१९ श्रावण २०७७ सोमबार
अन्तर्वार्ता

रगतका नसामा लाग्ने रोग र उपचार

मुटुबाट शरीरका विभिन्न भागमा रगत जाने र फर्केर आउने नसामालाग्ने रोगबारे नागरिककर्मी पवित्रा सुनारले मनमोहन कार्डियोभास्कुलर, थोरासिक एन्ड ट्रान्सपलान्ट सेन्टरका भास्कुलर सर्जन डा. दिनेश गुरुङसित गरेको कुराकानीको अंश:

यो सेवामा कहिलेदेखि लाग्नुभयो ?
– सन् २०११ मा एमबीबीएस उत्तीर्ण गरेलगत्तै स्वास्थ्य सेवामा लागेको हुँ । भास्कुलर सर्जनकै रूपमा भने दुई वर्ष मात्र भयो । बंगलादेशमा भास्कुलरसम्बन्धी पाँच वर्षे कोर्स अध्ययन सकेपछि यही काम गरिरहेको छु ।

रक्तनलीले  के के काम गर्छन् ?
– रगतको नलीको काम मुटुबाट निस्केको रगत शरीरमा सञ्चालन गर्नु हो । यसका लागि मुटुबाट निस्केको रगत धमनी हुँदै शरीरको अन्य भागमा जान्छ भने सिराबाट गएको रगत फर्किन्छ । मुटुबाट धमनी हुँदै अंगअंगमा पुगेपछि शरीरमा रगतसञ्चार हुन्छ । एउटा ७० केजीको मानिसमा १ मिनेटमा पाँच लिटर रगत सञ्चार हुन्छ । त्यो रगतबाट अक्सिजन, खाने पोषण, कीटाणुसित लड्ने शक्तिसमेत सञ्चार हुन्छ ।

धमनीमा कस्ता रोगहरू लाग्छन् ?
–धमनीमा नसा खुम्चिएर राम्रोसित रक्तसञ्चार नहुने अवस्था अर्थात् लिमेस्किमी रोग लाग्छ । यो रोग पनि दुई प्रकारको हुन्छ, एउटा क्रोनिक लिमेस्किमी (विस्तारै खुम्चिँदै जाने) र अर्को एक्युट लिमेस्किमी (एक्कासि खुम्चिने अवस्था) । चुरोट प्रयोगकर्ता, शरीरमा बोसो धेरै भएका, पुरुष मान्छेलगायतलाई क्रोनिक लिमेस्किमी हुन्छ । कुनै चोटपटकको कारण या मुटुबाट रगतको डल्लो रगतको नलीमा पुगेर अवरोध आउने अवस्थालाई एक्युट लिमेस्किमियाँ भनिन्छ । एक्कासि चोटपटकको कारण कहिलेकाहीँ धमनी नै च्यातिएर रगत सञ्चालन बन्द हुन्छ ।

धमनीमा लाग्ने अर्को रोग के हो ?
– धमनीमा बाथरोग पनि लाग्छ । यस्तोमा धमनी सुन्निएर विस्तारै रगत सञ्चालन कम हुन्छ । यो रोगलाई भास्कुलाइटिस पनि भनिन्छ । यो रोग महिलामा बढी देखिन्छ । यो रोग लागेमा जाडोमा हात नीलो हुने, चिसो हुने जस्ता समस्या हुन्छन् । यो भनेको साना नलीहरूको बाथरोग हो । त्यसैगरी मुटुबाट निस्कने ठूलो नलीमा पनि बाथरोग हुन्छ । धमनीमा लाग्ने तेस्रो रोग भनेको धमनी विस्तारै फुलेर आउने । यो रोग लागेमा पहिलाको तुलनामा १ सय ५० प्रतिशत फुलेर आउँछ । यो रोग लागेमा मुटु तीन सेमिभन्दा ठूलो हुन्छ ।

