८ वैशाख २०८१ शनिबार
अन्तर्वार्ता

प्रहरी कमजोर भएको देख्न चाहने तत्व सल्बलाएका छन्, कोहीँ उम्किन पाउँदैनः महानिरीक्षक खनाल

सर्वेन्द्र खनाल नेपाल प्रहरीका २६ औं महानिरीक्षक (आइजिपी) हुन्। प्रहरी सेवा प्रवेश गर्नु पूर्व नै विद्राेही स्वभावका खनालले २०७४ चैत २८ गतेबाट नेपाल प्रहरीको प्रमुखको कार्यभार सम्हालेका थिए। २२ महिने कार्यकालको आरम्भमै उनका सामु संगठनको आन्तरिक सुदृढीकरण, शान्ति सुरक्षाको सवलीकरण र  विप्लव समूह आतंक लगायत थुप्रै चुनौती थिए। सोही अवस्थाको पहिचान गरी १० बुँदे सांगठनिक प्राथमिकता तय गरी कार्य योजना सहित कार्यान्वयन गराएका थिए। कार्यकालको आज १९ महिना वित्दा खनालको नेतृत्वमा सांगठनिक सुधारका परिणामहरु देखिएका छन्। विप्लव समूह गैरकानुनी गतिविधी पूर्णत निस्तेज पारिएको छ। एकाध घटना बाहेक अन्य सम्पूर्ण अपराधको सफल अनुसन्धान भएको छ, नागरिकको घरदैलोमा जाने समुदाय-प्रहरी साझेदारी कार्यक्रम लागु भएको छ। सार्वजनिक सुनुवाई मार्फत नागरिकका सुझाव सहयोग लिने कार्य भएको छ, यसले पनि नेपाल प्रहरीप्रति नागरिकको विश्वास बढेको छ। अन्तर्राष्ट्रिय स्तरबाट गरिएका स्वतन्त्र अध्ययन प्रतिवेदनहरुले पनि नेपालको शान्ति सुरक्षाको अवस्था सुदृढ हुँदै गएको देखाएको छ। अन्तर्राष्ट्रिय प्रहरी संगठनहरुको समन्वय सहकार्यमा समेत बढोत्तरी हुँदै गरेको कामकारवाहीले नेपाल प्रहरीको साख बढेको छ। यिनै विषयमा महानिरीक्षक खनालसँग नागरिकले गरेको कुराकानीः   

म कुनै ठाउँमा गुण्डागर्दी प्रवृत्ति देख्न चाहन्न। प्रहरीको उपस्थिती दह्रो हुनुपर्छ। भ्रष्टाचार, गलत व्यवहार, बदमासी सैह्य हुन्न।

आइजी भएर तपाईले के के गर्नुभयो ? तपाईका योजना कति कार्यान्वनयमा आए?

बाल्यकालदेखि नै  म कोही माथि अन्याय थिचोमिचो भएको देख्ने नसक्ने मान्छे हुँ। त्यसैगरी टोल समाजमा हुने गुण्डागर्दी र अपराधी कर्मविरुद्ध लडेको व्यक्ति हुँ। यो मेरो जीवनशैली हो। प्रहरी सेवामा प्रवेश गरे पश्चात पनि म गुण्डागर्दी र अपराधकर्मको निमिट्यान्न पार्न डटेर खटिएको व्यक्ति हुँ। त्यसैले प्रहरी महानिरीक्षकको पदभार सम्हाल्ने वित्तिकै मातहतका सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई कुनै ठाउँमा गुण्डागर्दी प्रवृत्ति देख्न चाहन्न, प्रहरीको उपस्थिती दह्रो हुनुपर्यो। भ्रष्टाचार, गलत व्यवहार, बदमासी सैह्य हुन्न भन्ने स्पष्ट निर्देशन दिएँ। 

अर्कौ महत्वपूर्ण कुरा संगठनको सुदृढीकरण, दूरगामी विकास र प्रहरी कर्मचारीहरुको मनोबल उच्च पार्ने मेरो उत्कृष्ट अभिलाषा थियो। सोही बिषयलाई मनन् गरी तत्काल प्रहरी महानिरीक्षकका १० बुदें सांगठनिक प्राथमिकतामा तर्जुमा गरी लागू गराए। उक्त प्राथमिकतामा पहिलो संगठनभित्र आन्तरिक सुदृढिकरण, दोस्रो शान्ति सुरक्षा, तेस्रो नेपाल सरकार तथा गृहमन्त्रालयसँग उच्च समन्वय, गृह प्रशासन सुधारअन्तर्गत प्रहरीसँग सम्बन्धित नीतिहरु सुधार लगायत थिए। मुख्य प्राथमिकतामा संगठन सुधार नै थियो। प्राथमिकता निर्धारण गरेर रणनीतिक योजना बनायौं। समयसीमा तोकेर उपलब्धी हासिलको प्रयास गर्यौं। हामीले सोचेअनुसार नतिजा आएको छ।

