गइन्।
- किन त बोलाउँदै बोलाएनन् कि के हो?
वास्तवमै बोलाएका थिएनन् तर, बोलाएको भए पनि गइन्थेन होला।
- किन सर?
त्यो गोलमालमा कोसँग कुरा गर्ने? कसलाई भेट्ने? त्योभन्दा त बरु घरको एउटा कुनामा बसेर किताब पढ्नुमै आनन्द छ।
- कहिलेकाहीँ आफ्नो क्षेत्रका मानिससित भेट्न र गफ गर्न त रमाइलै हुन्छ होला नि हैन र?
राजनीतिज्ञहरू मेरा मान्छे होइनन्। मेरा आफ्नो भन्ने साथीहरू प्रायः राजनीतिबाट बाहिरै छन्।
- एकहदसम्म तपाईँको प्रतिष्ठा राजनीतिज्ञबीच पनि उत्तिकै छ। तपाईँका कुरा नमाने पनि सुन्छन् जस्तो लाग्छ? होइन र?
सुन्दैनन्। एउटा कुरा नि, मलाई काँग्रेस निकटको भन्छन्। काँग्रेस सरकारमा हुँदा मलाई कहिल्यै कसैले छलफल र कुराकानीका लागि बोलाएनन्। बरु प्रधानमन्त्री बाबुरामजीले बोलाउनुभयो।
- तपाईँलाई भेट्न बोलाएर प्रधानमन्त्री बाबुरामजी केही उदार सन्देश दिन चाहनुहुन्थ्यो होला नि? केही कुरा डेमोन्स्ट्रेट गर्न मन थियो होला नि त?
खै त्यो त थाहा भएन। तर, उहाँ न्युयोर्क जानुअगाडि चाहिँ केही मान्छे भेट्नुभएको थियो। त्यसमध्ये म पनि एक थिएँ। जेसुकै भए पनि आफ्नो विवेकले प्रधानमन्त्री भएको मान्छेले सल्लाह मागेपछि जुनसुकै पार्टी तप्काको भए पनि आफूले जानेको सल्लाह दिनुपर्छ। म दिन्छु पनि। तर कतिले त बोलाउँदा पनि बोलाउँदैनन्।
- गिरिजाप्रसाद कोइरालाले कतिपल्ट बोलाउनुभयो?
अहँ, कहिल्यै बोलाउनुभएन।
- उहाँ त १२/१३ पल्ट प्रधानमन्त्री हुनुभयो। कहिल्यै बोलाउनुभएन?
अहँ। बरु एकपल्ट उहाँसँग भेट्दा मसँग आफैं रिसाउनुभएको थियो र भन्नुभएको थियो- 'तपाईँ हामीकहाँ कहिल्यै आउनुहुन्न होइन?' मेरो भनाई के छ भने हामीलाई प्रधानमन्त्रीसँग भेट्नुपर्योँ भने कति गार्होह छ! तर उहाँलाई चाहियो भने फलानोलाई फोन लगाऊ वा लिएर आऊ भन्यो, भइहाल्छ। प्रधानमन्त्री निवासमा धेरै भोटे कुकुर पालिइरहेका हुन्छन्। त्यो कारण पनि हामी आफैं त त्यहा"भित्र छिर्नै सक्दैनौँ।
- तपाईँको किशुनजीसँग राम्रो सम्बन्ध थियो क्यारे हैन?
किशुनजी त ओहो, जहिले भेटे पनि मेरो जिजुबुवाको कुरा गर्नुहुन्थ्यो। भन्नु त हुँदैन, तपाईँहरू प्रेसको अगाडि। किशुनजी मलाई देखाएर उहाँकै बुबाले हो मलाई 'जोनी वाकर' चिनाएको भन्नुहुन्थ्यो। (कोठा सबैको हाँसोले एकसाथ गुञ्जियो। हामीमध्ये सबैभन्दा ठूलो हाँसो केदार सरकै थियो।) मेरो जिजुबुबा भनेको धर्मभक्तको बुबा। किशुनजीले भन्नुभएको त्यतिबेला बीस रुपियाँ आइसीमा पाइन्थ्यो रे जोनी वाकर।
किशुनजी त हामीकहाँ बस्नु पनि त भएको हो नि कालिम्पोङमा हुँदा। त्यतिबेला किशुनजी, बीपी कोइराला, बालचन्द्र शर्मा, लक्ष्मीप्रसाद देवकोटा हामीकहाँ नै बस्नुभएको थियो।
- तपाईँले धेरै किसिमका मान्छेहरू देख्नुभयो। धेरै पद्धति भोग्नुभयो। शक्तिको दुरुपयोग भएको प्रशस्तै देख्नुभयो। यी सबैका विरुद्ध लड्दै पनि आउनुभयो। यहाँसम्म आइपुग्दा अहिलेको परिस्थितिचाहिँ कस्तो लाग्छ?
