२६ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्तर्वार्ता

‘रोजगारी सिर्जनामा पहल गरिरहेका छौं’

जिबछकुमार राय, अध्यक्ष, बर्जु गाउँपालिका। तस्बिर: नागरिक

बर्जु गाउँपालिकाका सुनसरी जिल्लामा पर्दछ। यहाँका वासिन्दालाई मोरङको विराटनगर पायक पर्छ। उद्योग, रोजगार, कृषि उत्पादनको सम्भावना कम भए पनि पर्यटकीय हिसाबले राम्रो सम्भावना बोकेको पालिका हो। यिनै विषयमा केन्द्रित रहेर पालिका अध्यक्ष जिबछकुमार रायसँग नागरिककर्मी अमर खड्काले गरेको संक्षिप्त कुराकानी

तपाईं निर्वाचित भएर आएको दुई वर्ष नाघ्यो, यस अवधिमा केके काम भए?

सुरुवातमा पालिकाका तथ्यांकहरूको व्यवस्थित र अद्यावधिक अभिलेखीकरणमा जुटें। त्यसअघि वितरण भएका कृषिजन्य औजार, खानेपानीका पाइप, चापाकल, मोटरलगायतका सामग्रीको अभिलेखीकरण भएको पाइएन। सडक र शिक्षा क्षेत्रमा पनि ठोस काम भएको देखिएन। अहिले सडक कालोपत्रे तथा मर्मत, विभिन्न निकायसँगको सहकार्यमा सामुदायिक विद्यालयको भौतिक संरचना निर्माण र वडा कार्यालयहरूमा घेराबारा भएका छन्। जनअपेक्षाअनुरूप वडा तथा गाउँमा गौरवका योजनाहरूलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेका छौं।

आगामी दिनमा सम्पन्न गर्नुपर्ने योजना केके छन्?

विराटनगर महानगरको छिमेकी पालिका हो बर्जु। यहाँ रोजगारको अवसर न्यून छ। बेरोजगारी यहाँको मुख्य चुनौती हो। हामीसँग रोजगारी सिर्जना गर्ने खालका ठूला उद्योग छैनन्। ठूला उद्योगका रूपमा इस्टर्न सुगर मिल्स् मात्रै छ, यो पर्याप्त होइन। जटिल समस्याका रूपमा रहेको बेरोजगारी कम गर्न यहाँ ठूला उद्योग स्थापनाका लागि पहल गरिरहेका छौं। साथै कृषि प्रवर्धनमा पनि जोड दिने छौं। उत्पादनमूलक जमिन कम भएकाले कृषि सम्भावना कम भएको ठाउँ हो।

यसर्थ हामी विशेषगरी पर्यटन क्षेत्रको विकासमा जोड दिँदै अगाडि बढेका छौं। हामीसँग पर्यटकीय सम्भावना बोकेको नेपालको तराई क्षेत्रकै सबैभन्दा ठूलो ‘बर्जु ताल’ रहेको छ। यसको प्रवर्धनका लागि प्रदेश सरकारबाट बजेट प्राप्त भएको छ। अब काम अघि बढाउने तर्खरमा छौं।

निकट भविष्यमा यसको संवद्र्धन गरी पर्यटन गन्तव्यस्थलका रूपमा अगाडि बढाएपछि पर्यटकको आगमन हुने छ। भारत, भुटान, बाङ्लादेश, माल्दिभ्स्, पाकिस्तानसहित विभिन्न मुलुकबाट पर्यटकको आगमन हुने छ। यसले पालिकाको आयआर्जन बढ्ने छ। पालिकालाई आर्थिक रूपमा सबल बनाउने तथा स्थानीय रूपमा रोजगारका अवसर सिर्जना हुने छ। साथै सीपमा आधारित स्वरोजगार कार्यक्रमलाई प्रोत्साहन गर्न बल पुग्ने छ।

शैक्षिक गुणस्तर अभिवृद्धिका निम्ति केही काम भएका छन्?

छन्। हामीले अन्य विकासका काममा भन्दा बढी शिक्षामा शिक्षामा लगानी गरेका छौं, तर संघीय सरकारको कमजोर नीतिका कारण शिक्षासम्बन्धी समस्या छ। यसमा राजनीतिक हस्तक्षेप छ। स्थानीय तहलाई अधिकार प्रत्यायोजन गर्ने पक्ष कमजोर छ।

सामुदायिक विद्यालयको शिक्षण सिकाइप्रति सर्वसाधारणमा अविश्वास व्याप्त छ। शिक्षकहरू आफैंले पढाउने विद्यालयमा आफ्ना बालबालिका नपढाई निजी विद्यालयमा पढाउने परिपाटी छ। यसकारणले पनि लगानीअनुसार प्रतिफल प्राप्त हुन नसक्नुको एउटा कारण मान्न सकिन्छ।

प्रदेश सरकार र संघीय सरकारबाट कत्तिको सहयोग पाउनुभएको छ?

प्रदेश सरकार र संघीय सरकारबाट न्यून रकमका योजना बनाएर पठाइन्छ, त्यो पनि काटिन्छ। बजेटिङको मापदण्ड छैन। प्रदेश सरकारले कम्तीमा पनि एक करोडभन्दा कम रकमको बजेट बनाउनु हुँदैन विकासका सवालमा। छिमेकी देशहरूबाट पनि योजना बनाउने तरिका सिकिँदैन।

भारतले विकास निर्माण कार्य जस्तो सडक बनाउँदा दातृ निकायसँग ऋण लिन्छ। सडक बनेपछि सडक प्रयोगकर्तासँग कर उठाउँदै ऋण तिर्छ। यसले एकातिर आफ्नो रकम पनि लगानी भएन, काम पनि भयो। यस्ता कुराको सिको गर्न सकेको खै ?

अन्त्यमा नगरवासीलाई के भन्नुहुन्छ?

म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु– सभ्य समाज निर्माण भयो भने समृद्धि पनि आउँछ। जहाँको समाज झगडालु, आक्रामक हुन्छ, त्यहाँबाट उद्योग विस्थापित हुन्छ। आफ्ना भावी सन्ततिलाई धनी बनाउन चाहनुहुन्छ भने आजैबाट अभद्र व्यवहार त्यागी सभ्य बन्न सिक्नुहोस्। हरेक अर्को व्यक्तिलाई सम्मान गर्नुहोस्। सबैभन्दा पहिला आफैंलाई चिन्नुहोस्। यहाँका नागरिकले आफू र आफ्नो जिम्मेवारी र कर्तव्य बुझेर अगाडि बढ्न सक्दा बर्जु गाउँपालिका माथि उठ्न त्यति धेरै समय नलाग्ला।

प्रकाशित: २५ कार्तिक २०८१ ०८:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App