जस्तो आर्थिक अनुशासन कायम राख्न सम्पूर्ण कार्यालयमा हुने कामकारवाहीमा पारदर्शी तुल्याउने, प्रहरीको उच्च मनोबल कायम राख्ने, राम्रो गर्नेलाई पुरस्कृत, गलतलाई दण्ड, महिला हिंसा न्यूनिकरण गर्ने र नागरिक मैत्री सेवा प्रवाह गर्दे अन्तत नेपाल प्रहरी संगठनलाई गर्विलो र सम्मानित बनाउने लक्ष्य राखिएको हो। निर्भिकतापूर्वक प्रहरीले काम गर्ने वातावरण बनाउनु पनि थियो। अप्ठ्यारो परिस्थितीमा व्यवसायिक धर्म निर्वाह गरेका सम्पूर्ण कर्मचारीहरुको अभिभावकत्व संगठन प्रमुखबाट हुनेछ भन्ने स्पष्ट सन्देश पनि दिनु थियो। हिजोलाई हेरेर काम गर्नुस् भन्ने पनि सुनियो। मेरो बुझाइ यो काम यसरी गर्ने, अप्ठेरो पर्यो भने यसरी गर्ने भन्ने स्पष्ट निर्दैशन दिन पर्दछ भन्ने मेरो मान्यता हो। हुनत काम गर्नेले गरि पनि रहेका छन्। काम गर्दा आफ्नो क्षमता दक्षता होला। तर, त्यसमा एउटा नेतृत्वको विकास पनि हुन्छ। त्यो पनि गरेको छु। तर कहीँकतै पनि भुलवश गलत भयो भन्न पाइन्न। गल्ती हुनुहुन्न् भन्ने बनाएको छु। यी सबै प्रयत्नहरु निर्भिकता पूर्वक उच्च मनोबलले कार्य गर्ने वातावरण तयार गरेको हुँ। त्यसैगरी युएनमा महिला प्रहरीहरुको सहभागिताको कोटा बढाएको छु। प्रहरी कर्मचारीको पोशाक, भवन सबै कुराहरु व्यवस्था भएको छ। शौचालय थिएन, ११ सय शौचालय एकैचोटी बनाइदिए। भवनहरु थिएन, ७७ वटै जिल्लामा प्रहरी भवन निर्माण भए। यहीँ एक डेढ वर्षमा हो। गत बर्ष नेपाल प्रहरीका लागि भौतिक पूर्वाधारको बर्ष भन्दा पनि हुन्छ। त्यसैगरी यस बर्ष २०१२ साल देखिको प्रयत्न हुँदै आएको तर यसबर्ष मात्र सम्भव भएको काठमाण्डौ परिसर र अपराध महाशाखको भवन निर्माणका लागि शिलान्यास भैसकेको छ। यो सबै कुरा आधारभूत आवश्यकता हो। सरुवा बढुवामा कुनै आर्थिक अयिन्मितता हुन दिने छैन, गरेमा जसले गर्छ त्यसलाई निर्ममता पूर्वक कारवाही गर्ने स्पष्ट नीति लिएको छु। म चुनौतीका साथ भन्छु कसैले भर्नामा लेनदेन गरेको छ भने कारवाही गर्छु। गलत गर्ने जो कोहीलाई फाल्देको छु, चाहे त्यो एआइजी होस् वा डिआइजी।

कारवाही हुनेहरु कमाण्डर बढी छन्। एआइजी पनि कारवाही परेका छन्। तलतल मात्र कारवाही गर्ने होइन। आदेश दिनेलाई कारवाही गर्नुपर्यो। तलकोले त आदेशको पालना गर्दै काम गर्छ।

तपाई आएपछि कति कारवाहीमा परे?

