने भनेर 'रोड सेफ्टी' भन्ने कमिटी पनि खडा गरेका छौँ। यो नेपालको पहिलो सुरुङ मार्ग हो। यसमा कुनै पनि बाधा/व्यवधान आउनुहुँदैन भन्नेमा हामी दृढ छौँ। मान्छेले यो सुरक्षित हुँदैन कि भनेर पनि कुरा गर्ने गरेका छन्। तर हामी यसलाई एसियाली मापदण्डअनुसार बनाउन लागेका छौँ। त्यसैले यसको व्यवस्थापन पनि त्यही स्तरको हुन्छ। त्यसैले कुनै समस्या आउँछ जस्तो मलाई लाग्दैन।
अब यो सुरुङ मार्ग बन्न केले अड्काएको छ त?
राज्यको सहयोग सोचेअनुसार भएको छैन। जुन बेला यसको काम सुरु भयो, त्यो बेला प्रम डा. बाबुराम भट्टराईले एकदमै चासो देखाएर तपाईँहरु यसलाई अगाडि बढाउनूस् भनेर प्रोत्साहन पनि गरेको हो। क्याबिनेटले डिसिजन नै गरेर हामीलाई यो बाटोको जिम्मा दिएको हो। त्यसपछि भौतिक योजना मन्त्रालयबाट स्वीकृति लिएर हामीले यसको काम अगाडि बढायौँ र पाँच महिनामा नै डिपिआर तयार गरेर बुझायौँ। हामी एगे्रसिभली काम गर्दै थियौँ। हामीले राज्यकै लागि एउटा महत्वपूर्ण र महत्वाकांक्षी काम गर्न लागेकाले साइत हेरेरैमात्र सुरुवात् गर्ने भनेर साइत हेर्न लगायौँ। पञ्चांग निर्णायक समितिले फागुन २६ गतेको दिन शुभ साइत छ भन्यो। त्यसैअनुसार हामीले सरकारलाई त्यस दिन शिलान्यास गर्ने जानकारी गरायौँ र सोअनुसार हरियो झन्डा देखाउन आग्रह गर्यौँा। तर भौतिक योजनाले यसमा लगानी गर्नेहरुको प्रतिबद्धता नभएको निहुँ उठाएर रोक्न खोज्यो। तैपनि हामीले हरेस खाएनौं र १९ वटा बैंकसहित नागरिक लगानी कोषको समेत प्रतिबद्धतापत्र राखेर पेश गर्यौँ । अब फेरि फिजिबिलिटी अध्ययन गर्नुपर्छ अनि मात्र भनेर आलटाल गरिरहेको छ। विगतको सरकारले छाड्ने बेलासम्म पनि कुनै निर्णय गरिदिएन। अब यो सरकारले गर्ला भन्ने आश छ।
तपाईँका अरु योजना के के छन् त?
अब मेरो योजना भनेको हेटौँडामा एउटा राम्रो होटल खोल्ने हो। हेटौँडामा एउटा सुविधा सम्पन्न होटेलको आवश्यकता मैले महसुुस गरेको छु। पहिलाका राम्रा भनिएका होटलहरु सबै पुराना भइसके। आन्तरिक हुन् या बाह्य, दुवैखाले पर्यटकका लागि होटल महŒवपूर्ण कुरा हो। यसले मात्र उनीहरुलाई आकर्षित गर्न सकिन्छ। फेरि निर्माणाधीन सुरुङ मार्ग बनिसकेपछि हेटौँडामा अवश्य नै अन्तरिक तथा बाह्य पर्यटकहरुको चाप बढ्छ। त्यो चापलाई व्यवस्थापन गर्न पनि नयाँ होटलको आवश्यकता छ। यही महसुस भएर नै मैले यहाँ होटेल खोल्ने विचार गरेको हुँ। जुन एकदमै समयसापेक्ष पनि छ।
तपाईहरुले बनाउन लागेको सुरुङ मार्गले यो क्षेत्रको पर्यटनलाई मद्दत पुर्यापउला भन्नेमा कत्तिको आशावादी हुनुहुन्छ?