(उहाँ लामो सुस्केरा काट्नुहुन्छ।) मलाई अरु त होइन, सबैभन्दा चिन्ता देशको 'संस्था'(इन्ष्टिट्युसन)हरूको लाग्छ। देश वा सरकार चल्ने भनेको यिनै संस्थाहरूबाट हो। यी संस्थाहरू झन्झन् खिइँदै र भास्सिँदै गएको देखेको छु मैले। त्यो देख्दाचाहिँ साहै् चित्त दुख्छ। तपाईँहरूले पढ्नुभएको छ कि छैन फ््रयान्ज फ्यानन्? उनले रेचेड अफ दि अर्थमा भनेका छन्- यो कोलोनियल देशका मान्छेमा एक प्रकारको रोग लागेको हुन्छ रे। यो पेटको अल्सरको, केको, केको। रिस पीडा र आवेगले गर्दा। त्यस्तै भइसक्यो। म धेरै गर्जिन्छु नि त्यसैले। एउटा सेमिनारमा प्रेजेन्टेसन दिँदादिँदै यति रिस उठ्यो, हातले लागेर पोडियम माइक नै भुइँमा खस्यो। मभित्र त्यस्तो रिस छ, दुःख छ। अंग्रेजी लेखक जोन किष्टको भनाई छ नि- 'विचार गर्नु नै दुःखी हुनु हो।' त्यो अवस्थामा छौँ हामी अहिले। त्यो संस्थाहरू सबै धरासायी हुँदै लड्न लागेको देख्दाखेरी उग्र रीस उठ्छ। राष्ट्र त्यही संस्थाहरूमाथि अड्ने होइन त राष्ट्र? हालका केही वर्षदेखि निरन्तर घुँडा टेकिरहेका छन् संस्थाहरु। असाध्यै चित्त दुख्छ यस्तो देखेर। कसरी बन्छ राष्ट्र यसरी?
- तपाईँ पहिलो जनआन्दोलन सकिएको समय २०४६ सालमा खुब खुशी हुनुभएको थियो। तपाईँको त्यो खुशी किन हरायो अहिले? कसरी लोप भयो त्यो खुशी?
ओहो मलाई याद छ, जुन दिन प्रजातन्त्र आएको थियो, त्यतिबेला म विश्व बैंकमा काम गर्दै थिएँ। प्रजातन्त्र आगमनको खुशी मनाउन मेरो बोसले जोनी वाकर ल्याएका थिए। हामी सबैले प्रजातन्त्रका नाममा टोष्ट गरेर पिएका थियौँ त्यो जोनी वाकर। त्यसबेला म आदर्शवादी पनि थिएँ कि? अब जादूको छडी चल्छ र त्यसले जम्मै ठिक गर्छ। करप्सन हुँदैन, परिवारवाद चल्दैन। आफ्नो हैन, राम्रो मान्छे आउँछन् भन्ने लागेको थियो। तर, त्यसपछि त राज्य सञ्चालन गर्ने संस्थाहरू झन् बिग्रिए नि त। मेरिटको आधारमा भन्दा पनि राजनीतिक आधारमा, अझ व्यक्तिगत लोयल्टीका आधारमा मानिसले राजनीतिक नियुक्ति पाउन थाले। त्यसपछि त प्रजातन्त्र भत्कन सुरु गरिहाल्यो नि।
प्रजातन्त्र भनेको नेताहरूलाई देश विर्ता त दिएको हैन नि ए! हँ जनताले विर्ता दिएको हो उहाँहरूलाई? जे जे मन लाग्छ, त्यही गर्ने? जसलाई मन लाग्यो टीका लगायो, दियो? अब त 'काउन्टर रिभोलुसन' (प्रतिक्रान्ति) गर्नुपर्ने बेला भयोजस्तो छ।
- ०६२-०६३ को आन्दोलनले तपाईँको त्यो सफोकेशन ब्रेक गर्न सकेन। किन?