कारवाही भन्दा पुरस्कृत बढी भएका छन्। कारवाही हुनेहरु कमाण्डर बढी छन्। एआइजी पनि कारवाही परेका छन्। तलतल मात्र कारवाही गर्ने होइन। आदेश दिनेलाई कारवाही गर्नुपर्यो। तलकोले त आदेशको पालना गर्दै काम गर्छ। एउटा जिल्लामा तस्करसँग खायो भने जिल्लाको इन्चार्जले खान्छ, उठाउन जाने प्रहरी कर्मचारीले खान्छ र नजिकको मान्छेले खान्छ। ४/५ जना बाहेक अरुले त खाँदैन। कारवाही त त्यहाँ कमाण्डरलाई हुनुपर्यो, तलकोलाई किन? हाम्रो जस्तो फोर्स संरचनामा कमाण्डर जवाफदेही हुनुपर्छ। तलकोलाई होइन कमाण्डरलाई नै कारवाही हुनुपर्छ। कमाण्ड कन्ट्रोल त्यहाँ हुनुपर्यो। उसले नगरेर तल बद्मासी हुँदैन। त्यसकारण यी कुराहरु भएका छन्।

त्यसो भए तपाईले कमाण्डरमाथि कारवाही गरिरहनुभएको छ?

विल्कुल। त्यो त फिगरले पनि देखाएको छ। आफू ठिक हुनुपर्यो नी। अनि मात्र केन्द्रबाट तल काम गर्ने प्रहरी जवानहरुलाई हेर्नुपर्यो। उनीहरुको ब्यारेक, शौचालय, मेस त्यहाँ हेर्ने हो। यी कामहरु भइरहेका छन्। त्यसैगरी भवन निर्माणहरु भएका छन्।

बाँकी अपराध नियन्त्रण प्रहरीको पहिलो काम हो। अहिले प्रहरीलाई कुन अपराध, हुण्डी, तस्करले भन्ने सुनेको छैन र सुन्न पनि चाहन्न। त्यस्तो भएको छ भने कारवाही पनि भएको छ।

डकैतीदेखि अपहरणसम्म सबै नियन्त्रणमा आएको छ। हिजो सीके राउतदेखि  मधेसमा कुन बेला कसरी काम गर्ने भन्ने कस्तो गाह्रो थियो। समाधान भयो नी। नेपाल सरकारको नीतिअनुसार फ्रन्टलाइनमा नेपाल प्रहरीले नै गरेको हो नी। गर्ने कुरामा प्रहरी कहीँ कतै चुकेको छैन।

विकास निर्माणको कुरामा पहिलो त ठेक्कापट्टामा सिण्डिकेट चलाउने र गलत क्रियाकलाप गर्नेलाई मैले नै ११ कम्पनीलाई कालोसूचीमा राखी तिनीहरुलाई संगठनभित्र हामीले नै निरुत्साहित गरेको छौं। बाहिरको कुरामा त हामी निर्धक्क जान्छौं।

म आइजी हुनु अगाडि विप्लवको समूहको कस्तो आतंक थियो। धेरै ठाउँमा डोजर, टावर जलायो भन्ने थियो, चन्दा आतंक पनि थियो। अहिले तिनीहरुको गतिविधी कहाँ पुग्यो त? अहिले, कति मान्छे समात्यौ त हामीले? यत्रो नियन्त्रण त गर्यौं नी त म आएको डेढ वर्षमा। नियन्त्रणमा त ल्यायौ नी त। समाजमा अपराध नियन्त्रण गर्ने कुरामा अपराधी, तस्कर, टोले गुण्डा तिनको नाम निशाना छैन। त्यसकारण कुन सेक्टरमा प्रहरीले गरेको छैन? त्यस्ता प्रवृत्तिलाई समेत निरुत्साहन गरेका छौं। विकास निर्माणको कुरामा पहिलो त ठेक्कापट्टामा सिण्डिकेट चलाउने र गलत क्रियाकलाप गर्नेलाई मैले नै ११ कम्पनीलाई कालोसूचीमा राखी तिनीहरुलाई संगठनभित्र हामीले नै निरुत्साहित गरेको छौं। बाहिरको कुरामा त हामी निर्धक्क जान्छौं। विद्युत चोरी, चुहावट पनि हामीले नै समातेका छौं। त्यसकारण नेपाल प्रहरीले गर्ने कुरामा कहीँ पनि कमी लाग्दैन।

अब एउटा कुरा के छ भने प्रहरीको सहयोग लिने काममा कमी छ भने त्यो कुरालाई भन्नुपर्यो। जस्तो बाटो बनाउँदाखेरी कसैलाई ठेक्का पट्टा दियो भन्ने त सम्बन्धित निकायको जिम्मेवार पक्षले भन्नुपर्यो कि हामीले गर्यौं। होइन भने हाम्रो नोटिसमा आएकोमा त्यो गुण्डागर्दी प्रवृत्ति, विकास निर्माणमा अवरोध गर्नेलाई पनि छोडेका छैनौं। सँगसँगै जानुपर्छ।

