१५ आश्विन २०७७ बिहीबार
अन्तर्वार्ता

‘अब त समुदायका प्रत्येक मान्छेको स्वाब परीक्षण गर्ने हो’

नेपालमा पछिल्लो समय कोरोना संक्रमण हुने क्रम बढिरहेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो दिएको जानकारीअनुसार संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ।  तीमध्ये ३ सय जनाको मृत्यु भइसकेको छ।    

संक्रमण किन बढिरहेको छ ? यो नियन्त्रणका लागि सरकारले गरिरहेको प्रयास कस्तो छ र कस्तो हुनुपर्छ ? अनि नागरिकले पनि यस विषयमा बुझ्नुपर्ने कुरा तथा अपनाउनुपर्ने सतर्कता के के हुन् ? आदि जिज्ञासाका साथ स्वाथ्य क्षेत्रको नीतिगत तहमै लामो समय बिताएका जनस्वास्थ्य विज्ञ डा.केके राईसँग नागरिकन्युजकर्मी पवन बराइलीले संवाद गरेका छन् :    

कोरोना महामारीबारे सरकारको बुझाइ कस्तो पाउनुभएको छ ?  

अहिले राज्य नै अन्योलमा छ।  कोरोना भाइरस- डराउनुपर्ने खालको होइन, सामान्य रुघाखोकी लगाउने भाइरस हो भन्ने रूपमा लिइयो।  लकडाउन/निषेधाज्ञा लगाइएको झन्डै ६ महिना हुन लागिसक्यो।  जसका कारण काम/व्यवसाय गर्न नपाएर नागरिकले पेटभरि खान पनि पाएका छैनन्।  अर्थतन्त्र ठप्प छ।  सबैभन्दा बढी असर श्रमिक वर्गलाई परिरहेको छ।  सरकारले एकातिर कोरोना भाइरसलाई सामान्य ठानिरहेको बुझिन्छ भने अर्कातिर यसलाई ठूलो महामारीका रूपमा लिएको पनि देखिन्छ।  यसैकारण सरकार आफैं अन्योलमा छ।  अन्य देशका सरकारले जस्तो महामारीलाई प्राथमिकतामा राखेर नियन्त्रणमा लागि परेको छैन।  स्रोत/साधन जुटाएको छैन।  

सबै स्वास्थ्यकर्मीले स्वास्थ्य सुरक्षाका सामग्री पाइरहेका छैनन्।  सुरक्षाकर्मीले पनि पाएका छैनन्।  पछिल्लो समय स्वास्थ्यकर्मी आतंकित भइरहेका छन्।  भाइरसबाट बच्च आफैंले स्वास्थ्य सुरक्षा सामग्री किनेर प्रयोग गर्न बाध्य छन्।  यतिबेला सबैभन्दा बढी मारमा स्वास्थ्यकर्मी छन्।    

दैनिक औसतमा हजारभन्दा माथिको संख्यामा संक्रमित फेला परिरहेका छन्।  मृत्यु हुने क्रम पनि बढ्दो देखिन्छ।  कारण के हो ?  

सुरुवातमै स्वास्थ्यविज्ञसँग छलफल गरी उनीहरूका सुझावअनुसार योजना बनाएर अघि बढ्नुपर्ने थियो।  हिजोका दिनमा यस्ता महामारी आउँदा कस्ता रणनीति अपनाइएका थिए ? वैज्ञानिक योजना हुनुपर्थ्यो।  भएन।  डब्लुएचओ (विश्व स्वास्थ्य संगठन) को मापदण्डअनुसार क्वारेन्टिन व्यवस्था गरिनुपर्थ्यो।  

तर संक्रमितलाई भेडा/बाख्राजसरी राखियो।  जसले गर्दा एक–दुई जनाबाट धेरैमा संक्रमण फैलिने नै भयो।  जब उनीहरू क्वारेन्टिनबाट बाहिर निस्किए, तब संक्रमण समुदायमा पनि फैलियो।  क्वारिन्टन नै कोरोना फैलाउने केन्द्र बन्यो।    

