३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्वार्ता

टिकटकमा नेपाली कन्टेन्टको निगरानी नेपालीले नै गरिरहेका छन्

तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले सामाजिक सद्भावमा खलल पुर्‍याएको भन्दै गत वर्ष कात्तिक २७ देखि लोकप्रिय सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध जारी छ।  

यसबीच टिकटकले पटकपटक सरकारसँग औपचारिक रूपमा आफ्नो सञ्चालन नीतिमाथि पुनरावलोकन गर्न तयार रहेको भन्दै संवादका लागि गरेको आग्रहको सुनुवाइ हुन सकेको थिएन।

तर, केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हालै मात्र पुनः पत्र लेखेको टिकटक सरकारको सकारात्मक प्रतिक्रियाबाट आशावादी देखिएको छ। र, सम्भवतः बिहीबार नै सरकारले प्रतिबन्ध हटाउन सक्ने सम्भावना बढेको स्रोतले जनाएको छ। यही सन्दर्भमा नागरिकले टिकटक दक्षिण एसियाका सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फिरदौस मोत्ताकिनसँग नेपालमा टिकटक प्रतिबन्ध, यसको असर र आगामी रणनीतिबारे गरेको लिखित अन्तर्वार्ताको सम्पादित अंश:

प्रतिबन्धअघि र पछि नेपालमा टिकटक प्रयोगकर्ताको अवस्था कस्तो छ ?

हामीले अघिल्ला दुई वर्षमा नेपालमा टिकटक प्रयोगकर्तामा उल्लेख्य वृद्धिको अनुभव गरेका थियौं। यसबाट हामी उत्साहित भएका छौं। आशा छ–नेपालमा टिकटक प्रयोगकर्ताको समुदाय अझ बढ्ने छ । निस्सन्देह, प्रतिबन्ध र अनिश्चित वातावरण हाम्रा लागि चुनौतीपूर्ण छ। सँगै यसबाट टिकटकमार्फत आफूलाई अभिव्यक्त गर्ने र योे प्लेटफर्ममार्फत जीविकोपार्जनसमेत गरिरहेका समुदायलाई यसले असर गरेको छ।

आफूमाथिको प्रतिबन्धपछि टिकटकले नेपालका सरकारी अधिकारीहरूसँग कसरी सम्पर्क गरिरहेको छ र कस्तो प्रतिक्रिया पाएको छ ?

विगत एक वर्षमा हामीले नेपाल सरकारबाट प्रयोगकर्ताको सुरक्षा र हाम्रो कन्टेन्ट मोडेरेसन प्रक्रियाबारे उठेका प्रश्नहरूको सम्बोधन गर्न ठोस प्रयास गरेका छौं। हामीले हाम्रो कम्युनिटी गाइडलाइनको कडा कार्यान्वयन र नेपालका कानुनहरूको पालनामा सरकारसँग सम्पर्क गरिरहेका छौं। हामी कुनै पनि समस्या समाधान गर्न र प्रतिबन्ध हटाउन प्रतिबद्ध छौं।

यसो भनिरहँदा टिकटक खासमा रचनात्मक अभिव्यक्तिको जगमा निर्माण गरिएको समावेशी प्लेटफर्म हो। हामी प्रयोगकर्तालाई कम्युनिटी गाइडलाइनको अधीनमा रहेर सिर्जनात्मक सामग्री अभिव्यक्त गर्न प्रोत्साहित गछौं। हाम्रो समुदाय विविधतापूर्ण र विश्वव्यापी छ। हाम्रा कम्युनिटी गाइडलाइनहरू प्रामाणिक अन्तरक्रियालाई नियमन गर्न सिर्जना गरिएका हुन्, सीमित गर्न होइन। तर, कुनै पनि समुदायको हितलाई खतरामा पार्ने खालका सामग्रीविरुद्ध कडा निगरानी र कारबाही गर्ने हाम्रो नीति छ।

नेपालमा जारी प्रतिबन्धले टिकटकलाई यहाँ थप लगानी गर्न कस्तो अवरोध उत्पन्न गरायो ? सँगै कति आर्थिक क्षति भयो ?