अर्काे नागरिकको सभ्य र मर्यादित जीवनका लागि पुलिसिङ्ग हुनुपर्छ। हिजोको व्यवहार र आजको व्यवहारमा आमूल परिवर्तन आएको छ। जस्तो ट्राफिकको विषय होस्, तुलनात्मक रुपमा परिवर्तन छ। भ्रष्टाचारविरोधी अभियानमा नेपाल प्रहरी कति ठाउँमा साझेदारका रुपमा अगाडि बढेको छ। प्रहरी संगठनले पनि एन्टि ड्राइभ करप्सन क्याम्पेन चलाएका छौं। अन्तर्राष्ट्रिय रेकर्ड हेर्ने हो भने विदेशमा लुकेर बसेका अपराधीहरु अहिले सबैभन्दा बढी नेपाल ल्याएका छौं। अन्तराष्ट्रिय समन्वय बढेको छ। पुलिस चिफहरुको एसिया सम्मेलन गराए। सार्क, विमिस्टेक लगायतका सुरक्षाका दृष्टिकोणले चुनौतीपूर्ण नरेन्द्र मोदीदेखि २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको भ्रमण सफलतापूर्वक सम्पन्न गर्यौं। कसलाई कहाँ समातेर हुन्छ गर्यौं। यसबाट हामी सक्षम छौं भन्ने मापन भयो। हाम्रो प्रहरी यति गर्न सक्छ भन्ने भयो। यहाँ विकास निर्माण गर्न त सहज हो, पहिलो शर्त त पूर्वाधार र सुरक्षा हो।

नागरिक र समूदायको साझेदारी अभिवृद्धि गर्न समूदाय प्रहरी साझेदारी कार्यक्रम ल्याएका छौ। गत वर्षबाट शुरु गरिएको यो कार्यक्रममा देशभरका ७५३ स्थानीय तहसँग सहकार्यको सम्झौता भई काम गरी आएका छौं। देशभर कुल २३ हजार समितिहरु गठन भएका छन्। कूल ७३ लाख जनताहरु लाभान्वित भएका छन्। विद्यालयहरुमा गएर बालबालिकाहरुलाई अपराधको दलदलमा पर्नबाट जोगाइएको छ। समुदायमा पर्ने हरेक विपद र सामूहिक कार्यक्रममा प्रहरीको उपस्थिति हुने गरेको छ। यसबाट पनि आम नागरिक र समुदायसँग हामी प्रतिको विश्वास अभिवृद्धि भएको छ।

सुशासनको पहरेदारको रुपमा हामी रहन्छौं। त्यहीँ अनुसार गरिरहेका छौं। अन्तर्राष्ट्रिय समन्वय बढाएका छौं। रेप गरेर बाहिर गएकालाई समातेर ल्याएका छौं। इतिहासमा पहिलोपटक हो मान्छे पक्रेर ल्याएको। जबकी उसले मान्छे नै दिँदैन।, मानवअधिकार अरुअरु भनेर अल्झाउँछ। यहाँबाट नेपाल प्रहरी कति सफल भएको छ भन्ने देखिन्छ।

सुन तस्करको कुरा हेर्नुस्। ७५ जनालाई समातेर जेल हालेका छौं। गरेको काम त हो नी। हिजो हुँदै नभएको अवस्था थियो। आज यत्रो गर्दाखेरी गरेन भन्ने त लाग्दैन। गर्नुपर्ने के हो भन्नुस्, अनि हामी हेर्छाैं।

कर्मचारी व्यवस्थापन, समन्वय, सरकारको नीति कार्यान्वयनमा खरो रुपमा उत्रेका छौं। नेपाल सरकारको सुखी नेपाली, समृद्ध नेपालको महाअभियानलाई साकार तुल्याउन हामीले कुनै कसुर बाँकी राखेका छैनौं।

लागुऔषधमा दशौं वर्षसम्म लागेका व्यक्ति अहिले पक्राउ परे। यो वर्ष मात्रै गरेर पक्राउ गरेको होइन। १०/१५ वर्षदेखि चलाइरहेको अपराधहरु अहिले हामीले समातेका हौं। अपराधी अहिले बढेको होइन, पहिलेदेखि थिए समात्दा संख्या धेरै देखियो।

घरेलु हिंसाका घटनामा ९७ प्रतिशत कसुरदारहरु पक्राउ परेका छन्। बलात्कार तथा यौनजन्य हिंसाका घटनामा कुनै पद र हैसियत नहेरी सबैलाई कानूनको दायरामा ल्याइएको छ। यी कुरा हालैको घटनाहरुबाट पनि प्रष्ट हुन्छ। विचाराधिन मुद्दाका ७ हजार अभियुक्त कानूनी हिरासतमा छन्। यस्ता पाटोहरुमा हाम्रो ठूलो उपलब्धी छ। ह्याकिङदेखि अन्य अपराधमा तत्काल संयन्त्र परिचालन गरेका छौं।