हामीले हटौँडामै पर्यटक रोक्न नसकौँला तर हामीसँग मकवानपुर जिल्लामा पर्यटकलाई अकर्षित गर्न सक्ने धेरै स्थानहरू छन्। जस्तै- कुलेखानी ड्याम, दामन, सीमभञ्ज्याङ, गढी आदि। हामी यी ठाउँहरूमा राम्रो सडक मार्ग मात्र निर्माण गरेर नजिकैको भारतीय राज्य बिहारमा मात्र प्रबर्द्धन गर्ने हो भने पनि मौसमी पर्यटकको संख्या बढ्छ। दामन, कुलेखानीको अर्थतन्त्रलाई त अहिले पनि आन्तरिक पर्यटककै चापले धानिरहेको छ। अर्को प्रबर्द्धन गर्न लायकको ठाउँ चित्लाङ पनि हो। हेटौँडामा मात्र भन्दा पनि मकवानपुर जिल्ला समग्रमा पर्यटकका लागि आकर्षक गन्तव्य बनाउन सकिन्छ। सुरुङ मार्ग बनेपछि काठमाडौँको चापबाट मुक्ति लिएर कुलेखानीको चिसो हावा र माछाको स्वाद लिन मान्छेको ओइरो लाग्छ। यो पोखराको लेकसाइडकै हिसावमा अघि बढाउन उपयुक्त स्थान पनि हो। त्यसैले हेटौंडालाई त्यहीरूपमा स्थापित गर्न सकिन्छ। एउटा सुरुङ मार्गको निर्माणले धेरै सम्भावनाहरुको ढोका खोल्छ। त्यही भएर त हामी यो सुरुङ मार्ग निर्माणमा डटेर लागेका छौं। जसले पूरै मकवानपुरको काँचुली फेर्न पनि सघाउँछ।
तपाईँहरू सुरुङमार्गमा यति उत्साहित भएर लाग्नु भएको छ। तर त्यहाँका जनताले तपाईँहरुले सोचेअनुसारको सहयोगको हात बढाउँछन् भन्नेमा कत्तिको आश्वस्त हुनुहुन्छ?
पूर्णरूपमा। कुनै शंका नगरे हुन्छ। किनभने त्यहाँका जनताले त्यो बाटोको महŒव बुझेका छन्। अहिले सुमोमात्र चल्दा त त्यति धेरै फरक परेको छ जीवनस्तरमा भने यो मार्ग खुलेपछि ठूलै परिवर्तन नहुने कुरै छैन। किनकि यो एसियाली मापदण्डको सुरुङ मार्ग पो हो त, जसले त्यो समग्र क्षेत्रको विकासमा धेरै ठूलो योगदान पुर्यााउँछ। त्यो कुरा जनताले बुझेका छन्। यही कारण हामी व्यवसायी र स्थानीय यो मार्ग निर्माणमा कम्मर कसेर हातेमालो गर्दै लागेका हौं। कतैबाट अवरोध हुँदैन। सहयोग पर्याप्त पाइरहेका छौं।
तपाईँ मोफसलको एक प्रतिष्ठित व्यापारी हुनुहुन्छ। तपाईँले अहिले मोफसलको सबैभन्दा ठूलो समस्या के देख्नुभएको छ?
मैले देखेको सबैभन्दा ठूलो समस्या बेरोजगारी नै हो। यदि हामीले बेरोजगारीलाई समयमा नै सम्बोधन गर्न सकेनौँ भने देशले जनयुद्ध भन्दा पनि ठूलो समस्या भोग्नुपर्ने स्थिति आउन सक्छ। महँगी बढेको/बढ्यै छ। तर त्यही अनुपातमा मान्छेको आम्दामी बढेको छैन, बरु घट्दो छ। यसले समाजलाई असन्तुलित बनाएको छ। यो असन्तुलन धेरै माथि पुग्यो भने विद्रोह हुने खतरा छ। र, यो विद्रोहले धेरै कुरा तहसनहस पार्न सक्छ। हामीले हाम्रो जनतालाई खाली खाडीका मुलुकमा कामदारका रूपमा पठाएर त्यहाँबाट आएको रेमिट्यान्स देखेर दंग परेर बस्ने अवस्था अब छैन। रेमिट्यान्सको पैसासँगै सामाजिक विकृतिहरु पनि भित्रिएको छ। यसलाई अहिले हामीले नजरअन्दाज गर्यौँ भने दीर्घकालीनरूपमा यो ठूलो सामाजिक समस्याका रूपमा देखापर्छ। बेरोजगार युवाहरु देख्दा अहिले डर लागेर आउँछ- पल्सर बाइक पनि चढ्नुपर्ने, महँगो मोबाइल बोक्नुपर्ने, रेस्टुरेन्टमा खानुपर्ने तर आयस्रोत भने केही पनि छैन। सबैजना विदेश जान पनि सक्दैनन्। त्यो जमात बढ्दो छ। यो एकदम डरलाग्दो अवस्था हो।
अहिलेको तरल राजनीतिक अवस्थामा तपाईँ देशको भविष्य कस्तो कल्पना गर्नुहुन्छ?