संस्था सबै ध्वस्त भइसकेका छन्। जता पनि नचाहिने मान्छेबाहेक योग्य, राम्रो र गर्नसक्ने मान्छे कही कतै पुगेको छैन। अनि के हुन्छ भन्नुस् त?
शिक्षा क्षेत्र नै हेर्नुस् न। पञ्चायतकालमा जे थियो, अहिले पनि त्यही नै छ। ओहो! उकुसमुकुस हुन्छ मलाई। एउटा भनाई थाह छ तपाईँलाई- 'एजुकेशन इज अल्वेज पोलिटिकल, इट इज नेभर न्युट्रल।' पञ्चायतकालको शिक्षा पोलिटिकल थियो, ठिक छ। त्यसपछि खै त परिवर्तन भएको? खोइ त शिक्षा प्रजातान्त्रिक भएको? एउटा विद्यार्थी एक कक्षामा भर्ना हुन्छ, त्यो कक्षामा सय जना विद्यार्थी हुन्छन्। दश कक्षासम्म पुग्दा घटेर तीस-चालीस जना बाँकी रहन्छन्। त्यसमा पनि ४५ प्रतिशतमात्र पास हुन्छन्।
मलाई के लाग्छ भने सबै पार्टीको झन्डा रातो रंगको छ। नेपाली कांग्रेस, एमाले माओवादी सबैको झण्डामा रातो रंग छ। रातो रंगले समाज क्रान्ति र परिवर्तनतर्फ बढेको संकेत गर्छ। तर, अहिले ती पार्टीको झन्डाको रातो रंग उडेर फिक्का गुलाबी भइसक्यो।
- माओवादीले त्यत्रो युद्ध लड्यो परिवर्तनका लागि। त्यति धेरै मान्छे मरे। किन त?
मलाई लाग्छ, यी सबै आन्दोलनले केवल काठमाडौँका सम्भ्रान्त वर्ग र काठमाडौंबासीलाई मात्र खुशी पार्न सबै थोक गरे। नेपाल हेरेनन्।
- गिरिजाप्रसाद, मनमोहन, प्रचण्ड कसैले पनि?
हो। यी सबै नेताले काठमाडौंमात्र हेरे। अझ शिक्षालाई लिएर त म झन् बढी हतोत्साहित छु।
- शिक्षाको मात्र कुरा नगरौँ न। समग्र समाज हेरौँ। राज्य व्यवस्थाको कुरा गरौँ न।
कार्यक्रम सबैका राम्रा हुन्छन्। नीति बन्छ, योजना बन्छ। तर कार्यान्वयन कहिल्यै हुँदैन। दुःख लाग्छ।
- के देख्नुभएको छ पार्टीहरूले बनाउलान् त संविधान?
भन्नुहुन्छ कि हुँदैन हामीले। तर यी नेतामा परिपक्वता देखिएन। यी अपरिपक्व भए। अब हेर्नुहोस् न, हुलमुल गरे भनेर पोखरामा इन्टरनेशनल एयरपोर्ट दिने? भोलि भैरहवाले त्यसै गर्योह भने के गर्ने नि? हुलमुल गरेकै भरमा दिए नि सुदूरपश्चिममा विश्वविद्यालय। मैले नदिने भनेकै होइन। दिनुपर्छ। तर, त्यसका लागि अध्ययन हुनुपर्यो, अनुसन्धान गर्नुपर्यो, पूर्वाधार खडा गर्नुपर्योन। अनि न हुन्छ।
- अब पुनर्स्थापनाको कुरा टुंगियो। त्यो नहुने नै भयो। के चुनाव होलाजस्तो लाग्छ त तपाईँलाई?