नेपालमा जारी प्रतिबन्धले टिकटकका लागि स्थानीय साझेदारी र सामुदायिक पहलमा लगानी गर्ने क्षमतामा बाधा पुर्‍याउनेलगायतका महत्वपूर्ण चुनौती आएका छन्। प्रतिबन्धले आर्थिक रूपमा अनलाइन इकोसिस्टमलाई मात्र नभई आफ्नो आम्दानीका लागि प्लेटफर्ममा निर्भर रहेका धेरै नेपाली स्रष्टाको जीविकोपार्जनमा असर गरेको छ। खासगरी साना र मझौला व्यवसायी मारमा परेका छन्।

प्रतिबन्धले नेपाली समुदायले विश्वभरका दर्शकसँग सांस्कृतिक, सामाजिक र पर्यटनसम्बन्धी कन्टेन्ट साझा गर्ने उपयुक्त प्लेटफर्म नपाउँदा नेपालको विश्वव्यापी एक्सपोजर नै सीमित गरिरहेको छ। टिकटक नेपाली समुदायका लागि विश्वव्यापी ट्रेन्डसँग जोडिन र देशको मौलिक सम्पदा, परिदृश्य र परम्परा प्रदर्शन गर्ने महत्वपूर्ण औजार हो। अर्को कुरा, यसले विश्वव्यापी डिजिटल स्पेसमा नेपालको उपस्थिति पनि कम गरिरहेको छ।

अहिलेको अन्योलमा हामीले थप काम गर्नु सही नहुने ठानेका छौं। तर हामी यी चुनौती पार गर्न र सरकारसँगको समस्या समाधान गर्न सक्षम हुनेछौं भन्नेमा विश्वस्त छौं। सरकारले टिकटकका लागि नेपालमा समान अवसर र वातावरण प्रदान गर्ने छ भन्नेमा हामी आशावादी छौं। प्रतिबन्धका बाबजुद पनि हामी नेपालप्रति पूर्ण प्रतिबद्ध छौं किनभने हामीलाई यहाँको बजारको सम्भावनामा ठूलो भरोसा छ। नेपालमा निर्माण गरेको रचनात्मक समुदायमा हामी गर्व गर्छौं। हामी नेपाली प्रतिभा र ब्रान्डहरूलाई आर्थिक वृद्धिका लागि सम्भावित अवसर खोज्न मद्दत गर्न चाहन्छौं।

प्रतिबन्धअघि टिकटक र नेपाल दूरसञ्चार प्राधिकरणले नेपालका सरकारी विद्यालयहरूमा डिजिटल सुरक्षा मापदण्डमा मद्दत गर्न एक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। शिक्षक, अभिभावक र विद्यार्थीका लागि विशेषरूपमा डिजाइन गरिएको यो कार्यक्रम उपयोगी हुने विश्वास हामीले लिएका थियौं। यसका साथै नेपालका साना र मझौला आकारका व्यवसायले आफ्ना उत्पादन र सेवाहरू प्रवद्र्धन गर्न टिकटक प्रयोग गर्छन्। अहिले पहुँच अवरुद्ध भएपछि उनीहरूले निकै समस्या भोगेका छन्। हामीले खाना, यात्रा, सीपमूलक कार्य, शिक्षा, मनोरञ्जन, खेलकुद र सांस्कृतिक उत्सवलगायतका विभिन्न क्षेत्रमा गुणस्तरीय कन्टेन्ट सिर्जना गर्न नेपाली सिर्जनशील नागरिकसँग मिलेर काम गरिरहेका थियौं। दुर्भाग्यवश, प्रतिबन्धका कारण यी प्रयास रोकिएका छन्।

प्रतिबन्धका सन्दर्भमा टिकटकले एक विज्ञप्ति प्रकाशित गरी आफूसँग टिकटक प्रयोगकर्ताको सुरक्षा र असरबारे ‘आफूहरूसँग सबल नीतिहरू भएको र प्रयोगकर्ताको सुरक्षामा प्रतिबद्ध रहेको’ भनेको थियो, यसबारे केही बताइदिनुहुन्छ कि ?

हाम्रो लक्ष्य भनेको रचनात्मकतालाई प्रेरित गर्नु र मानिसलाई खुसी तुल्याउनु हो। मानिसले आफूलाई रचनात्मक रूपमा व्यक्त गर्न र सुरक्षित र स्वीकार्य वातावरणमा मनोरञ्जन गर्न पाउनुपर्छ भन्नेमा हामी विश्वास गर्छौं।

हाम्रा कम्युनिटी गाइडलाइन भनेका हाम्रो प्लेटफर्ममा भएका सबैलाई लागु हुने नियम र मापदण्ड हुन्। हामी हाम्रा प्रयोगका सर्त र कम्युनिटी गाइडलाइन उल्लंघन गर्ने समस्याग्रस्त कन्टेन्ट पत्ता लगाउने, समीक्षा गर्ने, भिडियो हटाउने र अकाउन्टमाथि प्रतिबन्ध लगाउनेलगायतका उपयुक्त दण्ड लागु गर्न प्रविधि र मोडेरेसन रणनीतिहरूको संयोजनको प्रयोग गर्छौं। यसका साथै प्रयोगकर्तालाई कुनै पनि अनुपयुक्त सामग्री रिपोर्ट गर्न र कानुनी पहललाई सघाउन सजिलो रिपोर्टिङ संयन्त्रसहित अन्य धेरै नियन्त्रण, उपकरण र गोपनीयताका सेटिङ प्रदान गर्दछौं।