धमनी सुन्निनुको कारण ?
– यसको खास कारण थाहा छैन । कतिपयको धमनीवरपरको कोषहरूमा रोग लागे पनि धमनी सुन्निने हुन्छ । यसलाई कनेक्टिभ डिस्अर्डर भनिन्छ ।

धमनीमा सबैभन्दा बढी कुन रोग लाग्ने गरेको छ ?
– क्रोनिक लिमेस्किमियाँ बढी लागेको देखिन्छ । उमेर ढल्किँदै जाँदा, सुर्तीसेवन गर्नेलाई, उच्च रक्तचाप, मधुमेह र वंशाणुगत समस्या भएकालाई यो रोग लाग्छ ।

–    धमनीमा बाथरोगका कारण धमनी सुन्निएर विस्तारै रगत सञ्चालन कम हुन्छ ।
–    क्रोनिक लिमेस्किमियाँ बढ्नुको कारण गलत जीवनशैली हो ।
–    १ सय जना बिरामीमध्ये ३५ देखि ४० जना भेरिकोज भेन (नसा फुल्ने) समस्याका भेटिन्छन् ।
–    धमनी र सिराको शल्यक्रिया गर्ने डा. नेपालभरमा चार÷पाँचजना मात्र छन् ।
–    चुरोट खाने र शरीरमा बोसो धेरै भएका पुरुषलाई क्रोनिक लिमेस्किमी हुन्छ ।
–    रगतको ठूलो नसामा अवरोध आएको छ भने बाइपास सर्जरी गरिन्छ तर घुँडादेखि तलका साना नसा छन् भने वाइपास सर्जरी गर्न मिल्दैन ।

क्रोनिक लिमेस्किमियाँ भएमा के समस्या हुन्छ ?
– खुट्टा दुख्ने, हात गल्ने, दुख्ने औंलाको टुप्पो कालो हुने, औंलाको नङ झर्ने, घाउ हुनेजस्ता समस्या हुन्छन् । हातको छ भने हातमा हुन्छ, खुट्टामा समस्या छ भने खुट्टाका औंलामा घाउ हुन्छ । जुन ठाउँको रगतको नसामा अवरोध आएको हुन्छ त्यो देखि तलको भागमा समस्या आउँछ । जस्तो कि पेटको नसा बन्द भएको छ भने खुट्टा दुख्न थाल्छन् । यो समस्या बढ्दै गएमा हात तथा खुट्टाका औंला काट्नुपर्ने अवस्था आउँछ । कतिपयको घाउको संक्रमण फैलिएर सेप्सिसमा गएर बिरामीको मृत्युसमेत हुन सक्छ । समयमै उपचार गर्नसके यी समस्याबाट बच्न सकिन्छ ।

क्रोनिक लिमेस्किमियाँ बढ्नुको कारण ?
– गलत जीवनशैलीको कारणले हो । बढी चिल्लो खाने, चुरोट सेवन गर्ने मानिस र उच्च रक्तचापको कारणले यस्तो समस्या आउँछ । उच्च रक्तचाप र मधुमेह बढेकाले यो रोग बढेको हो ।

यो रोगको उपचार के त ?
– रोगको अवस्था हेरी औषधि या शल्यक्रिया पद्धति अपनाउनुपर्छ । रगतको ठूलो नसामा अवरोध आएको छ भने बाइपास सर्जरी गरिन्छ । जुन घुँडादेखि तलका साना नसा छन् भने वाइपास सर्जरी गर्न मिल्दैन । यस्तो अवस्थामा बिरामीलाई रगत पातलो बनाउने औषधि दिने र उनीहरूको जीवनशैलीमा परिवर्तन गर्ने  गरिन्छ । जीवनशैलीमा परिवर्तन नभएमा उपचार या शल्यक्रियापछि पनि रोग दोहोरिन सक्छ ।