लकडाउन गरेर संक्रमण घट्ने होइन । यसका लागि मास्क लगाउने, व्यक्ति–व्यक्तिबीच भौतिक दूरी कायम गर्ने र व्यक्तिगत सरसफाइमा ध्यान दिनेजस्ता जनस्वास्थ्यका नियम पालना गर्नुपर्छ । भाइरससँगै बाँच्न सिक्नुपर्छ । भाइरस त्यति छिट्टै हराउनेवाला छैन ।  

जतिबेला देशभित्र कोरोना फैलिसकेको थिएन, त्यतिबेला यसलाई रोक्ने उपाय प्रशस्तै थिए।  देशका सिमाना कसरी व्यवस्थित गर्ने र विदेशबाट आएकालाई क्वारिन्टनमा कसरी व्यवस्थापन गर्ने ? यो विषयमा सरकारले गम्भीर भएर सोच्नुपर्थ्यो।  तर नेपालमा कोरोना आउँदैन भनेर बस्यो।  

फ्रन्टलाइन (अग्रपंक्ति) मा काम गर्नेहरूलाई पिपिईलगायत स्वास्थ्य सुरक्षाका साधन पर्याप्त उपलब्ध गराई उनीहरूको मनोबल बढाएर काम गर्नुपर्थ्यो।  हचुवा तालमा काम थालियो।  लकडाउन मात्रै गरियो, तर व्यवस्थित क्वारेन्टिन बनाउनेतिर ध्यान दिइएन, जसले गर्दा कोरोना समुदायस्तरनमा फैलियो।  यसमा सरकार चुकेकै हो।  अबको चरण भनेको उपाचर मात्रै हो।  जुन वैज्ञानिक र व्यवस्थित बनाउन जरुरी छ।    

परीक्षणलाई प्रभावकारीरुपमा संचालन नभएको हो त ?  

पिसिआर परीक्षण गुणस्तरीय भएन भन्ने भन्ने कुरा उठेका छन्।  सुरुमै पिसिआर प्रशस्त मात्रामा गरिनुपपर्थ्यो।  सममयै गुणस्तरीय पिसिआर किट ल्याएर परीक्षण प्रभाकारी बनाएको भए व्यवस्थित हुन्थ्यो।  पहिले परीक्षण गर्ने बेला पिसिआर टेस्ट किट नै थिएन।  आवश्यक स्वास्थ्य सामग्री नै थिएन।  त्यही बेला हेलचक्र्याइँ भइसकेको थियो।  पिसिआर परीक्षण पनि प्रशस्त मात्रामा नगर्ने, अनि क्वारेन्टिन पनि व्यवस्थित नहुने।  यो अवस्थाले गर्दा संक्रमण फैलियो।    

भारतमा अहिले दिनदिनै संक्रमण दर बढिरहेको छ।  भारत-नेपाल सीमा नाका व्यवस्थित छैनन्।  कसरी व्यवस्थित गर्ने ? यो विषयमा सरकारले ध्यानै दिएको छैन।  

सरकारले उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने थियो।  सरकारको प्रयास खासै उपयोगी देखिएन।  त्यही अव्यवस्थाले यो संकट निम्त्याएको हो।  दिनप्रतिदिन संक्रमण दर बढिरहेको छ।  सरकारले चाँडै स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाएर लागेन भने संक्रमण नियन्त्रणभन्दा बाहिर जान सक्छ।      

समुदायस्तरमा संक्रमण फैलियो भनेर कसरी थाहा पाउने ?  