हामीले भर्खरै कम्युनिटी गाइडलाइनहरूमा केही अपडेट गरेका छौं। यसले हाम्रा नियमहरूलाई थप स्पष्ट पार्ने र सर्जकहरूलाई हाम्रा नीति जान्न र अकाउन्टको खाता स्थिति जाँच्न मद्दत गर्ने नयाँ फिचर प्रदान गर्छ। पछिल्लो अपडेटमा हाम्रा नीतिहरूबारे थप स्पष्ट पार्ने परिभाषा पनि थपेका छौं। उदाहरणका लागि घृणायुक्त भाषण र स्वास्थ्यसम्बन्धी गलत जानकारीका सम्बन्धमा नयाँ परिभाषा अपडेट गरिएका छन्। हामीले सर्च, लाइभ र फर यु फिड जस्ता टिकटक फिचरहरूलाई कसरी मोडेरेसन गर्छौं भन्नेबारे थप विवरण पनि समावेश गरेका छौं।

जानकारीका लागि विश्वव्यापी रूपमा सन् २०२४ को पहिलो त्रैमासिकमा हामीले कम्युनिटी गाइडलाइन वा सेवा सर्तहरू उल्लंघन गरेका आधारमा १९ करोडभन्दा बढी अकाउन्ट हटायौं। यसमा नक्कली वा स्पाम अकाउन्टहरूका साथै १३ वर्षभन्दा कम उमेरका अकाउन्ट पनि समावेश छन्।

हामी सक्रिय रूपमा विशेषज्ञ र गैरनाफामूलक संस्थाहरूबाट इनपुट र सल्लाहको अपेक्षा गर्छौं। हाम्रो क्षेत्रीय सुरक्षा सल्लाहकार परिषद्ले स्वतन्त्र विज्ञहरूको समूहमार्फत आजका चुनौती सम्बोधन गर्नुका साथै अन्य समस्याका लागि योजना बनाउन अग्रगामी नीति र प्रक्रिया विकास गर्न मद्दत गर्छ। टिकटक आफ्ना सबै प्रयोगकर्ताका लागि सुरक्षित र स्वीकार्य वातावरण कायम गर्न प्रतिबद्ध छ। प्रयोगकर्ताको सुरक्षा नै हाम्रो उच्च प्राथमिकतामा पर्दछ।

टिकटकमा नेपालका सामग्री हेर्ने तपाईंंहरूका भाषामा मोडेरेटरहरू कहाँ र कसरी काम गरिरहेका हुन्छन् ? कुन–कुन भाषामा काम गर्छन् ? नेपालका लागि छुट्टै ‘ट्रस्ट र सेफ्टी टिम’ पनि छ ?

टिकटकका दुबई, लस एन्जलस्, न्युयोर्क, लन्डन, पेरिस, बर्लिन, सिंगापुर, जकार्ता, जोहानेसबर्ग, सियोल र टोकियोमा कार्यालयहरू छन्, जहाँबाट हामी विभिन्न कार्यक्रम गर्छौं। चौबीसै घन्टा मोडेरेसन कभरेज गर्न यी समूहलाई विश्वव्यापी रूपमा कन्टेन्ट वितरण गरिन्छ। नेपालका लागि हाम्रो कन्टेन्ट मोडरेसन टिममा विभिन्न पृष्ठभूमिबाट आएका नेपालीहरू नै नियुक्त गरिएका छन्, जसले नेपालका विभिन्न भाषाभाषिका बुझ्छन्, स्थानीय संस्कृति र अन्य ‘नुआन्स’ पनि जान्दछन्।

टिकटकले कन्टेन्ट हटाउने सरकारी अनुरोधहरू कसरी स्वीकार गर्छ ? के यसका लागि कानुनी आदेश चाहिन्छ ?

हाम्रा उद्योगमा प्रचलित अभ्यासअनुरूप नै हामी नेपाल सरकारलगायतका सरकारी निकायबाट गरिएका अनुरोधहरूको मूल्यांकन गर्छौं र विद्यमान कानुन र हाम्रा कम्युनिटी गाइडलाइन र सेवा–सर्तहरूको पालना नगर्ने कन्टेन्टमा पहुँच हटाउन वा प्रतिबन्ध गर्छौं। यो टिकटक सञ्चालन हुने सबै ठाउँमा समान रूपमा लागु हुन्छ।

टिकटकले नेपालबाट निर्मित कन्टेन्टको मोडेरेसनमा सामना गर्ने सबैभन्दा महत्वपूर्ण चुनौती के–के हुन् ? कम्पनीको ‘प्रयास’का बाबजुद पनि नेपाली सरकारी अधिकारीहरू किन अझै असन्तुष्ट छन् त ?