रक्तनलीमा रोग लाग्न नदिन कस्तो जीवनशैली हुनुपर्छ ?
–दैनिक व्यायाम गर्ने, कम चिल्लो भएका खाना खाने, चुरोट, रक्सीजस्ता पदार्थ सेवन नगर्ने र मधुमेह तथा उच्च रक्तचापलाई नियन्त्रणमा राख्नुपर्छ । दैनिक कम्तीमा आधा घण्टा हिँडेमा रक्तसञ्चार राम्रो हुन्छ ।

यो रोग लागेका बिरामी कत्तिको आउँछन् ?
– उपचार गर्न आएका १ सय जनामध्येमा १५÷१६ जना यो रोग लागेका आउँछन् । 

रगतका सिरामा कस्ता रोग लाग्छन् ?
– शरीरमा गएको रगत फर्किने दुई प्रकारका सिरा हुन्छन् । एउटा सतही सर्फेस भेन, अर्को डिप भेन (गहिरो सिरा) । एउटा सतही सिरा खुम्चिने रोग भेरिकोज भेन । अर्को खुट्टाको भित्री नसा खुम्चिने रोग डिप भेन थम्ब्रोसिस हो । क्यान्सरका बिरामी, धेरै समय प्यारालाइसिस भएका बिरामी र हिप तथा घुँडाका जोर्नी प्रतिस्थापन गरेका बिरामीमा यस्तो रोग लाग्छ । अर्को सुईबाट लागुपदार्थ प्रयोग गर्ने क्रममा नसामा चोट लागे पनि भित्री नसामा रोग लाग्छ ।

भेरिकोज भेन भनेको के हो ?
– छालामुनि रहेको सतही नसा फुलेर आउने अवस्थालाई भेरिकोज भेन (सिरा फुल्ने अवस्था) भनिन्छ । नसा फुल्नुका सबै कारण थाहा हुँदैन । धेरै समय उभिएर काम गर्ने कुक, प्रहरी, आर्मी, सुरक्षा गार्डलगायतमा यो समस्या बढी देखिन्छ । दोस्रो कुरा गर्भवती महिलामा हर्मोनको असन्तुलन र पेट ठूलो भएर तलको नसा च्याप्पिँदा पनि सिरा फुन्छन् ।

भेरिकोज भेनका बिरामी यो अस्पतालमा कत्तिको आउँछन् ?
– साताको दुईपटक बहिरंग विभागमा उपचार हुन्छ । १ सय जना बिरामीमध्ये ३५ देखि ४० जना भेरिकोज भेन (नसा फुल्ने) समस्याका भेटिन्छन् ।

उनीहरू कुन समूहका हुन्छन् ?
– उनीहरू कुनकुन समूहका भनेर विभाजन गरिएको छैनौ । धेरैजसो प्रहरी, सेना र विदेशमा गएर उभिएर काम गरेर फर्केकाहरू छन् । त्यसैगरी गर्भवती महिलामा देखिएको भेरिकोजको समस्या लिएर पनि आउँछन् ।

यो रोगका बिरामी कुन अवस्थामा आइपुग्छन् ?
– यो समस्या सुरु भएको १० देखि १५ वर्षपछि र ३५ देखि ४० वर्षपछि मात्र आइपुग्छन् । ग्रामीण भेकका बिरामी  झट्ट आउँदैनन् । यो रोग लाग्दा सुरुमा नदु्ख्ने भएकाले समयमै उपचारका लागि आउँदैनन् । कतिपय खुट्टामा घाउ, दुखाइ र दाग देखिएपछि आउँछन् ।

यो रोगको लक्षण के के हुन् ?
–बाहिरी नसा खुम्चेको जस्तो देखिने, ख्ुट्टा पानी भरिएजस्तो गरी टन्किने, धेरै हिँड्दा दुख्ने, खुट्टा सुन्निए जस्तो हुने जस्ता लक्षण हुन्छन् ।