अब त हुनुपर्ने हो। मलाई पनि लागेको त चुनावमा जानुपर्छ भन्ने नै हो। तर रेडियो पत्रपत्रिकामा सुन्छु, पढ्छु, बाधा प्रशस्तै छ भन्छन्।
- के अडचन देख्नुहुन्छ?
संवैधानिक अडचन छ भन्छन् नि। हैन र? संविधानको स-सानो कुरा त म बुझ्दिन। तर चुनाव हुनुपर्छ।
- बाबुरामजीको सरकारले चुनाव गराउनुहुँदैन भन्छन्। कसले चुनाव गराउन हुन्छ त?
त्यसो हो भने सबैले मिलेर चुनाव गराउने नि त। बंगलादेशमा जस्तो गरेर गराए हुन्छ नि। (हाहा...)
- हाम्रो देशमा विशेष गरेर भारत, चीनको विशेष प्रभाव छ भन्छन्। तपाईँको अनुभवले के भन्छ? के सबै देशका दूतावासले राजनीतिमा आफ्नो प्रभाव पार्न खोज्दैनन्?
सबैले गर्न खोज्छन्। युरोपियनहरू झन धेरै एक्टिभ छन्। तपाईँले देख्न सक्नुहुन्छ। उनीहरूबाट हामीले सिक्नुपर्ने धेरै कुरा पनि छन्। अझ म त हामीले अमेरिकनभन्दा युरोपियनबाट धेरै सिक्नुपर्छ भन्छु। धेरै समाजवादी छ नि त्यो। उनीहरू सबैको आ-आफ्नो एजेन्डा त भइहाल्छ नि।
- युरोपियन एम्बेसीअन्तरगतका केही फन्डिङ एजेन्सीले हामीकहाँ कहिले हुँदै नभएका विद्वेष बढाउने कुरा राजनीतिक पार्टीमार्फत् रोपे भन्छन्। तपाईँको अनुभवले के भन्छ?
बिगार्नलाई नै त त्यसो गरेको नहोला। तर उनीहरूले हाम्रो भावनालाई भने अलिक बु‰दैनन् जस्तो लाग्छ। जुन सम्वेदनाका साथ विषयलाई हेर्नुपर्ने हो, त्योचाहिँ नबुझेर हो कि जस्तो लाग्छ। उनीहरूलाई हाम्रो भावना बुझाउन धेरै गाह्रो हुन्छ। त्यसै भएर उनीहरूको सोचाइ राम्रो भए पनि त्यो बिग्रन्छ।
- मुख्य विषयमा नै आउँ। नेपालको राजनीतिक भविष्य के होला त?
ढाँटेको होइन, नेपालको युवा पुस्ता देख्दाचाहिँ म अत्यन्तै उत्साहित हुन्छु। उनीहरूलाई देख्दा नेपाल साँच्ची नै बन्छ जस्तो लाग्छ। विश्वको कुनै अरु देशको युवाको तुलनामा हाम्रो देशका युवा निकै सक्षम छन् जस्तो लाग्छ। मलाई यो भित्रैबाट लागेको कुरो हो है। युवाहरू देख्दा म अझै पनि आशावादी छु नेपालमा केही होला भनेर।
हामीकहा" नेतृत्व नै भएन। मैले एकपटक ठूलै खोज गर्न लगाएको थिएँ। देशका सबै प्रमुख विद्यालयमा दुइ दुईजना शिक्षकलाई अनुगमन गर्न पठाएँ। किन कुनै विद्यालय राम्रोसँग चल्छ र किन कुनै चल्दैन भनेर। अन्तिममा नतिजा के आयो थाहा छ? नेतृत्व! जहाँ नेतृत्व राम्रो छ, सबै ठिक छ। जहाँ छैन, त्यहाँ बिजोग छ। एउटा राम्रो नेतृत्वले कुनै पनि संस्थाको वा देशको कायापलट गरिदिन सक्छ। त्यो हामीकहाँ भएन। हाम्रो विडम्बना, हामीले सक्षम नेतृत्व कहिल्यै पाएनौँ। हामीकहाँ नेतृत्वको खडेरी पर्योह।
- यत्रो अन्दोलन गरेर, 'मास' लाई नेतृत्व गरेर आएका नेता छन्। तपाईँलाई लाग्दैन मान्छेको त्यो 'मास' लाई नेतृत्व गर्नु र त्यसको व्यवस्थापन गर्नु झन् कठिन हुन्छ?