सांस्कृतिक मान्यता, नैतिकता र मूल्य बुझ्दै टिकटकले स्थानीय भाषाका कन्टेन्ट मोडेरेसन टिममा लगानी गरेको छ र विभिन्न प्रकारका कार्यमा क्षेत्रीय प्रतिभाहरूलाई नियुक्त पनि गरेको छ। फलस्वरूप नेपालमा उत्पादित र हेरिने कन्टेन्टको समग्र मापदण्ड मात्र सुधारिएको छैन, बरू पहिले एप प्रयोग गर्न नचाहेकाहरू अब आफैं योगदानकर्तासमेत बनेका छन्। चुनौतीका बाबजुद नेपाल अझै पनि टिकटकका लागि ठूलो सम्भावना भएको उत्साहप्रद बजार हो, जहाँ हामीले पहिल्यै पर्याप्त वृद्धिको अनुभव गरिसकेका छौं। हामी नेपाल सरकारसँगको हाम्रो सम्बन्धमा भरोसा गर्छौं र सबै समस्या समाधानमा मिलेर काम पनि गरिरहेका छौं।

प्रतिबन्ध लाग्नुअघि नेपाली प्रयोगकर्ताहरूले टिकटकमार्फत पहिचान र जीविकोपार्जन गरिरहेका थिए। नेपालमा टिकटक फेरि फर्र्किएको अवस्थामा टिकटकले प्रयोगकर्तालाई कसरी सहायता र सशक्तीकरण गर्ने योजना बनाएको छ ?

नेपालमा टिकटक पुनः फर्किएपछि यसले आफ्नो समुदायलाई उनीहरूको दर्शक बढाउन मद्दत गर्न चाहिने उपयुक्त स्रोतहरू उपलब्ध गराएर सहयोग गर्ने छ। हामी स्थानीय कन्टेन्ट पहलहरूको अन्वेषण, साझेदारी सिर्जना र सिप वृद्धि गर्ने खालका प्रशिक्षण कार्यक्रम ल्याउने योजना बनाउँछौं। यसका साथै यो प्लेटफर्मले नेपाली प्रयोगकर्तालाई उनीहरूको जीविकोपार्जन जारी राख्न स्थानीय र विश्वव्यापी रूपमा मान्यता प्राप्त गर्न सशक्त बनाउन सुरक्षित र समावेशी वातावरण सुनिश्चित गर्ने छ।

प्रतिबन्ध हटाइएपछिको अवस्थामा टिकटकले नेपाल सरकारका सर्त पालना गर्ने कुराको सुनिश्चित कसरी गर्छ ?

टिकटकले सम्बन्धित निकायहरूसँग स्पष्ट सम्पर्क स्थापित गरी यी मापदण्ड हाम्रा विश्वव्यापी नीतिहरूसँग मेल खाने अवस्थामा इमानदारीपूर्वक पालना गर्छ। प्लेटफर्मले कानुनी आवश्यकता परिपूर्ति गर्न बलियो कन्टेन्ट मोडेरेसन अभ्यासको प्रयोग गर्छ र नियमित रिपोर्टमार्फत पारदर्शिता पनि प्रदान गर्छ। डिजिटल सुरक्षा प्रवद्र्धन, सरोकारहरूको सम्बोधन र सार्वजनिक हितका प्रयासहरूलाई समर्थन गर्न टिकटक आफ्नो सेवा समुदायका हितमा रहेको आश्वस्त गर्दै सरकारसँग सहकार्यात्मक पहलमा संलग्न छ।

अगाडिको बाटो पहिल्याउन हामी सरकारी अधिकारीहरूसँग मिलेर काम गरिरहेका छौं र विद्यमान समस्या छिटै समाधान हुनेमा विश्वस्त छौं। नेपालीका लागि सुरक्षित अनलाइन स्पेस उपलब्ध गराउन नेपाल सरकारले खेलेको भूमिकाको हामी प्रशंसा गर्छौं। हामी नेपालमा लगानी गर्न थप कदम चाल्न चाहन्छौं र सरकारले टिकटकका लागि समान अवसर प्रदान गर्नेमा हामी आशावादी छौं।

प्रकाशित: ६ भाद्र २०८१ १०:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App