पाँच जना मानिसलाई कोरोना पोजिटिभ देखायो भने उनीहरूलाई कसरी लाग्यो ? विदेशबाट पनि आएका होइनन्।    

चीन, जापान, दक्षिण कोरियाजस्ता देशले लकडाउन नगरीकनै कसरी कोरोना नियन्त्रण गरे भन्नेतिर हाम्रो सरकारले ध्यान दिएन।  जनचेतनामूलक कार्यक्रम ल्याउनुपर्थ्यो , त्यो पनि भएन।  आम मानिसलाई जनस्वास्थका ज्ञान, सीप र चेतना प्रदान गरिएन।  जुन आवश्यक छ।  सरकारले लकडाउन र निषेधाज्ञा गर्न मात्रै जानेको छ।  यसले मानिस रोगले भन्दा भोकले मर्ने स्थिति नआउला भन्न सकिन्न।    

काठमाडौं उपत्यकामा अब कन्ट्याक्ट ट्रेसिङ सम्भव छ ?

संक्रमितको संख्या नबढ्दै कन्ट्याक्ट ट्रेसिङ थालिनुपर्थ्यो। उपत्यकामा जथाभावी मानिसलाई भित्रिनै दिन हुन्थेन।  भित्रिहाले पनि खोजीखोजी क्वारेन्टिनमा राख्ने, पिसिआर टेस्ट गर्ने गर्नुपर्थ्यो।  त्यही बेला चुक्यौं हामी।  नाकाबाट संक्रमित भित्रिसके।  तिनले परिवार, आफन्त, साथीभाइ, समुदायमा संक्रमण सारिसके।  यस्तो बेला कन्ट्याक ट्रेसिङ सम्भव हुँदैन।  व्यावहारिक पनि छैन।  अब त  समुदायका प्रत्येक मान्छेको स्वाब संकलन गरेर परीक्षण गर्ने हो।  

संक्रमितले अस्पताल भरिभराउ भइसके।  कसरी व्यवस्थापन गर्ने ?  

निजी अस्पताललाई कोरोना अस्पताल बनाउनुपर्छ।  कुनै महामारी/विपत्ति आउँदा सबै काम सरकारले नै गर्ने हो।  जनतालाई आर्थिक भार दिने होइन।   पिसिआरलाई पैसा लिइरहेको छ।  अरू देशले पनि लिएको छ भनिन्छ।  तर उनीहरूले पैसा लिने बेग्लै वैज्ञानिक आधार छन्।  

पिसिआर टेस्ट गर्न नागरिक आफैंले पैसा तिर्नुपर्ने र कोरोना संक्रमण भए उपचार पनि गर्नुपर्ने, योभन्दा लज्जास्पद कुरा अरू के होला ? उसै त जनता आर्थिक मारमा परेका छन्।  यस्तो बेला घरखेत बेचेर उपचार गर्नुपर्ने अवस्था छ।  त्यसैले सरकारले निजी अस्पताल किन्ने हो, नत्र अस्पतालका बेड उपयोगका लागि माग्ने हो।  निजी अस्पतालले दिनुपर्छ।  निजी र सरकारी अस्पताल मिलेर अघि बढ्नुपर्छ।  यसलाई अभियानका रूपमा लानुपर्छ।    

राज्यको भूमिका कस्तो हुनुपर्थ्यो ?

महामारीलाई उच्च प्राथमिकतामा राखेर स्वास्थ्य सामग्री ल्याएर अघि बढ्नुपर्थ्यो।  महामारीलाई कसरी जित्ने भन्नेतिर लाग्नुपर्थ्यो। स्रोत/साधन जुटाउनु पर्थ्यो।  स्वास्थकर्मीलाई उच्च मनोबलसहित काम गर्ने वातावरण बनाउनुपर्थ्यो।  अहिले सरकारी अस्पतलाका नर्सहरू संक्रमित भएका छन्।   नयाँ भाइरस हो।  औषधि छैन, उपचार छैन भनेपछि मान्छे आत्तिएका हुन्।   तर विश्वको अवस्था हेर्दा यसको मृत्युदर ३ प्रतिशत मात्रै छ।  अझ भारत र नेपालमा त एक प्रतिशतभन्दा पनि कम छ।  संक्रमण समुदायस्तरमा फैलिएपछि मुत्युदर बढ्छ नै।  संक्रमण हुनेबित्तिकै मान्छे मरिहाल्ने त होइन।  रोग लागिहाले पनि प्रतिरोधात्मक शक्तिले जितेर अघि बढ्ने हो।  