नेतृत्वमा जहिले पनि 'ठूलो मन' हुनुपर्छ। राजा सोलोमनको एउटा कथा याद आउँछ- 'दुई जना आइमाईबीच एउटा बच्चालाई लिएर विवाद हुन्छ। उनीहरू राजाको अगाडि पुग्छन्। राजाले के भन्छ भने यदि दुवैको बच्चा हो भने म बीचबाट चिरिदिन्छु। आधा-आधा लिएर जाउ। त्यो साँच्चिकै जसको बच्चा हुन्छ, त्यो आमालाई बच्चाको जीवनको माया छ। ऊ बरु मलाई बच्चा चाहिँदैन, अर्कैलाई दिए हुन्छ भन्छे।' हो त्यस्तो उदार भावना हुनुपर्छ सच्चा नेतृत्वमा। जनतालाई जुधाएर राज गर्ने चाहना होइन, त्यागको भावना हुनुपर्छ।
- बजेट आएको छैन। राष्ट्रपतिज्यूले बजेटसम्बन्धी अध्यादेश अनुमोदन नै गर्नुभएन। त्यो पनि त बुद्धिमतापूर्ण काम भएन होला। हैन र?
राष्ट्रपतिज्यूको कुरै नगरौँ। मेरो विचारमा त बजेटमा अनुमोदन दिनुपर्ने हो। बजेट नहु"दा नेताहरू वा पार्टीहरूलाई भन्दा पनि अफ्ठ्यारो पर्ने देशलाई हो ।
- अहिलेको सबैभन्दा जल्दोबल्दो प्रश्न हो बाबुरामजीको राजीनामा। बाबुरामजीले राजीनामा दिँदैमा हाम्रो अहिलेको शिक्षा नीतिमा, आर्थिक नीतिमा, परराष्ट्र नीतिमा कुनै तात्विक परिवर्तन आउँछ?
आउँदैन।
- सुशीलजी प्रधानमन्त्री हुनुभयो भने केही परिवर्तन आउँछ?
आउँदैन।
- तपाईँ दुईटुक जवाफमात्र नदिनूस् न। केही बोली पनि दिनूस् न?
(हाहा...) मैले कुनै रेडियोमा कि कहाँ पनि भनेको थिएँ- 'त्यो आउँदैन।' हामीले प्रधानमन्त्रीहरूको सिरिज नै देख्यौँ। अझ मैले त २०/२५ वर्षदेखिको लहर नै देखेको छु। मैले केही परिवर्तन देखेको छैन। त्यसैले त अत्ताल्लिइरहेको हुँ नि।
- तपाईँले देखेका प्रधानमन्त्रीमध्ये राम्रोचाहिँ कुन लागेको छ? व्यक्तित्व हेरेर होइन है, काम हेरेर।
(हाहा...) साँच्चै भन्नुपर्दा म उपकूलपति भएर त्रिभुवन विश्वविद्यालय जाँदा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई तीनवटा कसम ख्वाएर मात्र पद बहालीका लागि गएको थिएँ। पहिलो, म कसैको झन्डा बोकेर विश्वविद्यालय जान्न। दोस्रो, मलाई सरकारको कुनै हस्तक्षेप मन पर्दैन। तेस्रो, फेरि मलाई परेको बेलामा सरकारको मद्दत पनि चाहिन्छ। यी तीनवटा कसम उहाँले खानुभएको थियो। उहाँले दश हजारवटा अरु कसम तोड्नुभयो होला। तर, त्यो तीनवटामा कायम रहनुभयो। मैले पाटिलको मेडिकल कलेजलाई सम्बन्धन नदिँदा काँग्रेसलाई ठूलै टाउको दुखाई भएको थियो नि। टियुको हित विपरित त म दिँदैदिन्न भनेर दिइन। पछि कुनै समारोहमा एक जना नेताले मेरा नाममा कुन्नि के गरिदिनुपर्योत भनेर गिरिजाप्रसादलाई भनेछन्। त्यो बेला म जापानमा थिएँ। गिरिजाप्रसादले 'हुँदैन, ऊ हाम्रो मान्छे होइन' भन्नुभएछ। मलाई त कस्तो आनन्द लाग्यो।
- तपाई एकेडेमिसिएन। आफ्नो काम गर्ने, पढाउने। उपकूलपति भएको मान्छेलाई जापानको राजदूत कसरी बनाए?