बलात्कार तथा यौनजन्य हिंसाका घटनामा कुनै पद र हैसियत नहेरी सबैलाई कानूनको दायरामा ल्याइएको छ। यी कुरा हालैको घटनाहरुबाट पनि प्रष्ट हुन्छ। विचाराधिन मुद्दाका ७ हजार अभियुक्त कानूनी हिरासतमा छन्। 

भनेपछि नेपाल प्रहरी ‘रुल अफ ल’मा कडाइका साथ अघि बढेको हो ?

अन्तर्राष्ट्रिय स्तरमा गरिएको रुल अफ ल को मापनमा ५ वटा सूचकले नेपाल प्रहरीलाई माथि देखाएको छ। चिलीमा भर्खरै सम्पन्न इन्टरपोलको रुल अफ ल अन्तर्गत (पीस) शान्ति सूचकमा हामीलाई दक्षिण एसियामा सबैभन्दा माथि राखेको छ। यसमा हामीले गर्व गर्नुपर्छ। संरचना निर्माण, संविधान कार्यान्वयन तथा संक्रमणकालको बेला अपराधीहरु टाउको उठाउन खोज्छन्। यतिखेर प्रहरीलाई कमजोर गराएर आफ्नो स्वार्थपूर्ति गराउने, तस्करी गराउने, संगठित अपराध गर्ने, त्यसको पहुँच सरकारसँग पुर्याउन उद्दत हुने यो अन्तर्राष्ट्रिय प्रचलन हो। म स्पष्ट छु यस्तो बेला कुनै अपराधीलाई टाउको उठाउन दिन्न। अहिले भएकै त्यहीँ हो। त्यो मनपरी गर्ने प्रहरीलाई तह लगाऔं। ठेकेदारी प्रवृत्तिलाई घोप्ट्याउ। मैले भनेको मान्नुपर्छ, चल्नुपर्छ, अवैध व्यवसाय चल्नुपर्छ भन्ने जुन मानसिकता छ नपाउँदाखेरी तिलमिलाए। यो प्रवृत्तिले प्रहरी, संयन्त्र कमजोर बनाएर फाइदा लिन खोजे। तर, म चाहीँ संक्रमणकाल वा अरु कुनै संविधान, कानुन कार्यान्वयनको सवालमा दृढ छु।

अर्काे कुरा जिन्दगीभर अपराध अनुसन्धानमा नबसेर, अपरेशन नगरेर भागेकाहरु अहिले आएर प्रहरी नेतृत्वलाई सिकाउने मानसिकता भएकाहरु लाई चुनौती दिन्छु कि गलत कुराको प्रचार गरेर जनतालाई भ्रममा पार्न खोज्नु आफैंमा प्रतियुत्पादक हुन्छ। किनभने मेरो प्रहरी सेवा इन्सपेक्टरदेखि आइजीसम्मको कुन ठाउँमा कमाण्ड गरेर के गरे भन्ने रेकर्ड हेरे हुन्छ।

मैले भनेको मान्नुपर्छ, चल्नुपर्छ, अवैध व्यवसाय चल्नुपर्छ भन्ने जुन मानसिकता छ नपाउँदाखेरी तिलमिलाए। यो प्रवृत्तिले प्रहरी, संयन्त्र कमजोर बनाएर फाइदा लिन खोजे।

पहिलो संविधानसभा, दोस्रो संविधानसभा, अप्ठेरो अवस्थामा काम गरेको आइजी छ। अन्तर्राष्ट्रिय परिवेशमा ४ वटा मिसनमा कमाण्ड गरेको र नेपाल प्रहरीको दोस्रो स्याटमा समेत इक्जाम गरेको मान्छे, जसले न्युयोर्कमा ग्लोबल प्रतिस्पर्धामा २ वर्ष बस्यो, नेपालको इज्जत प्रतिष्ठासँग जोडिएको साउथ सुडान मिसन स्थापना गर्ने एक सदस्यका रुपमा गयो, त्यसलाई अन्तर्राष्ट्रिय पुलिसको विषय सबै थाहा छ र द्वन्द्वको बेला कस्तो रणनीति उपयुक्त हुन्छ भन्ने बिषयमा जानकार छ। अनुसन्धानको विषयमा संस्थागत रुपमा मानव बेचबिखन गर्ने म्यानपावर, हुण्डी, कालोबजारी र ठगी गर्ने पेट्रोल पम्पहरु, एटिएम ह्याकर, मनि चेन्जर, फुटबलका म्याच फिक्सनलाई कानुनी दायरामा ल्याउने र सोही कारणले आज कानूनी व्यवस्था बन्नु पर्छ भन्ने भनि प्रमुखरुपमा पहल गर्ने व्यक्ति आज प्रहरी महानिरीक्षक छ।