डराउनै हुँदैन भन्ने होइन, संयमित हुँदै अघि बढ्नुपर्छ।  लकडाउन गरेर संक्रमण घट्ने होइन।  यसका लागि मास्क लगाउने, व्यक्ति–व्यक्तिबीच भौतिक दूरी कायम गर्ने र व्यक्तिगत सरसफाइमा ध्यान दिनेजस्ता जनस्वास्थ्यका नियम पालना गर्नुपर्छ।  भाइरससँगै बाँच्न सिक्नुपर्छ।  भाइरस त्यति छिट्टै हराउनेवाला छैन।    

संक्रमितको संख्या नबढ्दै कन्ट्याक्ट ट्रेसिङ थालिनुपर्थ्यो। उपत्यकामा जथाभावी मानिसलाई भित्रिनै दिन हुन्थेन।  भित्रिहाले पनि खोजीखोजी क्वारेन्टिनमा राख्ने, पिसिआर टेस्ट गर्ने गर्नुपर्थ्यो।  त्यही बेला चुक्यौं हामी।  नाकाबाट संक्रमित भित्रिसके।  तिनले परिवार, आफन्त, साथीभाइ, समुदायमा संक्रमण सारिसके।  यस्तो बेला कन्ट्याक ट्रेसिङ सम्भव हुँदैन।  व्यावहारिक पनि छैन।  अब त  समुदायका प्रत्येक मान्छेको स्वाब संकलन गरेर परीक्षण गर्ने हो।  

संक्रमण नियन्त्रण गरेका देशले कस्तो रणनीति अपनाए ?  

जुन बेला मास्कको ज्यादै जरुरी थियो, त्यसबेला नेपालमा यसको अभाव थियो।  भाइरसबाट बच्ने उपाय भनेकै मास्क हो।  जापान, दक्षिण कोरियाजस्ता देशका सरकारले मास्क वितरण गरेका थिए।  इटलीले पनि  मास्क पाउने व्यवस्था गर्यो ।  हरेक ठाउँमा मेसिनले नै मास्क बेच्ने व्यवस्थासमेत गर्योा।  हामी डब्लुएचओले भनेको मात्रै मान्ने अरूका कुरा नमान्ने ?  डब्लुएचओले पनि धेरैपछि मात्रै मास्क लगाउन भन्यो।  भारतका ग्रामीण भेगमा मास्क नलगाएकै कारण कोरोना फैलिएको छ।    

अब कोरोना नियन्त्रणको अन्तिम विकल्प के हुन सक्छ ?

सरकारले निजी अस्पताललाई सेवाको दायरामा ल्याउनुपर्छ।  संक्रमण रोकथामभन्दा पनि उपचारमा ध्यान दिनुपर्छ।  भेन्टिलेटरसहितको उपचार सेवा चाहिन्छ।  ९० प्रतिशत बिरामीलाई अस्पतालमा भर्ना गर्न पर्दैन होला, तर १० प्रतिशतलाई त गर्नुपर्छ।  तसर्थ सरकारले स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्छ।  

साधन/स्रोत व्यवस्था गरेर व्यवस्थित अस्पताल बनाए जनताले राहत पाउँथे।  अहिले रोग लाग्यो भने भगवान् भरोसामै बाँच्नुपर्ने अवस्था छ।  निजी र सरकारी अस्पातल मिलेर अघि बढे भने मानिस बचाउन सकिन्छ।  केही हदसम्म महामारी नियन्त्रण हुन्छ।    

 

 

प्रकाशित: २३ भाद्र २०७७ १२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App