मलाई लाग्छ कि म विश्व बैंकमा काम गरेको मान्छे। त्यही अनुभवले जापानबाट केही सहयोग चाहिएको थियो होला। जापान विश्व बैंकको ठूलो दातृनिकायमध्ये एक भएकाले केही हुन्छ कि भनेर होला। मलाई साँच्चै थाहा छैन है। सायद, विश्वविद्यालयमा पूरा काम गर्न पाएन भनेर क्ष्तिपूर्ति दिएको पो होला कि।
- तपाईँ जापान बसेर के कुरा गर्नुभयो त? राजदूतहरूको के भूमिका हुँदोरहेछ त?
ओहो बडो महत्त्वपूर्ण प्रश्न गरिदिनुभयो। पहिलो वर्ष त मलाई अचम्मै लाग्यो किन पठाएको होला यहाँ मलाई भनेर। खाली कक्टेल पार्टीमा मात्र सहभागी हुन पठाएको हो कि जस्तो पनि लाग्यो। पत्र लेख्यो, पत्रको जवाफ आउँदैन त! मसँग त्यस्ता एक फाइल चिठी छन्, 'लेटर अन-आनसर्ड'(जवाफ नपाइएका चिठीहरू) भनेर। अनि मैले के सोचेँ भने आफैँ गर्नुपर्ने रहेछ। म पूर्णरुपले नेपालको प्रमोसनमा लागेँ। 'नेपाल भ्रमण वर्ष १९९८' मा त जापान पहिलो देश नै भएको थियो नेपालमा धेरै पर्यटक पठाउने। विश्वविद्यालयसँग सम्बन्ध सुधार गर्ने, व्यापार सबैमा मैले काम गरेँ।
- तपाईँले जे/जति गर्नुभयो आफ्नो कार्यकालमा, विश्वविद्यालयमा पनि र जापानको राजदूत भएर पनि, त्यसपछिका उत्तराधिकारीले त त्यसको राम्रो फलोअप गरेनन् नि हैन?
विडम्बना नै त्यही त हो नि। राज्य व्यवस्था नै छैन। सिस्टम हुनुपर्योय नि। त्यो नै छैन। कलको पानीबाट धमिलो पानी आउँछ कि सफा पानी आउँछ ठूलो कुरा भएन। पहिला त पानी आउनुपर्यो नि। त्यो पानी नै आउँदैन।
- माओवादीहरूले राज्य पुनर्संरचनाको नारा दिएर त्यत्रो लडाइँ लडे।
त्यो राम्रो हो। चाहिन्छ पनि। तर के त्यो पुनर्संरचना भयो त? गाउँघरमा गएर हेरौँ त। केही परिवर्तन वास्तवमै आएको पनि छ त? छैन नि। हामी आफ्नो बालबच्चालाई त राम्रो स्कुलमा पढाउँछौँ। तर के ती सरकारी स्कुलमा पढ्ने असंख्य बालबालिकाबारे कहिल्यै सोच्छौँ त? परिवर्तन आएको छैन। परिर्वतन चाहिएको छ। राजनीतिक परिवर्तन आयो। काम गराइमा त आएको छैन।
- काम गराइमा आउन त केही समय लाग्ला नि? दुई चार दशक नै।
ठिक छ। तर प्रयत्नशील त हुनुपर्योय नि। त्यो नै देखिँदैन।
- राज्यको रुपान्तरण गर्छु भनेर आएकाहरू नै सामन्ती भएजस्तो लाग्दैन तपाईँलाई?