त्यति सुझबुझका साथ लागेको हुनाले आफूले नसकेर केही अपराधिक मानसिकता भएका तत्वहरुसँग मिलेर कमजोर बनाउँछु भन्ने खालको सोच कसैको छ भने त्यो दिवा सपना हो। यसमा नलाग्दा राम्रो हुन्छ र यो प्रत्युत्पादक छ। हामीले नेपाली नागरिकले, सरकारले, कर्मचारीले खोजेको पुलिस यहीँ हो, यस्तै हुनुपर्छ।

तपाईको लक्ष्य तथा योजनाहरु हासिल गर्नमा नागरिक र सरकारबाट कस्तो सहयोग छ ?

सरकारको दृष्टिकोणबाट प्रधानमन्त्रीज्यूबाट स्पष्ट भिजनका साथ राम्रो कामका लागि कुनै छेकबार छैन। संगठनलाई राम्रो बनाउने सन्दर्भमा उहाँबाट पुरा सहयोग छ।

एकदम सहयोग छ। केही अपराधिक मानसिकता भएकाहरुको कारोवार संक्रमणकालमा बेलामा हुन्छ। उनीहरुको व्यापार व्यवसाय कमाउने यतिखेर हुन्छ। चोरी तस्करी गर्न खोज्छन, किनकी प्रहरीलाई कमजोर बनाउन खोज्छ। प्रहरी सरुवा बढुवामा चलखेल गर्छन, किनकी आफू पावरफुल छु भन्ने देखाउन खोज्छ। अहिले त्यो सबै जिरो छ। यदि कोही पूर्वप्रहरी त्यस्तो मानसिकतामा छन् भने ती १०० प्रतिशत गलत छन्। 

सरकारको दृष्टिकोणबाट प्रधानमन्त्रीज्यूबाट स्पष्ट भिजनका साथ राम्रो कामका लागि कुनै छेकबार छैन। संगठनलाई राम्रो बनाउने सन्दर्भमा उहाँबाट पुरा सहयोग छ। सरुवा बढुवा, दुइटा ब्यूरो (मानवबेचबिखन र साइबर ब्यूरो जुन वर्षाैदेखिको प्रयास थियो) स्थापना, सबै ठाउँमा संरचना, तालिम केन्द्र भवन बनेका छन्।

प्रहरी स्कुलमा नतिजामा राम्रो आएको छ। नेपालमै दोस्रो भएको छ। खेलकुदमा नेपाल प्रहरी १० वर्षयता सबैभन्दा बढी जितिरहेको छ। कमाण्डमा एउटाभन्दा पनि सबै क्षेत्र हेर्नुपर्छ। अन्तर्राष्ट्रिय रुपमा पनि राम्रो सूचक भनेर देखाइरहेको छ। अपराधको विषय, सांगठनिक सुधारदेखि लिएर सबै ठाउँको प्रहरीमा सुधार भएको छ भने हामीले गर्व गर्ने कि यो भएन, म भए यो गर्थे भन्ने? केही चाहीँ भएन। हिजो सिकाउने ठाउँमा म नै थिए भनेपछि नबुझेको कुरो धेरै नबोल्न म आग्रह गर्न चाहन्छु।

आइजी बनेपछि तपाईले अघि सारेका लक्ष्य, योजनाहरुमा कति प्रतिशत सफलता पाउनुभयो?

मेरो समय २२ महिना थियो। अब साढे ३ महिना बाँकी छ । यो समय कम होइन । जुन दिन सुरु गरे, त्यो मुभमेन्टबाट आएर धेरै उपलब्धी भएको छ। यो छोटो समय हो। थिति बसाल्न सकेको जस्तो लाग्छ। मैले सोचेको जस्तो भएको छ। उपलब्ध स्रोत साधनको प्रयोग गरेर मैले गर्नसक्ने गरे। प्रहरीको मनोबल बढाउन प्रयास गरे। अझै गर्नुपर्ने धेरै छन्।

अब समसामयिक विषयमा कुरा गरौं, अहिले हाइप्रोफाइल व्यक्तिहरु धमाधम समातिरहेका छन्। यसलाई कसरी व्याख्या गर्नुहुन्छ?