म एकदमै सकारात्मक सोच राख्ने व्यक्ति हुँ। त्यसैले अहिलेको यो कालो बादल हट्छ भन्नेमा विश्वस्त छु। हाम्रो युवा पिँढीमा धेरै गर्ने जोश र जाँगर छ। उनीहरुले यो देशलाई अवश्य नै सुन्दर र समृद्धशाली बनाउँछन्। त्यसमा दुई मत छैन।
तपाईँले निकै सकारात्मक कुरा बताउनुभयो। तर, यसको आधार के त?
यसको आधार युवा पिँढीमा आएको जागरुकता हो। प्रविधि उनीहरूको पहुँचमा छ। उनीहरू शिक्षित छन्। उनीहरूलाई के कारण आफ्नो देश यति धेरै पछाडि पर्यो भन्ने कुराको जानकारी भइसक्यो। उनीहरू अब चूप लागेर बस्ने पक्षमा छैनन्। उनीहरू उठेर यो देश बनाउँछन्। संसारमा जति पनि समृद्धशाली देश छन्, ती सबै युवाले नै बनाएका हुन्। अहिले राजनीति, समाजसेवा, विज्ञान प्रविधि जस्ता सबै क्षेत्रमा युवा पिँढीले नै केही उल्लेख्य काम गरिरहेका छन्। यसले पनि प्रमाणित हुन्छ कि अबको संसार उनीहरुले नै बदल्न सक्छन्। त्यो तागत नेपाली युवामा पनि देखेको छु मैले। त्यसैले युवाहरुले यो सिंगार्ने कुरा हचुवाको भरमा भनिरहेको छैन। पक्का हो कि उनीहरुले यो मुलुकलाई समृद्ध र उन्नत बनाउने छन्।
अब तपाईँको व्यावसायिक क्रियाकलापलाई एकैछिन पन्छाएर तपाईँले गर्नुभएको समाजसेवाको कुरा गरौँ। तपाईँले हेटौँडामा आ"खा अस्पताल खोल्न ठूलै योगदान दिनुभएको छ । अरु सामाजिक काममा पनि सक्रिय हुनुहुन्छ। कसरी आर्थिक स्रोत जुटाउनुहुन्छ र समय व्यवस्थापन गर्नुहुन्छ?
समाजसेवा गर्छु भनेर हिँड्यो भने अर्थ त आफैँ जुट्दोरहेछ मैले देखेको त। अर्को कुरा भनेको विश्वास पनि हो। यदि कसैले तपाईँलाई दिएको पैसाको सदुपयोग हुन्छ भनेर विश्वास गर्छ भने तपाईँलाई जति पनि पैसा दिन सक्छ। उदाहरणका लागि तिलगंगा आँखा अस्पताललाई नै लिनूस्। उनीहरुलाई दिएको पैसा हिनामिना हुँदैन भन्ने विश्वासकै कारण धेरै दाताले उनीहरुलाई पैसा दिन्छन्। समाजसेवा गर्न त्यसैले सबैभन्दा पहिला समाजको विश्वास जित्नुपर्ने रहेछ। त्यसपछि काम गर्न कुनै पनि गाह्रो हुँदैन।
तपाईँ आफ्नो कमाईको कति हिस्सा समाजसेवामा लगाउनुहुन्छ त?
चाणक्यको एउटा भनाई छ- 'आफूले कमाएको २० प्रतिशतचाहिँ समाजसेवा र धर्ममा लगाउनुपर्छ।' त्यति खर्च त गर्न सकिएको छैन। तर चाहना भने त्यति पुर्याउने छ।
भनेपछि २० प्रतिशत खर्च गर्नुभएको छैन?
हाहा... अलिकतिले पुग्दैन, केही वर्षसम्ममा पुर्यातउने लक्ष्य लिएको छु। समाजसेवा गर्न पनि वातावरण मिल्नुपर्ने रहेछ। गर्छु भन्ने सोचमात्र लिएर पनि नहुँदोरहेछ। समाजसेवा गर्दा धेरै बाधा आउँछन्। समाजकै अरु मान्छेले इर्ष्या पनि गर्न थाल्छन्। तपाईंले त्यहाँबाट आर्थिक लाभ लिइरहनुभएको छ भन्ने आरोप पनि लाग्छ। धेरै कठिन छ। समाजसेवामात्र भनेर पनि हुँदैन। आर्थिक स्रोत जुटाउन भन्दा काम गर्न गाह्रो हुन्छ। विकास निर्माणको काम गर्नदेखि समाजसेवा गर्न खोज्नेहरुको खुट्टा तान्ने प्रवृत्ति हाम्रो नेपालमा व्यापक छ। त्यो सोच परिवर्तन हुन जरुरी छ।
सहयोगी : स्वरूप आचार्य
प्रकाशित: ३० चैत्र २०६९ ००:०८ शुक्रबार