'एनिमल फर्म' पढ्नुभएको छ कि छैन तपाईँले? उनीहरू पनि दुई खुट्टाले टेकेर हिँड्न थाले। (हाहा...) जनआन्दोलनको समय एउटा कार्यक्रममा म पुगेको थिएँ। मञ्चमा न राजारानीको फोटो छ। न कसैको फोटो छ। निलाम्बरजी मन्त्री हुनुहुन्थ्यो क्यारे। उहाँले राम्रो नेपालीमा छोटो वक्तव्य दिनुभयो। कार्यक्रम सकियो। त्यो देख्दा त साँच्चै परिवर्तन हुन लागेको हो कि भन्ने सोचेको थिएँ। फेरि अहिले हेरौँ त। सुन्ने भन्दा बोल्ने धेरै मञ्चमा बसेका हुन्छन्। 'कल्चरल टा्रन्सफर्मेसन'(सांस्कृतिक रुपान्तरण) जरुरी छ हामीलाई। एउटा किताब मैले पढेको थिएँ, 'कल्चर म्याटर्स' भन्ने, 'इट डज'(त्यो गर्छ)। जापानमा १८६८ भन्दा अघि संस्कृति अर्कै थियो। पछाडि कपाल बाँध्ने, जामा लगाउने, तरबार बोकेर हिँड्ने। मासु खान नजान्ने। माछा र समुद्रका झ्याउमात्र खाने। टाइममा केही नगर्ने। यस्तै थियो। १८६८को बेलामा 'क्याच अप विथ द वेष्ट'(पश्चिमको गतिलाई पछ्याउ) भन्यो जापानी नेतृत्वले। अनि संस्कृतिमै परिवर्तन ल्यायो। त्यसपछि रुसलाई हरायो नि। यहाँ त्यस्तो केही देख्नुहुन्छ त? देख्नुहुन्न नि। प्रयत्न नै छैन।
- सांस्कृतिक परिवर्तन भनेको त नेताहरूबाट भन्दा पनि, पढेलेखेका, समाजलाई बुझेका तपाई जस्ता अगुवाबाट आउनुपर्ने हो। होइन र?
तपाईँले गरेको तर्क ठिक हो। तर सुरुवात नेताबाट नै हुनुपर्छ। अन्तमा नेतृत्व दिने त उनीहरूले नै हो नि। हैन र? उहाँहरूले परिवर्तनको लहर लिएर आउन सक्ने संस्थाहरू त भत्काइसक्नुभयो नि त।
- राजनीतिक पार्टीका नेताहरू त सक्ने जति सबै ठाउँमा हस्तक्षेप गर्नका लागि कुरेरै बसिरहेका हुन्छन्। तपाईँहरू जस्तो प्राज्ञिक, बौद्धिक मानिस पनि त त्यो हस्तक्षेप पर्खेर बस्नुहुन्छ नि?
धेरै राम्रो कुरा उठाउनुभयो। अस्तिको पाला गुरु पूर्णिमाको दिन शिक्षण अस्पतालमा हामीलाई सम्मान गर्न बोलाइएको थियो। त्यो मञ्चबाट मैले के भनेँ भने 'तपाईँ ५० काटेको मानिसहरुको मलाई मतलब छैन। तपाईँहरू डाँडामाथिको घाम हो। ४५, ३०, २५ वर्षका तपाईँ डाक्टरहरू किन यो बेथिति सहेर बस्नुहुन्छ? संस्था बाहिरकाले जे गरे पनि सहने? हुँदैन। उठ्नूस् र लड्नूस्। म तपाईँको ठाउँमा भएको भए त्यसै गर्थेँ।' यो मेरो हो मैले नै केही गर्नुपर्छ भन्ने त्यो अपनत्वको भावना कुनै पनि ठाउँमा हामीले विकास नै गर्न सकेनौँ।
- केदार सर, अहिले हाम्रो देश मुटु कलेजो बिग्रिएर भेन्टिलेटरमा राखिएको बिरामीजस्तो छ। तर हामीलाई चिन्ता भने बिरामीको हात गोडाको छ।' यो देशलाई भेन्टिलेटरबाट कसरी बाहिर निकाल्ने?