सबभन्दा ठूलो कुरा कानून हो। यो अहिलेमात्र होइन, मैले प्रहरी इन्सपेक्टरदेखि नै कानुनी राजको पक्षमा थिए। मिर्जाको गोलीकाण्ड भएपछि म काठमाडौंबाट एक्लै पोशाक लगाएर पुगेको थिए। अप्ठेरो परिस्थितीमा जहाँ पठायो त्यहाँ जान्थें। कुनै पनि ठाउँमा काम गर्दाखेरी निर्भिकतापूर्वक काम गरे। वीरगन्ज, जनकपुरमा भुमिगत समूहहरुलाई ध्वस्त पारियो। माओवादी वार्ताको पुलिस कोर्डिनेटर भएर काम गर्ने मौका पाए। मुख्य मुख्य मुद्दामा मैले नेतृत्व गरेको थिए। अहिले पनि त्यहीँ हो। कानुनी राज्यमा कोही उम्किन पाउँदैन।

साथै यतिबेला संघीयतामा प्रहरी जानुपर्ने कुरा, ऐनकानुन निर्माण प्रक्रियादेखि समायोजनमा जानुपर्ने, सांसदको उपस्थितीमा दह्रो साथ लगायतका कामहरु सबै थाति थिए। ऐन निर्माण, पुलिसको उपस्थितीदेखि लिएर संरचना बनाउने सबै कामहरु भएका छन्। यो समयलाई एक सेकेण्ड पनि खेर नफालेर काम गरेको छु। म आफ्नो कामप्रति सन्तुष्ट छु। म सधै राम्रो कामका लागि लडिरहेको छु। हिजो, आज र भोलि राम्रो काम गर्छु।

प्रहरीभित्र अनियमितता भयो भनेर अख्तियारले फाइल लगेको कुरा के हो ?

सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै पनि बिषयको बारेमा सम्बन्धित कार्यालयहरुमा सोधपुछ र पत्राचार गर्नेु नियमित प्रक्रिया हो। अहिले मात्रै आएको होइन, पहिला पनि यो प्रक्रिया हुने गर्दथ्यो। सम्मानित आयोगबाट माग भए बमोजिमको विवरण हामीले लेखेर पठाउनुपर्छ। यो विषयमा कसैले उजुरी हाले, उजुरी परेपछि अनुसन्धानका लागि फाइल हेरिन्छ। हामीले जवाफ पनि पठाउने हो। उजुरीकै आधारमा समाचार बनाएर जाने भन्ने होइन। के भएको भनेर सोधिन्छ, हामीले जवाफ दिने हो। सम्मानित आयोगले नेपाल प्रहरीलाई मात्र सोध्ने होइन, विभिन्न निकायहरु भएका विषयमा सोधिराखेको हुन्छ। उजुरी पर्दैमा अनियमितता भयो भनेर उचाल्ने भन्दा पनि विषयवस्तु के हो भनेर बुझ्न जरुरी छ।

कुमार पौडेल इन्काउन्टरलाई मानवअधिकार आयोगले गैरन्यायिक हत्या भन्दै कारवाहीको सिफारिस गरेको छ। यसमा तपाईको धारणा के हो ?

हामी आफू कमजोर भएर अपराधीलाई छोड्दैनौं। अहिलेको समयमा प्रहरीले इन्काउन्टर गर्नपर्छ भन्ने पनि छैन। तर, अवस्था आउँदाखेरी प्रहरी भाग्न चाहीँ हुँदैन। प्रहरीले अपराधिक, विध्वंशकारी तत्वलाई नियन्त्रण गर्नका लागि हरसम्भव उपाय लिएर गर्नुपर्छ। त्यसैअनुसार कुमार पौडेलको घटना भएको हुनुपर्छ।

आयोगको प्रतिवेदन मैले प्राप्त गरिसकेको छैन। तर, जसले हतियार उठाएर मान्छे तर्साउने, लुट्ने, सार्वजनिक सम्पत्तिमा तोडफोड गर्ने, मार्ने तथा प्रहरीमाथि समेत आक्रमण गरेको अवस्थामा जम्काभेट भएर हतियारसहित भएको दस्तासँग भिड्दाखेरी कानूनी कारवाही हुन गएको विषयलाई उहाँहरुले कुन प्रमाणका आधारमा गैरन्यायिक भन्नुभयो त्यो विषय हामीले पनि खोज्नुपर्छ।