भेरिकोज भेनको जटिल रूप कस्तो हुन्छ ?  
– कतिपयको नसा फुलेको हुन्छ, कतिपयको खुट्टा असामान्य देखिन्छ, बेलुकी खुट्टा भारी हुने, खुट्टा सुन्निने, खुट्टा सुन्निएजस्तो लाग्ने र दुख्ने गर्छ । यो बढेर चौथो चरणमा पुगेपछि खुट्टा कालो हुने, दुख्ने, घाउ निको नहुने जस्ता समस्या देखिन्छन् । गोलीगाँठोको वरिपरि घाउ हुन्छ । खुट्टाको छाला कालो हुने र घाउ हुने समस्या भएपछि कतिपय बिरामी झुक्किएर छालाको चिकित्सककोमा जान्छन् । पछि मात्र हामीकहाँ आइपुग्छन्, जुन रगतको सिरामा आउने रोगले भएको हुन्छ ।

घाउ हुन कति समय लाग्छ ?  
– यति अवधि भनेर भन्न सकिँदैन । कतिपयको ३५÷४० वर्षसम्म घाउ भएको हुँदैन । कतिपयको दुई÷चार वर्षमै घाउ बनेको हुन्छ । भित्री र बाहिरी दुवै नसामा समस्या भएमा घाउ छिटो बन्छ ।

जीवनशैलीसित यो रोगको सम्बन्ध कस्तो छ ?
– यसको जीवनशैलीसित सिधै सम्बन्ध छैन । उभिएर गरिने कामसँग यसको  सम्बन्ध छ । हिँड्दा मांसपेशीले सिरालाई थिच्छ र रगत फर्केर आउँछ । तर उभिरहेको अवस्थामा तल गएको रगत त्यहीं जम्मा भएको हुन्छ ।

शल्यक्रिया गरेपछि पनि बल्झिन्छ रे हो ?
– खुट्टामा हजारौं नसा हुन्छन् । शल्यक्रिया गर्दा बिग्रेको नसाको मात्र शल्यक्रिया गर्छौं । त्यो ठाउँमा बल्झिँदैन । दोस्रो कुरा जुन ठाउँमा शल्यक्रियाको क्रममा लेजर गरिएको हुन्छ, त्यही ठाउँमा पलाउन सक्ने सम्भावना हुन्छ । अर्को भनेको समस्या सुरु भएका तर नदेखिएका नसामा पछि गएर फुल्लिने समस्या आउन सक्छ ।

नेपालमा यस रोगको उपचारको अवस्था कस्तो छ ?
– काठमाडौंबाहिर  आधुनिक उपकरण छैनन् । अथवा लेजर सर्जरी र रेडियफिकेन्सी सर्जरी पद्धति छैनन् । लेजर पद्धति धुलिखेल अस्पताल, अन्नपूर्ण न्युरो अस्पताल र मनमोहन कार्डियोक, भास्कुलर, थोरासिक एन्ड ट्रान्सपलान्ट सेन्टरमा छ । अन्य अस्पतालमा भने चिरेर शल्यक्रिया हुन्छ ।

यो उपचार कत्तिको महँगो छ ?
– चिरेर गर्दा ४० हजार पर्छ भने लेजर गर्ने हो भने ७० हजार रुपैयाँ जति पर्न आउँछ ।

यो उपचारमा आवश्यक जनशक्ति छन् त ?
– यो उपचारमा आवश्यक जनशक्ति एकदमै कम छन् । धमनी र सिराको शल्यक्रिया गर्ने डा. नेपालभरमा चार÷पाँचजना मात्र छन् । भेरिकोज भेनको शल्यक्रिया भने जनरल तथा सिटिभिअसको सर्जनले पनि गर्दै आएका छन् । नेपालभरमा जम्मा पाँच÷छ जना मात्र छन् ।

प्रकाशित: १४ वैशाख २०७६ ०९:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App