त्यही त नयाँ नीति, कार्यक्रम नै आएनन्। पहिला जे थियो, त्यसैको घिडघिडोमा चलिरहेको छ। मेरै कुरा गर्दा पनि बीस वर्षअघि मैले त्रिभुवन विश्वविद्यालयमा जे छाडेर हिँडेको थिएँ, त्यसैलाई बोकेर अझै हिँडिरहेका छन्। फोहरै भए पनि वागमतीमा बरु धेरै पानी बगिसक्यो यो बीस वर्षको अवधिमा।
- हामीले राजनीतिज्ञहरुको ज्यादति बढी सहेर बसेको कि? राजनीति गर्नेहरूलाई तह लगाउन नजानेको?
हामीले सायद धेरै सहेर पनि बसेको होला। मैले फेरि भन्न पनि मिल्दैन। किनकि मैले कहीँ कतैबाट केही गरिरहेको पनि त छैन नि। अरू साथीहरूले केही लेखिरहनुभएको छ। केही न केही गरिरहनुभएको छ। मेरो विचारमा हामीले ज्यादै सहेकै हो जस्तो लाग्छ।
- तपाईँ निराश हुनुभएको त होइन नि?
होइन, एकदमै होइन।
- तपाईँहरू जस्तो प्राज्ञिक मान्छेले केही नबोल्नु भनेको पनि मौन विरोध नै होला। तर बोलेको कुरा त नसुन्नेले मौनताको त के मतलब राख्लान् र?
त्यही त। जति भने पनि सुन्दैनन्। जति जे... (उहाँ केही बोल्नुहुन्न। एकैछिन कोठामा मौनता छाउँछ।)
- गएर अहिल्यै थप्पड जमाइदिउँ जस्तो लाग्यो कि के हो तपाईँलाई?
(हाहा...) साह्रै नै गैरजिम्मेवार भए हाम्रा नेता भनाउँदाहरू। यो देश बन्थ्यो चाहेको भए।
- बन्थ्यो भनेरमात्र भएन। किन बनेन भन्नुपर्योर तपाईँले।
काम गर्ने मान्छेलाई सधैँ राजनीतिक हस्तक्षेपले रोक्यो क्या। काम नै गर्न दिएनन्।
- केही साताअघि सत्यमोहन जोशीसँग अन्तर्वार्ता लिँदा उहाँले देश चलाउन वेनिभोलेन्ट डिक्टेटर चाहियो भन्नुभएको थियो। के तपाईँलाई पनि त्यस्तै लाग्छ?
त्यो त खासमा व्यापारीलाई मात्र लाग्छ। शासक आफूसँग मिलोस्। अरुको मतलब छैन। सत्यमोहनजीले त्यसो भन्नुभएको चाहिँ उहाँको नैराश्यता होला। तर संस्थाहरूको विकासका लागि त प्रजातन्त्र नै चाहिन्छ।
- हाम्रो दिनदिनको राजनीतिमा वैदेशिक हस्तक्षेप धेरै हुन्छ भन्ने सुनिन्छ। तपाईँको अनुभवले के भन्छ?
हुन्छ। पक्कै हुन्छ। मात्रिकाप्रसाद कोइरालाको किताब पढ्दा र यसो वरपर हेरेर विचार गर्दा त्यो हुन्छ जस्तो लाग्छ। बाहिर भनिए जति नहोला तर हुन्छ। त्यो नहुनका लागि त आफू बलियो हुनुपर्यो नि। आफू बलियो भयो भने त कसले के भन्न र के नै गराउन सक्छ र? सबै देशमा बाहिरी देशको इन्ट्रेष्ट त भइहाल्छ नि। अमेरिकामा पनि त इजरायलको इन्ट्रेष्ट छ नि। तर के उसले त्यहाँको शीर्ष राजनीतिमा हस्तक्षेप गर्न सक्छ त?
- यी सबै कुरालाई बिट मार्ने क्रममा के हामी नेपालीले अर्को प्रतिक्रान्तिको अपेक्षा गरिरहेका हौँ?
यी अहिले भइरहेका नेताहरूको त हुत्ति छैन। तर नयाँ युवाले यस्तै हो भने अवश्य नै गर्नेछ प्रतिक्रान्ति।
प्रकाशित: १७ कार्तिक २०६९ ०१:०४ शुक्रबार