तर, प्रहरीले धेरै ठाउँमा हतियार जफत गरेको छ। अवस्था जफत गर्न सक्ने हुनुपर्यो, अपराधी पनि आत्मसमर्पण गर्नसक्ने अवस्था आउनुपर्यो। यो अवस्था नहुँदा कानूनी कारवाही नगरेर हतियारधारी समूहरुको गोली खाएर प्रहरी नै मर्नुपर्ने हो? प्रहरी मर्दा चाहीँ खुसी हुनुपर्ने हो? कि त्यहाँ प्रहरी कमजोर भइदिएको अवस्थामा राम्रो हुने हो र? उसलाई नियन्त्रण गर्नका लागि हरसम्भव प्रयासहरु गर्ने हो। मनसाय (इन्टेन्सन)  हेर्नुपर्यो। कतिपय ठाउँमा हाम्रो प्रहरीले आफै गोली खाएर पनि समातेको छ। अवस्थाअनुसार गोली हानेको छ। हाम्रो प्रहरी मारेको छैन? प्रहरी गोली खाएर पहिल्यै ढल्नुपर्ने हो र?

मानवअधिकार आयोगको प्रतिवेदनमा मेरो धेरै कमेन्ट छैन। तर, हामी आफू कमजोर भएर अपराधीलाई छोड्दैनौं। अहिलेको समयमा प्रहरीले इन्काउन्टर गर्नपर्छ भन्ने पनि छैन। तर, अवस्था आउँदाखेरी प्रहरी भाग्न चाहीँ हुँदैन। प्रहरीले अपराधिक, विध्वंशकारी तत्वलाई नियन्त्रण गर्नका लागि हरसम्भव उपाय लिएर गर्नुपर्छ। त्यसैअनुसार कुमार पौडेलको घटना भएको हुनुपर्छ। अवस्था हेरेर प्रहरी एक्सनमा जानुपर्छ। प्रहरी भाग्न थाल्यो भने तपाई हामी सुरक्षित कसरी हुने? समाज सुरक्षा कसरी हुन्छ? प्रहरी कमजोर हुनुहुन्न भन्ने हाम्रो मान्यता हो।

विध्वंशकारी समूहसँग मुडभेटमा आएको परिणामलाई लिएर प्रहरीलाई तल देखाउनु उपयुक्त होइन भन्ने मेरो भनाई हो। यो विषयवस्तु आयोगले भनेको भन्दा पनि समग्र विषय हो। आयोगको विषयमा हाम्रो तर्फबाट पनि कुरा राखिएको छ। त्यसमा विधि र प्रक्रियामार्फत नै गरिएको हो। अवस्था हेरेर कारवाही गरिएको होला। स्थानीय कमाण्डरले नै परिस्थिती आंकलन गरेर कारवाही गर्ने हो। हतियारधारी समूहरुको दवदवा अन्त्य भएबाट जनता धेरै खुसी भएका छन् भन्ने मैले पाएको छु। आतंक मच्चाइरहेको थियो, अब शान्ति मिल्यो भन्ने त ठूलो जमात छ।

चिनियाँ राष्ट्रपतिको भ्रमणको पूर्वसन्ध्यामा आइजिपी हटाउने भन्ने खबरहरु आएका थिए, यसबारे के भन्नुहुन्छ?

मलाई राम्रो काम गर्ने बाहेक प्रधानमन्त्रीज्यूबाट केही भनिएको छैन। अरुभन्दा अतिरिक्त काम गरेको छु। कसलाई रहर लागेको थियो, कसलाई यतिखेर कमजोर बनाउन रमाइलो हुन्छ भन्ने तत्व पनि छन्। अपराधिक मानसिकता बोकेकाहरुको रहर हो जस्तो मलाई लाग्छ। त्यो पुग्दैन। उहाँहरु कसरी रमाउनुभयो उहाँहरुलाई सोध्दा हुन्छ। होइन भने मलाई केही पनि आएको छैन। मैले पाएको जिम्मेवारीमा कहीँ पनि बाँकी राखेको छैन। ठूला ठूला भिजिट भए। कहीँ पनि त्रुटी छैन। नेपाल र नेपालीको शान र गर्वका लागि मैले काम गरेको छु। प्रहरी संगठनको हिसाबले कुनै पनि असल नागरिकलाई अपराधिक तत्वबाट थ्रेट, धम्की आयो भने सुन्नमा आएको छैन। यदि त्यस्तो आएको खण्डमा राम्रो कानुनी उपचार भएको छ। मैले गर्ने कुरामा चुकेको छैन। प्रहरीलाई सम्मानित संगठन बनाउनमा मेरो ध्यान केन्द्रीत छ।

प्रकाशित: ११ कार्तिक २०७६ १५:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App